एउटा गैरसरकारी संस्थाले प्रहरी हिरासत यातना केन्द्रको रुपमा परिणत हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
एड्भोकेसी फोरम नामक संस्थाले विभिन्न १० जिल्लाका प्रहरी हिरासतको भ्रमण गरी १ हजार २ सय १२ जना थुनुवासँग गरेको छलफलका आधारमा हिरासतहरु यातना केन्द्रको रुपमा परिणत हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
एड्भोकेसी फोरमले शनिबार प्रहरीकै उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्दै हिरासतमा रहेकामध्ये १७ दशमलव २ प्रतिशत थुनुवालाई यातना दिने गरिएको बताएको छ । थुनुवामध्ये पनि बालबालिकाहरु यातनाको सबैभन्दा बढी शिकार भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
थुनवाहरुलाई बाँसका लाठी, प्लाष्टिकका पाइप र लात्तीले कुटेर, श्वासप्रश्वास अवरुद्ध हुने गरी नाक र मुखमा पानी खन्याएर, ज्यान मार्ने धम्की दिएर तथा झुटो बयान दिन करकाप गरेर यातना दिने गरिएको दाबी प्रतिवेदनमा गरिएको छ । एड्भोकेसी फोरमका निर्देशक ओमप्रकाश सेन ठकुरीले प्रहरी हिरासतमा रहेकामध्ये २१ दशमलव ८ प्रतिशत बालबालिकामाथि अमानवीय व्यवहार भइरहेको र यो गम्भिर चिन्ताको विषय भएको बताए।
प्रतिवेदनमा काठमाडौ, बाँके र झापाका हिरासतमा थुनुवालाई धेरै यातना दिने गरिएको उल्लेख छ ।
तर प्रहरीले भने एडभोकेसी फोरमको प्रतिवेदन एकपक्षीय र हावादारी भएको बताएको छ । प्रहरी उपरीक्षक पूजा सिंहले भने थुनुवाहरुसँग मात्र छलफल गरेर तयार पारिएको प्रतिवेदन अविश्वसनीय भएको बताए।
एड्भोकेसी फोरमले काठमाडौ, कास्की, रुपन्देही, बाग्लुङ, पर्वत, म्याग्दी, झापा, कञ्चनपुर लगायतका १० जिल्लाका हिरासतको भ्रमण गरेर प्रतिवेदन तयार पारिएको बताएको छ । एड्भोकेसी फोरमले यातना पीडितहरुका लागि अन्र्तराष्ट्रिय सहयोग दिवसको अवसर पारेर यातना निरन्तरता शिर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो ।