नेपालमा निकट भविष्यमा मिडवाइफरी (प्रसूति विद्या) को अध्यापन हुने भएको छ । राजधानीमा बुधबार मिडवाइफरी सोसाइटी अफ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा यस विषयमा जानकारी दिइएको हो ।
नेपालमा पेसागत मिडवाइफ (प्रसाविका) को विकास गर्नको लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसमा मिडवाइफरी जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन सुरु गर्नुपर्ने कुरा उल्लेख छ ।
सोसाइटीका अध्यक्ष प्रा किरण बर्जाचार्यले १० वर्षको अवधिमा बल्ल मिडवाइफको अध्ययनका लागि तोकिएका शिक्षण संस्थाबाट पाठ्यक्रम बनाउने कार्य भइरहेकाले आगामी अप्रिलबाट अध्यापन सुरु हुने बताइन्।
उनले गर्भवती आमा र शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफरी शिक्षा अनिवार्य रहेको बताइन्। नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)ले यसका लागि पाठ्यक्रम तयार गरिसकेको उनले जानकारी गराइन्।
साथै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ युनिभिर्सिटी स्कुल अफ हेल्थ साइन्सबाट मिडवाइफरी शिक्षा सुरु हुन लागेको पनि उल्लेख गरेकी छन्।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफले ठूलो भूमिका खेल्न सक्ने बताए।
उनले भने-‘भूकम्प प्रभावित जिल्लामा भूकम्पपश्चात् मानवीय सेवा प्रदान गर्नको लागि मिडवाइफको भूमिका उल्लेखनीय छ । नेपालमा मिडवाइफलाई स्थापित र संस्थागत गराउन सरकारले यस विषयमा अध्यापन सुरु गराउन लागको छ ।’
स्वास्थ्य विभागका महानिर्देशक पुष्पा चौधरीले सहरमा भन्दा पनि गाउँका गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि मिडवाइफले ठूलो भूमिका खेल्नसक्ने बताए।
अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने भएकाले एउटा दक्ष मिडवाइफले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने दोहोर्याए।
उनले भने, ‘अहिले पनि ठूलो सङ्ख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन । त्यसकारण मिडवाइफको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहँच नपुगेका स्थान अझ बढी छ।’
उनले गाम्रीण तथा पहुँचबाट वन्चित क्षेत्रमा अझैपनि पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभावमा मातृ शिशु मृत्युदर अझपनि घट्न नसकेको उल्लेख गरे।
भोलिसम्म चल्ले सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मिडवाइफको भूमिका, नेपालमा मिडवाइफरी शिक्षाको मुद्दा र चुनौतीलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलन भूकम्पपश्चात् देशमा मातृ स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफरी जनशक्ति महत्व विषयमा पनि केन्द्रित रहनेछ ।
विभिन्न अध्ययनबाट मिडवाइफ भएको स्थानमा बाल मृत्युदर, दुई तिहाई र शिशु मृत्युदर आधाले घटेको देखिएको भन्दै नेपालका लागि यो शिक्षा अत्यन्तै आवश्यक र अनिवार्य भएको सोसाइटीका उपाध्यक्ष गोमादेवी निरौलाले बताइन्।
सम्मेलनमा २५० भन्दा बढी नर्स, नर्स मिडवाइफ, चिकित्सक, जनस्वास्थ्यकर्मी, स्वास्थ्य शिक्षाविद्, नीति निमार्णकर्ता तथा विदेशी प्रतिनिधिको सहभागिता रहेको छ ।
नेपालमा पेसागत मिडवाइफको विकास गर्नको लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसपछि मिडवाइफरी जनशक्ति तयार गर्न दर्जनौ बैठक तथा अन्तक्र्रिया भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन् ।
स्वास्थ्य मन्त्रालयका अनुसारमा नेपालमा महिला तथा नवजात शिशुको जीवन सुरक्षाका लागि थप सात हजार दक्ष प्रसूतिकर्मी, मिडवाइफरी पेसागत स्वास्थ्य जनशक्तिको आवश्यकता छ । रासस