दुई वर्षमै निर्माण सम्पन्न गरेर उपभोत्तालाई हस्तान्तरण गर्नुपर्ने झापाको खजुरगाछी र गौरीगञ्ज जोड्ने गेउरिया खोलाको पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन।
ठेक्का लागेर निर्माण सुरू गरेको आरसीसी पुल छ वर्ष बित्दा पुलको आधारमात्र खडा गरेको छ। स्थानीयका अनुसार अहिले देखिएको पुलको आधार २०६६ सालमै तयार भएको हो। त्यसपछि पुल निर्माणका लागि ठेकेदार कम्पनीले सिन्को भाँचेको छैन। जसका कारण पश्चिम दक्षिण झापाका हजारौं बासिन्दा मारमा परेका छन्। पुल निर्माण प्रक्रिया नै रोकेर ठेकेदार सम्पर्कविहीन भएपछि त्यस क्षेत्रको विकासको सम्भावना नै गुमेको स्थानीय बताउँछन्।
हुलाकी मार्गमा पर्ने गेउरिया खोलाको ठेक्का छ वर्षअगाडि लागेको थियो। तर ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा समस्या उत्पन्न भएको सडक डिभिजन कार्यलय दमक बताउँछ। वर्षौंदेखि वारपार गर्न बनाइएको काठेपुल पनि पुल निर्माण सुरू भएपछि भत्काइएको थियो। सो काठेपुल भत्काएर वर्षात्मा निर्माण गरिएको बाँसका भाटाले निर्माण गरेको अर्को अस्थायी पुल भेलले बगाउने गरेको स्थानीय बताउँछन्।
साना सवारीसाधनका लागि वारपार गर्न बनाइएको डाइभर्सन समेत गेउरिया खोलाको भेलले बगाउने गरेको स्थानीय हरि ताजपुरियाले सेतोपाटीलाई बताए।
‘समयमा पुल नबनेका कारण वर्षात्मा गौरीगञ्ज र खजुरगाछीका स्थानीयबीच आवतजावत नै विच्छेद हुने गरेको छ। वर्षैपिच्छै बाँसेपुल बनाउँदै आइरहेका छौं,’ स्थानीय व्यवसायी राजाबाबु श्रेष्ठले भने, ‘पश्चिम दक्षिण झापाका स्थानीयको लागि गेउरिया खोलाको यो पुल अभिषाप नै बन्यो।’
पुल निर्माणलाई रफ्तारमा लैजान स्थानीबासीहरूले दबाबका लागि अनेकौं प्रयास नगरेका पनि होइनन्, तर दर्जनौंपटक सडक कार्यालयमा अनुरोध, धर्ना र घेराउ समेत गरे। तर स्थानीयको पीडा जस्ताको तस्तै रहिरहेको छ। ‘चार वर्षदेखि सडक डिभिजन कार्यालय दमक धाउँदा धाउँदै ओठतालु नै सुकेको छ,’ उनी भन्छन्, ‘छ वर्ष बित्यो पुल निर्माण हुने सुरसार छैन।’
पुल नभएका कारण गौरीगञ्ज र खजुरगाछी बजारमा व्यापार फस्टाउन सकेको छैन। ठूला व्यापारी पुल नभएकै कारण व्यवसाय सार्न बाध्य छन्। केही ठूला व्यापारी दमक गइसकेका छन् । स्थानीय व्यापारी महेश राजवंशीका अनुसार पुलका कारण केही वर्षमा गौरीगञ्ज र खजुरगाछीका धेरै सम्भावना गुम्दै गएका छन्।
पुल नबनेको चोट व्यापारीलाई मात्र छैन, यसको प्रत्यक्ष असर विद्यार्थीलाई परेको छ। खजुरगाछीका कतिपय अभिभावकले गौरीगञ्जका विद्यालयमा भर्ना गरेका विद्यार्थी निकालेका छन् भने खजुरगाछीका विद्यालयमा भर्ना गरेका विद्यार्थी गौरीगञ्जबासीले निकालेका छन्। यो पुल निर्माणमा लापरबाही भएकै कारणले अभिभावकले छोराछोरी अर्को विद्यालयमा भर्ना गर्ने गरेका छन्।
खजुरगाछी, कोहबरा र मोरङको महादेवाबाट गौरीगञ्जका विद्यालय र क्याम्पसमा दैनिक एक हजार भन्दाबढी विद्यार्थी आउने जाने गर्छन्। विराटनगर र भारतीय बजारबाट व्यापारका लागि ल्याइने सामग्रीको आपूर्ति पनि पुल अभावमा प्रभावित भएको छ। ‘बर्खायाममा हाइवेसँग सम्पर्कविच्छेद हुने गरेको छ। छ वर्ष भइसक्यो,’ खजुरगाछी–६ का कमलप्रसाद राजवंशीले भने, ‘बर्खामा एम्बुलेन्स पनि आउन नसकेपछि यहाँको अवस्था के होला?’
पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकका अनुसार २०६६ सालमा जेभी कम्पनीले १ करोड ४८ लाख (भ्याटबाहेक)मा ठेक्का लिएको थियो। दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम थालेको सो कम्पनीले छ वर्ष बित्दा पुल निर्माणको काम सुरूमात्र गरेको छ।
स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै सो कम्पनीको ठेक्का रद्ध गर्न पनि सडक डिभिजन कार्यलय दमकसँग माग गरेका थिए। तर कार्यालयले उही कम्पनीलाई पुनः ०७२ असारसम्म निर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का दिइएको थियो।
असारसम्ममा पुल निर्माण नभएपछि स्थानीयले पुल निरीक्षणमा गएका सडक डिभिजन कार्यालय दमकका इन्जिनियर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मासमेत लगाएका थिए। पुल निर्माणमा भएको ढिलाइमा सडक डिभिजन कार्यालय दमकको प्रत्यक्ष मिलेमतो रहेको आरोप स्थानीय लगाउँछन्। तर पूर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख शिवहरि सापकोटाले आरोप स्वभाविक भए पनि त्यसमा सत्यता नभएको बताए। उनले भने, ‘ठेकेदारले ढिला गरेकै हो,’ उनले भने, ‘मैले गेउरिया खोलामा निर्माण हुने पुलको ठेकेदारलाई ४८ घन्टामा हाजिर हुन सडक डिभिजन दमकलाई भनेको छु। उसले काम थाल्नुपर्यो हैन भने कारबाहीकोे प्रक्रिया अघि बढ्छ।
सापकोटाले ठेकेदारले सम्झौता गरेको ठेक्का रकमको दस प्रतिशत हर्जना लगाएर पुनः काम थाल्न लगाउने विश्वास दिलाए। क्षेत्रीय सडक डिभिजन प्रमुख सापकोटाले यो आर्थिक गेउरिया खोलाको पुल निर्माण नसके पनि अर्को आवको पहिलो चार महिनामा पुल निर्माण सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
ती वटा पिलरसहित ३७ मिटर लम्बाई रहने यो पुलको पिलरको आधार तयार मात्र भएको छ।