दुधे-माइधार सडकखण्डमा सवारीसाधनको गति मापन गरिँदै। तस्बिर : विनोद/सेतोपाटी
सडक दुर्घटना न्यूनीकरणका लागि ‘र्याडर गन’को प्रयोगबाट ट्राफिक प्रहरीले पूर्वमा यातायातका साधनको गति मापन सुरू गरेको छ। यो अभियान दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने ट्राफिक प्रहरीले बताएका छन्।
पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय विर्तामोडको संयुक्त टोलीले पूर्व-पश्चिम राजमार्गमा गुडेका सवारीसाधनको ‘स्पीड’ मापनको यन्त्र राख्न थालेको हो। ‘र्याडर गन’को प्रयोगबाट सवारी साधनको गति मापन हुने र सम्भावित दुर्घटना न्यूनीकरण हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ। यो अभियान झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनकुटा, इलाम, पाँचथर लगायतका जिल्लामा सञ्चालन हुने पूर्वक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक पवन गिरीले बताए।
चालकले लापरबाही गरी तीव्र गतिमा यातायातका साधन गुडाएका कारण अनियन्त्रित भई दुर्घटना बढेको भन्दै गति नियन्त्रणका लागि यो अभियान पूर्वमा सुरू गरिएको हो। उनका अनुसार पूर्व-पश्चिम राजमार्गमा प्रतिघन्टा ६० किलोमिटरभन्दा बढी गतिमा यातायातका साधन गुडाउन पाइँदैन। अब नियम मिचेर सो गतिभन्दा बढी गुडाउने यातायातका साधन र चालकलाई कारबाही गरिने गिरीले बताए।
यसअघि ‘र्याडर गन’ नभएका सडकमा गुडने सवारीसाधनको गति मापन हुन सकेको थिएन। पूर्वमा पहिलोपटक ‘र्याडर गन’को प्रयोग गरिएको हो। पुर्वमा प्रयोगमा ल्याइएको ‘र्याडर गन’ले प्रतिघण्टा २० देखि बढी गतिमा गुडेको सवारीसाधनको गति मापन गर्छ। ‘रेडियो रे’को सहायताबाट करिब आधा किलोमिटरको दुरीमा गुडेको सवारीको अगाडि र पछाडि दुबै तिरबाट यसको गति मापन गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
बजार क्षेत्र, चौपाया आवातजावत गर्ने क्षेत्रहरूपमा बढीमा ४० भन्दामाथिको गतिमा सवारीसाधन चलाउन नपाउने कानुनी व्यवस्था छ।