फाइल तस्बिरः गिरीश गिरी/सेतपाटी
राष्ट्रकवि माधव घिमिरेलाई आफ्नो र अम्बर गुरुङको पहिलो भेट कहिले भयो ठ्याक्कै सम्झना छैन। प्रज्ञा प्रतिष्ठानमै भेट भएको होला भन्ने अनुमान लगाउँछन् उनी।
‘अम्बर गुरुङजी हाम्रो भेटअघि नै नौलाख तारा उदाए... भन्ने गीतबाट चर्चित भैसक्नुभएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘पछि प्रतिष्ठानमै आउनुभयो, त्यहीँ पो भेट भयो कि!’
त्यतिबेला घिमिरे प्रतिष्ठानमा उपकुलपति थिए भने अम्बर गुरुङ पनि प्रतिष्ठानकै जागिरे भइसकेका थिए। प्रतिष्ठानमा खासै धेरै काम थिएन। एकदिन कलाकारहरूले राष्ट्रकविलाई आफूहरूले केही नाटक गर्न नपाएको गुनासो सुनाए।
‘म प्रज्ञाप्रतिष्ठानको उपकुलपति भएकै बेला गीति नाटक गरौं न त भनेर मालती–मंगले तयार पारेँ,’ उनले भने, ‘अम्बर गुरुङ प्रतिष्ठानमै हुनुहुन्थ्यो, त्यसमा संगीत उहाँले नै भर्ने कुरा भएको थियो।’
उनका अनुसार संगीत मात्रै हैन, अम्बरले त मालती–मंगलेका सबै गीत आफूले गाउन चाहेका थिए। पछि नारायण गोपालले गाउने भनियो। सुरुमा अम्बरले नै गाउने कुरा त भएको थियो, तर प्रतिष्ठानका कुलपति लैनसिंह बाङ्देलले ‘सिंगर प्रतिष्ठानकै कर्मचारी हुनुहुन्न’ भनेपछि माधव घिमिरे नारायणगोपाललाई मनाउन गएका थिए।
त्यो बेला अम्बर गुरुङ र नारायण गोपालको अनमन चलिरहेको थियो। त्यसमाथि नारायण गोपालले के निर्णय गर्छन् भन्ने अनुमान गर्न गाह्रो। राष्ट्रकविले भनेछन्, ‘म तपाईंकोमा प्रतिष्ठानको उपकुलपति भएर आएको होइन, एउटा गीतकार गायकसँग आफ्नो गीत गाइदिन भन्न आएको।’
नारायण गोपालले भनेछन्, ‘मैले माने पनि अम्बरले मान्दैन।’
त्यसपछि राष्ट्रकवि अम्बरकहाँ आएछन्।
‘संगीत तपाईंको छँदैछ, गायकका रूपमा अर्को कोही भए गीतिनाटकको प्रस्तुति राम्रो हुन्छ। नारायणगोपालले स्वर दिन्छन्,’ कविले भनेछन्।
अम्बर पनि कम्ता हठी थिएनन्। ‘नारायण गोपालले ११ वटा सर्त मान्यो भने मात्रै सँगै काम गर्ने’ भनेछन्। उनका ११ सर्तमध्ये रेकर्डिङको बेला समयमै आउनुपर्ने, संगीतको नोटमा आफूखुसी गर्न नपाइने लगायत थिए।
ती सर्त नारायण गोपालले कहिल्यै पूरा नगरेको घिमिरे सुनाउँछन्।
‘तैपनि नेपाली सांगीतिक क्षेत्रका दुई धरोहरको धेरै समयको अनमन मालती–मंगलेमै तोडियो। उनीहरूको बोलचाल सुरु भयो, मैले नै उनीहरूलाई मिलाई दिएँ,’ राष्ट्रकविले हात जोड्दै भने।
मालती–मंगलेमा अम्बरले करिब ४० वटा गीतमा संगीत दिएका छन्। ‘त्यो संगीत यति राम्रो, यति मार्मिक भयो कि त्यो गीति नाटक प्रज्ञा प्रतिष्ठानमा कैयौं महिना हाउसफुल भयो। अनि हङकङ र अमेरिकमा समेत त्यसको प्रदर्शन भयो,’ राष्ट्रकविले भने, ‘दुवैले मान्नु भयो म खुसी छु, नभए त त्यो गीति नाटक यति राम्रो हुने नै थिएन।’
अम्बरले संगीत मात्रै गर्थेनन् गीत पनि गाउँथे। उनलाई अर्काले भरेको संगीतमा गीत गाउन भने कहिल्यै मन हुन्नथ्यो। अम्बरले माधव घिमिरेकै एउटा गीत गाएका छन्, त्यो पनि नातिकाजीको संगीतमा। यो त्यही एउटामात्र गीत हो, जो अम्बर गुरुङले अर्काले भरेको संगीतमा गाएका थिए।
‘मालती–मंगलेका सबै गीत गाउन चाहेका अम्बरजीले किन्नर–किन्नरीको मेरो एउटा गीतमा स्वर दिनुभएको थियो,’ राष्ट्रकवि घिमिरेले भने।
पहिलो बास बस्दछ यात्री झ्याउँकीरी रुवाई
एक डाँडापारि उज्यालो घर साँझमा डुबाई
साइतको बेला, जलको घल्चा कटिमा बोकेकी
प्रीतिलाई छोड्यो गहको आँसु गहमै रोकेकी
‘त्यो गीत अत्यन्त मार्मिक थियो,’ राष्ट्रकविले सम्झिए, ‘एउटा चर्चित दक्षिण भारतीय शास्त्रीय संगीतकार थिए, मैले नाम बिर्सें, अम्बरको संगीत र गीत मलाई उनैसँगमात्रै दाँज्न सकिन्छ भन्ने लाग्थ्यो।’
‘अम्बर त नेपाली संगीतको शताब्दी पुरुष नै हुनुहुन्थ्यो,’ राष्ट्रकवि घिमिरेले भने।