भारतले मंगलबार मंगल ग्रहतर्फ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। यो मिसनले अन्तरिक्ष यात्राको दिशामा भारतको प्रविधि र प्रगति प्रदर्शन गर्ने बताइएको छ।
भारतको पूर्वीतटीय सहर श्रीहरिकोटाबाट मंगलतर्फ उडेको अन्तरिक्षयानको प्रक्षेपण सयौं मानिसले प्रत्यक्ष हेरेका थिए भने टिभीबाट यो यात्रा लाखौंले भारतभरि तथा बाहिरबाट समेत हेरेका थिए।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो मिसन सफल भएमा भारत मंगल ग्रहमा यान पुर्याउने चौथो देश हुनेछ। यसअघि रुस, अमेरिका र युरोपले मंगल ग्रहमा यान पुर्याएका थिए।
‘यो अभियानले विश्वभर भारतको युवा दिमागलाई ऊर्जाशील बनाउने र देखाउने आशा गरिएको छ,’ अभियानका निर्देशक पी कुन्हीकृष्णनले यान प्रक्षेपण स्थलमा भने।
उडेको ४४ मिनेटमा मंगल ग्रहको अर्बिटरले रकेट छाडेर पृथ्वी वरिपरिको अन्तरिक्ष मार्गमा प्रवेश गरेको थियो। २०–२५ दिनमा यो यानले मंगलतर्फ अघि बढ्ने क्रममा विभिन्न गम्भीर प्राविधिक काम सम्पन्न गर्नेछ।
‘टिमवर्क र आजको जस्तो समर्पणले कुनै पनि मिसन हाम्रो क्षमताभन्दा बाहिर छैन,’ भारतीय स्पेस सेन्टर तथा कार्यकारी बोर्डका प्रमुख एस रामकृष्णन्ले भने।
१३५० किलोको मंगलयान ३०० दिनका बीचमा ७ करोड ८० लाख किलोमिटरको यात्रा तय गर्दै आगामी सेप्टेम्बरमा मंगल ग्रहको अर्बिट पुग्ने आशा गरिएको छ।
‘यो अभियानको सबैभन्दा ठूलो चुनौती मंगलयानले मंगल छुनु हुनेछ,’ भारतीय अन्तरिक्ष तथा अनुसन्धान संस्थाका अध्यक्ष के राधाकृष्णन्ले भने, ‘हामी यो परीक्षा पास गर्छौं कि गर्दैनौं भन्ने सेप्टेम्बर २४, २०१४ मा थाहा हुनेछ।’
उनले छोटो समयमा मिसन सफल पार्ने वैज्ञानिकहरुलाई बधाई दिए। यो अभियानको सम्भाव्यता अध्ययन चन्द्र ग्रहमा सन् २००८ मा उपग्रह प्रक्षेपण गरेपछि सन् २०१० मा सुरु भएको थियो।
प्रधानमन्त्री मनमोहन सिंहले मंगल ग्रहको यात्रा गत वर्ष देशवासीलाई सम्बोधन गर्ने क्रममा घोषणा गरेका हुन्। यो अभियानमा खर्च हुने ७ करोड २० लाख डलरबारे कतिपय आलोचकले टिप्पणी गरेका छन्।