नेपाली राजनीतिक प्रक्रियामा चासो राखेर सामाजिक सञ्जालका टिप्पणी गर्दै आएका क्यानाडेली नागरिक रोबेर्ट पेनरलाई सरकारले दुई दिन भित्र नेपाल छाड्न आदेश दिएको छ। अध्यागमन विभागले उनलाई ‘वर्किङ भिजा दुरुपयोग’ गरेर नेपालको आन्तरिक राजनीतिमा ‘अनावश्यक चासो लिने र उत्तेजनात्मक टिप्पणी’ गर्ने गरेको भन्दै उनको भिजा रद्द गरेको बताएको छ। प्रहरीले उनलाई हिजो ललितपुरबाट पक्राउ गरेको थियो।
आफूलाई कारण नखुलाई गिरफ्तारी गरिएको भनेर पेनरले ट्वीटरमा जानकारी गराएपछि उक्त घटनाले सामाजिक सञ्जाललाई ततायो।
गिरफ्तारी लगत्तै यस सम्बन्धमा सामाजिक सञ्जालमा बहस मात्र छेडिएन, विवादमा भाग लिनेहरुले एकअर्कालाई गालीगलौज समेत गरे।
तीन वर्षदेखि उनी ‘क्लाउड फ्याक्ट्री’ नामको सूचना प्रविधि सम्बन्धी संस्थामा आवद्ध थिए।
सरकार किन पेनरको भिजा किन रद्द गर्ने निर्णयमा पुग्यो?
‘नेपालको शान्ति सुरक्षा र आन्तरिक मामिलाका सन्दर्भमा शंकास्पद गतिविधि गरेको देखिए हामी भिजा रद्द गर्नसक्छौं,’ अध्यागमन विभागका प्रमुख केदार न्यौपानेले भने, ‘नेपालका विभिन्न विषयमा सामान्य चासो देखाउने र साधारण टिप्पणी गर्नु अलग कुरा हो। तर पेनर त्यतिमा मात्र सिमित देखिएनन्।’
सरकारी अधिकारीहरुका अनुसार पेनरलाई पक्रिएर अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो। ‘सामाजिक सञ्जालमा उनको चासो र टिप्पणी असामान्य देखिएपछि प्रहरीले उनलाई विगत केही महिनादेखि निरन्तर ट्रयाक गरिरहेको थियो,’ एक सरकारी अधिकारीले भने, ‘उनलाई डिपोर्ट गर्नु पर्ने हुन सक्ने निचोडमा गृह मन्त्रालय केही दिनअघि नै पुगेको हो।’
भिजामा दिएको अधिकार क्षेत्र बाहिर गएर ‘राजनीतिक क्रियाकलाप’ गरेको उनलाई आरोप छ। अध्यागमन नियमावलीले विदेशी नागरिकलाई ‘राजनीतिमा भाग लिन’ रोकेको छ।
अध्यागमन नियमावली कडा छ र यसले सरकारी पक्षको हात माथि पारेको छ। ‘देखिएमा’ वा ‘शंकास्पद’ लागेमा भन्नेजस्ता शब्दावली नियमावलीमा प्रयोग भएको छ।
सूचना प्रविधिमा काम गर्ने अनुमति प्राप्त गरेका पेनरले नेपाली राजनीतिक प्रक्रियामा गहिरो चासो लिने र टिप्पणी गर्ने गरेको कुरा उनका ट्वीटहरुले देखाउँछन्। सामाजिक सञ्जालमा टिप्पणी र बहसमात्र होइन, उनको धेरै नेपालीसँग राजनीतिक विषयमा विवाद पनि परेको देखिन्छ।
उनका अन्य ‘गतिविधि’ के थिए भनेर प्रहरी वा सरकारी अधिकारीले खुलाएका छैनन्। उनका पिताले नेपालको मिसिनरी संस्था युएमएन अन्तर्गत डडेल्धुराको अस्पतालमा ८/१० वर्ष काम गरेका थिए। उनलाई अहिले युएमएनमा काम गर्ने पिताका एक साथीलाइ बुझाइएको छ।
सायद उनको राजनीतिक संग्लाग्न्तालाई देखेर भारतको हिन्दुस्तान टाइम्सले ‘उत्तेजनात्मक ट्वीटका कारण नेपालमा प्रो–मधेसी क्यानाडेली नागरिक पक्राउ’ भन्ने शीर्षकमा उनी पक्राउ परेको समाचार छाप्यो।
उनीमाथि लागेको ‘राजनीतिक संलग्नता’को आरोप कुन हदसम्म सही हो प्रष्ट छैन तर प्रष्ट देखिने भनेको उनको ट्वीटरमा देखिएका टिप्पणी हुन्। यसले विदेशी नागरिकको नेपाली राजनीतिमा लिने चासो वा सहभागिताको प्रश्न पनि खडा भएको छ।
‘विदेशी नागरिकलाई पनि अभिव्यक्ति स्वतन्त्रता छ। यो भनेको विश्वव्यापी मान्यता र कानुनको कुरा हो,’ अधिवक्ता दिपेन्द्र झा भन्छन्, ‘यसकारण पेनर विरुद्धको सरकारी कदम गलत छ।’
पेनरले अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरेको कुरा सही भए पनि नेपाली राजनीतिक प्रक्रियामा संग्लग्न भएको आरोप गलत भएको झाको तर्क छ। उनी अदालतमा पेनरको रक्षा गर्ने तयारीमा छन्।
संविधानविद विपिन अधिकारीको मत भने फरक छ। ‘अवश्य पनि कसैको पनि अभिव्यक्ति स्वन्तन्त्रता सकेसम्म खुम्चिनु हुँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता हो,’ डा. अधिकारी भन्छन्, ‘तर कुनै देशमा उक्त देशका नागरिकले अभ्यास गर्ने अभिव्यक्ति स्वतत्रता र विदेशीले अभ्यास गर्ने अभिव्यक्ति स्वतन्त्रतामा फरक हुन्छ।’
उनका अनुसार सार्वजनिक चासोका विषयमा खराब नतिजा ल्याउन सक्ने वा त्यस्तै ठानिएका क्रियाकलाप गर्न नागरिकलाई धेरै हदसम्म छुट हुन्छ, तर त्यस्तो सुविधा विदेशीलाइ संसार भरि कतै पनि प्राप्त हुँदैन।
तर, पेनरले खुला रूपमा राजनीतिमा संलग्न नभएको झाको तर्क छ।
‘सिंहदरबारमा नै नारा जुलुस गर्न गर्न त उनी गएका थिएनन्, ट्वीटरमा उनले विचार व्यक्त गरेका हुन्,’ झा भन्छन्, ‘संसार ग्लोबल भिलेज भइसक्यो। हामीले पनि बंगलादेश वा अमेरिकी राजनीतिमा कमेन्ट गर्ने गरेका छौं। के त्यो गैरकानुनी हो त ?’
झाको प्रश्नले राजनीतिमा ‘संलग्नता’ भनेको के हो भन्ने प्रश्न उब्जन्छ। नारा जुलुस गर्ने कार्य राजनीतिक कार्य भए पनि लेख्ने वा बोल्ने कार्य गर्नु राजनीतिक क्रियाकलाप नभएको झाको तर्क छ।
अधिकारी भने ‘संलग्नता’लाई राजनीतिमा पार्ने वा सम्भावित रूपले पार्न सक्ने क्रियाकलापलाई मान्छन्।
‘त्यसैकारण कसैको आन्तरिक राजनीतिमा विदेशीले प्रभाव पार्ने कुनै गतिविधिमा गर्नु हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता हो,’ अधिकारी भन्छन्, ‘शैक्षिक, रिसर्च वा जुन प्रयोजनका निम्ति भिजा प्राप्त छ मुख्यतः त्यही काम गरेर सबै विदेशीहरु बस्ने गर्छन्।’
भूमण्डलीकृत विश्वमा कुनै देशको आन्तरिक राजनीतिमा विदेशी चासो बढे पनि प्रत्यक्ष रुपले संलग्न हुन विदेशी नागरिकलाइ संसारमा कतै पनि छुट नभएको अधिकारीको तर्क छ।
नेपालमा नै बसेर धेरै विदेशीले नेपाली राजनीतिमा टिप्पणी गर्ने गरेका छन्। तर अरुभन्दा पेनरको सामाजिक सञ्जालमा उपस्थिति यस अर्थमा फरक थियो की उनी माथि धेरैले ‘प्रोभोकेटिभ’ भएको आरोप लगाएका थिए।
कसैले पनि कसैसँग सामाजिक सञ्जालमा कुराकानी गर्ने र कुराकानी गर्न नचाहेमा वेवास्ता गर्ने छुट हुन्छ। तर पेनरसँग कुराकानी नगरी बस्न छुट थिएन। उनले बारम्बार मानिसलाई बहस र विवादमा संलग्न गराउन बाध्य पार्थे। यसैकारण पनि केही मानिसले उनी विरुद्ध सामाजिक सञ्जालमा सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपालमा बसेका अन्य विदेशी पनि सामाजिक सञ्जालमा उपस्थित छन् र बहस पनि गर्छन्।तर विवादास्पद मुद्दामा झगडा गर्ने तहमा पुग्दैनन्। सामाजिक सञ्जालमा नेपाली राजनीतिक विवादमा जोडदार रुपले संलग्न पेनर त्यही कारण भिजा रद्द गराइएका पहिलो विदेशी भएका छन्।