झम्सिखेल, ललितपुरस्थित संसारा स्कुलमा सिप विकास अध्ययन गर्दै बालबालिका। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आफ्ना बालबच्चाले स्कुलमा राम्रो अंक प्राप्त गरुन् भन्ने सबै आमाबाबुको चाहना हुन्छ। किन नहोस्, सानै उमेरदेखि हामीलाई जाँचमा राम्रो अंक ल्याउनु नै जीवनमा सफलता प्राप्त गर्ने बाटो हो भन्ने सिकाइएको छ। राम्रा विश्वविद्यालयमा भर्ती हुन, जागिर खान र जीवनलाई खुसी तथा सफल बनाउन जाँचको अंक महत्वपूर्ण हुन्छ भन्ने हामीले जानेका छौं।
पछिल्लो एक अध्ययनले भने बालबालिकाले जाँचमा ल्याउने उत्कृष्ट अंक वा ग्रेडले मात्र वयस्क जीवनमा उनीहरुको सफलता मापन नगर्ने निष्कर्ष निकालेको छ।
सफल जीवनका लागि उनीहरु सामाजिक रुपले घुलमिल हुने, आफ्ना भावना नियन्त्रण गर्ने, एकअर्कालाई बुझ्ने र पारस्परिक सहयोगको भावना विकास गर्ने कुरा महत्वपूर्ण हुने उक्त अध्ययनले देखाएको छ। अध्ययनअनुसार बालबालिकाले स्कुलमा सामाजिक सिप हासिल गर्न निकै समय खर्च गर्नु आवश्यक हुन्छ।
यो अनुसन्धानका लागि अनुसन्धाताहरुले सन् १९९१ मा ८०० बालबालिकाको ‘सामाजिक सक्षमता नापन’ गरेका थिए, जसअन्तर्गत कुनै बच्चाले अरुको भावना कति बुझ्न सक्ला भन्ने प्रश्न उनीहरुका शिक्षकसँग सोधिएको थियो। उत्तरमा ‘बुझ्न सक्दैन’, ‘थोरै बुझ्नसक्छ’, ‘ठिक्क बुझ्नसक्छ’, ‘राम्रोसँग बुझ्नसक्छ’ वा धेरै ‘राम्रो बुझ्नसक्छ’ भन्ने रेकर्ड गरिएको थियो।
त्यस्ता उत्तरका आधारमा उनीहरुले प्रत्येक बच्चाको 'सामाजिक सक्षमता अंक’ तयार गरे र त्यसलाई १९ वर्षसम्म राखे। अध्ययन गरिएका बच्चाहरु २५ वर्षका भएपछि उक्त अध्ययनलाई फेरि खोले। उनीहरुको वयस्क जीवन कसरी चल्दैछ भनेर सूचना संकलन गरे। त्यसपछि बाल्यकालमा विकास गरेका सामाजिक सिपका आधारमा उनीहरु जवान हुँदा कस्ता व्यक्ति बन्लान् भनी भविष्यवाणी गर्न सकिन्छ कि सकिंदैन भन्नेबारे तथ्यांक विश्लेषण गरे।
जाँचमा धेरै नम्बर आउनु राम्रो हो, तर सफलता नाप्ने त्यस्तो नतिजा पर्याप्त नभएको उक्त अध्यनले देखाएको छ। अधिकांश बालबालिकाको जीवनमा खुसी र सफल हुन सामाजिक सिप महत्वपूर्ण भएको अध्ययनको निचोड छ।
हाम्रो परम्परागत सोचाइअनुसार त जाँचमा राम्रो नतिजा प्राप्त गर्ने कुनै बच्चा प्रतिभावान हुनुपर्ने होइन र?
पक्कै पनि राम्रो अंक ल्याउनु र जीवनमा पैसा कमाउनुबीच सकारात्मक सबन्ध रहेको अध्ययनहरुले देखाएको हो। तर, परीक्षा नतिजाले नभन्ने कुरा के हो भने, एउटा बच्चाले कतिपटक उसको सहपाठीसँग मिलेर कठिन प्रश्नको हल खोज्यो, शिक्षकसँग कतिपटक थप सहयोग माग्यो वा कतिपटक टिभी हेर्ने चाहनालाई दबाएर परीक्षाको तयारीमा समय खर्च गर्यो।
उक्त अध्ययनका अनुसन्धाताहरुले लेखेका छन्, ‘स्कुलमा सफलता भन्नाले सामाजिक-भावनात्मक र बौद्धिक सिप दुवै हो। किनकि सामाजिक अन्तर्क्रिया, एकाग्रता र आत्मनियन्त्रणले कुनै कुरा सिक्न चाहिने तयारीलाई प्रभाव पार्छ।’
उसो त केही बालबालिका अत्यन्तै तीक्ष्ण हुन्छन् र जीवनमा सफल पनि हुन्छन्। तर, सबै बच्चा अल्बर्ट आइन्स्टाइन हुन सक्दैनन्। अधिकांश बच्चाको जीवन सफल हुन तीक्ष्णताबाहेक अरु कुरा पनि चाहिन्छ। त्यो हो, उसको सामाजिक क्षमता। त्यसकारण स्कुलमा बच्चाहरुलाई सामाजिक सिपबारे केही समय बढी नै सिकाउनु उपयुक्त हुने अनुसन्धानको निचोड छ।
पारस्परिक सहयोगको भावनाले बालबालिकाको जीवनमा सकारात्मक नतिजा ल्याउने उक्त अध्ययनले देखाएको छ। बच्चाहरु सही मार्गमा छन् कि छैनन् भन्ने जान्न हामीले राज्यद्वारा निर्धारित परीक्षा प्रणालीबाहिर पनि हेर्नुपर्ने हुन्छ। यसैका लागि अनुसन्धाताहरुले ‘सामाजिक सक्षमता अंक’ को प्रयोग गरेका हुन्।
यसमा उनीहरुले पाएको नतिजा हो, आफ्ना समकक्षीसँग मिलेर काम गर्ने, आफ्ना भावनालाई सही तरिकाले नियन्त्रण गर्ने र समस्या हल गर्न जान्ने बच्चाहरुले सफल जीवन निर्वाह गरेका छन्।
सामाजिक सक्षमता अंक राम्रो भएका बच्चाले विश्वविद्यालयमा सफल ढंगले पढाइ पूरा गर्दै २५ वर्षसम्ममा फुलटाइम जागिर प्राप्त गर्ने धेरै सम्भावना रहेको अनुसन्धानले देखाएको छ। अर्कातिर खेलौना चोर्ने, बिगार्ने र नियन्त्रण गुमाउने बच्चाहरु कानुन उल्लंघन गर्ने र रक्सी तथा लागुऔषध सेवनजस्ता समस्यामा पर्नसक्ने सम्भावना बढी देखिएको छ।
उक्त अनुसन्धानको मुख्य निष्कर्ष हो, बच्चाहरुलाई नयाँ कुरा पढाएर वा उनीहरुले राम्रो अंक ल्याएर मात्र पुग्दैन, उनीहरुले एकअर्कासँग आफूलाई कसरी प्रस्तुत गर्छन्, आफ्ना भावनामाथि कसरी नियन्त्रण गर्छन् वा कति सामाजिक छन् भन्ने कुरा उनीहरुको जीवनको सफलता नाप्न महत्वपूर्ण हुन्छ।
(यो लेख अपवर्थी डट कममा प्रकाशित 'रिसर्चर्स स्टडिड किन्डरगार्टेनर्स बिहेभियरर्स एण्ड फलोड-अप नाइनटिन इयर्स लेटर, हियर आर द फाइनडिइंग्स' भन्ने लेखबाट अनुवाद गरिएको हो।)