ग्यास विस्फोटमा मृत्यु भएका ध्रुव ताम्राकारकी श्रीमती शारदा र छोरा अायुष। तस्बिर : खिलानाथ/सेतोपाटी
भारतीय नाकाबन्दीले उत्पन्न अभावको मौका छोपेर धेरै ग्यास उद्योगले मोटाइ पातलो भएका कमसल सिलिन्डर बिक्री गरिरहेका छन्। बजारमा निगमबाट स्वीकृत नभएका ६ लाख सिलिन्डर बिक्री भइरहेको अनुमान छ। निगमले प्रत्येक छ महिनामा सिलिन्डरको गुणस्तर परीक्षण गर्नुपर्ने भए पनि १८ महिनादेखि नहुँदा ग्यास उद्योगीले मनलाग्दी गर्ने छुट पाएका छन्। यसले ‘ग्यास बम’ भनिने जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजारमा छ्यापछ्याप्ती छन्। त्यही भएर दुर्घटना दर पनि बढेको छ।
करुणामय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु ताम्राकार ललितपुर, मंगलबजार–१२ स्थित अफिसमै बसेर काम गरिरहेका थिए।
यही जेठ ७ गते मध्याह्न झन्डै साढे १२ बजे विस्फोटको ठूलो आवाजले जमिन थर्रर हल्लियो। भुइँचालो आएजस्तै लाग्यो उनलाई। विस्फोट भएको ठाउँ सहकारी अफिसबाट ५० मिटर पनि टाढा छैन भन्ने थाहा पाउन राजुलाई कत्ति बेर लागेन।
उनी हत्तपत्त बाहिर निस्के। नजिकै रहेको ट्रान्समिटर कहिलेकाहीँ पड्किरहन्थ्यो। उनले त्यही होला भन्ठाने। होइन रहेछ। बाहिर निस्किँदा सुरेश ताम्राकारको घरबाट धुवाँको मुस्लो निस्किरहेको थियो। उनी त्यतै दौडिए।
सुरेशको घरअगाडि दस/एघार जना मान्छे भेला भइसकेका रहेछन्। उनीहरू सबै आत्तिएका थिए। के गरुँ कसो गरुँ भइरहेको थियो। टोल सुधार समितिका अध्यक्षसमेत रहेका राजुले तुरुन्तै मंगलबजार प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बोहरालाई फोन गरे।
प्रहरी टोली आइपुग्दासम्म स्थानीयले ‘फायर ग्यास’ ल्याएर आगो निभाइसकेका थिए।
ग्यास विस्फोटन घटनाबारे जानकारी दिँदै राजु ताम्राकार।
राजुले लामो समयदेखि सुरेशलाई त्यही घरको अँध्यारो छिँढीमा देख्दै आएका थिए।
सुरेश हरेकदिन आफ्नै सुरमा तामाका भाँडा बनाइरहेका हुन्थे। राजुले त्यसअघि यस्तो विस्फोट त परै जाओस्, दुर्घटनाको संकेतसमेत देखेका थिएनन्। तर, जेठ ७ गते जे नहुनु थियो, त्यही भयो। सुरेशले प्रयोग गर्दै आएको एचपी ग्यास सिलिन्डर पड्कियो, जसमा उनीसहित तीन जनाको ज्यानै गयो।
सरकारले सोमबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनले यो दुर्घटनामा ताम्राकारकै दोष देखाएको छ। उनले किन ग्यास बलेन भनेर जबर्जस्ती गर्दा सिलिन्डर पड्किएको छानबिन टोलीको निष्कर्ष छ। दुर्घटनालगत्तैको प्रारम्भिक छानबिनमा भने सिलिन्डर पातलो हुनुले पड्किएको भनिएको थियो।
स्थानीयले कारबाही माग गर्दै आएको एचपी ग्यास कम्पनीलाई नै बचाउ गर्ने गरी सरकारी प्रतिवेदन आएको सुनेर पीडित परिवार मात्र होइन, राजु पनि अचम्भित छन् जसले यो घटना नजिकबाट देखे।
उनका अनुसार त्यतिखेर सुरेशकी श्रीमती कविना भान्सामा थिइन्। बुबा गोविन्दकृष्ण माथिल्लो तलामा थिए। कविनाले विस्फोटको आवाज के हो भनेर झ्यालबाट बाहिर हेर्न खोज्दा उनको पनि जीउमा आगो सल्किएको थियो। उनी आत्तिँदै छतमा गइन्। धारो खोलेर जीउमा पानी खन्याइन्। उनलाई छिमेकी घरको छतबाट उद्दार गरिएको थियो।
भित्रभित्रै सल्किसकेको त्यो घरबाट गाउँलेले अरू सदस्यलाई पनि त्यसैगरी बाहिर निकालेका थिए। गोविन्दकृष्णलाई त लिस्नो लगाएर तल झारिएको थियो।
‘पसलमा हेर्यौं, भित्र सुरेश आफू बस्ने ठाउँमै मूर्तिजस्तो टक्क स्थिर थियो,’ राजु भन्छन्, ‘विस्फोटन बेला भित्रै रहेका राजेश ताम्राकार बाहिर निस्कन भ्याएछन्।’
राजुले सुरेशलाई छामे। ढुकढुकी चलिरहेको थियो। उनलाई तुरून्तै प्रहरीको भ्यानमा हालेर पाटन अस्पताल लगियो। राजेशलाई पनि साथीको मोटरसाइकलमा राखेर अस्पताल पुर्याइयो। केही बेरमै दमकल आयो। दमकलबाट आगो लागेको ठाउँमा पानी छ्याप्न खोज्दा भित्रबाट आवाज आयो, ‘गुहार ... गुहार।’
ग्यास विस्फोट भएको स्थान देखाउँदै मृतक सुरेशका दाजु राकेश।
को रहेछ भनेर हेर्दा ध्रुव ताम्राकार भेटिए। उनी त्यहाँ थुनिएका छन् भन्ने यतिका बेरसम्म कसैले भेउ पाएका थिएनन्। उनलाई पनि उद्दार गरेर तुरुन्तै पाटन अस्पताल लगियो।
...
पाटनको पुरानो बस्ती मंगलबारमा ग्यास पड्केर आगलागी भएको घटना आगोझैं चारैतिर फैलियो।
सुरेशका दाइ राकेश हाँपदाँप गर्दै घटनास्थल पुगे। वैशाख १२ को भुइँचालोमा पुर्खौली घर बस्नै नहुने गरी चर्किएपछि राकेश परिवारलाई लिएर डेरामा बस्न थालेका थिए। सुरेशको परिवार भने काठको टेकोले थामेर राखिएको पुरानै घरमा बसिरहेको थियो।
ग्यास पड्केको खबर सुन्नेबित्तिकै घटनास्थल पुगेका राकेश त्यहाँबाट दौडादौड पाटन अस्पताल पुगे।
आकस्मिक कक्षमा ध्रुव ‘पानी पानी’ भनिरहेका थिए।
‘पानी त खुवायौं तर त्यसको आधा घन्टामै दिउँसो साढे १ बजेतिर उनको मृत्यु भयो,’ राकेश भन्छन्, ‘यता भाइको अवस्था पनि गम्भीर थियो।’
आगोले डढेर गम्भीर घाइते भएका सुरेश, राजेश र सुरेशकी पत्नी कविना सबैलाई पाटन अस्पतालले कीर्तिपुर मोडल अस्पताल रेफर गर्यो। सबैभन्दा बढी चोट लागेका सुरेशको त्यही दिन अपराह्न सवा पाँच बजे निधन भयो। सुरेशको मृत्यु भइरहँदा कविनालाई आइसियूमा राखेर उपचार गरिँदैथ्यो।
आइसियूमा उपचार गरिरहेका अर्का घाइते राजेश पनि पछि रहेनन्। जेठ २९ गते उनको निधन भयो।
ग्यास विस्फोटमा मारिएका यी तीन जना (सुरेश, राजेश र ध्रुव) मंगलबजारको बाटो वारि र पारि बस्छन्। उनीहरूको पारिवारिक अवस्था उस्तैउस्तै छ। यी तीनै जनाका परिवारको बाँच्ने आधार नै उनीहरूको कमाइ थियो।
त्यस दिन ध्रुव १२ बजेतिर घरबाट निस्केका थिए। त्यतिबेलै राजेश पनि सुरेशको घर आइपुगेका रहेछन्। स्थानीयका अनुसार भुइँतलाको कोठामा सुरेश काम गरिरहेका थिए भने ध्रुव र राजेश गफ गर्दै थिए। त्यही बेला सिलिन्डर पड्केको थियो।
...
शारदा र अायुष सरकारले बस्न अयोग्य भनेको अाफ्नो घरअगाडि।
करुणामय सहकारीबाट ५० मिटर बाटोपारि साँघुरो जग्गामा इँटा–माटोको पुरानो घर छ। कोठा साँघुरा छन्। बत्ती नबाली भित्र छिर्नधरि सकिँदैन। हामी त्यहाँ मोबाइलको लाइट बाल्दै छिरेका थियौं।
यो ग्यास विस्फोटनमा मारिएका ध्रुव ताम्राकारको घर हो।
मंगलबार बिहान साढे १० बजेतिर त्यहाँ पुग्दा ध्रुवकी श्रीमती शारदाले हामीसँग भनेकी थिइन्, ‘सीप भएको मान्छे बितिहाल्यो, अब कसको सहारामा बाँच्ने?’
उनले भुइँतलाको एउटा साँघुरो कोठा देखाइन्, जहाँ ध्रुव काम गर्थे। ध्रुव बितेदेखि त्यो कोठामा चाबी लागेको छ। उनले भाँडा बनाउन थुप्रै अर्डर लिएका थिए। ती सबै काम अलपत्र छन्। ती अर्डर फिर्ता गर्नुपर्ने शारदाले सुनाइन्। किनकि, उनलाई यो सिप आउँदैन, १८ वर्षका छोरा छन्, तर उनले पनि सिकेका छैनन्। छोरी सानै छिन्।
शारदाले कोठाको चाबी खोलिन्। श्रीमान् काम गर्ने ठाउँ देखाइन्। ढोका बन्द गरिन्। चुपचाप बाहिर निस्किइन्। मोबाइलको लाइटमा पनि उनका आँखा टिल्पिलाएको प्रस्टै देखिन्थ्यो।
४५ वर्षीय ध्रुवका छोरा आयुष कक्षा १२ को परीक्षा दिएर बसेका छन्। आयुषले यो पेसा गर्नु नपरोस् भनेरै होला, ध्रुवले उनलाई बोर्डिङ पढाए। नौ वर्षीया छोरी आस्थालाई पनि बोर्डिङ नै पढाउँदै थिए।
छोराछोरी बोर्डिङ पढाउन ध्रुव आफैं भने रातदिन धातु कुँद्न हात चलाइरहन्थे। रातदिन चिसो छिँढीको अँध्यारो कोठाबाट टुकुरटुकुर आवाज आइरहन्थ्यो। एक महिनादेखि त्यो आवाज बन्द छ। बेलाबेला कसैले घरक्क ढोका उघारेको सुनिन्छ। उही टुकुरटुकुर आवाज हल्का सुनिएझैं हुन्छ। घरि भर्याङमा कोही चढेको, ओर्लेको आवाज पनि आउँछ। ध्रुव खोकेझैं पनि लाग्छ।
रुँदारुँदै भर्खरै निदाएकी शारदा झसंग ब्युँझन्छिन्।
उनका आँखाकान ठाडा हुन्छन्। कोठा सुनसानै पाउँदा उनको फेरि भक्कानो छुट्छ।
‘मेरो त जिन्दगी नै सुन्ने भो, सरकारले पनि हामीलाई नै दोष दिइरहेको छ रे, त्यसो हो भने त हामीलाई कसैले केही गर्दैन होला,’ शारदाले भनिन्, ‘भुइँचालोको राहत त अहिलेसम्म पाइएको छैन, यसको के पाइएला!'
हुन पनि ध्रुवको घर बस्नलायक छैन। २०७२ वैशाख १२ को महाभूकम्पले छियाछिया पारिदिएको छ। उनको घरमा रातो रंग पोतिएको गोलो घेराको चिह्न लगाइएको छ, जसको अर्थ उक्त घरमा नबस्नू भनेको हो।
तर, अर्को उपाय नहुनेले कहाँ जाने? घर जसोतसो अडिएकै छ, बाहिर कहाँ बस्ने? यी प्रश्नको उत्तर खोज्दाखोज्दै भुइँचालाको चोट मत्थर हुँदै गयो। स–साना पराकम्प आए, तर्साए। ध्रुव र शारदा भने छोराछोरीलाई लिएर बाहिर गएनन्। अन्यत्र डेरा खोजेनन्। उही घरमै बसिरहे। भुइँचालो पीडितलाई दिने भनिएको रकम पाए त्यसैबाट घर मर्मत गर्ने ध्रुवको सोचाइ थियो।
भूकम्पले क्षति पुर्याएपछि टेको लगाएर अड्याइएको शारदाको घर।
त्यो रकम हात नपर्दै ध्रुव नै यो संसार छाडेर गए।
शारदाका अघिल्तिर चुनौतीको पहाड उभिएको छ। पहिलो त घरै भयो। कुनै पनि दिन ढल्न सक्छ। दोस्रो, के गरेर जीविका चलाउने? श्रीमानले गर्ने पेसा जानेको छैन। छोरीलाई पढाउनु छ। कहाँबाट के गर्ने? उनी सोचेका सोच्यै छिन्। उत्तर सहज छैन।
‘श्रीमानको किरिया बस्दा टोलभरिबाट सहयोग जुटेको थियो,’ शारदा भन्छिन्, ‘त्यस्तो सहयोग दुःख पर्दा त हो।’
...
ध्रुव, राजेश र सुरेश तीनै जनाको परम्परागत पेसा तामाका भाँडाकुँडा बनाउने हो। पहिले कोइलाबाट यस्ता भाँडा बनाउँथे। राजधानी आसपासका जंगल जान्थे, सुकेका मुढा पोल्थे, त्यसबाट निस्केको कोइला उनीहरूको इलम चलाउने माध्यम बन्थ्यो। पछि त्यसरी जंगल गएर दाउरा पाइन छाड्यो।
‘गोल पाइन छाडेपछि ग्यासबाट काम चलाउन थालिएको हो,’ सुरेशका दाजु राकेश भन्छन्।
उनीहरू डिलरकहाँ जुन ग्यास भेटियो त्यही ल्याउँथे। त्यसैले काम चलाउँथे। सुरेशकोमा एचपी ग्यास परेछ।
यो दुर्घटनालगत्तै एचपी ग्यासका प्रतिनिधि पाटन अस्पताल पुगेका थिए। तत्कालका लागि एक लाख रुपैयाँ खर्च पनि दिए। त्यसपछि भने गायब छन्। सरकारका तर्फबाट पनि कोही पीडितको घर पुगेका छैनन्।
राजु ताम्राकारको नेतृत्वमा पीडितलाई न्याय दिन भनेर संघर्ष समिति बनेको छ। समितिले सरकारलाई घटनाको छानबिन गर्न र दोषी कम्पनीमाथि कानुनी कारबाही गर्न दबाब दिइरहेको छ। यही दबाबपछि आयल निगमले एचपी ग्यासको कोटा रोक्का गरिदियो। आपूर्ति मन्त्रालयले छानबिन समिति पनि गठन गर्यो।
अहिले भने एकाएक घटनामा ज्यान गुमाएका पीडितहरूमाथि नै दोष थोपर्ने प्रयास हुँदैछ। एकातिर एलपी ग्यास उद्योग संघ मंगलबारबाट आन्दोलनमा ओर्लिएको छ, अर्कातिर छानबिन समितिले एचपी ग्यासलाई नै बचाउ गर्दै प्रतिवेदन दिएको छ।
‘संघर्ष समितिको माग धेरै ठूलो छैन। पहिले त पीडितलाई क्षतिपूर्ति दिइयोस् भन्ने नै हो,’ राजु भन्छन्, ‘त्यसपछि अब यस्तो दुर्घटना दोहोरिन नदिन ग्यास सिलिन्डरको गुणस्तर कायम हुनैपर्छ।’ बजारमा उपलब्ध सिलिन्डर ‘हाइड्रोस्टाटिक टेस्ट’ नभई आइरहेको पनि राजुले बताए।
छोराछोरी बोर्डिङ पढाउन ध्रुव आफैं भने रातदिन धातु कुँद्न हात चलाइरहन्थे। रातदिन चिसो छिँढीको अँध्यारो कोठाबाट टुकुरटुकुर आवाज आइरहन्थ्यो। एक महिनादेखि त्यो आवाज बन्द छ। बेलाबेला कसैले घरक्क ढोका उघारेको सुनिन्छ। उही टुकुरटुकुर आवाज हल्का सुनिएझैं हुन्छ। घरि भर्याङमा कोही चढेको, ओर्लेको आवाज पनि आउँछ। ध्रुव खोकेझैं पनि लाग्छ। रुँदारुँदै भर्खरै निदाएकी शारदा झसंग ब्युँझन्छिन्।
संघर्ष समितिले सिलिन्डरको मोटाइ कति हुनुपर्ने हो खुलाउन माग गरेको छ। कति वर्षमा सिलिन्डर फेरिनुपर्ने हो त्यसको सुनिश्चितता खोजेको छ। सामान्यतया सिलिन्डरको मोटाइ २.४ एमएम हुनुपर्नेमा १.८ एमएमसम्मका सिलिन्डर बजारमा रहेको निगमका अधिकारी बताउँछन्। छानबिन समितिकै प्रतिवेदनमा पनि न्यूनतम १.८४ एमएम मोटाइसम्मका भेटिएको उल्लेख छ।
भारतीय नाकाबन्दीले उत्पन्न अभावको मौका छोपेर धेरै ग्यास उद्योगले मोटाइ पातलो भएका कमसल सिलिन्डर बिक्री गरिरहेका छन्। बजारमा निगमबाट स्वीकृत नभएका ६ लाख सिलिन्डर बिक्री भइरहेको अनुमान छ। निगमले प्रत्येक छ महिनामा सिलिन्डरको गुणस्तर परीक्षण गर्नुपर्ने भए पनि १८ महिनादेखि नहुँदा ग्यास उद्योगीले मनलाग्दी गर्ने छुट पाएका छन्। यसले ‘ग्यास बम’ भनिने जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजारमा छ्यापछ्याप्ती छन्। त्यही भएर दुर्घटना दर पनि बढेको छ।
मंगलबजारमा ग्यास पड्केको केही दिनपछि नै राजधानीको कालिमाटीमा सुगम ग्यास पड्कँदा एक जनाको ज्यान गयो। पाँच जना अझै अस्पतालमै उपचार गराइरहेका छन्।
‘हामीलाई यो घटनामा चुप लागेर बस्न ४० लाख रुपैयाँ दिन्छौं भनेर अफर आइरहेको छ,’ राजुले सेतोपाटीसँग भने, ‘पैसा ठूलो कुरा हैन, मान्छेको ज्यानसँग खेलवाड गर्न पाइँदैन भन्ने हाम्रो माग हो। अरू मान्छे यसरी नमरुन्।’
यसबीच ग्यास कम्पनी, स्थानीय र सरकारबीच पटक–पटक वार्ता हुँदा कुरा मिल्न सकेको छैन। बरू देशैभरिका ग्यास कम्पनी सञ्चालक उल्टो मंगलबजार र कालिमाटीका घटनाको बचाउ गर्न आन्दोलनमा उत्रिएका छन्। र, यो आन्दोलनको नेतृत्व गर्दैछन्, शिवप्रसाद घिमिरे, जो सुगम ग्यासका सञ्चालक र एलपी ग्यास उद्योग संघका अध्यक्ष हुन्।
...
ध्रुवले भाँडा बनाउने कोठामा पत्नी शारदा।
गुणस्तर तथा नापतौल विभागको प्रारम्भिक छानबिन र अन्तिम प्रतिवेदनको निष्कर्षमा आनका तान फरक परेको छ। पहिले सिलिन्डर पातलो भएर पड्किएको भन्ने अधिकारीहरू अहिले उपभोक्तामाथि नै दोष थोपर्दैछन्।
प्रारम्भिक छानबिन र अन्तिम प्रतिवेदनको निष्कर्षमा कसरी आनका तान फरक पर्यो भन्नेबारे गुणस्तर तथा नापतौल विभाग मौन छ। छानबिन टोलीमा संलग्न केही अधिकारी भने ग्यास उद्योग संघको हड्तालको धम्की र दबाबका कारण विस्फोटमा मारिने उपभोक्तामाथि नै दोष थोपरेर ग्यास उद्योगलाई उन्मुक्ति दिँदै घटना सामसुम पार्न खोजिएको बताउँछन्।
‘सरकारले त उपभोक्ताकै दोष देखाएको छ नि’ भन्ने प्रश्नमा शारदाले सेतोपाटीसँग भनिन्, ‘हो, हामीलाई ग्यास चलाउन आउँदैन, कसरी आओस्, हामीलाई कसैले सिकाएको पनि त छैन।’
उनले भनेजस्तै सरकारले ग्यास त बेचिरहेको छ, बाँडिरहेको छ तर कसरी चलाउने सिकाएको छैन। ग्यास चलाउने होसियारीबारे उपभोक्तालाई जानकारी दिएको पनि छैन। यो जिम्मेवारी कसको हो भन्ने निर्क्यौल पनि त छैन।