कैलालीमा यस वर्ष डेङ्गु रोगको प्रभाव बढेको छ । चिकित्सकका अनुसार सेती अञ्चल अस्पतालमा भदौदेखि हालसम्म १५ जना डेङ्गुका बिरामी भेटिएका छन् ।
सेती अञ्चल अस्पतालका डाक्टर शुभेषराज कायस्थले कैलालीमा डेङ्गुको खतरा बढेको बताएका छन् ।
डेङ्गु प्रभावित एक जना फेला पर्दा त्यस वरपर ३ सय ५० देखि ४ सय सम्म डेङ्गु रोगी हुनसक्ने अनुमान गरिन्छ ।
यसअघि भारतमा काम गर्न गएका नेपाली कामदारहरु उतैबाट डेङ्गुको शिकार भएर फर्किने गरेकोमा कैलालीमा यसबर्ष पहिलो पटक स्थानीय स्तरकै बिरामी देखा परेका हुन ।
डाक्टर कायस्थले १५ जना बिरामी फेला परेको जनाए पनि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले भने आफूसँग ११ जनाको मात्रै तथ्याङ्क रहेको बताएको छ ।
जनस्वास्थ्यका अनुसार यो बर्ष फेला परेका बिरामी मध्ये सात जना भारतबाट डेङ्गु रोग बोकेर आएका नेपाली कामदार हुन भने चार जना कैलालीकै स्थायी बासिन्दा हुन् ।
धनगढीस्थित चटकपुरका जगदीश जोशी, कृष्ण चौधरी, भन्सारका शेरबहादुर लामा, दोदोधरा गाविसका गोपाल साउँद, पहलमानपुर गाविसका विजयराज स्वाँर, उदासीपुर गाविसका प्रदेशु चौधरी, टीकापुर नगरपालिकाका तीर्थ देवकोटा र जोशीपुर गाविसका १० बर्षीय बालक सञ्जु चौधरीलाई डेङ्गु रोग लागेको जनस्वास्थ्यले जानकारी दिएको छ ।
अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेका बालक सञ्जु चौधरीको अवस्था गम्भिर रहेको चिकित्सकले जानकारी दिएका छन् । त्यस्तै, कञ्चनपुरका नरेश मल्ल र सुमित बिकमा पनि डेङ्गु रोग देखा परेको छ । दुबै जना भारतमा काम गर्न जाँदा उतैबाट डेङ्गु बोकेर आएका बिरामी हुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय बहादुर कार्कीले विगत दुई बर्षको तुलनामा यस पटक डेङ्गुको बिरामी बढेको बताएका छन् ।
डेङ्गुको बिरामी फेला परे लगत्तै रोकथामका लागि सरकारले बृहत्तर रणनीति अपनाउनु पर्ने डाक्टर कायस्थको भनाई छ ।
‘बिरामी खोज्ने र उपचार गर्ने काम हाम्रो हो’ डाक्टर कायस्थले भने–‘तर, यसलाई नियन्त्रण गर्न सरकारले तुरुन्तै रणनीति अपनाउनुपर्छ ।’
जिल्ला जनस्वास्थ्य प्रमुख कार्कीले गत साल कैलालीमा ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान सञ्चालन गरेपनि डेङ्गु रोकथामका लागि यो बर्ष कुनै कार्यक्रम नरहेको जानकारी दिए ।
एडिस एजिप्टी नामक सङ्क्रमित पोथी लामखुट्टेको टोकाईबाट डेङ्गु रोग मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले सफा र स्थिर पानीमा फूल पार्ने र सूर्योदयदेखि सुर्यास्तसम्म मात्रै टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।
सामान्यतयाः भदौ महिनादेखि कार्तिक अन्तिमसम्म एडिस एजिप्टी लामखुट्टेको चहल पहल रहने गरेको र मध्य मङ्सिरसम्म बिरामी फेला पर्ने गरेको डाक्टर कायस्थले बताए ।
ज्वरो आउने, हात खुट्टा धेरै दुख्ने, रुघाखोकी लाग्ने डेङ्गु रोगको लक्षण हो । सन २०१० देखि कैलालीमा डेङ्गु रोग देखिन थालेको हो । त्यस बेला २४ जना बिरामी देखा परेपछि सरकारले यो क्षेत्रमा डेङ्गुको महामारी रहेको घोषणा गरेको थियो । २०११ मा दुई जना र २०१२ मा नौ जना बिरामी फेला परेका थिए । सन २०१० र २०१२ मा एक÷एक गरेर हालसम्म कैलालीमा दुई जना बिरामीको डेङ्गु रोगबाट मृत्यु भइसकेको छ ।