लडाइँका बेला प्रयोग गरिएका अधिकांश हतियार कहाँ गए ? यो प्रश्न काठमाडौंमा उठिरहेको बेला ठीक चार दिनअघि यहाँकी एक गृहिणी भने महिनौदेखि बल्झेको पीडा सुनाइरहेकी थिइन् । मुलुककै जिम्मेवारी बोकेको दाबी गर्ने एक नेताले उतिबेला अनमिनलाई नबुझाइएका सबै हतियार खोलाले बगाइदिएको बताएका थिए । तर, त्यही हतियार देखाएर लुटिएकी यी महिलाको आवाज मध्य वैशाखमा पनि पातलो हिउँको पत्र जम्ने यो अनकन्टारमै थुनिएर बस्यो । उनले गुहारेका स्थानीय प्रहरी प्रशासनले पनि कुनै सुनुवाइ गरेको छैन । राजनीतिक आवरणमा हतियार उठाएर अहिले त्यही हतियारका बलमा लुटपाट गरिरहेका समूहलाई समात्ने आँट पनि कसैले गरिरहेका छैनन् ।
सेतोपाटीसँगको कुराकानीमा ती महिलाको भनाइ यस्तो थियो:
'म कल्पना मल्ल । हामी तल फलियागाउँका मूलवासी हौं । तर, मेरा पति जगबहादुर मल्लको बाबुबाजेका पालादेखि यस गुर्जाघाटमा पनि बसोबास छ । सानो होटलबाहेक यहाँ खेतीकिसानी र घोडा खच्चडसमेत राखेर बसेका छौं । माथि बुकी पनि जाने गर्छौं।
हामी शान्तिपूर्वकै बाँच्दै आएका थियौं । तर, गत दशैंताकाको एउटा घटनाले हामी मात्र होइन, यो सिंगो भेगमा बसोबास गर्दै आएकाह आत्तिएका छौं ।
त्यसदिन २२ देखि ३० वर्ष बीचका पाँच जना केटाहरु पल्लो घरमा आएर बास बसेका थिए । उनीहरुले खानपिनको २१ सय ८० रुपैयाँ बिहानै उता घरलाई बुझाएछन् । सबेरैदेखि रक्सी खाएका उनीहरु त्यसपछि हामीकहाँ आइपुगे । ‘दिदी आलु छ,’ भनेर सोधेपछि मैले उनीहरुका निम्ति पकाइ दिएँ । मात्तिएको सुरमा उनीहरुको चालामाला अलिक ठीक देखिन्थेन । त्यसैले मैले आलु बाहिर लगेर खानुस् भनेँ । उनीहरु चाहिँ आँखा तर्दै सरासर भित्र पसे । भान्छाभित्र उनीहरुको बसाइको तरिका एकदमै अभद्र थियो । आलु खाइसकेपछि हामीले त्यसको मूल्य सय रुपैयाँ माग्यौं । उनीहरु यसरी पैसा मागेकोमा चित्त नबुझेजस्तै गरिरहेका थिए । मेरा श्रीमानले हजारको नोट साट्न खोज्नुभयो ।
अचानक दुईजनाले मलाईँ र दुईजनाले श्रीमानलाई झ्याप्झुप्पै समाते । उनीहरु चारैको हातमा पेस्तोल थियो । पैसा राखेको झोला लिएर म बाहिर भाग्न खोजेँ । मलाई फेरि च्याप्पै समातिहाल्यो । झोलाको एकातिर खल्तीमा भएको १० हजार मैले निकालेर फाल्न भ्याएँ । अर्को खल्तीमा भएको ८५ हजार झिक्न खोज्दा चैन नै खुलेन । मैले कानमा लगाएको एक तोलाको सुनको रिंग थियो । त्यसलाई उसले सिन्का भाँचेजस्तो गरी भाचेर लियो । ब्यागचाहिँ जसोतसो सम्हालेर दुईजनालाई ढाल्दै म ढोका बाहिर निस्केँ । त्यो ब्याग बाहिर बसेका खच्चर ड्राइभरलाई दिउँला भन्ने थियो, उसैले कतै अन्ततिर लिएर कुद्ला र जोगिएला भन्ने ठानेर । तर, बाहिर निस्कँदा त झन् पाँचौ व्यक्ति एलएमजी नै समातेर बसिरहेको देख्दा खंग्रङ्ग भएँ ।
उसैले पैसाको झोला खोस्यो । मैले चिच्याउदै गुहार माग्न खोज्दा मतिरै बन्दुक तेस्र्यायो । त्यतिन्जेल उनीहरु बास बसेकै घरकी वृद्धा के भयो भनेर सोध्दै आइन् । मैले चिच्याएर यिनीहरु लुटेरा भएको बताए । ति वृद्धाले झम्टन के खोजेकी थिइन्, उनलाई पनि च्याप्प समातेर भित्तैतिर पुर्याए । त्यसपछि उता घरमा पनि लुटपाट मच्चाए । त्यस घरका बुढा मान्छेलाई पनि बन्दुकको कुन्दाले हिर्काएर रगतपक्ष पारे ।
बिहान आठै बजे यस्तो घटना हुँदा यहाँ दुवै घरका दम्पत्ति गरेर चार, मेरो सानो छोरा र खच्चड ड्राइभर गरि हामी केवल छ जना थियौं ।
दौडादौड फोन गर्न गयौं । तर, नजिकैको प्रहरीले हामीलाई बेग्लै जिल्लाको बासिन्दा भएकै कारण वास्ता गरेन । हामी म्याग्दी र बाग्लुङको सिमानामा छौं । उता चार घन्टा हिँड्ने बित्तिकै बाग्लुङ ढोरपाटनस्थित प्रहरी कार्यालय छ । यता म्याग्दीमा भने जलजला पास नाघेर पनि एक दिनको बाटोपछि मात्र प्रहरी भेटिन्छ ।
नजिकैको प्रहरीले ‘तपाईहरु बेग्लै जिल्लाको बासिन्दा भएकाले आफ्नै जिल्लालाई खबर गर्नुस्’ भनेपछि हामी निराश हुँदै म्याग्दी प्रहरीलाई गुहार्नतिर लाग्यौं । म्याग्दीको ताकमदेखिका प्रहरी पर्सीपल्ट मात्र जलजला नाघेर यहाँ आइपुगे ।
तर, त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । यसरी लुटपाट गर्नेहरु उबेलाका माओवादी हुन् भन्नेमा हामी पक्का थियौं, अनुसन्धानमा आएका प्रहरीले पनि त्यस्तै आशंका प्रकट गरे ।
एक त त्यसै पनि यो अनकन्टारमा हुने आपराधिक घटनाहरुको राम्ररी अनुसन्धानै हुँदैन । केहि वर्षअघि मात्र छेउकै तिब्बती गुम्बाका एकजना लामाको हत्या रहस्यमै विलाएर गयो । यस्ता समाचार यहाँबाट बाहिर पनि पुग्ने गर्दैनन् ।
त्यसमाथि हामीले लाख हारगुहार गर्दा पनि हामीलाई लुटेर जानेहरुका विषयमा अहिलेसम्म कुनै खोजपत्तो लागेको छैन ।'
...
गुर्जाघाटको यो घटनाले पर्यटनको संभावना खोजिरहेको सिंगो ढोरपाटन क्षेत्रलाई प्रभावित पारेको छ । नाउर र झारलजस्ता वन्यजन्तुको शिकार गर्न विश्वभरिका शिकारी आउने यो क्षेत्र नेपालकै सुन्दर दृश्य बोकेको भूभाग पनि हो । तर, यहाँ दृश्यावलोकनका निम्ति ठ्याम्मै पर्यटक आउँदैनन् ।
विदेशी शिकारीकै निम्ति खुलेका होटलहरु पनि त्यो घटनापछि नेपालीलाई बास दिन अप्ठेरो मान्न थालेका छन् ।
अघिल्लो बेलुकी नौथर गाउँको चर्चित ‘दिपक थापाको होटल’मा वास माग्दा नदिइएपछि छिमेककै एउटा घरको शरण पर्नुपरेको थियो । थापा होटलकै दिलिपले गुर्जाघाटको घटनापछि प्रायःले नेपालीलाई वास दिन अप्ठेरो मान्ने गरेको सुनाए ।
झण्डै दुई दिन हिँडेर गुज्रनु पर्ने बाग्लुङ र म्याग्दी जिल्लास्थित सिंगो ढोरपाटन यसरी त्रासमा डुबेको बेला स्थानीय प्रहरीले के गरिरहेको छ ?
‘त्यो घटनाको संवेदनशिलता हेरेर म आफैं गुर्जाघाट पुगेको थिएँ,’ म्याग्दीका प्रहरी प्रमुख मुकुन्द मरासिनी भन्छन्, ‘यो जिल्लाको दायित्व लिएको छ महिनामा मैले समाधान गर्न नसकेको त्यो नै एकमात्र घटना हो ।’
प्राय हिउँ परिरहने जलजलाको पास नाघेर जानुपर्ने त्यो अत्यन्तै टाढाको गाउँ भएकैले पनि त्यहाँ सुरक्षाको प्रवन्ध मिलाउन अप्ठेरो भइरहेको उनले स्वीकारे ।
‘यसैसाता हामी ताकमभन्दा करिब तीनघन्टा माथि लुम्साङमा अर्को प्रहरी पोष्ट खडा गर्दैछौं,’ उनले भने, ‘त्यसपछि जलजलापारिका वासिन्दालाई केहि राहत मिल्नेछ ।’
म्याग्दी जिल्लामा आएदेखि अवैध हातहतियारका क्षेत्रमा निक्कै कडाइ गर्दै पाँच सय बन्दुक बरामद गरेको बताउने मरासिनी गुर्जाघाटमा आक्रमण गर्ने लुटेराहरू रुकुमतिरबाट आएको अनुमान गर्छन् ।
(ढोरपाटनको गुर्जाघाटमा होटल चलाएर बस्दै आएकी कल्पना मल्ल। उनलाई यसै स्थानमा हतियारधारीहरूले लुटेका थिए। तस्बिर : गिरीश गिरी/सेतोपाटी)