गोठालो गएकी रोल्पाको दुर्गम गाउँ तालाबाङ–५ की १८ वर्षीय कमला घर्तीमगरको उतै बिहे भयो।
तीन वर्ष अगाडि, शनिबारको दिन थियो। गोठालो गएकी घर्तीमगरलाई तीन–चार जना केटाहरुले तानेर लगे। उतै बिहे भो।
बिहेका लागि केही दिन अगाडि केटापक्ष घरमा माग्न आएका रहेछन्। बा आमाले पनि स्वीकृति दिएछन्। १५ वर्षको उमेर, ९ कक्षाको अन्तिम अन्तिम पढाइ चल्दैथियो। उनले बिहेको प्रस्ताव मानिनन्।
‘बिहे गर्न नमानेपछि तानेर लगे, छिमेकी गाउँमा जबरजस्ती बिहे भयो। विरोध गर्ने कसले?,’ उनले सुनाइन्, ‘एक्लै कराएर भएन। बा–आमाले पनि मानिसकेका थिए।’
त्यहीबीचमा एसएलसी परीक्षा दिइन्। विषय लाग्यो । पढाइ छुट्यो ।
करिब १३ महिना श्रीमानसँग जबरजस्ती घरमा बसिन्। सासु, ससुरालगायतको ठूलो परिवार। जाँड, रक्सीको नास्ता पानीबाट दैनिकीको सुरुवात हुन्थ्यो। सहन सक्ने वातावरण नबनेपछि एक वर्ष छोडपत्र गरिन् उनले।
‘जाँड, रक्सी खान्थे, व्यवहार पनि राम्रो नगर्ने,’ उनी भन्छिन्। बा–आमाले नछोड भनेका थिए तर कमला छोडिन्।
तीन छोरी, दुई छोरामध्येकी जेठी सन्तान हुन् कमला। बिहे दर्ता पनि भएन। छोड्ने बेलामा एउटा भैसी, गोठ, पकाउने खाने भाडाकुँडा, केही पाथी अन्न दिलाइदियो गाउँको पञ्च भेलाले।
माथिको एकान्तमा रहेको गोठमा एक्लै बस्ने स्थिति नरहेपछि बा–आमाको शरणमा आइन् कमला । माइती आएपछि फेरि एसएलसीको फारम भरिन्। अहिले परीक्षा दिएर बसेकी छिन्।
‘पढाइ छुट्यो, अलिअलि टिउसन पढेर दिएकी छु, राम्रै भा’छ परीक्षा त, हेरम के हुन्छ,’ उनले भनिन्।
सेभ द चिल्ड्रेनकी सामाजिक परिचालकमार्फत स्थानीय एनजिओमा आएपछि कमलाले तीन महिने सिलाई कटाईको तालिम लिइन्। अहिले सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय हुरेक नामको एक संस्थाले तालिमसँगै सिलाई मेसिन दिएपछि गाउँमै सिलाई कटाईको व्यवसाय सुरू गरेकी छिन्।
बा–आमाको सहयोगमा सिलाई कटाईसँगै सानो किराना पसलसमेत गरेकी कमलाको आम्दानी राम्रै हुन थालेको छ।
दिनभर व्यवसाय गर्छिन् रातमा माइती जान्छिन्। भोलिपल्ट विहानभरि माइतीघरको कामधन्दा सकाएर स्कुल छेउमा रहेको पसलसँगै सिलाई कटाई सुरू गर्छिन् उनी।
‘पोहोरबाट अलि घटे पनि गाउँमा कतैकतै तानेर बिहे गर्ने चलन अहिले पनि छ। बा–आमाले मानिहाल्छन्। कसले बन्द गर्देला यस्तो चलन?,’ कमला अहिले पनि गाउँमा समस्या यथावत् रहेको जनाउँछिन्। अधिकारका चर्काे आवाज उठ्ने ठाउँमा नपुगेको गाउँबस्तीको आवाज पुर्याइदिन कमलाको अनुरोध छ।