तनहुँको दुलेगौडामा दोकान। घर भारतको सितामढी। भारतबाट दोकान जान छोराछोरी सहित राजेश गुप्ता दम्पत्ती गाडी चढेका थिए।
तर उनीहरु आफ्नो दोकानमा पुग्न सकेनन्। बीचैमा ठूलो दुर्घटना परे। चितवनको कालीखोलामा शुक्रबार बिहान भएको बस दुर्घटनापछि गम्भीर घाइते बनेका भारत सितामढीका राजेश गुप्ता आफ्नो रोदन पोख्दै थिए।
२२ जनाको मृत्यु हुँदा सपरिवार नै बाँच्नु उनका लागि नयाँ जुनी हो। श्रीमती २६ बर्षकी सुगन्धी र उनी वल्लो पल्लो बेडमा सँगसँगै जस्तो सुतिरहेका छन्। ५ वर्षकी स्वेता र साढे २ वर्षका आकाशको अवस्था गम्भीर छ। उनीहरुलाई चितवन मेडिकल कलेजमा आईसीयु पु¥याउँदा बुबाआमा इमरजेन्सीमा उपचार गर्दै छन्।
‘मैले केही थाहा पाइनँ, घटनाबारे राजेशले भने, निदाएको रहेछु पानीले चोपल्लिएपछि पो निद्रा खुल्यो।’ उनी ब्यूँझिदा गाडी नदीमा क्षतविक्षत थियो। बाँचेका यात्रु रोईकराई र बचाउ बचाउ गर्दै थिए। एउटा डण्डीमा समाउन भ्याएकाले आफू बाँचेको उनले बताए।
‘पानीबाटै प्रहरीले निकाले’, उनले भने ‘छोराछोरी र श्रीमती कहाँ थिए थाहै भएन।’ खुट्टा र हातमा चोट छ उनकी श्रीमती सुगन्धी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन्। सालो राकेशको अवस्था भने थाहा नपाएको उनले बताए।
अर्काे शैयामा रहेका रौतहटका शेख सोराज आफूपनि निदाएकाले कुनै कुरा थाहा नभएको बताउँछन्। शिक्षक आयोगको परीक्षाका लागि उनी पोखरा जाँदै थिए।
बिहिबार साँझ गाडी रौतहटबाट पोखरा हिँडेको थियो। चपुर लगायत विभिन्न ठाउँमा रोक्दै १बजेतिर हेटौंडामा भात खाएर यात्रु लिएको आएको घाइतेले बताए। त्यसपछि सबै यात्रु निदाएका थिए।
चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले चालकको लापरवाहीले नै दुर्घटना भएको अनुमान गरेका छन्। ‘कि ओभरटेक गर्न खोजेको हो, या तीव्र गतिका कारण दुर्घटना भएको हो’ उनले भने।
रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ंख ३७०९ नम्बरको यात्रुबाहक बस चितवन चण्डिभञ्ज्याङको कालीखोला नजिकै त्रिशुली नदीमा बिहान पौने ५ बजे दुर्घटना भएको थियो। २२ जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन्।
१२ जनाको चितवन मेडिकल कलेजमा र ४ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ।
दुर्घटनामा परी घाइते हुनेमा भारत घर भएका मिली शाह, उनका भाइ प्रिन्स शाह, भारत सितामढीका राजेश गुप्ता, उनकी श्रीमती सुगन्धी गुप्ता, उनकी छोरी ४ वर्षिय स्वेता गुप्ता, छोरा आकाश गुप्ता छन्।
यस्तै धादिङ घर भएका सहचालक राजन पाण्डे, कास्की पोखराका १५ वर्षिय दीपिका थापा, रितेश गुप्ता र अकाश राकेश गुप्ता पनि घाइते छन्।
रौतहटका शुशान्त श्रीवास्तव, सञ्जय शाह र सर्लाहीका अविनास चौधरी लगायत घाइते भएको प्रहरीले जनाएको छ। मृतकको भने सनाखत हुन सकेको छैन। चालक लोकराज पौडेलको अवस्था अज्ञात छ। धेरै घाइतेहरु भीरमा नै अड्किएका थिए। करिब १०० मिटर तल गाडी नदीमा पुगेको थियो।
गाडी टुक्राटुक्रा भएर क्षतविक्षत छ। करिब एक सय मिटर तल गाडी खसेको प्रहरीले अनुमान गरेको छ। नदीमा केही डुवेको आशंका छन्। डुंगाको सहायतामा खोजी जारी छ।