पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले सेतोपाटीलाई बताए।
‘जीप त्रिशुली नदीमा बेपत्ता छ, त्यसमा पूर्वगृहमन्त्री माधव घिमिरे हुनुहुन्थ्यो भन्ने खुलेको छ,’ कुँवरले भने।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो।
सिंहका अनुसार तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला पारिएको हो।
जीपका चालक हामफालेर बाँचेका छन्। उनलाई उपचारका लागि भरतपुर लगिएको छ। ‘पूर्वगृहमन्त्रीसहित तीन जना बेपत्ता हुनुहुन्छ,’ सिंहले सेतोपाटीलाई बताए।
उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।