त्रिशुली नदीमा बेपत्ता भएका पूर्वगृह, परराष्ट्र तथा पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे र उनका भाइको खोजी जारी रहे पनि सुरक्षाकर्मीले फेला पार्न सकेका छैनन्। आइतबार बेलुकादेखि खोजी भइरहेको भए पनि अहिलेसम्म केही प्रगति हुन नसकेको प्रशासनले जनाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरेसहित बेपत्ताको खोजीका लागि राज्यका सबै संयन्त्र त्रिशुली नदीमा खटिएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन वटा डुंगाबाट खोजिरहेको छ।
‘सयजति सुरक्षाकर्मी त्रिशुलीमा खोजीका लागि खटिएका छन्, तर अहिलेसम्म प्रगति हुन सकेको छैन,’ घटनास्थलमै रहेका प्रजिअ सिंहले सेतोपाटीसँग भने। उनका अनुसार जीप खसेको घोप्टेभीर क्षेत्रबाट तल्लोक्षेत्र मुग्लिनसम्मको दुई किलोमिटरसम्म खोजी भइरहेको छ। तर, त्रिशुलीमा अत्यधिक बाढी र गहिरो क्षेत्र भएका कारण खोजीमै समस्या भएको उनले बताए। ‘नदीमा पानीको बहाव अत्यन्तै धेरै छ, गहिरो पनि भएका कारण खोज्न कठिन भइरहेको छ,’ प्रजिअ सिंहले भने।
तर, त्रिशुलीमा अत्यधिक बाढी र गहिरो क्षेत्र भएका कारण खोजीमै समस्या भएको उनले बताए। ‘नदीमा पानीको बहाव अत्यन्तै धेरै छ, गहिरो पनि भएका कारण खोज्न कठिन भइरहेको छ,’ प्रजिअ सिंहले भने।
परिवारसहित तीर्थाटनमा गएर फर्किने क्रममा घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेको थियो। घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको दुर्घटनामा मृत्यु भएको छ। चालक विष्णु राई हाम फालेर बाँचेका छन्। घाइते राईको उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरू चढेको बा ९ च १५३१ नम्बरको निजी गाडी आइतबार अपराह्न मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो। भाइ मोहन र प्रकाश पनि घिमिरेसँगै बेपत्ता भएका छन्।