काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेखि सञ्चालनको तयारी गरिरहेको बडिमालिका यातायात प्रा.लि. र सुदूरपश्चित यातायात व्यवसायी संघ कैलालीबीच गाडी चलाउने विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज गरेको छ। लाठी चार्जबाट करिब आधा दर्जन गाडी मजदुर घाइते भएका छन्। उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार धनगढीबाट काठमाडांैका लागि छुटेको बडिमालिका यातायातलाई सुदूरपश्मि यातायातका सदस्य र मजदुरहरूले संघको कार्यालय अगाडि चटकपुरमा अवरोध सिर्जना गरेका थिए। अवरोध हटाउन पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। उनले सुदूरपश्चिम यातायात व्यवसायीका पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको बताए।
विगत लामो समयदेखि यातायात व्यवसायीहरूबीच रहँदै आएको विवादले झडपको रुप लिएको हो। काठमाडौंमा बडिमालिका यातायात प्रा.लि.को नामले दर्ता भएको सो बस धनगढीदेखि चल्न पाउनुपर्ने माग राख्दै बडिमालिकाले सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको बताएको छ।
उता सुदूरपश्चिम यातायात व्यवसायी संघले प्रालीमा दर्ता भएको बडिमालिकाको रुट इजाजत पत्र प्रा.लि.मा दर्ता हुनुअगावैको रहेको र प्रा.लि.को नाममा बस हुनुपर्ने प्रावधान रहे पनि त्यसो नपाइएकोले अवरोध गरेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले जानकारी दिए।
उनले पुराना गाडीलाई पेन्टिङ गरेर नयाँजस्तो देखाएर चलाउन खोजेको आरोप लगाउँदै पुराना र थोत्रा गाडी लामो रुटमा चल्दा जोखिम बढी हुने भन्दै बडिमालिकाले यात्रुलाई समेत ठगिरहेको आरोप लगाए। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दुबै समितिका पदाधिकारीहरुसँग छलफल चलाइए पनि कुनै निष्कर्ष ननिस्किएको बताए।
गाडी सञ्चालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चि यातायात व्यवसायी संघ र कर्णाली यातायात व्यवसायी समितिले शनिबारदेखि अनिश्चिकालीत यातायात बन्दको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।