सानैदेखि किन हो, मलाई दसैंभन्दा तिहार नै रमाइलो लाग्थ्यो। अलिअलि चिसोको सुरुवात र न्यानो लुगा पनि लगाउन पाइने। फेरि दसैंमा त खासै आफ्ना साथीहरुसँग भेटघाट पनि नहुने। तिहारमा त सबै साथीभाइ मिलेर देउसी पनि जान पाइने, खुब मज्जा हुन्थ्यो।
साँच्चै भन्नुपर्दा एउटा मिठो सपना, चाहना र रमाइलो क्षणहरु बोकेर आउने गथ्र्यो तिहार।
चारैतिर झिलिमिली, सेलरोटीको मिठो सुगन्ध र फूलहरुको मिठो सुवास र उज्यालो रङ्गले मन आनन्दित तुल्याउँथ्यो।
जता हेर्यो, उतै रंगीचंगी प्रकृतिले पनि सुमधुर साथ दिन्छ, यो मौसममा। अझ भाइटीकाको दिन निधारमा चेलीबेटीले लगाइदिएको सप्तरङ्गी टिका र घाँटीमा मखमली माला चिरेर हिँड्नुको सानै बेग्लै।
लाग्छ, हरेक नेपालीको मिठो यादहरु सँगाल्ने बालपल लिएर आउछ तिहार। घरका ठूलाबडाहरु र आफ्ना बालबच्चाका लागि।
आफू पनि बालक भएर उनीहरुसँग रमाउने पाँच दिनको रिवाज हो तिहार। सोच्छु, फेरि पनि साथीभाई बटुलेर ‘देउसी रे’ भन्न जाउँ!
तर, अब कहाँ?
सबै बालसखाहरु कोही कता कोही कता! सबलाई जिन्दगीले कता कता डोराइसक्यो! एउटा कथा सकिन्छ, त्यसैगरी अर्को नयाँ सुरु भइहाल्छ।
समय बलवान छ र उसको आफ्नै गतिमा दौडिरहन्छ। हरेक वर्ष दसैं र तिहार आउँछन् र जान्छन्।
यसपालि पनि हाम्रो घरदैलोमा दसैं सकेर तिहार भित्रिसकेको छ। सबैलाई तिहार चढेको छ मेचीदेखि महाकालीसम्म। सबैलाई तिहार मनाउनु छ र यसका लागि जोरजाम पनि गर्नु छ। सारा
नेपाली जनतालाई खुसी र उमंगका साथ देशको महान चाड दिपावली मनाउनु छ। सानादेखि ठूला पसलहरुमा किनमेल गर्नेहरुको भीड त्यस्तैगरी बढेको छ।
मैले पनि तिहारको सुरुवातसँगै काठमाडौंको बदलिएको माहोल, रौनक र असनको व्यस्त बजारलाई आफ्नो क्यामेरामा कैद गर्ने कोसिस गरेको छु।