मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ।
एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो। गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएका छन्।
देशको पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खासगरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक÷दुई दिन भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए।
'दुई तीन दिनयता लगातारको झरी कम भइसकेको छ, सक्रिय मनसुनमा सुधार आएको छ, तर पश्चिम क्षेत्रमा केही दिन वर्षा हुने देखिएकाले सतर्क रहनुपर्ने हुन्छ' उनले भने। आज पनि उपत्यकासहित देशभर बदलीसँगै अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ।
विभागको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी धनगढीमा ४१ मिलिमिटर र सबैभन्दा कम दिपायलमा तीन मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ भने ताप्लेजुङमा २३, ओखलढुङ्गामा ३३ र डडेल्धुरामा १९ मिलिमिटर वर्षात् भएको छ। रासस