अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले घुस लिँदा लिँदै बथनाहा गाविसका सचिव (नासु) गुलाब चौधरीलाई बिहीबार जलेश्वरमा पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटिआएको टोलीले जलेश्वर ५ स्थित दुर्गाचौकमा सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदै गर्दा चौधरीलाई पक्राउ गरेको हो।
सचिव चौधरीले आव ०७२÷०७३ को गाउँ परिषद्बा अवलोकन भ्रमण भन्ने शिर्षकमा १ लाख रुपैयाँ विनियोजन गरी बथनाहाका महिलालाई पेश्की दिएका थिए। महिलाले अवलोकन भ्रमण सकिएर पेश्की फर्छ्यौट गर्न खोज्दा उनले यसका लागि २० हजार घुस मागेको थिए।
पछि बार्गेनिङ्ग हुँदा आफूलाई १० हजार रुपैयाँ नदिएसम्म पेश्की फछर्यौट नगर्ने भनेपछि दुवै पक्षबीच सहमति भएर महिलाको समूहमध्येकै एकले सचिव चौधरीलाई रकम दिंदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिए।