सत्यमोहन जोशी सानो छँदा पाटनको बखुःबहालस्थित घरबाट काठमाडौंको वटुटोल मामाघर जाँदा आमाले पिठ्युँमा बोकेर लैजान्थिन्। त्यतिबेला बागदरबार, सुन्धारामा बाघको खोर थियो।
बाघको खोर पुग्नेबित्तिकै पिठ्युँमा बसेका जोशीलाई आमाले थपक्क भुइँमा बिसाउँथिन्। उनी खुर्र दौडिँदै खोरको बारनजिकै जान्थे। बाघ खेलिरहेको, मासु खाइरहेको दृश्य उनलाई बडो रमाइलो लाग्थ्यो। आमा फेरि पिठ्युँमा राख्थिन्, उनी आँखाले भ्याइन्जेल खोरतिरै हेरिरहेका हुन्थे।
नेपाली संस्कृतिको ‘जीवित संग्रहालय’ मानिने इतिहासकार तथा साहित्यकार सत्यमोहन जोशीसँग बाल्यकालका थुप्रै यस्ता सम्झना आजसम्म ताजै छन्।
वैशाख ३० गते ९६ वर्ष पार गरेका जोशीको यो सम्झना आजभन्दा करिब ९१ वर्षअघिको हो।
सत्यमोहन ९७ वर्षदेखि त्यही घरमा छन्, जुन घरमा उनी जन्मिएका थिए। चारैतिर झ्याल भएको बुईंगलमा भात पकाइन्थ्यो, आमा छोटो समयका लागि बाहिर जाँदा चारवर्षे चकचके जोशीलाई पटुकीले थाममा बाँधेर बाहिर निस्कन्थिन्।
बाल्यकालका सम्झनाबारे कुरा चल्दा बारीका पाटा र खेतका गह्रामा साथीहरूसँग खेलेका क्षण दिमागमा झलक्क ताजा गरी आउँछन्। अहिले सम्झँदा रमाइलो पनि लाग्छ।
तैपनि, उनी भन्छन्, ‘बुढेसकाल नै प्यारो।’
...
नागरिकतामा वैशाख ३० गते जन्ममिति लेखिए पनि सत्यमोहन जोशी आफैं भने बुद्ध जयन्ती लगत्तैको नवमीका दिन जन्मदिन मनाउँछन्। नेवारी परम्पराअनुसार मनाइने जन्मदिन छरछिमेक तथा आफन्तलाई विशेष उल्लास हुने गर्छ। त्यसो त वैशाख ३० मा पनि घर शुभचिन्तकले भरिन्छन्।
कसैसँग कुरा गर्न नअन्कनाउने स्वभावले हुनसक्छ, सत्यमोहनलाई भेट्न हरेक दिन घरमा कोही न कोही आइपुगेकै हुन्छन्। इतिहास, दर्शन, काठमाडौं उपत्यका र नाटकसँग सम्बन्धित कुरा गर्न आउनेदेखि कार्यक्रमको प्रमुख अतिथि बनिदिनुपर्यो भन्नेसम्मका मानिस उनको घरमा भेटिन्छन्। कतिपय शुभचिन्तक आशिर्वाद लिनकै लागि मात्र पनि पुगेका हुन्छन्।
९७ वर्षको उमेरमा पनि उनलाई एकछिन फुर्सद छैन। अलि शीतल भए आँगनको सोफामा बसेर गफिन्छन् त चर्को घाम लागे आगन्तुकलाई घरभित्रको सोफामा बसाल्छन्। कार्यक्रमका लागि निम्तो गर्न होस् या अलि लामो गफिन, सत्यमोहनलाई भेट्न केही दिनअघि नै ‘टाइम फिक्स’ गर्नुपर्छ। उनी क्यालेन्डरमा आफ्नो फुर्सदको दिन छानेर भेट्ने समय मिलाउँछन्।
हामी पनि दुई दिनअघि नै समय लिएर उनको घर पुगेका थियौं। एकतले घरभित्रबाट उनी निस्किए, कालो–सेतो धर्के सर्ट, सुरुवाल र खरानी रङको टोपीमा। अनुहारमा बुढ्यौलीको कुनै संकेत थिएन।
शरीर त पहिल्यैदेखि अलि कुप्रै हो, तै लौरोसँग आजसम्म सहारा माग्नुपरेको छैन। दुईचार हरफ पढ्न चस्माको बोझ उठाइराख्नु पर्दैन। अखबार या अलि लामो पढ्नुपरे ‘चस्मा ल्याइदे’ भन्दै कसैलाई गुहार्नु पर्दैन, राखेको ठाउँबाट आफैं ल्याउँछन्। कसैसँग गफ गर्दा सन्दर्भस्रोतका लागि किताब या पत्रिका चाहिए पनि खोज्नलाई आफैं अघि सर्छन्।
बोली सुनाउन चर्को बोलिराख्नु पनि पर्दैन र बोलेको सुनिएन भनेर सुन्नेले आफ्नो कान उनको मुखनजिकै पुर्याएको रेकर्ड आजसम्म छैन। बोल्न कसैसँग झर्को मान्दैनन्। बरु लामो गफ गर्न थाले श्रीमतीले धेरै नबोल्न कर गरिरहन्छिन्। उनी ‘एकैछिन’ भनेर टार्दै बोलिरहन्छन्। अनि खुसुक्क हामीलाई भन्छन्, ‘मैले बोल्न छाडेँ भने त मान्छेले सत्यमोहन चढेछ भनेर कुरा काटिहाल्छन् नि!’
यत्रो उमेरसम्म न उनलाई दमको खुइखुइ छ न त खोकीको ख्वाङख्वाङ। खान्कीको दैनिक मेनुमा औषधीले अहिलेसम्म प्रवेश पाएको छैन। कहिलेकाहीँ कब्जियतको औषधि भने लिनुपर्दो रहेछ। ग्यास्ट्रिक, प्रेसर, मधुमेहजस्ता ‘आमनेपाली रोग’लाई शरीरमा उनले ‘इन्ट्री’सम्म दिएका छैनन्।
डाक्टरले कुनै पनि खानामा बन्देज लगाउन नभनेकाले बार्ने झन्झट बोक्नै परेन। घरमा जे पाक्यो, मीठो मानेर खाइदिन्छन्। उनकी श्रीमती राधादेवीको भनाइमा ‘खाना नमिठो भो’ भनेर आजसम्म ‘कम्प्लेन’ गरेका छैनन्। सबैभन्दा मन पर्ने खानेकुरा भन्ने नै रहेनछ। बाहिर भोजमा खाएर आए पनि घरमा थोरै खानैपर्ने बानी पहिलेदेखिकै रहेछ।
पहिलेपहिले श्रीमती र उनी बिहान चार बजे सँगै उठ्थे। श्रीमती गेडागुडी पकाइदिन्थिन्, उनी चार बजेदेखि नै पढ्न सुरु गर्थे। अचेल श्रीमतीलाई घुँडाको समस्या छ, हिँडडुल गर्न सक्दिनन्। घरमा काम गर्नेले पकाइदिएको चिया पिउँदै पत्रपत्रिका पढ्छन्। प्याकेटको दूध उनलाई मन पर्दैन। गाईको दूध घरमै आइपुग्छ।
सामान्य जीवनयापन चलाउन शरीरका अंगले आजसम्म अल्छी मानेका छैनन्, न त मस्तिष्कले नै। इतिहासका कुरा बोल्नुपर्दा तिथिमिति, घटना र नाम सम्झन समय लिने जरुरी नै परेको छैन।
पोहोर सिकिस्त बिरामी परेदेखि भने उनलाई अलि कमजोर ‘फिल’ हुन थालेछ। त्यसैले, बाहिरी कार्यक्रममा पहिलेको तुलनामा अलि कम जान्छन्। पहिले जहाँ जाँदा पनि ठमठम्ती हिँडेरै पुग्थे। अचेल सडकमा गुड्ने बाइकसँग अचाक्ली डर लाग्दो रहेछ। बाइकको पछाडि बस्न पनि रुचाउँदैनन्।
दाँत कमजोरजस्तो भएकाले मासु खान कम गरेका छन्। प्रत्येक दिन बेलुकी एक पेग रक्सीको बानी बिरामी भएपछि छुटेछ। बिहान उठेर चिसो दुबोमा हिँड्ने बानी पनि टुटेछ।
स्मरणशक्ति पनि अलि खस्किएको हो कि भन्ने भान हुँदोरहेछ बेलाबेला। त्योबाहेक उनलाई बुढ्यौलीको कुनै आभाष छैन। आफू मात्र होइन, उनले छोराछोरीलाई पनि बुढ्यौलीको महसुस गर्ने स्वतन्त्रता दिएका रहेनछन्!
मकवानपुर घर भएकी ६० वर्षीया माइली छोरी हालै माइती आएकी थिइन्। ‘बालाई हेरेपछि हामीलाई बुढ्यौलीको फिलै हुँदैन,’ उनले भनिन्, ‘दिदीबहिनीबीच कहिलेकाहीँ हँसीमजाक चल्छ, को बूढो भनेर। कुरा गर्दै जाँदा दिदी बुढ्यौलीको कुरा निकाल्नुहुन्छ। अनि म ‘तिमी मात्र बूढो हो र? म पनि बूढी भएँ नि’ भन्छु। अनि सबैले ‘बाआमालाई हेरौं त’ भन्छांै।
...
राणाशासन चलिरहँदा, विसं. १९९५ सालमा भीमबहादुर पाँडे र विजयशमशेर राणा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर सकेर नेपाल फर्किएका थिए। त्यतिबेला राणा प्रधानमन्त्रीलाई खुसी बनाउन सके जागिर पाइन्थ्यो। राणाको दरबारअघि जागिर माग्नेको लाइन नै लाग्थ्यो।
विजयशमशेर दरबारनजिकका मान्छे भइहाले, भीमबहादुर पाँडेलाई पढाइअनुसारको जागिर माग्न उनका पिता लाइनमा बसे। प्रधानमन्त्रीले त्रिचन्द्र कलेजको प्रोफेसरको जागिर दिए। पाँडेले वाणिज्य संकायमा स्नातकोत्तर गरेकाले त्रिचन्द्र कलेजमा उनले पढाउने विषय नै थिएन।
उता, सँगै पढेर आएका साथी विजयसमशेर उद्योग व्यापारिक समाचार संग्रहालयका तालुकवालामा नियुक्त भए। साथी कामविहीन बसेकाले विजयशमशेरले संग्रहालयको एउटा विभागको हाकिममा पाँडेलाई नियुक्त गरे। त्यसपछि गोरखापत्रमा पाँच जनालाई जागिरका लागि आवेदन खुलाइयो। आवेदन सत्यमोहन जोशीले पनि दिए र पास पनि भए। जोशी र अरू चार जनाको टोलीको काम थियो, ‘सामाजिक अर्थशास्त्र अनुसन्धान।’
विसं २००१ मा जोशी तनहुँ, कास्की र लमजुङलगायत जिल्लाका गाउँगाउँ जाँचपड्ताल गर्दै हिँड्न थाले। सहरको सम्म ठाउँमा जन्मेहुर्केका जोशीलाई गाउँको डाँडापाखामा खटाइएको कामले मोहनी लगाउन सकेन। सुरुमा त उनलाई लागेको थियो, भाग्दिऊँ कि क्या हो! राणाको कडा शासन सम्झँदा मन त्यसै आत्तिन्थ्यो। केही समय दिक्दारीमै काम गरे।
विस्तारै गाउँ डुल्नुको रस बस्न थाल्यो। गुरुङ बाहुल्य समुदायको मातृभाषा गुरुङ नै भए पनि गाउँलेहरू गीत नेपालीमै गाउँथे। चौतारी, कुवा, खेतबारी जताततै गीतका भाका सुनिन्थे।
‘के खायो रेलिमाई के लायो होला
मेरो माया रेलिमाई जुरेली चरीले
वर र पीपल रेलिमाई रोपेको ठाउँमा
मेरो माया रेलिमाई कल्ले हाल्ला चौतारी’
हेर्दै जाँदा उनले जता पनि गीत भेट्न थाले। र, गीतमा कविता।
दोस्रो विश्वयुद्ध चलिरहेको समयमा गाउँमा १६ देखि ४५ का युवा मुस्किलले भेटिन्थे। गाउँका महिला गाउँथे,
‘गाई पाल्यो रेलिमाई बनको बाघलाई,
छोरो पायो रेलिमाई जर्मनको धावालाई’
उनले गम्न थाले, ‘जो पढेलेखेकै छैन, कहाँबाट निस्कन्छ यस्तो गीत? यस्तो गीत त साहित्यकारले पनि रच्न सक्दैन होला!’
उनलाई गीतका भाव यति गहिरो लाग्यो, गाउँगाउँ डुलेर गीत संकलन गर्न थाले। पत्रिकामा छपाए। पछि २०१३ सालमा ‘नेपालको लोकसाहित्य’ नाममा पुस्तकाकार दिए। सोही पुस्तक पहिलो मदन पुरस्कार विजेता बन्यो।
एउटा कामका लागि गएका उनी साहित्यकार बनेर फर्किए। त्यति मात्र होइन, उनको भनाइमा ७२ वर्षअघिको त्यो घुमाइ जीवनको उत्तराद्र्धसम्म उत्प्रेरणामा रूपान्तरण भइदियो। उनलाई अहिले यो उमेरमा केले उत्प्रेरित गर्छ भनेर सोध्दा उनी सुरुमै यो गीत गाउन थाल्छन्, ‘के खायो रेलिमाई के लायो होला...मेरो माया रेलिमाई जुरेली चरीले...’
यो उमेरमा उत्प्रेरणाका लागि कुनै किताब पढ्नु परेको छैन उनलाई। सानोतिनो दर्शनले चित्त बुझ्दैन। सात दशकअघि गाउँ घुम्दा भेटेका गीत नै उत्प्रेरणाका लागि ठूलो दर्शन बनिदिएछन्। भन्छन्, ‘यी गीत मेरो लागि ‘फिलोसोफी अफ स्याटिस्फ्याक्सन’ हो। जसरी ती गाउँका मानिस गीत गाएर पीडा भुल्थे।’
जोशी अझ ढुक्क साथ भन्छन्, ‘बुढेसकालमा कुनै गुनासो छैन। आत्मसन्तोष छ।’
उनको गुनासो न सरकारसँग छ न त छोरोछोरीसँग। सरकारले सम्मान नदिएजस्तो लाग्दैन उनलाई। गत वर्ष बिरामी हुँदा सरकारले उपचारबापतको सम्पूर्ण रकम व्यहोरेकोमा राज्यलाई उनको धन्यवाद छ।
यो उमेरसम्म छोछोरीसँग पनि खर्च माग्नुपरेको छैन उनले। घरखर्च विभिन्न ठाउँबाट आउने वृत्तिले चल्छ। ‘छोरीहरू त अर्काको घर गइहाले,’ उनी भन्छन्, ‘छोरासँग त दाबी गर्न सक्थेँ, तर गर्दिन।’
उनी आफूलाई छुट्टै धारको बुढ्यौलीमा राख्छन्। छोराले यसो गरिदिएन, उसो गरिदिएनजस्ता गुनासोका पोका बोकेर बस्ने बुढापाकासँग उनको विचारै मिल्दैन। उनी त्यस्ता बुढापाकासँग सकेसम्म टाढिन्छन्। गफ गर्नै परे गुनासो त्याग्न अनुरोध गर्छन्।
‘बुढेसकालमा चाहिएकोचाहिँ के हो?’
उनी बुढेसकाललाई सानदार बनाउने टिप्स दिन्छन्, ‘आर्ट अफ लिभिङलाई फिलोसोफीले गाइड गर्छ। फलानोले यसो भन्यो, उसो गर्यो होइन। आफूले के गरेँ भन्ने सोच राख्नुपर्छ। जीवन भनेको बुझ्नु हो। जुनसुकै शास्त्र पढ्नोस्, बुझ्नुपर्ने जीवन नै हो। स्वर्ग–नर्क सब काल्पनिक हुन्, त्यतातिर सोच्ने होइन, सोच्ने वर्तमानलाई हो। सेक्सपियर, बर्नार्ड शाले के भन्यो त्यो सुनेर मात्र बस्ने होइन। आफूले के दिन सकिन्छ भनेर सोच्नुपर्छ।’
जोशी आफूले भोगेको उमेरको बिभिन्न कालखण्डमध्ये बुढेसकाललाई अति नै प्रिय र वरदान ठान्छन्। भन्छन्, ‘पहिले त कहिले बालबच्चा हुर्काउने पीर त कहिले के–केको पीर। बुढेसकालमा केही काम हुँदैन, चिन्तन–मनन गर्न पाइन्छ।’
त्यसो त उमेर नै जीवनको सबैभन्दा ठूलो उपलब्धी हो भन्ने लाग्दैन उनलाई। तीनपटक मदन पुरस्कार र अरू थुप्रै ठूला पुरस्कार पाइसकेका ५० भन्दा बढी कृतिका लेखक जोशी आफ्ना सबै कृति नै जीवनको ठूलो उपलब्धी मान्छन्।
विसं २०२८ सालमा खस नेपाली भाषाको व्युत्पत्ति थलो, कर्णालीको सिन्जाखोला उपत्यकामा उनको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानका लागि गएको थियो। उक्त टोलीले अनुसन्धानबाट पाँचवटा पुस्तक निकाल्यो। जीवनको सबैभन्दा ठूलो उपलब्धि यही लाग्दो रहेछ उनलाई।
यो उमेरमा चाहना वा डरमध्ये के छ त उनलाई?
उनी भन्छन्, ‘राग वा द्वेष राख्न थाल्यो भने त जीवन उतिखेरै सकिइहाल्यो नि। यस्तो भयो भने त आपत परिहाल्यो नि। त्यही भएर त भनेको नि जीवनलाई फिलोसोफीले गाइड गर्छ। तर, कोरा फिलोसोफीले होइन।’
उनलाई मृत्युको भयले कत्तिको दपेट्ला त?
अहिलेसम्म आफ्नो मृत्यु भएको सपना पनि देखेको याद छैन उनलाई। २०३८ सालमा उनले मृत्युमाथि नाटक नै लेखेका थिए, ‘मृत्यु एक प्रश्न’ शीर्षकमा। उपनिषदमा आधारित नाटकका मुख्य पात्रलाई उनका पिताले यमराजलाई दान दिन्छन्। मुख्य पात्रले मृत्युबारे खोजबिन गर्छ। उसले यमराजलाई सोध्छ, ‘मृत्यु के हो?’ तब यमराज भन्छन्, ‘मृत्यु तिमीसँगै छ।’
नाटकमा यमराजले बोल्ने यो संवाद जोशीको आफ्नै हो।
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी