पाकिस्तानी नागरिकसहित ८ जना व्यक्ति ५५ लाख ८७ हजार जाली भारतीय नोट र १९ हजार ५ सय जाली अमेरिकी डलरसहित पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाकिस्तानी नागरिक शामा नाज, भारतीय नागरिक बैजनाथ गुप्ता र ६ जना नेपालीलाई जाली भारतीय नोट र अमेरिकी डलरसहित पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जाली भारतीय नोट र अमेरिकी डलरसहित आठै जना अभियुक्तलाई सार्वजनिक गरेको छ।
२७ वर्षिया पाकिस्तानी नागरिक नाज ३६ लाख जाली भारतीय नोट र १९ हजार ५ सय जाली अमेरिकी डलरसहित पक्राउ परेकी हुन्। नेपालमा जाली अमेरिकी डलर बरामद् भएको यो पहिलो पटक हो। प्रहरीले नाजलाई त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारबाट पक्राउ गरेको हो। पाकिस्तानको कराँचीबाट दोहा हुँदै कतार एयरवेजबाट जेठ ८ गते काठमाडौं आएकी नाजले सुटकेशमा फल्स बटम बनाइ विभिन्न खाद्य सामाग्रीका प्याकेटभित्र राखेर जाली मुद्रा ल्याएको प्रहरीले जनाएको छ। नाजले स्थानीय विक्रेतामार्फत जाली मुद्रा बजारमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। नाज पछिल्लो तीन महिनाको अवधिमा तेस्रो पटक नेपाल आएकी हुन्।
प्रहरीले १९ लाख ८७ हजाार जाली भारतीय नोटसहित दोलखाकी मीरा जिरेल, काठमाडौंका सुमन मल्ल, सप्तरीका तारिणीप्रसाद ठाकुर, रुपन्देहीका विजयराज शर्मा, गुल्मीका सनद प्रधान, डोटीका अमृतमान श्रेष्ठ र भारतको विहारका वैजनाथ गुप्तालाई पक्राउ गरेको छ। यो समूह पाकिस्तानबाट जाली भारतीय नोट भित्र्याएर बजारमा पठाउने काममा संलग्न रहेको महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाले बताए।
जाली भारतीय नोटको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिमध्ये विहारका गुप्ता र रुपन्देहीका शर्मा यसअघि लागू औषधको कारोबारमा संलग्न व्यक्ति हुन्। लागूऔषधको कारोबारमा संलग्न भएवापत गुप्ता २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागार तथा शर्मा २०५८ सालदेखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा बसेको प्रहरीले जनाएको छ ।