कुनैबेला सेवाग्राहीको कारण अत्यन्त भिडभाड रहने हुलाक कार्यालय आजभोलि सुनसान छन्। सेवाग्राहीको चहलपहलसँगै व्यवस्थित समेत देखिने कार्यालय अहिले लथालिंग छन्। ईलाका हुलाक कार्यालय बुटवल अहिले सुनसान मात्र होईन, लथालिंग बनेको छ। प्रविधिको विकाससँगै हुलाकबाट सेवा लिनेको संख्या कम हुदै जाँदा हुलाकका कर्मचारी कामविहीन जस्तै बनेका छन्।
मोबाईल तथा ईमेल ईन्टरनेटको प्रयोगले व्यापकता नपाउँदासम्म सूचनाको प्रमुख माध्यम बनेको चिठीपत्र प्रविधिको विकाससँगै सरकारी प्रयोजनमा मात्र सिमित बनेको छ। प्रयोग हराएसँगै हुलाक कार्यालय चिठ्ठीपत्रको आदानप्रदानभन्दा टिकट बिक्री केन्द्रको रुपमा संचालन भएको छ।
ईलाका हुलाक कार्यालय बुटवलबाट दैनिक ५ लाख रुपैयाँको टिकट बिक्री हुने गरेको निमित्त कार्यालय प्रमुख ललिता रिजालले बताईन्। रिजालले रजिष्ट्री चिठ्ठीबाहेक साधारण चिठ्ठी कम आउने गरेको र कार्यालयबाट टिकट मात्र बिक्री हुने गरेको बताईन्। यस्ता टिकट मालपोत, नापी, यातायात कार्यालय, प्रशासन लगायतका कार्यालयमा बढी उपयोग हुन्छन्।
चिठ्ठीपत्र आदानप्रदानको क्रम घटेपनि कार्यालयले संकलन गर्ने राजश्वमा भने कमि नआएको कार्यालयले जनाएको छ। टिकट, रजिष्ट्री शुल्क, पोष्टबक्स नविकरण मार्फत आर्थिक वर्ष ०७२÷७३ मा ५१ लाख ३५ हजार ६ सय १६ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०७१÷७२ मा ४३ लाख ४५ हजार ८ सय ४ रुपैयाँ राजश्व संकलन भएको थियो।
पहिले घरघरमा चिठ्ठीपत्र बाँडदै हिँड्ने हल्काराको दैनिकीपनि टिकट बिक्री गर्नमै सिमीत छ। चिठ्ठीपत्र आदानप्रदानको कमिसँगै कार्यालयमा रहेका कर्मचारीको संख्या पनि अहिले कम हुँदै गएको छ। २० जनाको दरबन्दी रहेको कार्यालयमा अहिले १० जना मात्र कार्यरत छन्। जसमा १५ जना हल्करामध्ये अहिले जम्मा ६ जना छन् भने अफिसर एक, नासु एक र खरिदार दुई जना छन्।
त्यस्तै तीन खरिदार र एक टाईपिस्ट गरी चारजना काजमा छन्। प्रविधिको विकाससँगै हुलाक सेवाले पनि विद्युतीयरुपमा सेवा प्रदान गर्नुपर्ने रिजालको भनाई छ।