सप्तकोशीमा केही दिनदेखि आएको बाढीले नदी बीचमा रहेको श्रीलंका टापुका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। बाढी र कटानका कारण १० हजारभन्दा बढी घर जोखिममा छन्।
यो वर्ष टापुमा विगत १० वर्षयताकै ठूलो बाढी आएको स्थानिय बताउँछन्। टापुमा सुनसरीको महेन्द्रनगर, प्रकाशपुर गाविसका साथै उदयपुरका तपेश्वरी गाविसका केही क्षेत्र पर्छन्। तीनवटै गाविसका केही क्षेत्र बाढीमा डुबेका छन्। एउटै गाउँका सय जना मानिस विस्थापित भएको स्थानीय प्रदीप थापाले बताए।
‘तीन दिनजति पानी नभएको उँचो ठाउँमा राख्यौं,’ बिहीबार टापुमा भेटिएका प्रदीपले सेतोपाटीसँग भने, ‘हिजोदेखि मात्र उनीहरु घर फर्के।’
त्यस्तै, प्रकाशपुरकी स्वास्थ्य स्वयंसेविका प्रमिला कविरथका अनुसार टापुमा रहेका प्रकाशपुर वडा नम्बर ४ र ५ अन्तर्गतका तीन सय घरको एउटा गाउँ डुबानमा परे। ‘मेरो कार्यक्षेत्रमा रहेका ६ सय घरपरिवारमध्ये तीन सय बाढी र पानीमा डुबे,’ उनले भनिन्, ‘पकाउने, खाने, सुत्ने सबै ठाउँमा पानी जमेको छ, गर्भवती, सुत्केरी र बिरामीको विजोग छ।’
उनका अनुसार पानी केही कम भएपछि मात्र स्थानिय घर त फर्केका छन् तर अत्यावश्यक औषधि र सुत्ने, बस्ने राम्रो ठाउँको अभाव छ। कोशी पार गरेर सामान ल्याउने अवस्था पनि छैन। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रलाई थोरै औषधि दिने गरेको छ।
‘बाढीसँगै बिरामी पनि बढेका छन्,’ उनले भनिन्, ‘स्वास्थ्य केन्द्रमा भने सिटामोल पनि छैन, मैले आफ्नो लागि ल्याएको सिटामोल बाँड्दैछु।’
कोशीमा पानी बढेपछि टापुलाई बाहिरी संसारसँग जोड्ने यातायातको एकमात्र विकल्पको रूपमा रहेको डुंगा सञ्चालनसमेत ठप्प भएको थियो। अहिले पानी केही घटेपछि दिनमा एकपटक मात्र वारपार हुने गरेको छ। सुनसरीतर्फबाट कोशी पार गरी टापुसम्म जान दुई ठाउँबाट दिनमा एउटा डुंगा एकतर्फी चल्न थाले पनि पानी बढेसँगै डुंगा सञ्चालन ठप्प हुने गरेको छ।
बाढी र डुबानका कारण त्यहाँका स्कुल केही दिनदेखि बन्द छन्। ठाउँठाउँमा पानी जमेर विद्यार्थीहरू तर्नै नसक्ने भएपछि स्कुल बन्द गरिएका हुन्। टापुमा दुई निजीसहित आठवटा स्कुल बनाइएका छन्। टापुमा दुई हजार हाराहारी विद्यार्थी छन्।
टापुको पूर्वतर्फ कटान
कोशी नदीको पश्चिममा उदयपुर जिल्ला पर्छ भने पूर्वतर्फ सुनसरी। पहिला उदयपुरतर्फ नजिक भएर बग्ने गरेको कोशीको मुख्य भंगालो २० सालयता पूर्वतर्फ सोझिएपछि हजारौं बिगाहा नम्बरी जग्गामाथिबाट बग्न थालेको थियो। त्यसयता सुनसरीका हजारौं मानिस विस्थापित भए। उनीहरू अहिलेसम्म कोशी बगेको आफ्नो जग्गाको लालपूर्जा देखाउँदै क्षतिपूर्ति र सट्टाभर्नाको लागि आन्दोलन गरिरहेका छन्।
पानी पूर्व लागेपछि बनेको उक्त टापुमा सुनसरी, उदयपुरलगायत भारतको बिहारबाट आएका भारतीयसमेत बस्छन्। प्रहरी र सरकारी अधिकारीसमेत बिरलै पुग्ने उक्त टापुको क्षेत्रफल र त्यहाँ बस्ने मानिसको संख्याको यकिन तथ्यांक कसैसँग नभए पनि पाँच हजार परिवार बस्ने गरेको अनुमान छ। प्रशस्त खुला चरण उपलब्ध हुँदा हजारौं संख्यामा गाई, भैंसी लगायत चौपायासमेत पालिएका छन्।
यो वर्ष कोशीको धार पश्चिमतर्फ फर्किएको छ। कोशीले टापुको पूर्वी किनारमा कटान र डुबान तीव्र पारेको छ। स्थानीय गंगा घिमिरेका अनुसार यो वर्ष असार २६ गतेबाट सुरु भएको कटानले सयौं बिगाहा जमिन बगाइसकेको छ। ०६३ सालमा पनि धेरै जमिन कटान भएको सम्झँदै उनले भने, ‘यही रफ्तार रहे दुई तीन वर्षभित्र केही बाँकी राख्दैन।’
‘चारवटा बाटो भएको एउटा जमिनको ठूलो टुक्रा कटानमा परिसकेको छ,’ स्थानीय युवा व्यवसायी भोगेन्द्र भट्टराईले भने, ‘बाटै बगाएपछि अहिले नयाँ ठाउँबाट झाडी फाँडेर गोरेटो बनाइएको छ, त्यो पनि जोखिममा छ।’
बाँध बाँध्न पनि समस्या
टापु र त्यहाँ बस्ने मानिसको सुरक्षाका लागि नेपाल सरकारले चासो देखाएको छैन। टापुमा बस्नेहरू कसैसँग लालपूर्जा छैन, किनकि टापु नदीको जग्गामा पर्छ। तर पनि उक्त ठाउँको जग्गा किनबेच हुने गरेको छ।
अर्कोतर्फ प्रकाशपुर, महेन्द्रनगरछेउ कोशी बगेको क्षेत्र भने व्यक्तिको निजी जग्गा हो। उक्त जग्गाको लालपुर्जा उनीहरूसँग छ। कटान नियन्त्रणका लागि छुट्टै बाँध बनाउन सहज नभएको स्थानीय बताउँछन्।
‘लाहानबाट इन्जिनियरहरू आएका थिए,’ स्थानिय प्रदीपले भने, ‘बाँध बनाउन व्यक्तिको जग्गा पर्ने भन्दै उनीहरुले सम्भव नभएको बताए।’