छेउमा आएर बसुन्जेल–बात मारुन्जेल उनी कतैबाट पनि बेग्लै देखिँदैन थिएँ। एउटा दाह्रीलाई विर्सने हो भने मध्य पहाडी भेगका बाहुन क्षेत्रीकै रुप, जिब्रो त झन् ठ्याक्कै पहाडे। ‘यो दाह्री अल्लाहको हो,’ नसरुद्दीन मियाँ, ६० ले गाला छेउका लामा रौंहरु सुम्सुम्याउँदै थपे, ‘शिरको टोपी चाहिँ मेरो देशको।’
तल आरुघाटबाट पैदल उक्लँदै आएपछि सदरमुकाम पुग्नै लाग्दा यो रमाइलो भञ्ज्याङमा फैलिएको बजार हाम्रो दुई साता लामो पैदलयात्राको अन्तिम विसौनी बनेको थियो। सिन्धुपाल्चोक सदरमुकाम चौतारादेखिको यात्राले नुवाकोट, रसुवा, धादिङ हुँदै यो गोरखासम्म बाटाभरि अनेक रोचक पात्रहरु भेट गराएको थियो। नसरुद्दीन पनि त्यसैमध्येका एक बन्न पुगे। हामी झोला बिसाएर चिसो पिउन थाल्यौं र छेवैमा रहेका उनलाई पनि अनुरोध गर्यौं। पिएनन् तर कुरा गरिरहे।
‘गोरखाको तीनवटा गाविसमा हामी बाह्र सय घरधुरीभन्दा बढि मुसलमान परिवार यहाँ मिलेर बसेका छौं,’ उनले थपे, ‘एउटा धर्म मान्ने कुरामा बाहेक बाँकी केहीमा पनि एकरत्ति फरक पाउनु हुन्न।’ हामी बसेकै आले भञ्ज्याङ समेट्ने ताप्ले गाविसबाहेक छेउका फिनाङ र असराङमा पनि उल्लेख्य संख्यामा मुसलमानहरुको बसोबास रहेछ।उनीहरुमध्ये जोसँग सोधे पनि आफ्नो इतिहास ‘पृथ्वीनारायण शाहको पालादेखि’ बताउँदा रहेछन्। यसको पछाडि कारण पनि रहेछ।
नेपालमा स्थायी बसोबासका हिसाबले राजा रत्न मल्लको पालामा पहिलो चरणका मुसलमानहरु काठमाडौं उपत्यका भित्रिएको इतिहास बताउँछ। दोस्रो चरणमा भने १७ औं शताब्दीको अन्त्यतिर मुसलमानहरु यहाँ निम्त्याइए। त्यतिबेला भारतमा मुगल साम्राज्यको चल्ती थियो भने नेपालमा बाइसे र चौबिसे राजा रजौटाहरुको। मुगल साम्राज्य अन्तर्गत मुसलमानहरु गोलाबारुद र बन्दुक बनाउने मामलामा राम्रो दख्खल राख्थे। त्यसै हुनाले लडाइका निम्ति उनीहरुलाई निम्त्याउने र सीपको उपयोग गर्ने क्रम यता सुरु भयो।
तर, पृथ्वीनारायणका मामलामा भने अर्को कारण पनि थियो। ‘हातहतियार बनाउनेबाहेक माथि गोरखकालीको मन्दिरमा नियमित चुरालगायत श्रृंगारका सामान चढाउनुपर्ने परम्परा छ,’ नसरुद्दीन भन्छन्, ‘त्यस्ता सामग्रीका निम्ति पनि हाम्रो आवश्यकता महसुस गरेर यहाँ बोलाइएको रहेछ।’
यसरी बसोबास गर्दै आएका मुसलमान परिवारहरु पछिल्लो समय कृषिमा मात्र एकोहोरो आश्रित रहँदै आएका थिए। तर, समय बदलियो।
उदाहरणको निम्ति आले भञ्ज्याङ नै काफी छ। यहाँ हिन्दू देवीका नाममा दुइवटा स्कुल छन्। एउटा लक्ष्मी उच्चमाध्यमिक विद्यालय र अर्को नवदुर्गा निम्नमाध्यमिक विद्यालय। दुवै विद्यालयका प्रधानाध्यापक भने मुसलमान छन्। लक्ष्मीका प्रधानअध्यापक रमतुल्लाह मियाँ र नवदुर्गाका प्रधानाध्यापक अब्दुल करिम मियाँ। यतिबेला भने मसँग अब्दुल करिम मियाँ छन्।
‘गोरखकालीलाई चुरा चढाउनुपर्ने कर्तब्य हाम्रो समुदायले अहिले पनि पुरा गर्दै आइरहेको छ,’ अब्दुलले भने, ‘माथि मन्दिरमा एकजना मुसलमान अहिले पनि यही कामका निम्ति जागिरे छन्।’
यसरी चुराको कारोबार गर्ने भएकैले उनीहरुको समूदायलाई मुलुकभर धेरैले ‘चुरौटे’ भनेर चिन्छन्। तर, पछिल्लो समय भने तन्नेरी पुस्ताका मुसलमान युवकहरु यस्तो परिचयबाट आफूहरु हेपिएको ठान्न थालेका रहेछन्।
‘पछिल्लो समय धेरै कुरा फेरिएको छ,’ प्रधानाध्यापक अब्दुल भन्छन्, ‘पहिले त हामी आफैले स्वयं भित्रका विकृतिहरु हटाउँदै लगेका छौं। त्यसबाहेक विभेदका कुराहरु पनि उठ्न थालेका छन्।’
अब्दुलका अनुसार वालविवाह, अनियन्त्रित रुपमा केटाकेटी जन्माउने, रुढीवादी सोंचलगायतका समस्या उनीहरुको समूदायमा चूनौतिको रुपमा थियो। अहिले धेरै समाधान भइसकेको छ। ‘१८ वर्ष नपुगेर त हिजोआज विरलै विहेवारी हुन्छ,’ उनले थपे, ‘त्यसबाहेक सन्तान धेरै नजन्माउन अस्थायी साधनको प्रयोग बढाउँदै लगेका छौं।’विहेको यो उमेरलाई पनि अझ बढाएर २२ वर्ष तिर पु¥याउने उनीहरुको लक्ष्य छ। त्यसबाहेक हकअधिकारको कुरामा पनि उनीहरु हिजोआज सचेत हुँदै गएका छन्।
‘अलिक पहिले ताप्ले गाविसले उपाध्यक्षका रुपमा तेजबकस मियाँलाई पहिलोपटक मुसलमान जनप्रतिनिधि पाएको थियो,’ उनी भन्छन्, ‘अहिले पनि सदरमुकाममा पुगेर हाम्रो समुदायका तर्फबाट कुरा राख्ने मानिसहरु तयार भइसकेका छन्।’
नसरुद्दीनको घर आले भञ्ज्याङभन्दा अलिक माथि गाइखुरमा पर्छ भने अब्दुल करिम विद्यालयको जागिरका क्रममा गोरखा–१२ स्थित घरबाट यता आइपुगेका हुन्। मुसलमानहरुको चहलपहल देखिने एक किसिमले गुलजार यो वस्तीमा दुवै रमाइरहेको बेला भेटिएका थिए। उनीहरुका अनुसार आले भञ्ज्याङको यति सानो घेरामै पनि ६०–७० घर मुसलमान छन्।
नसरुद्दीनको शिरमा ढाके टोपी र बोलीमा ठ्याक्कै पहाडे लवज सुनिरहँदा मलाइ दिवंगत लोक गायक अलि मियाँको सम्झना भइरह्यो। उनी अलि मियाँलाई चिन्दैन रहेछन्। ‘हाम्रा मुसलमानहरुले पनि गाउँछन् र?’ नसरुद्दीन उल्टो प्रश्न गर्न थाले, ‘हाम्रो धर्ममा त गीत गाउने, रक्सी पिउने जस्ता गतिविधि वर्जित गरिएको छ।’हिजोआज धेरै कुरा फेरिँदै गएको अवस्थामा आफू पनि रमाउने र समाजलाई पनि रमाइलो पार्ने गीतसंगीतका काममा बन्देज नमान्नु नसरुद्दीनलाई स्वाभाविकै लाग्यो। अलि मियाँका बारेमा केही जिज्ञासा राखेपछि उनले आफूहरुकहाँ भने कुनै पनि मुसलमान गीत संगीतको क्षेत्रमा नलागेको जानकारी दिए।
‘उही बाबु बाजेका पालादेखि कृषि जान्दै आयौं,’ उनले भने, ‘अहिलेसम्म पनि त्यही कोदालो समाउन मात्र जानेको छु।’
हिजोआज भने अरबतिर कमाउन जाने युवा पुस्ताको लस्करले केही फरक रुप देखिन थालेको उनले सुनाए। ‘हाम्रा गाउँका केटाहरु सैकडा २० प्रतिशत त हिजोआज अरबै पुगिसकेका छन्,’ उनले थपे, ‘यसले आम्दानी मात्र होइन धेरै कुरामा नयाँपन ल्याएको छ।’
गोरखाको द्रब्य शाह क्याम्पसमा पढेर अब्दुल करिमले शिक्षण पेशा समातेको २६ वर्ष पुगिसकेको छ। पछिल्लो समयमा उनी प्रधानाध्यापकको समेत जिम्मेवारी पाएर मख्ख छन्। झट्ट हेर्दा तन्नेरी नै देखिए पनि अवकाशको बेला भइसकेको छ। ‘यति एउटा विद्यालय भवन तयार पार्ने इच्छा छ,’ भुइँचालोले क्षतिग्रस्त भएपछि त्यसै स्थानमा उभिँदै गरेको पक्की भवन देखाउँदै उनले भने, ‘मेरै कार्यकालमा यो भवन तयार भएपछि विश्राम लिन्छु।’
भुइँचालोले अब्दुलको स्कुल मात्र होइन गाउँमा धेरैको घर ध्वस्त पारिदियो।
‘ह्याँ दुई–तीन तल्ले घर भएका कस्ता कस्ता मानिसहरु अहिलेसम्म पनि टिनको टहरामा बसिरहेका छन्,’ नसरुद्दीन भन्छन्, ‘तै भाग्य चानसले मेरो एकतल्ले जस्ताको घरलाई केही पनि भएन।’
भुइँचालो आएको बेला शनिबारको दिन उनी गाउँमै एक साथीको घरमा खाटमा पल्टिरहेका थिए। त्यतिबेलै घर हल्लन थालेपछि भागाभाग भयो। त्यो महाविपत्तीले यो गाउँबाट पनि दुईजनाको ज्यान लिएको रहेछ। टेलिभिजन हेरिरहेको बेलामा घर लडेपछि एउटा परिवारमा आमाछोरीको निधन भएको थियो।‘अल्लाहको कृपाले मलाई केही भएन,’ उनी भन्छन्, ‘गाउँलेहरुले धेरै दुःख पाए।’
भुइँचालो आएपछि गाउँमा राहत र उद्दारका सहयोगहरु लिएर सरकारी–गैरसरकारी संघसंस्थाहरुको ताँती लाग्यो। आफ्नो कुनै पनि क्षति नपुगेकाले नसरुद्दीनले कसैबाट एउटा पनि सहयोग लिएनन्। ‘अब झन् दुई लाख दिने भनेपछि गाउँमा सबै कागजपत्र तयार पार्नतिर लागेका छन्,’ नसरुद्दीन भन्छन्, ‘कुनै बिगार नभएको कारण म सहयोगको लाइनमा नलागे पनि यहाँ के कसरी काम भइरहेको छ हेरिरहेको छु।’
यहाँ वितरण भइरहेको सहयोगमा अलिक ‘लटर पटर’ भइरहेको नसिरुद्दीनले बताए।
कस्तो लटर पटर?
‘अब सक्नेले पाएको पायै छन् नसक्नेले हात थापेको थाप्यै छन्,’ उनले भने, ‘त्यही हो लटर पटर।’
अलिक खुलस्त पार्न अनुरोध गर्दा उनले गाउँमा सधंै मिलेर बस्नुपर्ने मान्छेलाई बेकारमा दुश्मनी नबोकाउन अनुरोध गरे। यस्तो कुरामा त सरकारले नै विचार पुर्याएर हेर्नुपर्ने उनको राय छ। गाविसमा जनप्रतिनिधि भइदिएका भए यस्तो समस्यै नपर्ने उनलाई लाग्ने गर्छ। तर, यो सबै किन भइरहेको छैन भन्ने थाहा नपाएको कारण उनी यसबारे बोल्न पनि चाहँदैनन्।
कुनै समय भैंसी आहाल बस्ने ठाउँ भएका कारण आहाले भञ्ज्याङ कहलिएको यो वस्ती हिजोआज समयसँगै नाम फेरिएर आले भञ्ज्याङ बन्न पुगेको रहेछ। बस्तीमा हिड्दा फरक जातीको स्वादलाग्दो मिश्रण देखिन्छ। मुलुकका अन्य पहाडी भेगहरुमा मन्दिरबाहेक धमाधम चर्चहरु ठडिएको देखिने गरेकामा यहाँ चाहिँ डाँडाको माथि भब्य मस्जिद उभिएको छ। अधिकांश मुसलमानहरु दुरुस्तै यताका जस्ता देखिने र फरासिलो बोल्ने भए पनि केही नौला अनुहार पनि देखिने गरेका छन्। मुस्लिम बिर्के टोपी लगाउने र अलिक संकोच मान्ने त्यस्ता मानिसहरु हत्तपत्त बोल्न मान्दैन रहेछन्। सायद उनीहरु नेपाली पनि जान्दैन थिए।
गाउँमा बढ्दै गर्दा केही परिवारहरु सार्वजनिक थलोमा भेलाभएर कुरागरिरहेका देखिन्थे। उनीहरुले बोल्ने भाषा पनि अनौठो थियो।
‘यसलाई हामी मियाँ भाषा भन्छौं,’ प्रधानाध्यापक अब्दुलले भने, ‘पाकिस्तानको पठान क्षेत्रबाट पुर्खाहरुले ल्याएको यो भाषा यता आएर अलिकती नेपालीपनमा ढाल्दा यो न उताको रहन पुगेको छ न यताको।’ अब्दुलका अनुसार ‘खातै जातै’ जस्ता शब्दहरु प्रयोग गरेर उनीहरुले बोल्ने यो भाषा स्थानीय नेपालीभाषीले राम्रोसँग बुझे पनि फर्काउन भने जान्दैनन्।
एकैठाउँमा बसेपछि अर्को जटिल बन्दै गएको समस्या भने विहेवारी हो। प्रधानाध्यापक अब्दुलका अनुसार पछिल्लो समय स्थानीय हिन्दू र मुुसलमान समुदायका विचमा अन्तरधार्मिक विहेवारी पनि चल्न थालेको छ।
‘बिहे भएर आउने बुहारीहरु सजिलै मुसलमान धर्म मान्न तयार हुने भएकाले फरक पर्दैन,’ उनले भने, ‘हाम्रा छोरी लैजाने ज्वाइँलाई पनि सकभर हाम्रो धर्म परिवर्तन गर्न लगाउने गरेका छौं।’ यस्तो अवस्थामा नमान्ने ज्वाइँलाई पहिलेजस्तो धेरै करकाप पनि नगर्ने गरेको उनले बताए।
आजसम्म एकै ठाउँमा मिलेर बसेको कारण गाउँका समस्याहरु सकभर आपसी सहमतिमै मिलाउँदै आएको उनको भनाइ थियो। मुलुक हिन्दू राज्य हुँदा र अहिले धर्म निरपेक्ष हुँदा भने आफूहरुले खासै भिन्नता महसुस नगरेको नसरुद्दीन र अब्दुल दुवैले बताए।
‘अधर्म बोल्नु हुँदैन हिन्दु राज्य रहँदा पनि हामीलाई कुनै होचोनिचो गरेका थिएनन्,’ वृद्ध नसरुद्दीन भन्छन्, ‘आफ्नो धर्म परम्परा अहिले पनि सुबिस्ताले मानिआएकै छौं।’ हिँड्ने बेलामा मैले नसरुद्दीनलाई आफू मधेसमा जन्मेको र त्यहाँ बेग्लै किसिमका मुसलमान साथीहरुसँग हुर्केको हुनाले यहाँ अनौठो लागिरहेको सन्दर्भ उप्काएँ।
जवाफमा उनले यो जातधर्म भनेको खासै ठूलो कुरो होइन भन्दै मानिस आफू जहाँ बसेको छ त्यहीँ रमाएर बाँच्नुपर्ने सुनाए। ‘हामी पहाडमा आएर बसेपछि तराईका मुसलमानजस्तो कसरी हुनसक्छौं?’ उनले सोधे, ‘यो गाउँठाउँमा जे बोल्छन् जसरी बाँच्छन् उसैगरि बाँच्ने हो।’ उनले आफ्नो पहिचान नै पहाडे मुसलमानको रहेको स्पष्ट पारे।
‘मुख्य कुरो देशलाई माया गर्न छोड्नु हुँदैन बाबु,’ उनले भने, ‘बाँकी, मानिस पहाडमा बसेको छ भने पहाडे भएर बाँच्ने हो, तराईमा बसेको छ भने उतैको स्थितिमा रमाउने हो।’