भूकम्पपछिको लाभग्राहीको सूचीमा नपरेको र नाममा फरक परेको भन्दै आठ हजारभन्दा बढीको गुनासो गरेका छन् ।
सरकारले केन्द्रीय तथ्याङ्क विभागमार्फत गाउँगाउँमा वास्तविक भूकम्पपीडितको सूची निकाल्न सर्भेयर खटाएर तथ्याङ्क सङ्कलन गर्दा नाम छुटेको भन्दै जिविसमा गुनासो गरेका हुन् ।
जिविसले प्रकाशन गरेको तथ्याङ्कअनुसार हालसम्म ६१ गाविस र विदुर नपा गरी आठ हजार ५५६ गुनासो दर्ता भएको छ ।
नुवाकोटमा लाभग्राहीको सूचीमा ६५ हजार ७५९ घरधुरीको नाम प्रकाशन भएको छ । लाभग्राहीको सूचीमध्ये दुई हजार ८७५ घरका लागि अनुदान सम्झौतासमेत भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ ।
गाविसका लागि बैंकिङ प्रक्रियाका लागि बैंक तोक्ने काम सम्पन्न भएकाले अब धमाधम सम्झौताको काम अघि बढ्ने उपक्षेत्रीय कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए।
उनले दर्ता भएका गुनासा सरकारले बनाएको नीतिअनुसार सम्बोधन गरिने जानकारी दिनुभयो । कतिपय गाविसमा गुनासोको सम्बोधन नभएसम्म सहयोग सम्झौता गर्न रोकिएको पाइएको छ । तर उपक्षेत्रीय कार्यालयका प्रमुख सापकोटाले भने अहिले सूचीमा भएकाको काम अघि बढाउँदै जान जिविसलाई आग्रह गरे।
विदुर नपाबाट ८८९ गुनासो दर्ता भएको छ भने गाविसमा सबैभन्दा धेरै जिलिङ गाविसबाट ५५४ दर्ता भएको छ । नुवाकोटमा अहिलेसम्म २१ गाविसमा रकम सम्झौताको काम सुरु भएको छ । सबैभन्दा बढी जिलिङ गाविसमा ८५९ सम्झौता भएको प्राधिकरणको उपक्षेत्रीय कार्यालयले जनाएको छ। रासस