सुदूरपूर्वी जिल्ला ताप्लेजुङका पत्रकार तथा सामाजिक अभियन्ता गोपीकृष्ण अधिकारीको आइतबार विहान निधन भएको छ।
मुटु मधुमेह तथा मृगौला रोगबाट लामो समयदेखि पीडित अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको हो।
१९९८ साल फागुन १० गते रामेछाप कठजोरमा जन्मेका र ताप्लेजुङ फुङ्लिङ वडा नम्बर ५ स्थायी घर भएका अधिकारीको काठमाडौँ धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
ताप्लेजुङको विकासमा अतुलनीय योगदान दिएका अधिकारीले ताप्लेजुङबासीको शिक्षा र चेतनास्तर माथि उठाउन समेत महत्वपूर्ण भूमिका खेलेका छन्। लिम्बू धर्म र भाषाको खोज गरेका अधिकारीले किरात भाषा र साहित्यको पनि बृहत अनुसन्धान गरेका थिए।