सुनसरीको चतराका योग तथा आयुर्वेदका ज्ञाता सिद्धबाबा कृष्णदासजी महाराज पोखरामा समाधिमा बसेको विषयलाई लिएर चलेको चर्चा आजका दिनसम्म पनि ताजा छ। जमिनमुनि नौ दिनसम्म बसेका कृष्णदासजीलाई कतिपयले भगवानको अवतार भने त कतिपयले ढोंग गरेको भने। मिश्रित प्रतिक्रियाका बीचमा धेरैको भनाइ छ, ‘बिना अक्सिजन नौ दिन त के नौ घण्टा पनि बस्न सकिँदैन।’
उनको कार्यलाई पत्याउनेले आध्यात्मिक शक्तिको उपमा दिए त नपत्याउनेले जमिनमुनि कुनै अर्को सुरूङ भएको, रातको समयमा समाधिबाट निस्केर खाना खाने गरेको जस्ता आरोप लगाए। हुन पनि हो, सर्सर्ती हेर्दा बिना अक्सिजन मिनेट नै गाह्रो हुने मानिसलाई नौ दिन निकै ठूलो समय हो। सहजै विश्वास गर्न झट्ट गाह्रो हुन्छ। तर आम मानिस र विज्ञानको लागि यो अनौठो भए पनि योग साधना गर्नेहरुले यसलाई त्यति नौलो विषय मान्दैनन्।
कृष्णदासजीले समाधिबाट फर्केपछि इटहरीमा आयोजित कार्यक्रममा समाधि भनेको नै स्वासविहीन अवस्था भएर रहनू हो भनेका थिए।
रामायण, महाभारतमा विभिन्न ऋषिमुनीहरु ध्यान वा तपस्यामा रहेको बेलामा अप्सरा, उर्वशीहरु आएर ध्यान भंग गर्न नाचगान गर्दा पनि ध्यान भंग गर्न नसकेका किस्साहरु सुन्न पाइन्छ। जानकारहरुका अनुसार समाधि भनेको ध्यानभन्दा पनि गहिरो अवस्था हो। समाधिमा बसेका बेलामा मानिस मृतजस्तै हुन्छ। शरीर कुहिसक्छ, तर मानिस भने लामो समय बेहोसीमा जान्छ। अध्यात्मका ज्ञाताहरु यसलाई भगवान वा दिव्यताको खोजी तथा प्राप्तिका रुपमा व्याख्या गर्छन्।
नेपाली शब्दकोषमा समाधिलाई ‘ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था’ को रुपमा व्याख्या गरिएको छ। ‘सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योग साधनाको फल’ तथा ‘ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम’ र ‘मानसिक एकाग्रता; ध्यान; तप; साधना र योगी वा महात्माहरूको देहत्याग’ का रुपमा परिभाषा उल्लेख गरिएको छ।
मुख्य कुरा स्वासको नियन्त्रण
योग र साधनाले मानिसलाई शान्त राख्छ। ध्यान वा समाधिमा स्वास मुख्य कारक हुन्छ। स्वासलाई नियन्त्रण गर्ने कुरा नै प्राणायाम हो, जुन रामदेवले सिफारिस गर्ने प्रमुख योग तरिका हो । ध्यानमा बस्दै जाँदा स्वासको गति निकै छोटो हुन्छ। दिमाग शून्य हुन्छ र अन्तमा स्वास अनावश्यक झैं हुन्छ ।
समाधिलाई विभिन्न व्यक्तिले विभिन्न तरिकाले व्याख्या गरेका छन्। भारतीय गुरू रविशंकर भन्छन्, ‘शरीर, मन, आत्मा, सबैसँगको समानता र स्थिरता नै समाधि हो। जब सासमा पूर्ण नियन्त्रण कायम हुन्छ, मन स्थिर र सन्तुलित हुन्छ, त्यो अवस्था समाधि हो।’ भनिन्छ, ‘प्राणवायुको ६ सेकेण्ड रोकेर राख्नु ‘धारणा’ हो, ६० सेकेण्डसम्म मनलाई कुनै विषयमा केन्द्रित गर्नु ‘ध्यान’ हो भने १२ दिनसम्म प्राणलाई निरन्तर संयम गर्नु ‘समाधि’ हो।’ समाधिमा रहेको बेलामा सास नफेर्ने मात्र होइन, स्वाद, स्पर्शलगायतका पाँचै इन्द्रियले काम गर्दैनन्।
भनिन्छ, समाधिको एक क्षणमा युगौंसम्मको आराम हुन्छ। समाधिको एक क्षणबाट मिलेको आनन्द एक हजार यौन सुखबाट मिलेको आनन्दजस्तै हुन्छ। त्यसैले योगीहरु ब्रह्मचारी हुन्छन्। समाधिमा थकान हुँदैन।
‘मलाई तीन पटकसम्म मरेको भनियोः कृष्णदासजी
यता कृष्णदासजीको सन्दर्भ फरक थियो। बाकसभित्र राखेर जमिनमुनि गाडिएको उनको शरीरलाई सुरक्षा दिन तीन वटा ताला खोलेर भित्र पस्नुपर्ने व्यवस्था गरिएको थियो। प्रचण्ड गर्मीको यो समयमा उनी नौ दिनसम्म जमिनमुनि रहे। तर नाडी छामेरै रोग पत्ता लगाउने, संसारका सबैजसो जडिबुटी र त्यसको उपयोगबारे जान्ने अनि योग र साधनामा विशेष दख्खल हासिल गरेका उनको लागि यो अभ्यास नयाँ भने होइन। उनले अहिलेसम्म समाधिमा रहँदा तीन पटकसम्म आफूलाई मृत घोषित गरिएको बताए।
भारतको डाँकपत्थरमा हुँदा पनि आफूलाई समाधिमा बसेको बेलामा मरेको भनेर फ्यालिएको कृष्णदासजी महाराज बताउँछन्। स्वामी शंकरानन्द सरस्वतीको आश्रममा रहँदा मरेको भनेर नदीमा बगाएपछि केही चर्वाहहरुले नदीबाट तानेर बचाएको उनले बताए।
‘दुई तीन दिनसम्म पनि ढोका नखोलेपछि हेर्दा म मृतजस्तै रहेछु, उनीहरुले डाक्टर बोलाए, डाक्टरले मृत घोषणा गरिदिएपछि जलप्रवाह गरेर अन्त्येष्टि र्ने भन्ने निर्णय भएछ र अर्थीमा राखेर मलाइ डुंगामा अलि परसम्म लगेर जमुनामा झारिदिए।’ उनले भने, ‘उनीहरुले जलाएको भए आज म यहाँ हुँदिनथेँ।’
नदीले दुई दिनसम्म बगाएपछि केही मानिसले भेटेर जिउँदो जस्तो लागेर उपचार थालेपछि स्वास चल्न थालेको उनले बताए। ‘६ दिन जति भएको रहेछ समाधिमा गएको, त्यसमध्ये दुई दिन त नदिमा बगेंछु,’ उनले भने। कृष्णदासजीका अनुसार उनलाई मरेको भनेर बगाउने र भेट्नेहरु अझै पनि भारतमा जीवित छन्। भन्छन्, ‘अहिले पनि डाँकपत्थरमा उनलाई देख्दा भूत आयो भनेर भाग्ने मानिस धेरै छन्।’ उनले भारतमै एक जना व्यक्ति समाधिमा जाँदा मरेको भनेर जलाइएको घटना समेत सुनाए ।
‘कोठाको चावी मेरै हातमा थियो’: गणेश सुब्बा
चतरामा पनि केही वर्षअघि भू-समाधिमा बसेका कृष्णदासलाई समाधिबाट निकाल्दा पनि नाडी र स्वास नचलेको अवस्थामा पाइएको बताउँदै तात्कालीन आयोजक समितिका अध्यक्ष रहेका गणेश सुब्बा ‘विरही’ समाधिको विषयलाई कसैले शंकाको दृष्टिले हेर्न नहुने बताउँछन्।
‘समाधिमा म प्रत्यक्ष बसिरहेको छु, आफैंले पुरेर आफैंले ताला लगाएर राखेको हुँ,’ उनले भने, ‘समाधिको अन्तिम दिन सिडिओ, एलडिओलाई बोलाएर जमरा निकाल्न लगाएको हुँ, आफैंले पुरेको मानिस, केही भइ पो हाल्ने हो कि भन्ने डर पनि थियो।’
चतराको समाधिमा सुरू र अन्तिम दिनको तस्बिरलाई लिएर विभिन्न शंका र चर्चाहरु आजसम्म भइरहेका छन्। तर आफैं प्रत्यक्ष सहभागी भएको भन्दै समाधिमा कुनै ठगी वा जालझेल हुन्छ भन्ने कुराको आफूले प्रतिवाद गर्न सक्ने सुब्बा बताउँछन्। ‘बाहिरबाट हेर्नको लागि पारदर्शी सीसा राखिएको थियो,’ चतरामा समाधि कोठाको चाबी आफैले राखेको बताउँदै उनले भने, ‘जमरा उम्रेको सबैले हेरेका छन्, निकाल्ने स्वयं त्यतिखेरका सिडिओ, एलडिओहरु हुन् ।’
समितिका पदाधिकारीले पुर्ने र निकाल्ने क्रममा आफूहरु रहेपनि कसैले नपत्याएको बताएका छन्। एक जना पदाधिकारीले भने, ‘कृष्णदासजीलाई भू-समाधिबाट निकाल्दा सेतो हुनुभएको थियो, बालसन्त महाराज जी त रुनु नै भयो ।’
सम्भव छ, तर उपादेयता हुनुपर्यो
पथिक फाउण्डेशनका स्वामी सतनाम समाधिमा सास नफेरी बस्न सम्भव भएको बताउँछन्। ‘केही विज्ञानहरु छन्, हठ योगी साधकहरुले स्वासको अभ्यास गर्दै गएर सम्भव छ,’ उनी अग्नी तपस्या, भू-तपस्या, जल समाधि आदिलाई सम्भव भएको बताउँदै भन्छन्, ‘तर यी कामहरु गरेर त्यसको अर्थ के त? ओशो, आचार्यश्रीको विचारमा यी चमत्कारिक गतिविधि भए तर यसको उपलब्धि हुनुपर्यो भन्ने हो।’
दुई वर्षदेखि फ्रिजमा साधु
भारतको जालान्धर जिल्लाको नुरमहल इलाकास्थित दिव्य ज्योति जागृति संस्थानका संस्थापक आशुतोष महाराज समाधिका लागि भनेर ध्यानमा बसेको दुई वर्ष भइसक्यो। तीन महिनाअघि उनलाई मृत घोषित गरिसकिएको छ। तर पनि उनको शरीरलाई जलाउन दिइएको छैन। बरु फ्रिजमा राखेर सड्नबाट बचाइएको छ।
महाराजको साथ रहेका भनिएका डाक्टर हरपालले आशुतोष महाराज क्लिनिकल्ली डेथ अवस्थामा रहेको बताएका छन्। उनको छालाको रंग बद्लिरहेको छ। महाराजको इसीजी, मस्तिष्क र मुटुको धड्कन शून्य छ।
आफू लामो समय समाधिमा जाने र फेरि फर्केर आउने भनेर महाराजले भनेकै आधारमा उनका शिष्यहरु महाराज समाधिबाट फर्किने दिनको प्रतीक्षामा छन्। दुई वर्षदेखि समाधिमा रहनुलाई ठगी र ढोँग भन्ने चर्चा चलिरहँदा उनी भने रामकृष्ण परमहंश तथा गुरू शंकराचार्य लामो समाधिमा गएर फर्केको घटनालाई जोड्छन् ।
प्रमोद बाबाको अर्को समाधि
केही दिनअघि पनि भारतकै मधेपुरा जिल्लास्थित नाथ बाबा मन्दिर नजिक एक जना साधु भर्खरै १५ दिन लामो भू-समाधिपछि निस्किए। प्रमोद बाबा १५ फिट जमिनमुनि १५ दिनसम्म बसे। उनी बाहिर आउँदा पनि हजारौं मानिसले घेरे, नेपालमा कृष्णदासजीलाई घेरेझैं। तर उनी बाकसमा सुतेका भने थिएनन् । मानिस १५ फिट अग्लो मानिस सहजै आवतजावत गर्ने खाल्डोभित्र उनी बसेका थिए । खाडल माथिबाट बाँसको टाटी, त्यसमाथि कपडा अनि त्यसमाथि बालुवा राखिएको थियो । यत्तिको कोठामा हावा आवतजावतमा खासै समस्या देखिँदैनथ्यो।
खोज र अनुसन्धान आवश्यक
भू-समाधिका किस्साहरु जति अनौठा छन्, भू-समाधिलाई वैज्ञानिक परीक्षणबाट टाढा राखिनु त्यति नै बढी शंकास्पद पनि छ। भू-समाधिमा रहनुअघि जमिनमुनिको अवस्थिति राम्रोसँग परिक्षण गर्न नदिइएको आरोप भू-समाधिका आयोजकहरुलाई लाग्नेगर्छ। हप्ताबढी सास नफेरी जमिनमुनि बस्ने कुरालाई वैज्ञानिक मात्र होइन, आम मानिस पनि अनौठो मान्छन्।
त्यसैले, भू-समाधिको समाचार विभिन्न सञ्चारमाध्यममा आउनेवित्तिकै आलोचनात्मक प्रतिक्रिया स्वभाविक पनि हो । आफूले खनेको खाडलमा नौ घण्टा बसेर देखाउन केही चिकित्सकले त चुनौती नै दिए। यस्ता चुनौतीलाई कृष्णदासजी महाराजले एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै सरकारकै निगरानीमा आफू आठ फिट गहिरो खाडलमा तामाको घैलाभित्र पुरिएर समाधिमा बस्न तयार रहेको बताएका छन्।
जे होस्, मानिसमा रहेको शंकालाई विज्ञानसम्मत तरिकाले सम्बोधन नगरेसम्म भू-समाधिलाई आम जनमानसले नाटक मानिरहनेछन् भने वैज्ञानिक विधिबाट परीक्षण गरी प्रमाणित गरेको खण्डमा यो संसारकै लागि अद्भूत घटना हुनेछ।