गत साता एसएलसीको रिजल्ट आयो। यसपालि पोहोर परार जस्तो कोही पास फेल भएनन्। नतिजाले ग्रेडिङ मात्र छुट्यायो। यसपालि एसएलसी परिक्षा दिएका विद्यार्थीले अर्को तह पढ्न औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ ल्याउनु पर्छ। तर ललितपुरका १३ र सिन्धुपाल्चोकका १० वटा सरकारी विद्यालयका करिब ९८ प्रतिशत विद्यार्थीको जिपिए भने राष्ट्रिय औसतभन्दा बढी छ। ती सरकारी स्कुलमा पढेका सात सय विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाउने ढोका खुलेको छ। टिच फर नेपालका कारण यी सरकारी स्कुलको नतिजा र त्यहाँ पढने विद्यार्थीको क्षमता र आगामी दिनमा उनीहरुले पाउने अवसर फेरिएको छ।
यी सयौं विद्यार्थीको अवसर फेरिनुका पछाडि केवल दुई जनाले देखेको सपनाको प्रमुख भूमिका छ, देश विदेशका राम्रा विश्वविद्यालयमा पढेका र आफ्नो विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारी विद्यालयमा स्वंयसेवी शिक्षकका रूपमा दुई वर्ष पढाउन पठाउने शिशिर र स्वस्तिकाको सपना।
***
तनहुँका शिशिर खनाल र ललितपुरकी स्वस्तिका श्रेष्ठले बाल्यकालमै नेपाल देख्ने मौका पाए। शिशिरका बुवा सरकारी जागिरे थिए, हिमालदेखि तराईसम्म उनको सरुवा भइरहन्थ्यो। जताजता बुबाको सरुवा भयो हात समाउँदै शिशिर पनि उतै पुग्थे। एसएलसी पास गरुन्जेल उनले ५/६ वटा विद्यालय फेरिसकेका थिए।
स्वस्तिकाकी आमा जनस्वास्थ्यमा काम गर्थिन्। उनका बुवा छोरीहरुलाई राम्रो स्कुलमा पढाउन पर्छ भनेर झापाबाट ललितपुर सरेका थिए, त्यो पनि सेन्ट मेरिज स्कुल नजिकैको पुल्चोकमा। बुबाका कारण स्वस्तिकाले स्कुल फर्नु परेन, अर्कोतिर आमाका कारण देश दर्शन पनि सम्भव भयो।
फरक संस्कृति र भूगोलमा जन्मिएका यी दुबैलाई देश दर्शनले नेपालको माटो मात्र चिनाएन, आफूले केही गर्नुपर्छ भन्ने भावनाको पनि बिजारोपण भयो। मनमा उस्तै सोच हुर्किंदै गरेका यी दुईको जीवनको नदी आफ्नै लयमा, आ-आफ्नै दिशामा लामो समयसम्म एक्लाएक्लै बगिरह्यो।
बसन्तपुर– ०१, चुदी तनुहँको कालिका प्राथमिक विद्यालयमा तीन कक्षासम्म पढेका शिशिरका बुवा उनलाई इन्जिनियर बनाउन चाहन्थे। पढाई नबिग्रियोस् भनेर उनी छोरालाई आफूसँगै लान्थे। ‘म मुस्ताङदेखि सर्लाहीसम्मका स्कुलमा पढें’ खनालले भने ‘आठ कक्षाबाट वनस्थली स्कुलमा आएँ, एसएलसीमा राम्रो मार्क ल्याउनुपर्छ भन्ने थियो।’
उनले एसएलसीमा राम्रो अंक पनि ल्याए। बाबुकै इच्छा अनुसार साइन्स पढ्न त्रि–चन्द्र क्याम्पसमा भर्ना भए। भर्खरै प्रजातन्त्र आएको बेला थियो त्यो। कलेजमा उनलाई राजनीतिले छोयो। पढाई राम्रो भएन, त्यसो त उनको रुची पनि टेक्निकल लाइनमा थिएन।‘आइएस्सीपछि इन्जिनियरिङका लागि एक दुई ठाउँमा निवेदन पनि दिएँ, तर नाम निस्केन’, खनालले भने।
बरु अमेरिकाको युनिभर्सिटी अफ ब्रिजपोर्टमा पोल्टिकल इकोनोमीमा बिए पढ्न उनले छात्रवृत्ति पाए। त्यसपछि उनी हान्निए, अमेरिका।
स्वस्तिकाले सेन्ट मेरिजबाटै एसएलसी पास गरिन्। राम्रै अंक आएको थियो। छोरीलाई पढाउन स्कुल नजिकै डेरा सरेका उनका बुवाले भने आफ्नो सपना छोरीमा कहिल्यै थुपारेनन्। ‘बुवाले मलाई जेमा रुची छ त्यही पढ भन्नुहुन्थ्यो’, स्वस्तिकाले भनिन्, ‘साथीहरुले साइन्स पढेको देखेर म पनि लहलहैमा त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढन भर्ना भएँ।’ लहलहमै लागेको पढाइ उनलाई फापेन। पहिलो वर्षमा ब्याक लाग्यो। दोस्रो वर्ष जाँच दिएपछि एक वर्ष ब्याकको रिजल्ट कुर्नु पर्ने भयो। साहित्य र सामाजिक सेवामा रुची भएकी स्वस्तिका फुर्सदको समयमा चिरञ्जिवी भन्ने संस्थामा काम गर्न थालिन्, सायद उनको अवचेतनमा आमाको कामको छाप थियो। अमेरिकनहरुले खोलेको त्यो संस्थाले क्यान्सरपीडित बालबालिका लागि काम गर्थ्यो। उनी अन्य सामाजिक संस्थासँग पनि जोडिइन्। युवा अभियान, लियो क्लब, गर्ल्स स्काउटमा काम गर्न थालिन्।
आइएस्सी पास भएपछि उनले प्राविधिक विषय छोडिदिइन र रुचीको अंग्रजी साहित्य र मनोविज्ञान विषय राखेर बिएमा भर्ना भइन्। ‘समाजसेवा सानैदेखि रुची थियो, त्यो बेला युवा जोश पनि थियो’ स्वस्तिकाले भनिन् ‘केही गर्नुपर्छ, गर्न नसकिने के छ र भन्ने लाग्थ्यो।’ पढाइ र सामाजिक काम सँगै बढिरहेको थियो। तेस्रो वर्षमा पढदा पढ्दै उनी पनि अमेरिका हान्निइन्।
केही वर्षअघि अमेरिका पुगेर शिशिरले युनिभर्सिटी अफ ब्रिजपोर्टबाट ब्याचलर्स सके। युनिभर्सिटी अफ विस्कन्सिन, म्याडिसिनबाट इन्टरनेशनल पब्लिक अफेर्समा मास्टर्स पनि गरे। यसैबीच उनी सर्वोदय युएसएको सम्पर्कमा आए। त्यो संस्थाले सन् २००४ मा इन्डोनेसियामा आएको सुनामीपछि प्रभावित ठाउँमा काम गरिरहेको थियो। विकासका लागि श्रमदान गर्नुपर्ने गान्धी विचारधारामा आधारित थियो सर्वोदय। संस्थाको काम गर्ने तरिका शिशिरलाई मन प¥यो। ‘मलाई सर्वोदयको विकास मोडल मन प¥यो’, शिशिरले भने ‘ त्यसैले सन् २००५ देखि सर्वोदयको साउथ एसियाको एक्जुकेटिभ डाइरेक्टर भएँ।’
उनी पुननिर्माणको काम गर्न श्रीलंका गए। श्रीलंकामा त्यतिबेला तमिल टाइगर्स र सरकारबीच द्वन्द्व थियो। सर्वोदयले श्रीलंकाका सिंहाली र तमिल दुवै समुदायका लागि काम गरिरहेको थियो।
सर्वोदयले श्रीलंकामा गरेको काम नेपालमा पनि गर्न सकिन्छ भन्ने उनलाई लाग्यो। नेपाल माओवादी युद्दबाट भर्खर तन्ग्रिदै थियो। उनले नेपालमा सन् २००८ मा सर्वोदय नेपाल संस्था स्थापना गरे।
स्वस्तिकाले नेपालको पढाई उतै अमेरिकमा ट्रान्सफर गरिन्। ओलिभेट कलेज मिसिगनबाट मनोविज्ञानमा ब्याचलर्स गरिन्। इन्टरसिप गर्न उनी विस्कनसिन गइन्। त्यही शिशिरसँग उनको पहिलो भेट भयो। अफ्रो अमेरिकन बच्चाहरुका बारे काम गर्ने संस्थामा स्वस्तिकाको इन्टर्नशिप थियो। हेलाको दृष्टिकोणले हेरिने ती बच्चालाई ‘नेबरहुड सेन्टर‘का स्वस्तिका जस्ता भोलिन्टियरले विभिन्न करियर बारे सिकाउँथे, सम्झाउँथे र बुझाउँथे।
ब्याचलर्स सकेपछि उनी पब्लिक अफेयर्समा मास्टर्स गर्न क्रोनेल युनिभर्सिटीमा भर्ना भइन्। मास्टर सकिएपछि उनको मनमा द्वुविधा भयो – अमेरिकामै बस्यौं कि नेपाल जाऊँ?
उनको एक मनमा सुविधासम्पन्न अमेरिकन जीवनशैली थियो। अर्को मनमा नेपालमा काम गर्दाको रमाइलो। पराई भूमिमा आफ्नो माटोमा जसरी काम गर्न सकिनेमा उनलाई सधै आशंका थियो। त्यहीबीचमा शान्ति प्रक्रियामा सहजीकरण गर्न नेपाल आएको राष्ट्र संघीय मिसन (अनमिन)मा जागिर खुलेको थाहा पाइन्, अमेरिकाबाटै निवेदन दिइन्। फोनबाटै इन्टरभ्यू भयो। अनमिनको क्षेत्रीय कार्यालय, नेपालगञ्जमा सिभिल अफेर्स अफिसरको रुपमा उनले जागिर पाइन्। र उनी पनि फर्किइन, नेपाल।
शिशिर र स्वस्तिकाको मन एकअर्काका लागि विस्कनसिनमै धडकिसकेको थियो।
कसले कसलाई पट्ट्याएको हो?
प्रश्न खस्न नपाउँदै स्वस्तिकाले भनिन्, 'म्याडिसन पुग्दा उहाँले मलाई सहयोगको हात दिनुभएको थियो। मैले सबै हात नै तानिदिएँ।' उनले शिशिरतिर हेरेर मस्किदै सोधिन्– होइन त?
इन्टर्नसिप गर्न म्याडिसन जाँदा स्वस्तिकाले चिनेका कोही नेपाली थिएनन्। म्याडिसनमा एक नेपाली महिलाले खोलेको हिमालचुली रेष्टुरेन्ट भने खुब चर्चित थियो। प्रायः सबै नेपाली त्यहाँ जम्मा हुन्थे। दुई चार महिना अगाडि म्याडिसन पुगेका शिशिर पहिलेदेखि नै नेपाली समुदायसँग घुममिल भइरहेकाले सबैले चिन्थे। स्वस्तिका पनि घुम्दै फिर्दै हिमालचुली रेष्टुरेन्ट पुगिन्। आफूले दुःख पाएको, कोठादेखि तरकारी किन्न दुई घण्टा हिँड्नु पर्ने उनको दुःख सुनेर हिमालचुलीकी दिदीले शिशिरलाई फोन गरिछन्– एक नेपाली केटी आएकी छ, साह्रै दुःख पाएकी छ। सहयोग गरिदिनु प¥यो।
गाडी किनिसकेका शिशिर स्वस्तिकालाई सहयोगको हात दिन आए। त्यो भेट बिस्तारै जीवनभरको सहयात्रामा बदलियो।
२००८ मा शिशिर सर्वोदय श्रीलंका र स्वस्तिका नेपालमै भएका बेला उनीहरुले बिहे गर्ने निर्णय गरे। शिशिरको परिवारलाई उनीहरुको बिहे मन्जुर थिएन।
उनीहरुले श्रीलंकामै बिहे गर्ने टुंगो गरे २००८ को मे ०८ मा श्रीलंकामा हिन्दु, बौद्ध, इसाई संस्कार अनुसार उनीहरुको बिहे भयो। बिहे अदालतमा दर्ता पनि गरे। ‘हामी जग्गेमा घुम्यौं,मैले उनलाई सिन्दुर पनि हालें’ शिशिरले भने ‘अदालतमा गएर आइ डु आइ डु पनि भन्यौं।’
दुवै जनाका एक एक जनामात्रै आफन्त बिहेमा गएका थिए।
बिहेपछि शिशिरले अमेरिका र नेपाल आउजाउ गरिरहे। स्वस्तिका नेपाल फर्किन्। ‘नेपाल आएपछि मलाई तिम्रो श्रीमान् श्रीलंकन हो भनेर सोध्थे’ स्वस्तिकाले भनिन्। ‘उता मलाई तिमीले श्रीलंकन बिहे गरेको हो भन्थे’, शिशिरले थपे। दुबै जना बेस्सरी हाँसे।
***
सर्वोदय नेपालमा काम थालेपछि शिशिर ललितपुरका केही विकट गाउँमा पुगे। गाउँलेहरुसँग आफूहरु श्रमदान गर्न आएको बताए। गाउँलेले भन्थे– तपाईँ शहरमा बस्ने मान्छे किन गाउँमा श्रम गर्नुहुन्छ। बरु हामीलाई पैसा दिनुहोस् हामी आफैं काम गर्छौं। गाउँलेहरुमा सर्वोदय पनि अरु संस्थाजस्तै होला भन्ने परेको रहेछ। शिशिरले उनीहरुलाई समुदायको श्रममा आधारित विकास कसरी स्वाबलम्बी र दिगो हुन्छ र अरुको स्रोतले गरिने विकासले कसरी परजिवी बनाउँछ भनेर सम्झाए।
तर गाउँलेहरु पत्याएनन्। काठमाडौंका स्कुल कलेजबाट विद्यार्थी लिएर गाउँलेलाई पनि सहभागी गराई काम गर्न थालेपछि सर्वोदयप्रति मानिसहरु सकारात्मक हुन थाले। ‘हामीले लेलेको शिखर्पा, भट्टेडाँडामा विद्यालय भवन बनाउने, गोरेटो बाटो खन्ने काम ग¥यौं’शिशिरले भने। समाजको सबै क्षेत्रमा उनीहरु श्रमदान गरिदिन तयार हुन्थे।
बिस्तारै गाउँलेहरु भन्नथाले– श्रमदानमा बाटो खनिदिनु भन्दा हाम्रा बच्चा पढाइ दिनुस् न।
किन मान्छेहरु यसो भन्छन्? उत्तर खोज्न शिशिरले नेपालको शिक्षासम्बन्धी आकँडाहरु पल्टाउन थाले। ‘त्यो हेरेर मलाई डर लाग्यो, निजी र सरकारी स्कुलबीच यति गहिरो खाडल रहेछ’, शिशिरले भने ‘सरकारी स्कुलमा एक कक्षामा भर्ना भएका १०० जनामध्ये ३० जनामात्रै १० कक्षामा पुग्दा रहेछन्। ती मध्ये पनि धेरै जना एसएलसीमा गणित, विज्ञान र अंग्रेजीमा फेल हुँदा रहेछन्।’
उनलाई लाग्यो– भोलिको पुस्ता राम्रो बनाउने हो भने उनीहरुलाई राम्रो शिक्षा दिनुपर्छ। शहरमा बोर्डिङ स्कुलमा पढ्ने केटाकेटीले जस्तै गाउँको सरकारी स्कुलमा पढनेले पनि राम्रो शिक्षा पाउनुपर्छ। सबै क्षेत्रमा छरिएर भन्दा एकै क्षेत्रमा मात्रै काम गर्दा प्रभावकारी हुने ठानेर उनले २०६९ सालमा टिच फर नेपाल संस्था दर्ता गरे।
यता स्वस्तिकाले अनमिनको करार अवधि सकिएपछि युएनडिपी, वल्र्ड फुड प्रोग्राम जस्ता संस्थामा कन्स्लट्यान्टको रुपमा काम गरिन्। यसरी काम गर्दा पनि उनको मनमा सधैँ एउटा कुरा खड्किरहन्थ्यो– आफैंले दुःख गरेर कुनै संस्था बनाउन पाए।
‘त्यसपछि मैले अनुभुति भन्ने संस्था खोलें’ स्वस्तिकाले भनिन् ‘सेवा धनीले गरिबलाई,सक्नेले नसक्नेलाई गर्ने चिज होइन यो त एकले अर्कालाई गर्ने कुरा हो भन्ने यसको मूल मर्म थियो।’ अनुभुतिको मर्म कसैलाई सेवा गर्दा अन्तंस्करणमा उसको समस्या वा पीडा कस्तो हुन्छ भन्ने थाहा होस् भन्ने थियो।
‘पशुपति क्षेत्रका केही विद्यालयमा खाना नखाई आउने विद्यार्थीलाई लञ्चका लागि पैसा दिँदा अनुभूतिमा लागेका विद्यार्थी एक दिन भोकै बसे’ स्वस्तिकाले भनिन् ‘भोकै बस्नुको पीडा फिल गरेपछि उनीहरुलाई लञ्च खान पैसा दिएँ भन्ने इगो रहँदैन।’
टिच फर नेपाल खुलेदेखि भने शिशिर र स्वस्तिका यही संस्थामा आवद्द छन् - शिशिर संस्थाको सीइओ छन् भने स्वस्तिका जनशक्ति विभागकी प्रमुख।
उनीहरुले अमेरिकामा बस्दा टिच फर अमेरिकाका बारेमा सुनेका थिए। टिच फर अमेरिकाको मोडल उनीहरूलाई मन परेको थियो। टिच फर अमेरिकाको मोडल नै उनीहरूले टिच फर नेपालमा अपनाए।
राम्रा विश्वविद्यालयमा पढेका, आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याएका युवालाई दुर्गमको स्कुलमा दुई वर्ष स्वंयसेवी भएर पढाउन पठाउने टिच फर नेपालको आइडिया कतिलाई अनौठो र अव्यवहारिक लाग्यो।
‘हाम्रो उद्धेश्य पढ्नेले मात्र होइन पढाउनेले पनि केही सिकोस् भन्ने थियो’ शिशिरले भने‘उसलाई मैले त स्वंयसेवा गरेर आएँ भन्नेभन्दा मैले त धेरै कुरा सिकेर आएँ भन्ने परोस् भन्ने हामी चाहन्थ्यौं।’
शिशिर र स्वस्तिकाले आफ्नो सपनामा सहयोग गर्नका लागि केही संस्थालाई कन्भिन्स गर्न सफल भए। एचएच बजाज, बुद्ध एयर, नेपाल इन्भेष्टमेन्ट बैंक, फिनिस राजदूतावास,अमेरिकन राजदूतावास लगायतका संस्थाले उनीहरुको योजनालाई साथ दिए।
२०७० देखि काम सुरु भयो। टिच फर नेपालका फेलोहरु (भोलिन्टिर शिक्षक) अहिले ललितपुर, सिन्धुपाल्चोक र धनुषा जिल्लाका ३६ वटा सरकारी विद्यालयमा गणित, विज्ञान र अंग्रेजी पढाइरहेका छन्। ‘पढाउन गएका शिक्षकलाई दुई वर्ष गाउँमा बस्दा चाहिने खर्चका लागि आमाबुवासँग पैसा माग्नु नपरोस् भनेर हामी उनीहरुलाई मासिक पैसा पनि दिन्छौं’शिशिरले भने ‘त्यो १५ हजारदेखि सुरु हुन्छ।’
टिच फर नेपालका शिक्षक गएका विद्यालयको नतिजा राम्रो छ, पढाउन गएकाहरु पनि गाउँबाट धेरै कुरा सिकेर फर्कन्छन्। त्यसले शिशिर र स्वस्तिकालाई सन्तुष्टि दिन्छ। यो सन्तुष्टि अमेरिकामै बसरे काम गरेको भए सम्भव थिएन जस्तो उनीहरूलाई लाग्छ।
स्वस्तिकाले भनिन्–विदेश बसेका धेरै नेपाली नेपालमा यस्तो भएन उस्तो भएन भनेर भन्नुहुन्छ, नागरिकहरुले आफैं नबनाएको देश कहिँ खोजेर भेटिन्न। भोलिको नेपाल राम्रो होस् भन्ने चाहन्छौं भने आजैदेखि हामीले केही न केही योगदान गर्नै पर्छ।
उनीहरु गरेको काममा सन्तुष्ट छन् तर गर्नु पर्ने अझै धेरै छ। दुबैको मनमा टिच फर नेपाललाई देशभरि फैलाउन सके हुन्थ्यो भन्ने हुटहुटी छ। एकजना फेलोलाई कसैले स्पोन्सर गरिदिए उनीहरुका लागि ठूलो कुरा हुन्छ। विदेशीले सहयोग नगरे पनि एक पुस्तालाई राम्रो शिक्षा दिन संस्थालाई चलाउने उनीहरुको उद्धेश्य छ।
त्यसैले देश विदेशमा बस्ने नेपालीलाई उनीहरुको आग्रह छ, गाउँमा गएर पढाउन सक्ने अवस्थामा हुनुहुन्छ भने पनि आउनुस्, सक्नुहुन्न भने पढाउन जाने कसैलाई स्पोन्सर गरिदिनुस्। तपाईँले एकजना फेलोलाई गर्नुभएको स्पोन्सरले दुर्गममा सरकारी स्कुलमा पढिरहेका कैयौं विद्यार्थीको उज्जवल भविष्यको ढोका खोलिदिन्छ।
तस्बिरहरूः @maharjanarayan