माधव घिमिरे र लीलामणि पौडेलको चिनजान २०४० सालदेखिको हो। हाइस्कुल पढ्दा एउटै कोठामा बस्ने साथीकी बहिनीसँग घिमिरेको बिहे हुँदा दुबैले एकअर्काको हात पक्डिएका थिए। निजामती सेवामा भने २०५३ सालमा पौडेल र घिमिरेको भेट भयो। घिमिरे पौडेलभन्दा तीन वर्षअगाडि निजामती सेवामा प्रवेश गरेका थिए।
कालान्तरमा दुबैजना निजामती सेवाको उच्च पदमा आसिन भए, मुख्यसचिवको जिम्मेवारी सम्हालेर मात्रै उनीहरु निजामती सेवाबाट अवकास प्राप्त भए।
उप–सचिवबाट सह–सचिव दुबै जना एकैदिन भएका हुन्। ‘सह–सचिवको तयारीका बखत उहाँ र मेरो अत्यन्तै बढी निकटता भएको थियो,’ पौडेल सम्झन्छन्। निजामती सेवाको कालखण्मा घिमिरे पर्यटन मन्त्रालयबाट अचानक सरूवा हुँदा उनले पौडेललाई त्यहाँ जान सुझाव दिएका थिए।
२०६४ सालको कुरा थियो त्यो।
‘तपाईंलाई के कारण हटाउन खोजेका हुन् त्यहाँबाट?,’ पौडेलले सोधे।
पौडेलको त्यो प्रस्तुति देखेर घिमिरे एकछिन ट्वाल्ल परेका थिए। किनभने निजामती सेवालाई ‘राजनीति रिझाउने’ ठाउँ भनिथ्यो, पौडेलले ठाडै म चाहिँ ‘मन्त्रीको चाकडी गर्दिनँ’ भनेका थिए।
‘अनावश्यक रुपमा हटाउन खोजेका हुन् भने म आउँदिनँ,’ पौडेलले सिधा भने।
‘त्यस्तो हैन’ भन्ने स्पष्टसँग बुझेपछि मात्र भर्खरै सचिव भएका पौडेल पर्यटन मन्त्रालय जान तयार भए।
घिमिरे शान्ति मन्त्रालय गए। पर्यटन, सञ्चार हुँदै पौडेल प्रधानमन्त्री कार्यालय गए। प्रधानमन्त्री कार्यालयमा लामो समय बस्ने अवसर पौडेलले पाएका थिए।
उनी त्यहाँ रहेकै बेला घिमिरे मुख्यसचिव भएर आए, २०६६ साल साउनमा।
‘म प्रधानमन्त्री कार्यालयमा लामो समय बसेर अनुभवी भइसकेको थिएँ, उहाँ त्यहीँ आएपछि एकअर्कामा सहयोग आदानप्रदान झन् बढ्यो,’ पौडेल भन्छन्, ‘काममा सहकार्य र आत्मीयता बढ्यो।’
पौडेल नै मुख्यसचिवको ठाउँ लिए।
तर निजामती सेवाबाट विदा भए पनि घिमिरे फेरी चुनावी मन्त्रिपरिषदको गृह र परराष्ट्रमन्त्री भएर सिंहदरबार आए। घिमिरे र पौडेलको फेरि भेट भयो।
पौडेलको अनुभवमा घिमिरे शालीन र लोभलाग्दा व्यक्ति हुन्। ‘म कहिलेकाहीँ प्रतिक्रियात्मक हुन्थेँ, खरो ढंगले उत्रिन्थेँ,’ पौडेल भन्छन्, ‘उहाँ, तत्काल प्रतिक्रिया नगर्ने, बोल्दा अरुलाई बिझाउने कुरा नगर्ने। तर, काममा शालीन व्यक्तित्व हुनुहुन्थ्यो।’
पौडेलका अनुसार जुन पृष्ठभूमिबाट निजामती सेवामा घिमिरे आएका थिए, त्यो धेरै नै अनुकरणीय हो। न उनको सिधा राजनीतिक सम्पर्क थियो, न पारिवारिक पृष्ठभूमि। घिमिरेको लोभलाग्दो ‘करिअर’को पछाडि उनको कुशलता नै प्रमुख थियो। ‘बिरासतको हिसाबले सभ्रान्त परिवारबाट आएको र पद पाएको व्यक्ति पनि हैन उहाँ,’ पौडेलले भने, ‘यदाकदा प्रशासकहरू राजनीतिक ‘कनेक्सन’ बनाएका हुन्छन्, उहाँ त्यस्तो हैन।’
निजामती सेवामा अवकाश पाएर सरकारको आकर्षक मन्त्रीमा आगमन भने आफैं चानचुने कुरा नभएको पौडेल बताउँछन्।
पौडेलको बुझाइमा घिमिरे औसत स्वच्छ तथा आर्थिक अनुशासनमा अब्बल थिए। जुन ठाउँमा बस्थे खस्किन दिँदैनथे, सुधार गरेरै हिँड्थे।
‘निजामती सेवामा जुन किसिमको आर्थिक अनुशासनहीनता छ, पदलाई पैसा कमाउने माध्यम बनाउने प्रवृत्ति छ, त्यो उहाँको लक्ष्य थिएन,’ पौडेलले भने, ‘उहाँ औसत कर्मचारीभन्दा स्वच्छ हुनुहुन्थ्यो।’
...
पूर्व अर्थसचिव रामेश्वर खनाल २०६७ चैत १५ गते एकाबिहानै घिमिरेलाई भेट्न गएका थिए। किन भेट्ने भन्ने पूर्वजानकारी दिएका थिएनन्, किनभने त्यो भेट खनालको राजीनामासँग जोडिएको थियो। गोजीमा राजीनामापत्र बोकेका थिए र घिमिरेलाई सुटुक्क दिन चाहन्थे।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कार्यसम्पादन सिलसिलामा मतभेद हुन थालेपछि खनालले राजीनामा दिन खोजेका थिए।
खनालको अनपेक्षित राजीनामा घिमिरेले कल्पना पनि गरेका थिएनन्, स्वीकार्ने त कुरै भएन। यो होला भनेरै खनालले चतुर्याइँ गरिसकेका थिए, राजीनामाको एक कपी घिमिरेलाई भेट्नुपूर्वै दर्ता गराएर।
‘उहाँले हुँदैन भन्नुभयो, मैले बाहिर दर्ता गरिसकेको छु भनेर निस्किएँ, बाहिर दर्ता नगरेको भए च्यातेर फालिदिनुहुन्थ्यो होला,’ खनाल भन्छन्, ‘पछि धेरैपटक उहाँले राजीनामा फिर्ता लिन धेरै नै प्रयत्न गर्नुभयो तर मन्त्रीले बाहिर–बाहिरबाट काम गर्ने, मन्त्रालयको सिस्टमलाई विश्वास नगर्ने भएपछिको अवस्थामा म फेरि फर्किन चाहन्नँ भनेपछि चित्त बुझाउनुभयो।’
तत्कालिन प्रधानमन्त्री झलनाथ खनालसमेतले स्वीकार नगरेपछि एक जना सचिवलाई घरैसम्म पठाएका पनि रहेछन् घिमिरेले।
खनालको राजीनामा फिर्ता गराउन उनको घरमा गएका सचिव रित्तै हात फर्किए, खनाल राजीनामा बुझाएर अन्नपूर्ण ट्रेकिङ हिँडिसकेका थिए।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनै घिमिरेले खनाललाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बन्न जोड गरे।
खनालको नजरमा घिमिरे कुशल, तीक्ष्ण क्षमता र आर्थिक पारदर्शीता चाहने प्रशासक थिए। ‘मिटिङहरूमा आर्थिक सल्लाहकारलाई त्यतिधेरै महत्व दिइँदैनथ्यो तर उहाँ प्रधानमन्त्रीसँग कुनै विषयमा छलफल गर्नुपर्यो भने मलाई छुटाउनुहुन्नथ्यो, त्यस किसिमले पनि म उहाँको पारदर्शीताको तारिफ गर्छु,’ खनाल भन्छन्।
खनाल र घिमिरे दुबै जना पाल्पाकै हुन्। घिमिरे खनालभन्दा दुई ब्याच जुनियर हुन्, पढाइमा। निजामती सेवामा पनि खनाल २०३७ सालमा प्रवेश गरेका थिए,घिमिरे ३९ सालमा।
तर, खनाल परीक्षामा छुटेपछि सँगै बढुवा हुन पाएनन्, घिमिरे उपसचिव हुँदा खनाल शाखा अधिकृतै थिए।
२०५३ सालमा जलस्रोत मन्त्रालयमा घिमिरे उपसचिव हुँदा खनाल शाखा अधिकृत भएर गएका थिए। त्यहाँ १९ दिन बसेका थिए खनाल। ‘प्राविधिक कार्यालयमा प्रशासनबाट गएको कर्मचारीलाई त्यति सहयोग नगर्ने प्रवृत्ति थियो, तर उहाँ तुरुन्तै ‘कमाण्ड’ सम्हालिसक्नु भएको रहेछ,’ खनालले स्मरण गरे।
खनाल एकैपटकको जाँचमा सह-सचिव भए, उनी सह-सचिव भएको दुई वर्षपछि घिमिरेको सह–सचिवमा बढुवा भएको थियो।
महालेखा नियन्त्रकको कार्यालयमा घिमिरे र खनाल अर्थमन्त्रालयमा रहेका बखत मूल्य अभिबृद्धि कर पहिलोपटक लागू भएको थियो। ‘काम गरेर कुनै प्रणाली स्थापित गर्ने सवालमा उहाँ खरो हुनुहुन्थ्यो,’ खनाल भन्छन्, ‘सह-सचिव हुँदासम्म उहाँ डेरामै बस्नुहुन्थ्यो, म पनि।’
घिमिरे २०५८ सालमा वैदेशिक सहायता समन्वय महाशाखामा रहँदा पहिलोपटक वैदेशिक सहायता नीति बनेको थियो। त्यसको मस्यौदा बनाउने सिलसिलामा घिमिरे–खनालबीच सल्लाह हुन्थ्यो। ‘नेपालमा वैदेशिक सहायता नीति परिभाषित नै थिएन, उहाँकै पहलमा त्यो नीति आयो, नेपाल विकास मञ्चको बैठक पनि उहाँकै पहलमा भएको थियो,’ खनाल भन्छन्, ‘यस्ता महत्वपूर्ण सवालमा हामीबीच सहकार्य भएकाले उहाँ मप्रति अनुग्रहित हुनुहुन्थ्यो।’
घिमिरे मन्त्रालयको काम गर्ने तरिका पारदर्शी बनाउँथे। सेवाग्राहीलाई सजिलो ढंगले सेवा लिने वातावरण सबै मन्त्रालयमा बनाउन उनले निकै संघर्ष गरेका थिए। जहाँ बसे लोभलालचमा फसेनन्।
बिमल कोइरालाभन्दा अघि मुख्यसचिवको पद खासै चर्चामै आउँदैनथ्यो। मुख्यसचिव भनेको सचिवको पनि सचिव हो मात्र भनिन्थ्यो। कोइरालाले निजामती सेवामा सुधार थालेपछि नेपालमा मुख्यसचिवको हल्ला चल्न थालेको खनालको बुझाइ छ, घिमिरे त्यो सुधारमा अर्को पिल्लर बने। लीलामणि पौडेलसम्म आइपुग्दा त मुख्यसचिव पद ‘सेलिब्रिटी’ नै बनेको थियो।
तिनै निष्ठावान पूर्वप्रशासक, नेपाल सरकारका पूर्वमुख्यसचिव तथा पूर्व गृह र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी आइतबार त्रिशुलीमा खसेर बेपत्ता भएको खबर पत्याउनै गाह्रो भयो। परिवारसहित तीर्थाटनमा गएर फर्किने क्रममा घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेको थियो। घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको दुर्घटनामा मृत्यु भएको छ। चालक विष्णु राई हाम फालेर बाँचेका छन्।
उनीहरू चढेको बा ९ च १५३१ नम्बरको निजी गाडी आइतबार अपराह्न मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो। घिमिरे भाइ मोहन र प्रकाशसहित बेपत्ता भएका थिए।
छैठौं दिनसम्म पनि गाडीसमेत फेला नपरेपछि परिवारले कुशको शव बनाएर घिमिरेको दाहसंस्कार गरेका छन्। हजुरअामा चैतन्यको शवसँगै कुशको शवमा घिमिरेका छोरा सुशान्तले दागबत्ती दिए।
कुशको शव बनाएर पूर्वगृहमन्त्री माधव घिमिरेको अन्त्येष्टि
घिमिरे माधवकुमार नेपालको प्रधानमन्त्रीपालामा मुख्यसचिव नियुक्त भएका थिए। पछि २०६९ चैत १ गते गठित अन्तरिम चुनावी मन्त्रिपरिषदमा उनी गृह तथा परराष्ट्रमन्त्री भए।
भारतसँग नजिकको सम्बन्ध कायम राखेकाले उनले रेग्मी मन्त्रीमण्डलमा गृह तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको ठान्ने धेरै छन्। रेग्मी मन्त्रीमण्डल सारथी नै घिमिरे रहेको मत राख्ने पनि धेरै छन्।
घिमिरेको जन्म २०१७ साल माघ २५ गते पाल्पाको तानसेन नगरपालिका–१२ मा भएको हो। पाल्पाबाट माध्यमिक शिक्षा पूरा गरेका घिमिरेले २०३१ सालको एसएलसीमा नेपालभरमै तेस्रो भएका थिए। त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन, ग्रामीण तथा क्षेत्रीय विकास योजनामा स्नातकोत्तर गरेकाथिए।
घिमिरेले मानव संशाधन व्यवस्थापन र एकीकृत ऊर्जा योजनामा पाकिस्तान, मलेसिया र अष्ट्रेलियाबाट पनि उच्च शिक्षा हासिल गरेका थिए। घिमिरे योजना अधिकृतको रूपमा महालेखा परीक्षकको कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए।
उनले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको डोटी, राष्ट्रिय योजना आयोगको सचिवालय, सिँचाइ विभागको प्रमुख प्रशासकीय अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय र जलस्रोत मन्त्रालयको उपसचिव, मूल्य अभिवृद्धि कर कार्यालयको नायब महानिर्देशक, अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग समन्वय महाशाखाको प्रमुख, चीनको विशेष प्रशासित क्षेत्र हङकङका निम्ति महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए।
सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सचिवका रूपमा पनि उनले काम गरे। घिमिरे गृहमन्त्री हुँदा नेपालमा संविधानसभाको दोस्रो चुनावमा उत्साहजनक सम्पन्न भयो। घिमिरेका एक छोरा र एक छोरी छन्।