बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ ।
बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले राससलाई जानकारी दिए ।
विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मेका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आएका छन्।
उनका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताए। साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गरेका छन। हाल ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् । रासस