दिल्लीबाट काठमाडौंका लागि आइतबार राति ८ बजे उडेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० (एकेडब्ल्यू)को एउटा पाङ्ग्रा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छोड्नेवित्तिकै पड्केको थियो।
पाइलटहरूका अनुसार उड्नेवित्तिकै जहाजमा ‘भाइब्रेसन’ उत्पन्न भयो। लगत्तै चालकदलले पाङ्ग्रा रहेको स्थान ‘फ्लाट’ निकाल्न खोजे तर अड्कियो। पाङ्ग्रा पड्किँदा टुक्रिएको चोइटाले ‘फ्लाट’ अड्किएको थियो।
क्याप्टेन सुवर्ण अवालेको चालकदलले जहाजलाई सन्तुलनमा ल्याउन त्यसबेला निकै जोखिम मोलेको थियो। पुनः दिल्ली विमानस्थलमा अवतरण गराउन आधा घन्टा आकासमै चक्कर लगाउनुपरेको थियो।
चालक दलसहित एयरबसमा १६० यात्रु थिए। एउटामात्र पाङग्रा रहेको जहाज अवतरण गराउनु आफैंमा जोखिमपूर्ण थियो। यो परिस्थितिमा आकस्मिक अवतरण गराउन चालकदलले ‘रिस्क’ मोलेको थियो।
‘एउटा पाङ्ग्रा पड्किसकेको जहाज लिएर हिँड्नु आफैंमा जोखिमपूर्ण भएका कारण चालकदलले दिल्लीमै अवतरण गराउन खोजेको थियो, यसक्रममा केही ठूलो दुर्घटना भएन, यसमा हामीले चालक दललाई धन्यवाद दिनुपर्छ,’ वरिष्ठ पाइलट क्याप्टेन विजय लामाले सेतोपाटीसँग भने।
लामाका अनुसार अवतरण गराउँदा अर्को पाङ्ग्रा पनि पड्केको हुनाले एयरबस दुबै पाङ्ग्रा काम नलाग्ने भएर दिल्ली विमानस्थलमा ग्राउन्डेड भयो। ‘चालकदलले अत्यन्तै सावधानीपूर्वक जहाजलाई अवतरण गराएका छन्, नत्र जे पनि हुनसक्थ्यो,’ लामाले भने।
नेपाल वायुसेवा निगमका अनुसार यसरी ग्राउन्डेड भएको एयरबस मर्मत गर्न पाङ्ग्रा लिएर क्याप्टेनसहितको पाँच सदस्यीय टोली सोमबारै दिल्ली पुगेको छ। क्याप्टेन दीपुराज जुहार्चन र चार जना इन्जिनियरको टोली एयरबस मर्मतका लागि दिल्ली गएको एनएका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले बताए।
पर्यटनमन्त्री जीवनबहादुर शाहीका अनुसार टोलीले एयरबस मर्मत थालेको जानकारी आइसकेको छ। बिहानै एयरबस मर्मतका लागि टोली जान खोजेकोमा काठमाडौंको मौसम खराब भएका कारण केही अबेर भएको मन्त्री शाहीले बताए। ‘दुई दिनसम्ममा मर्मत सकिने र त्यसपछि एयरबस फर्किने टोलीले बताएको छ,’ मन्त्री शाहीले भने।
नेपाल एयरलाइन्सको एयरबस ग्राउन्डेड भएपछि त्यसमा रहेका यात्रु सोमबार बिहान एयर इन्डियाबाट नेपाल फर्किएका थिए। नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि छुट्टै प्राविधिक टोली छ, उसैले जहाज कहीँकतै बिग्रिए आवश्यक सरसामग्रीसहित गएर मर्मत गर्ने गरेको छ।
क्याप्टेन लामाले यो घटनाले नेपाल वायुसेवा निगमका पाइलटहरूको अनुभव उजागर गरेको बताए। ‘हामी कति जोखिम मोलेर जहाज उडाइरहेका छौं भन्ने कुरा सबैले बुझ्न जरुरी छ, नेपाल वायुसेवा निगम र सरकारले बुझ्नुपर्छ,’ लामाले भने।
कंसाकारका अनुसार यो एयरबस पोहोरमात्र खरिद गरिएको हो। सरकारले खरिद गरेका दुई एयरबसमध्ये यो पहिलो थियो। पाँच अर्ब रुपैयाँमा खरिद गरिएको यो एयरबसको नाम सगरमाथा राखिएको थियो।
दिल्लीमा ग्राउन्डेड भएको सगरमाथा एयरबस कम्पनीको ६,४४५ औं उत्पादन हो। यो विशेष मोडलको जहाज मानिन्छ। यसरी कहिलेकाहीँ जहाजमा प्राविधिक समस्या आउनुलाई सामान्य मानिने पाइलटहरू बताउँछन्। ‘तर, पाइलटले त्यतिबेला अपनाउने सावधानी धेरै नै महत्वपूर्ण हुन्छ,’ क्याप्टेन लामाले भने।