बच्चा जन्मिए लगतै मुख च्यातेर हत्या गरेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। दाङको विजौरी गाबिस वडा नं. ३ मनिकापुर निवासी २० वर्षीया पार्वती बिकले घरमै बालिका जन्माए लगतै मुख च्यातेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।
निरीक्षक पाण्डेले पार्वतीले अवैैध गर्भधारणबाट जन्मेको बच्चीको हत्या गरी सुरुवालमा बेरेर जेब्रा झोलामा आफ्नै कोठाभित्र लुकाई राखेको अवस्थामा शव फेला परेको जानकारी दिए।
पार्वतीको अत्यधिक रक्तस्राव भएकोले प्रहरीको निगरानीमा राप्ती अंचल अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
बावुको हत्या गरी फरार अभियुक्त सात दिनपछि पक्राउ
यसैगरी बुवाको हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले सात दिनपछि पक्राउ गरेको छ। भदौ १ गते दाङ हाँसीपुर गाबिस वडा नं. २ निवासी ५५ बर्षीय बावु अमिन मियाँलाई धारिलो हतियार र चिरपटले प्रहार गरी हत्या गरेको अभियोगमा २७ वर्षीय छोरा मोहम्मद हसन मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
मोहम्मद रोल्पा जिल्लाको मिझीङ गाविस १ रुइनिवाङमा लुकेर बसेका थिए। दाङबाट गएको विषेश प्रहरीको टोली र ईलाका प्रहरी कार्यालय रोल्पा सुलिचौरको प्रहरीको सहयोगमा अभियुक्त पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
अभियुक्तको मानसिक सन्तुलन ठीक नभएको भन्ने खबर सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक विवादका कारण पहिले बुवाले आफुलाई हिर्काएको र आफुले दाउराले हिर्काउँदा बुबाको घटनास्थमै मृत्यु भएको बयान मियाले प्रहरी समक्ष दिएको खुल्न आएको छ।