इलामको शान्तिडाँडामा आज बिहान भएको सवारी दुर्घटनामा सात यात्रु घाइते भएका छन्।
जीतपुरदेखि इलाम सदरमुकामतर्फ आउँदै गरेको मे१ज ६५३ नंको सफारी जिप मङ्गलबारे–नेपालटार सडकखण्डको शान्तिडाँडामा दुर्घटना भएको थियो।
दुर्घटनामा परी देउमाई नगरपालिका–५ का ७० वर्षीय शशिधर बराल, जीतपुर–२ बस्ने छ वर्षका एञ्जल बराल, उनका बुबा ३२ वर्षीय नेत्रप्रसाद बराल, सोही ठाउँकी ३० वर्षीया सुमित्रा घले, जीतपुर–४ का ३९ वर्षीय देशबहादुर राई, सोही ठाउँकी ४७ वर्षीया शान्ता पौडेल र १९ वर्षीय सहचालक सूर्य राई घाइते भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ।
अहिले घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरू अधिकांशको टाउको, खुट्टा, हात, ढाँड भाँच्चिएको छ।
घाइतेमध्ये शशिधर बराल, देशबहादुर राई, सुमित्रा घले, एञ्जल बराल र सूर्य राईलाई थप उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड झापातर्फ लगिएको ट्राफिक प्रहरी श्याम थापाले जानकारी दिए।
सडक घुम्तीमा ड्राइभरको झ्याल अचानक खोलिएपछि चालक अनियन्त्रित भएर दुर्घटना भएको घाइतेले बताए। चालक सन्तोष राई मङ्गलबारेमा सामान्य उपचारपछि अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । जिपमा नौजना यात्रु सवार थिए। रासस