हिन्दू र बौद्ध धर्मावलम्वीहरुको प्रसिद्ध साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरको नाममा म्याग्दीमा रहेको मुक्तिनाथ सदावर्त गुठीको आम्दानी कति र कहाँ छ भन्ने विषयमा बल्ल खोजिनीति हुन थालेको छ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा संचालनका लागि म्याग्दीको राखु पिप्ले,भगवती,मौवाफाँट ,कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठीका लागि राखिदिएर राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन् ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि रानी सूवर्णप्रभाले मुक्तिनाथ मन्दिरको पूजा संचालनका लागि राखि दिएको मुक्तिनाथ सदावर्त गुठी जग्गालाई २०४७ सालको अन्तरिम सरकारका भूमिसुधार मन्त्री झलनाथ खनालले रैकरमा परिणत गर्ने व्यवस्था गरेपछि २०६४ सालसम्म सो जग्गामध्ये करिव १५ हजार रोपनी जग्गा रैकरमा परिणत भइसकेको जिल्ला मालपोत कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ । जग्गा रैकरमा परिणत गर्ने क्रममा रैकरवापत मोहीहरुले तिरेको करोडौं रुपयाँ कहाँ छ भन्ने कुरा पत्ता लाग्न नसकेपछि अहिले जिल्ला प्रशाशन कार्यालय मुस्ताङले सो रकमको खोजिनीति गर्न थालेको जिल्ला प्रशाशन कार्यालय मुस्ताङका प्रशाशकीय अधिकृत कृष्णवहादुर वानियाँले जानकारी दिएका छन्।
मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहनु भएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले मुक्तिनाथ मन्दिरको म्याग्दीमा रहेको गुठी जग्गा र त्यसको आम्दानीका वारेमा खोजिनीति गर्न प्रशाशकीय अधिकृत वानियाँलाई म्याग्दीमा पठाएका छन् । प्रशाशकीय अधिकृत वानियाँले म्याग्दीमा आइ जिल्ला मालपोत कार्यालय र नेपाल वैंक लिमिटेडमा खोजिनीति गर्दा मुक्तिनाथ सदावर्त गुठीको आम्दानी पत्ता लाग्न नसकेको जानकारी दिए ।
वानियाँका अनुसार २०६० सालमा भएको म्याग्दी आक्रमणका क्रममा दुवै कार्यालयका कागजपत्र जलेकाले समस्या उत्पन्न भएको छ । ‘रैकरमा परिणत गराउँदा मोहीले तिरेको करिव १ करोड रुपैयाँ गुठी संस्थान केन्द्रिय कार्यालयको अक्षयकोष खाता नं ९६४ र कुत मालपोत खाता नं ४७ मा जम्मा हुनुपर्ने हो ’ वानियाँले भने ‘तर त्यो रकम न त गुठी संस्थानले सार्वजनिक गरेको छ न मुक्तिनाथको विकासमा नै खर्च भएको छ।’
त्यसो हो भने मुक्तिनाथ गुठीको यति धेरै रकम कहाँ छ त ?प्रश्न सरकारतर्फ सोझिएको छ । सरकारका आधिकारिक निकाय मालपोत र नेपाल वैंकले समेत सो रकम कहाँ छ भनेर पत्ता लगाउन नसक्नुले सरकारी कार्यशैलीलाई नै व्यङ्ग्य गरेको छ ।
के गर्दै छ मुक्तिनाथ विकास समिति ?
मुक्तिनाथ मन्दिर र मुक्तिनाथ क्षेत्रको विकासलागि गठन भएको मुक्तिनाथ विकास समिति अहिले आएर अलिकति सक्रिय भएजस्तो देखिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष र मालपोत अधिकृत पदेन सदस्य सचिव रहेको मुक्तिनाथ विकास समिति पूर्णतः कर्मचारीमाथि निर्भर रहेको छ । हिन्दू र वौद्ध धर्मावलम्वीहरुको साझा धार्मिक स्थल मुक्तिनाथमा धार्मिक सहिष्णुताको गतिलो उदाहरण पाइन्छ भनेर भनिएपनि स्थानीय वासिन्दाहरु मुक्तिनाथको विकासका लागि त्यति सक्रिय नरहेको उदाहरण आम्दानीको समेत खोजी गर्न नसक्नुले पनि पुष्टि गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले मुक्तिनाथको आम्दानी मुक्तिनाथकै विकासका लागि खर्च हुनुपर्छ भन्ने मान्यता राखेको र सोही अनुसार काम गरीरहेको वताए। ‘हामीले जसरी भएपनि म्याग्दीमा रहेका मुक्तिनाथ सदावर्त गुठीको आम्दानी पत्ता लगाएर सो रकम मुक्तिनाथको विकासका लागि नै उपयोग गर्छौं ’ प्रजिअ रेग्मीले भने ‘त्यसका लागि हामीले म्याग्दीमा खोजि सुरु गर्नुका साथै अख्तियार प्रमुख लोकमानसिंह कार्कीसंग समेत कुराकानी गरिसकेका छौं ।’
के भने त अख्तियार प्रमुख कार्कीले ?
साउन महिनाको अन्तिम साता मुक्तिनाथको दर्शनका लागि मुस्ताङ आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमख लोकमानसिंह कार्कीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले मुक्तिनाथ मन्दिरको गुठी र यसवाट हुने आम्दानीका वारेमा जानकारी गराएका थिए । म्याग्दीमा रहेको हजारौं रोपनी गुठी जग्गाको आम्दानी मन्दिरको प्रयोगमा आउन नसकेको जानकारी गराएपछि अख्तियार प्रमुख कार्कीले ‘त्यसको तुरुन्तै खोजिनीति गरी मलाई जानकारी गराउन’ु भनेपछि मुक्तिनाथ विकास समिति गुठीको आम्दानीको खोजीमा लागेको हो ।
‘तपाईले त्यो रकम कहाँ छ पत्ता लगाएर मलाई खवर गर्नु , म १० मिनेट भित्रमा त्यो रकम तपाइहरुकहाँ पठाइदिने छु ’अख्तियार प्रमुख कार्कीले मुस्ताङका प्रजिअ रेग्मीलाई भनेको भनाई उद्घुत गर्दै प्रशाशकीय अधिकृत वानियाँले भने ‘तर, रकम नै कहाँ छ भन्नेकुरा अझै पत्ता लाग्न सकेको छैन ।’
भौगोलिक रुपमा विकट भए पनि मुक्तिनाथ संसारकै हिन्दू तथा अन्य पर्यटकहरुका लागिसमेत अत्यन्त महत्वपूण र आकर्षक स्थल मानिन्छ । पुण्य कमाउनका लागि आउने तीर्थयात्री होउन् वा भ्रमणका लागि आउने पर्यटकहरु, सवैका लागि एक रात वस्नै पर्ने वाध्यता वा रहरको ठाउँ मुक्तिनाथको विकासका लागि सरकारी स्तरवाट खासै काम भने नभएको मुक्तिनाथ पुगेर फर्कनेहरुको गुनासो रहने गर्दछ । १८ औं शताव्दीमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर भन्दा केही तल निर्माण गरिदिएको धर्मशाला वाहेक सर्वसाधारण तीर्थयात्रीका लागि अझैसम्म पनि कुनै पूर्वाधारहरु निर्माण नहुनु मुक्तिनाथको विकासका लागि चुनौति वनेको छ । ‘रानीपौवा’ को नामले चिनिने सो धर्मशालामा अहिले पनि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले आश्रय लिने गर्दछन् ।
उसो त पर्यटकलक्षित सुविधा सम्पन्न होटेल र लजहरु पनि मुक्तिनाथमा रहेका छन् । तर, ती होटेल र लजहरुमा वस्न सर्वसाधारण तीर्थालुहरुको क्षमता नपुग्ने हुँदा समस्या भोग्नु परेका गुनासाहरु पनी वारम्वार सुनिने गर्दछन् । वार्षिक लाखौं आम्दानी हुने स्रोत हुँदा हुँदै पनि मुक्तिनाथलाई सर्वसाधाणका लागि मुक्तिकानाथ जस्तो वनाउन नसक्नुमा सरकार र स्थानीय वासिन्दाहरुको वेवास्ता नै प्रमुख कारण भएको सरोकारवालाहरुको भनाइ छ ।