तस्बिरः गिरीश गिरी/सेतोपाटी
त्रिशूलीदेखि पछ्याउँदै आएको मध्य पहाडी लोकमार्गमा वर्षात्को बेला गाडी चल्ने त अवस्थै थिएन। बाटो बनाउन जथाभावी भत्काइएकै कारण यत्रतत्र चोइटिएर गएको पहिरोले पैदल यात्रीका निम्ति पनि यतिबेला यो पहाडी बाटो कष्टकर बन्दै गइरहेको छ। कतिपय ठाउँमा त बीचैमा बगेको पानीले कता खोल्सा हो र कता बाटो भनेर छुट्याउनै गाह्रो पर्ने। यस्तो कठिनाइमा पनि दंगदास भेटिएको थियो विपरित दिशाबाट आइरहेको एउटा पैदल यात्री समूह। समूहमा थिइन् अधवैशैं महिला, उनले बडो होशियारीका साथ बोकिरहेको एक नवजात शीशू र दुई युवति।
‘दंग देखिनुहुन्छ नि?’
सोध्नेबित्तिकै अधवैशें महिलाले युवतीलाई हेर्दै जवाफ दिइन्, ‘माइती जान लागेकी हो।’
आमा र ठूलोबुवाकी छोरी लिन आएपछि २१ वर्षीया शर्मिला बिक दुई महिनाअघि मात्र जन्माएको छोरा बोकेर माइती जान लागेकी रहिछिन्। मैले यो लोभलाग्दो दृश्य खिच्ने अनुमति मागेँ। बहिनी लजाइन्, अरू तयार भए।
फोटो खिच्दा खिच्दै बच्चा रून थाल्यो। भोकाएको बच्चालाई दुध खुवाउँदाकै क्रममा हामीले बाटैमा कुराकानी गर्न भ्यायौं।
पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गर्ने बेलामा रोटी पकाएर खुवाउने एक वृद्धाबाट शिक्षा लिएको स्थान अर्थात् सामरी (नेवारी भाषामा मिठो रोटी)मा घर रहेछ उनीहरुको। अघिल्लो रात हामी वास बसेको स्थान।
हो, त्यहीँको स्कुलमा चार वर्षअघि पढ्दापढ्दै शर्मिला प्रेममा परेकी थिइन्। दिदीको घरमा आएका एक युवक रवि बिकले उनलाई मन पराए र उनले रविलाई। दुवै विवाह गर्ने निधोमा पुगे। परिवारले नाइ भन्न सकेनन्।
बिहे लगत्तै रवि कमाउनका निम्ति भारततर्फ गए। शर्मिलाका दिन ससुराली कटुन्जेमा एक्ला एक्लै बित्न थाल्यो। यस्तो अवस्थामा पोहोर साल भुइँचालो गयो। घरकै एक्ला छोरा रवि परिवारलाई सम्झिएर अत्तालिए। भारतमा कमाइरहेको ठाउँ छाडेर उनी हतारहतार गाउँ फर्किए। गाउँमा घर ध्वस्त भए पनि परिवारका सदस्यहरु सकुशल भेट्दा दंग परे। त्यसपछि फेरि उनलाई भारत जान मन लागेन।
यसरी शर्मिला बिहेको चार वर्षपछि आमा बनेकी रहिछन्।
‘के नाम राख्नुभएको छ छोराको?’
सुरुमा शर्मिला लजाइन्। ‘इलेक्सन,’ भनिसकेपछि फेरि दोहोर्याइन्, ‘इलेक्सन बिक’
भदा जन्मिएपछि नावालकका फुपुले राखिदिएको यो नाम कसैले ‘नाइ’ भन्न सकेनछन्। अर्थको खोजी कसले गरोस्?
नन्दले किन यस्तो राजनीतिक नाम राखिन्, शर्मिलालाई पनि थाहा छैन।
इलेक्सन त चुनावलाई अंग्रेजीमा भन्छन् क्यारे?
शर्मिलाले जवाफ दिइन्, ‘हो तर खै...’
शर्मिलाकी आमा तारा बिकलाई त झनै नामसँग केहि मतलब छैन। भुइँचालोले उनकै दुई तले घरलाई ध्वस्त पारिदिए पनि उतातिर भारतमा हराएका ज्वाइँ त्यसैका कारण फर्किए, नाति भयो, अरु के चाहियो?
ताराकी जेठी छोरीको देउडीमा बिहे भएको छ। ज्वाइँ मलेशिया कमाउन गएका छन्। जेठो छोरो अरबबाट फर्केपछि फेरि दुबइ जाने भनेर काठमाडौं गएरै बसिरहेका छन्। कान्छो छोरोचाहिँ गाउँकै स्कुलमा पढ्दैछन्। अरु त अरु उनका अधवैंशे श्रीमान् पनि वैदेशिक रोजगारीकै सिलसिलामा कतार बसेर भर्खरै आएका हुन्।
नुवाकोटदेखि धादिङसम्मको यो भेगमा यात्रा गर्दा विरलै कुनै घर अरब कमाउन नगएका वा भारतीय सेनामा भर्ती नभएका भेटिएलान्। यस्तोमा प्रायजसो घरहरु बुढापाका र केटाकेटी सम्हालेर बसेका बुहारीले ढाकेका छन्।
कुराकानीका क्रममा शर्मिलाले इलेक्सनलाई वैदेशिक रोजगारीमा नपठाउने बताइन्। छोरालाई धेरै पढाउने र नेपालमै राख्ने सपना उनले बुनिसकेकी छिन्। उनीहरुले अब हत्तपत्त अर्को सन्तान नजन्माउने योजना पनि गरिसकेका रहेछन्।
‘अब अरु बच्चा पाउने इच्छा छैन,’ भनिन्, ‘यसैलाई ठूलो मान्छे बनाउने।’
कटुन्जेबाट सामरीसम्म झण्डै पाँच घन्टाको पैदल बाटो उनीहरुले छिचोलिरहँदा हाम्रो भेट बीचैको भर्याङभुरुङमा भएको थियो। मैले त्यही मौका छोपेर यस भेगमा अहिले मातृशीशू स्वास्थ्यको अवस्थाबारे जान्न चाहेँ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा पहिलेभन्दा गाउँको अवस्था तीव्र गतिले सुधार हुँदैगरेको देखिने दृश्यलाई उनीहरुको अनुभवले पनि पुष्टि गर्यो।
‘बच्चा कोखमा हुनेबित्तिकै कटुन्जेकै स्वास्थ्य केन्द्रमा सम्पर्क गरेकी थिएँ,’ शर्मिलाले भनिन्, ‘त्यसपछि महिनैपिच्छे बोलाए, पटक पटक सुइ पनि लगाइदिए।’
आफ्नो बच्चा सजिलै र सुरक्षित तवरले भएकोमा उनलाई स्वास्थ्य केन्द्रको ठूलो योगदान छ जस्तो लाग्छ।
‘गाउँमा सिस्टरहरु हुनुहुन्छ। डाक्टर पनि बस्नुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि धेरै डर लागेन।’
शर्मिलाको घर अर्थात् धादिङको कटुन्जेमा त्यसको केहि क्षणमै हामी पुगेका थियौं। मुख्य बजारै ध्वस्त हुनेगरि भत्किएको थियो। गाउँमै बनेको स्कुल सकुशल देखिन्थ्यो भने पल्लोपट्टिको डाँडामा उभिएको हेल्थपोष्ट भत्किए पनि चौरमा टेन्ट लगाएर स्वास्थ्य सेवा उपलब्ध गराइएको देखिन्थ्यो। हामी पुगेकोबेला त्यहाँका स्वास्थ्यकर्मीहरु लडेर टाउको फुटेको एक बच्चाको उपचार गरिरहेका थिए।
छुट्टिनुअघि शर्मिलाले माइती पुगेपछिका योजना पनि सुनाएकी थिइन्।
‘सबैभन्दा पहिले त साथीभाइ र दिदी बहिनीहरु भेट्छु,’ उनले भनिन्, ‘हाम्रो खलकमा दिदी बहिनी नै १५ जनाभन्दा बढी छन्।’
माइतीको दुइतले घर भत्किएपछि त्यसैको आडमा दुइतिर जस्ताको छाना लगाएर जसोतसो ओतलाग्ने ठाउँ बनाइएको आमा तारा सुनाइरहेकी थिइन्।
‘घरको अवस्था जस्तो सुकै होस्,’ शर्मिलाले भनिन्, ‘माइती पुगेपछि त्यसै रमाइलो हुन्छ।’
उनका अनुसार जति रमाइलो भए पनि उनी १५ दिनभन्दा बढी सायदै माइती बस्न पाउने छिन्।
‘खेती गर्ने बेला छ,' उनले भनिन्, ‘त्यहाँमाथि अब घरमा बुहारी मात्र नभइ नातिको माया पनि थपिएको छ।'
शर्मिलाका अनुसार घरमा बाह्रै महिना खानपुग्ने जग्गा हुँदाहुँदै पनि उनको पति मजदुरी गर्नका निम्ति भारत गएका थिए। उनका अनुसार हिजोआज रोप्ने मान्छे नभएकै कारण उनीहरुको मात्र होइन गाउँभरिकै मानिसका थुप्रै जग्गा बाँझै रहने गरेका छन्। अब भने अघिल्ला वर्षजस्तै कटुन्जेस्थित बिक परिवारको जग्गा बाँझै रहने अवस्था एकदमै कम छ।
यति कुरा गर्दागर्दै आमाको दुधले अघाएका इलेक्सन बिक शान्त भइसकेका थिए। हामी दुवै समूह विदाभएर दुइ विपरित दिशातर्फ लाग्यौं।