बक्राहा खोला बाँध फुटेर जलमग्न बनेको मोरङको हसन्दह गाउँ। खोला गाउँमा पसेपछि २ सय ५० बढी परिवार बिस्थापित भएका छन्। तस्बिर : सुमन घिमिरे, रासस
अबिरल वर्षाका कारण देशैभरिको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको छ, सयौं मानिस विस्थापित भएका छन्। देशभरि कहाँ के भयो?
मकवानपुर : भीमफेदी–५ सोलाभन्ज्याङ बस्ने मनमाया स्याङतानको घर माथिबाट मंगलबार पहिरो आई घर पुरिँदा उनका ज्वाइँ २५ वर्षीय टेकबहादुर रुम्बा, छोरी २३ वर्षीया पार्वती रुम्बा र ५ वर्षीय नाति विकास रुम्बाको मृत्यु भएको छ।
बाग्लुङ : राजकुट–७ कुडुला बस्ने सुशीला तामाङको घर माथिबाट मंगलबार पहिरो आई घर पुरिँदा उनकी ८ वर्षीया छोरी दुढी तामाङको मृत्यु भएको छ भने पहिरोमा परेर सुशीलासमेत गम्भीर घाइते भएकी छिन्।
प्युठान : लुङवहाने–६ बस्ने भोजबहादुर पुनको घर मंगलबार भत्कँदा उनका ११ वर्षीय भदा किरण थापा र सोही घरमा डेरा गरी बस्ने खबाङ–७ घर भएकी २५ वर्षीया काली परियार बेपत्ता भएका छन्। पहिरोमा पुरिएकी २८ वर्षीया पवित्रा पुनलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरेको छ।
गुल्मी : बिसुखर्क–९ बस्ने गोपाल रानाको घरदेखि अन्दाजी ५० मिटर माथिबाट पहिरो आई मंगलबार घरको पछाडीको भाग भत्कँदा उनको ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया सिमना रानाको च्यापिएर मृत्यु भएको छ।
यसैगरी, गुल्मी हस्तिचौर–१ मल्दी बस्ने भीमबहादुर दर्जीको घर माथिबाट मंगलबार पहिरो आई घर पुरिँदा ४९ वर्षीय तुलसी दर्जी, १९ वर्षीय अस्मिता दर्जी र ६२ वर्षीय कालिका दर्जीको घटनास्थलमै मृत्यु भएको छ। पहिरोमा परेर गम्भीर घाइते भएकी ५० वर्षीय विष्णु सारुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल गुल्मीमा पठाइएको छ। उक्त स्थानमा १० वटा घरसमेत जोखिममा रहेका छन्।
पाल्पा : दोभान–५ झुम्सामा मंगलबार घर माथिबाट पहिरो आई दुई वटा घर पुरिँदा १६ वर्षीया अस्मिता विश्वकर्मा मृत्यु अवस्थामा फेला परेकी छिन्।
यसैगरी, पाल्पा गोठादी–५ बस्ने ४५ वर्षीय कामबहादुर कनौतीको घर माथिबाट मंगलबार पहिरो आई घर पुरिँदा घरमा सुतिरहेका काम बहादुर कनौती, उनको ३५ वर्षीया श्रीमती खगीसरा कनौती र १० वर्षीय छोरी यशोदा कनौती पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली उक्त स्थानमा खटिगएको छ। स्थानीय प्रहरीले पहिरो गएको स्थानमा उद्धार कार्य गरिरहेको छ।
खोलाले बगाएर मृत्यु तथा बेपत्ता
बारा : निजगढ नगरपालिका–१२ स्थित खहरे खोला तर्ने क्रममा सोमबार सोही ठाउँ बस्ने ६३ वर्षीय चक्रे भन्ने मानबहादुर बलको खोलाले बगाएर मृत्यु भएको छ।
सर्लाही : लक्ष्मीपुर–७ स्थित झिम नदीमा सोही ठाउँ बस्ने सुखलाल चौधरीको १० वर्षीय छोरा निशान्त चौधरीको सोमबार खोला तर्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको छ ।
कास्की : पोखरा–२७ हेम्जा नयाँ खानीस्थित सेती किनारबाट बालुवा निकाल्ने क्रममा नमुनाटोल बस्ने ४० वर्षीया मोतिकला छन्त्याललाई सेती नदीले बगाई बेपत्ता भएकी छिन्।
सुनसरी : इटहरी–१ आइतबारे बस्ने १७ वर्षीय सुनिता कार्की सोमबार धरान पिण्डेश्वरीमा जल चढाउन जाने क्रममा बराह क्षेत्र–१ चतराघाटमा रहेको दुध खहरेखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छिन्।
उदयपुर : तपेश्वरी–१ बस्ने मानबहादुर प्रधानका १३ वर्षीय छोरा रितु प्रधान सोमबार पानीको आहालमा केराको थामको नाउ बनाई खेलिरहेको बेला डुबेर मृत्यु भएको छ।