बैतडीमा सोमबार साँझ पानीसँगै आएको हावाहुरीले दर्जनौ विद्यालयका छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । पाटन नगरपालिकाको ठाँडमा रहेको भूमेश्वर उमाविको चारवटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरसिंह विष्टले बताए।
चारवटा भवनको आठवटा कोठामा बस्न नमिल्ने भएको र कम्प्युटर ल्याब भवनको समेत छानो उडाउँदा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनमा समेत क्षति पुगेको उनले बताए। उनका अनुसार विद्यालयमा धेरै क्षति पुगेको छ र पठनपाठन अवरुद्ध भएको छ ।
शङ्करपुरमा रहेको भूमिराज प्रावि पिपलाधारको भवनको छानो हावाहुरीले उडाएको प्रधानाध्यापक जनकबहादुर कुवँरले जानकारी दिए। विद्यालय भवनको छानो उडाएपछि यहाँ पनि पठनपाठन अवरुद्ध भएको छ ।
यस्तै, मल्लादेहीमा रहेको डिलाशैनी निमाविको दुईकोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । जस्तापाताले छाएको सो भवनको छानो उडाएको विद्यालयका शिक्षक जनक बोहराले जानकारी दिए। जिल्ला शिक्षा कार्यालयको सहयोगमा २०६७ मा निर्माण भएको भवनमा क्षति पुगेको हो ।
बैतडीको मेलौली गाविस–८ मा रहेको केदारेश्वर प्राविको भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठन कार्य ठप्प छ । विद्यालयको चारकोठे भवनको जस्तापाताले छाएको छानो हावाहुरीले उडाएपछि पठनपाठन ठप्प भएको विद्यालयका प्रधानाध्यापक विन्दा चन्दले बताए। यही जेठ २ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो । पठनपाठन कार्य नौ दिनदेखि प्रभावित भएको छ ।
सित्तड गाविसको सलेनामा रहेको पञ्चदेव निमाविको दुईकोठे भवनको छानो उडाएपछि विद्यार्थीका लागि बस्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिए। बालबालिकालाई अहिले चौरमा राख्नुपर्ने बाध्यता छ । यो विद्यालय विसं २०६३ मा बनेको हो ।
उता पाटन नगरपालिका–१ मा रहेको दुगाबेताल प्रावि खानीडाँडा गडालेकको दुईकोठे भवनको छाना उडाएको छ ।
यस्तै पानीसँगै आएको बाढीले डिलाशैनी गाविस–१ मा खोलाको बाढीले कटान गरेपछि पाँच स्थानीयवासीको घर पनि जोखिममा रहेको छ । सेकराम ओड, धनदेव बोहरा, केशवराम ओड लगायतको घर जोखिममा परेको स्थानीयवासी लोकेश जोशीले बताए।
एक्कासि आएको पानीले खोलामा बाढी आएको र खोलाको बाढीले निर्माणधिन सिँचाइ आयोजना बगाएको समेत उहाँले बताउनुभयो । सोही ठाउँको खानेपानी आयोजनाको पाइप पनि बाढीले बगाएपछि स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् ।
वर्षासँगै आएको हावाहुरीले बैतडीको उत्तरपूर्वी कुवाकोटमा रहेको भूमिराज माविको छाना उडाउँदा पठनपाठन कार्य अवरुद्घ भएको छ ।
वर्षासँगै आएको हावाहुरीले बिहीबार विद्यालयको छानो उडाएर पाँच सय मिटर तल रहेको कुवाकोटगाड पुर्याएको विद्यार्थी मनिस खडायतले बताउनुभयो । त्यसैगरी राति चलेको हावाहुरीले भूमिराज मावि गहताडको तीनकोठे भवनको टिनको छानो उडाउँदा पठनपाठनमा समस्या भएको छ ।
जिल्लाका अन्य ठाउँका विद्यालयमा पनि क्षति पुगेका विवरण आइरहेका छन् । हिजोको हावाहुरीले जिल्लामा करोडौ क्षति पुर्याएको अनुमान गरिएको छ ।
सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति
यस्तै, सोमबार साँझ आएको हावाहुरीले बैतडीको उत्तरी मठैराज गाविस नुवाकोटमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रको छानो उडाएको छ । जस्तापाताले छाएको तीनकोठे भवनको छानो हावाहुरीले पूरै उडाएको हाडाकोट स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह कार्कीले जानकारी दिनुभयो । पानीले औषधिलगायत अन्य चीजमा समेत क्षति पुर्याएको छ।
उनले भने, ‘तत्कालका लागि सो भवनमा रहेको सबै औषधि र अन्य सामग्री एक व्यक्तिको घरमा सारिएको छ।’
सुरक्षित प्रसूति सेवा केन्द्रको भवनको छानो उडाएसँगै सुरक्षित प्रसूति सेवा प्रभावित भएको बताइएको छ । सो ठाउँमा सेभ द चिल्ड्रेनको रु तीन लाख भन्दा बढीको सहयोगमा सुरक्षित प्रसूति सेवा केन्द्रको भवन निर्माण गरिएको थियो ।
विद्युत् खम्बा ढल्दा एक गम्भीर घाइते
पानीसँगै आएको हावाहुरीले सोमबार साँझ बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीका अनुसार घाइते हुनेमा दुर्गाभवानी –२ बर्कोलीका ५५ वर्षीय जानकी नाथ रहेका छन् । सोमबार साँझ मन्दिरबाट फर्किरहेका बेला यो घटना भएको हो ।
घाइते नाथको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली पठाइएको छ ।
विभिन्न ठाउँमा खम्बा ढल्दा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण बैतडीका निमित्त प्रमुख माधवप्रसाद लेखकले जानकारी दिए।
विपद् व्यवस्थापन कोष खडा
बैतडीमा पहिलो पटक विपद् व्यवस्थापन कोष खडा गरिएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक कार्यशाला गोष्ठीमा सहभागीहरुको सहयोगमा विपद् व्यवस्थापन कोषको सुरुवात गरिएको हो ।
कोषमा गोष्ठीमा सहभागीहरुले रु एक हजारका दरले सहयोग गरेको र रु ७६ हजार जम्मा भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘विपद् परेका बेला स्थानीयस्तरमै खर्च गर्न सकिने गरी कोषलाई व्यवस्थापन गरिनेछ ।’
पाटन नगरपालिकाले यसअघि नै विपद् व्यवस्थापनका लागि ५० हजार छुट्याइसकिएको छ । अहिलेसम्म बैतडीका ८ वटै गाविसमा स्थानीय विपद् व्यवस्थापन समिति गठन भइसकेको छ। रासस