महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ।
महाशाखाबाट खटिएको टोलीले चार महिलालाई काँकडभिट्टा हुँदै कुबेत लगेर बेच्ने गरेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा शुक्रबार र शनिबार मोरङ, सुनसरीलगायतका जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउपर्नेमा बालकुमारी विश्वकर्मा, बिना तामाङ, नवीन धिमाल, जीवन उराउ, अशोक तामाङ र रुपनारायण राजवंशी रहेका छन्।
महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले नेपाली र भारतीय व्यक्तिको मिलेमतोमा बाहिर लगेर बेच्न लागेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा दोषीलाई पक्राउ गरिएको जानकारी दिए।
उनले एक व्यक्ति पठाएबापत दुई लाख ५० हजार लिने गरेको अनुसन्धानमा खुल्न आएको बताए। उनले भने, 'मानव बेचबिखन गर्ने मानिसको जालो नै रहेछ हामीले थप अनुसन्धान गरिरहेका छौँ।'
महाशाखाले पाँच महिनादेखि मानव बेचबिखनको मुद्दा हेर्दै आएकामा छ वटा उजुरी दर्ता भएका र छ वटालाई नै मुद्दा चलाएको मरासिनीले बताए। उक्त मुद्दामा हालसम्म १८ जना पीडित रहेको र १४ जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। रासस