फ्रान्सका केही तटीय सहरका प्रमुखले ‘बुर्किनी’ लगाउन प्रतिबन्ध लगाएपछि त्यसको संसारभर विरोध भएको छ।
कुनै व्यक्ति वा समूहले लगाउने कपडाबारे राज्यले चासो लिनु र हस्तक्षेप गर्नु मानवअधिकार र स्वतन्त्रताको उल्लंघन भएको भन्दै मानिसहरूले आक्रोश पोखेका छन्।
शरीर पुरै छोपेर पौडिन चाहने महिलाले बुर्किनी लगाउने गर्छन्। विशेषत: मुस्लिम महिलाहरू माझ बुर्किनी लगाएर पौडने चलन बढेको छ।
मुस्लिम महिलाको सानो हिस्साले मात्र पौडनका निम्ति बुर्किनी प्रयोग गर्ने गरेको छ। तर, बुर्किनी लगाएर पौडने सबै महिला मुस्लिम हुन् भन्ने पनि होइन।
कसरी सुरू भयो बुर्किनी?
समाचार संस्था एपीका अनुसार बुर्किनीको निर्माण र बुर्किनी लगाउने चलन सुरू भएको धेरै भएको छैन। न त पौडदा बुर्किनी लगाउनुपर्ने कुनै धार्मिक कानुन वा नियमनै कुनै देशमा छ।
करिब एक दशकअघि लेबनानी मूलकी एक अस्ट्रेलियन नागरिकले त्यहाँका तटमा ‘लाइफगार्ड’ का रुपमा काम गर्ने वा काम गर्न चाहने मुस्लिम महिलाका निम्ति एक प्रकारको कपडा डिजाइन् गरिन्। बुर्का जस्तै हात, खुट्टा, टाउको र शरीर ढाक्ने उक्त कपडा ‘बुर्किनी’ नामले चर्चित भयो।
वास्तवमा बुर्किनी ‘बुर्का’ र ‘बिकिनी’ शब्दहरू मिलेर बनेको हो। पौडदा बिकिनीको साटो बुर्कावाला कपडा लगाउने चलन सुरू भएपछि त्यसले ‘बुर्किनी’ नाम पायो।
फ्रान्समा मुस्लिम महिलाको सानो हिस्साले मात्र बुर्किनी लगाउँछ। तर फ्रान्सले बन्देज लगाएसँगै बुर्किनिको चर्चा र विक्रि चुलिएको छ।
आखिर किन बन्देज र किन विवाद?
अन्य युरोपेली देशको तुलनामा फ्रान्स धर्म निरपेक्षताको मुद्दामा अत्यन्तै कठोर छ। फ्रान्सेली क्रान्तिदेखिनै राज्य पूर्ण रूपले धार्मिक आस्थाबाट अलग रहनुपर्छ भन्ने मान्यता स्थापित भयो। राज्य विचार-तर्कमा आधारित हुन्छ र धार्मिक आस्थाको त्यहाँ कुनै स्थान हुँदैन भन्ने विचारले फ्रान्समा गहिरो जरा गाड्यो।
अझ, पछिल्लो समयमा फ्रान्सलाई मुस्लिम आतंकवादी सङ्गठन आइएसले तारो बनाउन सुरू गर्यो। त्यसबाट फ्रान्स झनै अत्तालियो। हालै आतंकवादी ट्रक हमलामा ८६ मानिसको ज्यान गएको थियो।
कुनै पहिरनसँग आतंकवादी हिंसाको कुनै सम्वन्ध छैन भनेर बुर्किनीका पक्षधरले तर्क गरेका छन्। तर फ्रान्सका नगर प्रमुखहरु त्यस्तो तर्क सुन्ने पक्षमा छैनन्। उनीहरू भन्छन् – बुर्किनीको प्रयोगले अरू मानिसलाई समुद्र तटमा जान निरुत्साहित गर्छ। त्यसले अरू मानिसमा भय र रिस जगाउँछ। सामाजिक सद्भावमा खलल् पुग्छ।
प्रधानमन्त्री म्यनुएल भाल्सको तर्क छ, - बुर्किनीले महिला दासत्वलाई प्रतिनिधित्व गर्छ। महिला अधिकार प्रवर्धन गर्ने फ्रान्सको राज्य नीतिसँग बुर्किनीको प्रयोग नमिल्दो भएको उनको तर्क छ।
तर, फ्रान्समा बुर्किनीविरुद्ध व्यापक रूपमा गरिने तर्क भनेको त्यहाँको राजनीतिक परम्परा नै हो। उनीहरुको भनाइ छ- फ्रान्सले सार्वजनिक जीवनमा धर्म निरपेक्षता प्रति देखाएको शताब्दियौं पुरानो प्रतिवद्धतालाई बुर्किनीको प्रयोगले उलंघन गर्छ। सर्वेक्षणले पनि फ्रान्समा अन्य देशको तुलनामा अत्यन्तै कम धार्मिक आस्था भएको देखाउँछ।
कठोर धर्मनिरपेक्षता प्रति फ्रान्सको संविधान पनि प्रतिवद्ध छ। उक्त राजनीतिक परम्परा र राज्य नीतिलाई फ्रान्सले सार्वजनिक रुपमा गरिने विभिन्न मुस्लिम धार्मिक अभ्यासका विरुद्ध पनि प्रयोग गर्ने गरेको छ।
राज्यको उक्त कदमबाट आफू असुरक्षित र अपमानित भएको फ्रेन्च मुस्लिमको गुनासो र आक्रोश छ। प्रहरीले बुर्किनी लगाउने महिलालाई कपडा खोल्न दिएको आदेशका बारेमा तस्बिर र भिडियो फुटेज सामाजिक सञ्जालमा छरिएपछि त्यसले संसारभरी आक्रोश जन्मायो।
मानव अधिकारवादी संस्थाहरु फ्रान्सको नीति विरुद्ध उभिएका छन्। यसले फ्रेन्च राष्ट्रपति फ्रान्कोवाइस होलान्देको सरकार भित्र नै विवाद सृजना गरेको छ।
बुर्किनी माथिको राजनीति
बुर्किनी विरुद्धको अभियानलाई फ्रान्सको दक्षिणपन्थी राजनीति दलले आफ्नो हितमा प्रयोग गर्न खोजेको समिक्षकहरुको भनाइ छ। मुस्लिमविरुद्ध लक्षित उक्त अभियानलाई सन् २०१७ मा हुन गइरहेको राष्ट्रपतीय चुनावमा दक्षिणपन्थीहरुले प्रयोग गर्न खोजेको उनीहरुले बताएका छन्।
बुर्किनी निषेध गर्ने पक्षमा उभिएका तटीय शहरका धेरै प्रमुखहरु पूर्वराष्ट्रपति निकोलस सार्कोजीको ‘कन्जरभेटिव रिपब्लिकन पार्टी’का नेताहरू हुन्। सार्कोजी आगामी राष्ट्रपतीय चुनावमा उम्मेद्वार बन्ने योजनामा छन्। उनले गत बुधबार भने,‘हामी महिलालाई कपडा भित्र कैद गर्दैनौं।’ उनले बुर्किनीलाई र्याडिकल इस्लामसँग जोडेका छन् जसलाई धेरै मुस्लिमहरु आधारहीन र खतरनाक तर्क मान्छन्।
महिला अधिकारको रक्षक मानिएको फ्रान्सको वामपन्थी सरकारलाई भने उक्त मुद्दाले दोधारमा पारेको छ। बुर्किनीले महिलालाई दमन गर्ने भन्दै केही नेताले अहिलेको अभियानलाई समर्थन गरेका छन्। अर्का थरीले भने मानिसलाई कस्तो कपडा लगाउन दिने भन्ने बारे राज्यले निर्देशन दिन नहुने बताएका छन्।
फ्रान्सको कदमविरुद्ध लन्डन र बर्लिनमा विरोध सभा भए। बेलायतमा बुर्किनी अलि धेरै बिक्री हुने गरेको छ। युरोपका अन्य देशमा भने बुर्किनी विरलै देखिन्छ र कतै बन्देज लागेको छैन।
फ्रान्सको कठोर निरपेक्षतालाई युरोपका अन्य देशहरुले समेत बुझ्न नसकेको बताउँछन्। सन् २००४ मा फ्रेन्च सरकारले मुस्लिम महिलाले लागाउने ‘हेड स्कार्फ’लाई सरकारी विद्यालय र कलेज भित्र बन्देज गरेको थियो। फ्रान्सका मुस्लिमले मात्र होइन संसारभरी नै उक्त कदमको विरोध भयो। तर, फ्रान्सका अधिकांश नागरिकले सरकारको उक्त कदममा समर्थन गरे। फ्रान्स डगमगाएन।
राजा र चर्च दुवै विरुद्ध फ्रान्सको जनमत कठोर ढंगले अभिव्यक्त हुन्छ। सार्वजनिक स्थान र संस्थामा कुनै पनि धार्मिक प्रतिकलाई अत्यन्तै शंकास्पद ढंगले हेरिन्छ।
बुर्किनी पहिरनका मुद्दामा राज्यले गरेको हस्तक्षेपविरुद्ध संसारभर उठेको आवाजलाई फ्रान्सले सुन्छ वा सुन्दैन त्यो हेर्न बाँकीनै छ।
(एजेन्सीहरूको सहयोगमा)