‘लाल सलाम, यो जनगणतन्त्र रेडियो ९५.१ मेघाहर्ज हो।’
२०६० साल कात्तिकमा देशका विभिन्न ठाउँमा ९५.१ मेघाहर्ज फ्रिक्वेन्सीमा नयाँ रेडियो स्टेशन सुनियो।
एकातिर माओवादी द्वन्द्वको चरमोत्कर्ष, अनि अर्कोतिर तात्कालीन राजा ज्ञानेन्द्रको शाही कू। त्यतिबेला मिडिया स्वतन्त्र थिएनन्। सञ्चारमाध्यमले पनि राजतन्त्र र शाही कदमको पक्षपोषण गर्नुपथ्र्यो। सञ्चारमाध्यमका समाचार सेनाले काँटछाँटसमेत गथ्र्यो। तर, त्यहीबीचमा माओवादीले भूमिगत रेडियोको प्रसारण सुरू गर्यो।
त्यतिबेला रेडियो नेपालले सेना र सरकारको एकतर्फी बखान गथ्र्यो। सेना मारिएको समाचार कम र माओवादी मारिएका समाचार बढी प्रसारण गथ्र्यो। त्यसैले पनि लडाइँ झगडाका घटनाहरूबारे थाहा पाउन मानिसहरू माओवादीले चलाएको जनगणतन्त्र रेडियो सुन्थे। माओवादीको रेडियो रुखको टोड्कामा छ, जमिनमुनि छ लगायतका हल्ला गर्थे।
सुरुवाती चरणमा समाचारमात्रै प्रसारण हुने उक्त रेडियोबाट पछि जनसंगीतका कार्यक्रमहरू पनि बज्थे। प्त्र, सन्देशजस्ता जनतासँग जोडिने कार्यक्रम पनि प्रसारण हुन्थे। रेडियो नेपालले माओवादीलाई आतंककारीको संज्ञा दिएर खबर प्रसारण गरिरहँदा जनगणतन्त्र एफएमले माओवादीलाई जनताका सहयोगी, परिवर्तनका योद्धाको रुपमा परिचित गराउँथ्यो।
‘देशभरका पाँच क्षेत्रबाट एउटै फ्रिक्वेन्सीमा रेडियो प्रसारण हुन्थ्यो,’ द्वन्द्वकालमा रेडियो प्रसारणमा सक्रिय पत्रकार राजेन्द्र किराँती भन्छन्, ‘एउटा क्षेत्रभित्र पनि रेडियोको स्टेशन परिवर्तन भइरहन्थ्यो, घुम्ती सेवाजस्तो।’
पूर्वमा जनगणतन्त्र रेडियोको पहिलो परीक्षण प्रसारण उदयपुरको कमेरेमा भयो। त्यसपछि सोलुखुम्बुको पिल्ले (कालीडाँडो) डाँडा, खोटाङको ट्याम्के डाँडा, भोजपुरको खेना लगायतका ठाउँमा स्टेशन सारेर रेडियो बजाइन्थ्यो। पूर्वी कमाण्डको लागि एउटैमात्र ट्रान्समिटर र मिक्स्चर थियो। ‘सबैले सुनुन् भनेर ठाउँ सारीसारी बजाइन्थ्यो,’ किराँती भन्छन्, ‘सुरक्षा चुनौतीका कारण पनि एउटै ठाउँबाट लामो समय रेडियो चलाउन सकिँदैनथ्यो।’
रेडियो बजाउँदा सुरूमा १२=१३ जनाको सुरक्षादस्ताले पहरा दिन्थ्यो। तर, पछि सुरक्षा दस्ता हटाइयो। पूर्वमा माओवादीले अन्तिमपटक २०६३ असारमा मोरङको थामडाँडामा भूमिगत स्टेशन बनाएर रेडियो सञ्चालन गरेको थियो।
थाम डाँडाबाट कार्यक्रम चलाउँदा संसद पुनस्र्थापना भएको दुई महिना बितिसकेको थियो। तर, माओवादीसँग शान्ति सम्झौता भइसकेको थिएन। त्यसैले थामडाँडामा रेडियो चलाउन सुरुङ नै बनाइएको थियो।
डाँडाको टुप्पोमा जमिनमुनि दुई वटा प्राविधिक कक्ष बनाइएको थियो। बीचमा सिसा लगाइएको थियो। त्यही कोठामा कार्यक्रम रेकर्ड हुन्थ्यो र प्रसारण गरिन्थ्यो। माथिबाट भने काठ, बाँस, प्लाष्टिक र माटोले छोपिएको थियो। स्थानीय बमबहादुर राईले भने, ‘बारीको बीचमा भएको हुँदा कसैले माथिबाट हेर्दा पनि बारी नै भन्थ्यो, सुइँको पाउँदैनथ्यो।’
नजिकै एन्टेना गाडिएको थियो। त्यो ठाउँबाट १६ महिना जति रेडियो बज्यो।
खाल्डो खन्नुभन्दा पहिला तीन मिटर माथि चिहानघारीबाट रेडियो बज्थ्यो। चिहानकै बीचबाट कार्यक्रम सञ्चालन हुन्थे। ‘त्यहाँ त न्युज डेस्क पनि चिहानमाथि नै थियो,’ किराँती भन्छन्। पाटी गाविस सचिव नरबहादुर कटुवाल थप्छन्, ‘म गाउँमा हुँदा मलाई पनि जाउँ भन्थे, म पनि दुई चार रात सुतेको छु।’
माओवादीप्रति नरम भएकै कारण कटुवाललाई माओवादीले पनि सहयोग गर्थे। द्वन्द्वकालमा सबै सचिवहरू सदरमुकाममा बस्दा नरबहादुर भने अक्सर गाउँमै बस्थे। गाउँमा विद्युत र बाटोको खन्ने काम तीव्र थियो। उनी गाउँमै बसिरहेपछि सेनाले उनलाई शंका गर्न थाल्यो। ‘त्यसपछि अरुलाई देखाउनकै लागि विराटनगरमा कार्यालय खोलेँ, भूमिगत रुपमा गाउँ जान थालेँ,’ कटुवालले भने।
थाम डाँडाको भूमिगत रेडियो स्टेशनमा विद्युत पनि कटुवालले नै लगिदिएका हुन्। त्यसअघिसम्म जेनेरेटर प्रयोग गरेर रेडियो चलाइन्थ्यो। विद्युत पुगेपछि रेडियो नियमित बज्न थाल्यो। थामडाँडाअघि सिंहदेवीमा पनि विद्युतबाट रेडियो चल्यो। त्यसअघि चाहिँ जेनेरेटरकै भर थियो।
रेडियो चलाउने मेसिन, उपकरणमध्ये ठाउँ सार्न सबैभन्दा गाह्रो भनेको जेनेरेटर नै थियो। ‘झन्डै ४० किलोको जेनेरेटर बोकेर हिँड्न गाह्रो थियो, अरु सामान त खासै समस्या थिएन,’ किराँतीले भने।
रेडियो चलाउने विद्युतीय ऊर्जा भन्दाअघि थामडाँडाबासीको ऊर्जा सहयोगी बन्यो। थामडाँडाका धेरैजसो घरमा माओवादी समर्थक थिए। त्यसमा पनि अन्यत्रबाट आएका माओवादीहरू थपिन्थे।
‘मेरो घरमा दैनिक ८-१० जना माओवादी कार्यकर्ता हुन्थे, कहिलेकाहीँ त ३० जनासम्म पनि पुग्थे,’ पाटीगाउँका तात्कालीन जनसरकार प्रमुख सैबहादुर राई भन्छन्।
एकपटक सेना आयो भन्ने हल्ला चलेपछि उनको घरमा बसेका १०-१२ जना माओवादी लडाकु घरभरि ग्रिनेट छाडेर भागेछन्। सैबहादुर सम्झन्छन्, ‘घरका महिलाहरूलाई डोकोमा बोकेर कतै लाने चाँजोपाँजो मिलाउँदै थिए, धन्न सेना यता आएन।’
थामडाँडाबासीमा परिवर्तनप्रतिको तीव्र चाहना थियो। त्यसैले उनीहरूले मनैदेखि माओवादीलाई सघाए। ‘भएको ओढ्ने ओच्छ्याउने दियौं, मिठो मसिनो पाकेको खुवायौं,’ बमबहादुरले भने, ‘शाही सेनाको डर हुन्थ्यो, उनीहरू घरघरै बस्थे, पछि गाउँमै क्याम्प पनि बनाए।’
रेडियो चलाउँदा सुरूमा एक सय वाटको ट्रान्समिटर प्रयोग गरिएकोमा अन्तिमपटक थामडाँडामा बजाउँदा भने तीन सय वाटको ट्रान्समिटर प्रयोग गरिएको थियो। थामडाँडामा रेडियो चलाएको पाँच महिनापछि अर्थात २०६३ मंसिरमा बृहत शान्ति सम्झौता भयो।
शान्ति सम्झौताको १० महिनापछि रेडियोलाई सामुदायिक रेडियोको रुपमा चलाउने निर्णय भयो। लगानीकर्ताहरू जुटे। स्टेशनलाई धरान सारियो। थामडाँडाको टावरले धरानको स्टेसनको सिग्नल भेटेन, ओख्रेमा सिग्नल भेट्यो, टावर थामडाँडा दक्षिणमा पर्ने ओख्रे भन्ने ठाउँमा सारियो।
टावर ओख्रेमा सारिएकोमा थामडाँडाबासी दुःखी छन्। ‘रेडियो यहीँ चल्ला, विकास होला भनेको त, शान्ति सम्झौतापछि टावर पनि ओख्रे गयो,’ बमबहादुर भन्छन्, ‘कष्टको बेलामा यहाँबाट रेडियो चलाउने, शान्ति आएपछि उता लाने? कता–कता पिर पर्छ।’
पछि पार्टी फुटेपछि पार्टीका धेरै कुरा भागबण्डा लाग्यो। त्यसमध्ये एफएम रेडियो पनि एक थियो। केही समय प्रसारण अवरुद्ध गणतन्त्र एफएम सुनसरीको धरानबाट अहिले नियमित प्रसारण भइरहेको छ। कुनै समय डोकोमा बोकेर यताउती सार्दै सञ्चालन गरिएको उक्त ‘मोबाइल’ एफएम अहिले व्यावसायिक एफएमहरूकै धारमा छ।
अलिकति प्रवद्र्धन गर्न सकेको खण्डमा लिम्बू र मगरको बाहुल्यता रहेको पाटीगाउँ गाविस र त्यसमा पनि थाम डाँडामा आन्तरिक पर्यटक ल्याउन त्यहाँको मौसम तथा प्राकृतिक सौन्दर्यले सहयोग गर्छ। नजिकै रहेका भेडेटार, नाम्जे, डाँडाबजार, ध्वजेडाँडा घुम्न आउनेहरूको लागि भूमिगत रेडियोको भग्नावशेष हेर्नैपर्ने विशेषता बन्न सक्छ भन्नेमा गाउँलेहरू विश्वस्त छन्। माओवादीले नै यो काम गर्नुपर्छ भन्छन् बमबहादुर।
उनलाई रेडियो थामडाँडामै भइदिए हुन्थ्यो भन्ने पहिलेदेखि नै लागिरहेको थियो। त्यो नभए पनि उनी भूमिगत स्टेशनको अवशेषलाई संरक्षण गर्नुपर्छ भन्छन्। किराँतीलाई पनि उनले यो कुरा भने।
राजेन्द्र किराँती आफैं त्यो ठाउँको संरक्षण गरेर पर्यटक बढाउन आवश्यक देख्छन्। भन्छन्, ‘आवश्यक छ, तर राज्यसत्ता प्राप्तिको आन्दोलन नै सफल नभइसकेकोले त्यता ध्यान दिन सकिएको छैन।’