पुरानो बसपार्कबाट बनेपा, धुलिखेल जाने बस चढेर भक्तपुरको चित्तपोल ओर्लिएँ। काँचो इँटाले बनेको झुरुप्प बस्ती। परबाटै देखिन्थ्यो इँटाभट्टाको पुर्रपुर्र कालो धुवाँ निकाल्ने चिम्नीको पोल। कच्ची बाटोमा फटाफट हिँड्दै थिएँ म। पारीबाट मभन्दा फटाफट हिँडेर च्यालेन्ज दिँदै थिइन् मीना सुवाल। मैले टाढैबाट भनेँ– ‘ओ दिदी तारेमाम।’
उनले मुसुक्क हाँसेर सोधिन्, ‘जाने ढुन ला?’
उनले मलाई नेवार केटी भन्ठिानिन् सायद। मेलै नाकको फुली देखाउँदै भनेँ, ‘जी नेवा मिसा मखु।’
दिदी मर्ने गरी हाँसिन्। फुली लाउनेले नेवारी बोलेको देखेर मख्ख परिन्। मलाई कर गरेर उनको अस्थायी घरमा लगिन्। गफको माहोल जम्न कति बेर !
मीना सुवालको घर भक्तपुरको गोलमरीमै छ। अस्थायी घर चाहिँ इँटाभट्टा नजिकै रहेछ। उनको अग्लो शरीरमा नेवारी महिलाहरूले लाउने हाकु पटासी बडा सुहाएको थियो। चोलोमाथि छोराको पुरानो सर्ट थियो।
‘हेन्डसम देखिनुभा छ है यो सर्टमा,’ मैले जिस्काएँ।
तोतेबोलीमा जवाफ फकाईन्, ‘छोलाको सर्ट लाएन भने धुलो लाग्छ, फोहल हुन्त के गर्ने ?’
भुइँचालोले चारतले घर भत्कियो रे। उनको श्रीमान च्यामसिंहको बागेश्वरी स्कुलमा पढाउँछन् रे। स्कुलको पूरा नाम के भनेर सोध्दा ‘पढेको छैन, आउँदैन’ भनिन्।
‘बुराको कमाइले पुग्दैन, त्यै भल काम गर्न आको यो फयाक्टरीमा,’ इँटाभट्टाको चिम्नीको पोल देखाउँदै उनी हाँसिन्।
घरबाहिर कहिल्यै काम गर्नु नपरेको उनको अनुभवलाई भुइँचालोले चुनौती दियो। भत्केको घर चाँडै बनाउन काम खोज्दै जाँदा काम मिल्यो इँटाभट्टामा। ६ महिनाको कमाई खर्च गरेर आफ्नो घर ठडेको हेर्न सपना छ उनको। बातबातमा भन्थिन्, ‘पढेको छैन, जागिर खान सक्दैन।’ नपढेर नि घर बनाउने कत्ति ठूलो सपना पूरा गर्दै छिन् उनी।
***
‘पैंतीस–चालीस हजार भयो होला, थपथाप गरेर स्यानो स्यानो घर बनाउँछ,’ यसो भन्दै गर्दा उनका हात एकनासले काठको साँचो बाकसमा माटो खन्याउदै स्यार्रर इँटा पारिरहेका थिए।
सिन्धुली मरिनकी सोममाया वाइबाको पनि भुँइँचालोले घर भत्केको छ। तीन जना छोराछोरी छन्। बस्ने ठाउँ नभएर गोठमै सुतेको छ उनको परिवार।
‘राहत लिन जानु भएन सरकारको?’ मैले सोध्न नपाउँदै उनी झर्किइन्।
‘ऐले राहत कुरेको भए पैसा कसरी कमाउँथ्यो। भत्केको घर हेरेर रुन्थ्यो, बस्थ्यो! राहत चाइँदैन, इँटा पार्छ, पैसा कमाउँछ, घर पनि आफैं बनाउँछ,’ उनले भनिन्।
बोल्दा उनका निधारबाट पसिना टपक्क भुइँमा चुहिएको उनलाई पत्तो हुँदैनथ्यो।
मंसिर १० गते उनले रित्तो हात लिएर सिन्धुली छाडिन्। भक्तपुरको इँटाभट्टामा इँटा पार्दैछिन्।
‘दिनको कति कमाउँछ्यौ दिदी ?’
उनी फेरि कड्किइन्, ‘कात्ती कमाउँछ कात्ती, ठेगान छैन। माटोमय भएका हात हल्लाउँदै भन्छिन्, ‘जाँगर चलेको दिन त दुई हजार इँटा पार्छ, हजार इँटाको ९ सय दिन्छ।’
वैशाख २२ गते उनी आफ्नो घर फर्किदैछिन्। टन्टलापुर घाममा मजदुरी गरेको फल झन्डै चालीस हजार बोकेर गाउँ फर्किदै छिन्। भन्छिन्, ‘अलिकति पैसा नन्दसँग माग्छु, आफ्नो घर आफैं बनाउँछु, सर्कार फर्कार कुरेर बस्दैन।’
गललल हाँस्यौ दुवै। उनको हाँसोमा मेहनतको तागत देखिन्थ्यो।
***
‘पोहोर साला न आया हुँ
ऐल सा न आया काटमान्डु
अर्को साल बाँचु मरू क्यै थाहा नई
इँटा बनाय बस्दा हुम झर्को लागे बिँडी खाया हुँ’
रोल्पा, घर्तीगाँउकी मनकुमारीले चुरोटको सर्को तान्दै भनेका कुराले मनै दंग भयो। घर त उनको भत्केको छैन रोल्पामा, तर घरमा बस्न सक्ने वातावरण छैन। गाउँमा काम पाइँदैन रे अनि बर्सेनि झर्नुपर्छ राजधानी काठमान्डु। टन्टलापुर घामको राप रोक्न चुरोट सल्काइरहन्छिन्। घामले भन्दा गाउँको मायाले उनको मन पोलेको रहेछ।
‘गाउँको माया लाउँदैन?’ सोध्दा सुइ्यय लामो सास तानेर भनिन्, ‘नलाग्दा कसरी हुन,
माया लाम्दा छर्छरीलाई फुन गरयाको हुम, छिट्टै गाउँ पनि जाने हुन नी।’
छेउमा उभिएका उनका श्रीमान मुसुमुसु हाँसी मात्रै रहे। उनको चुरोट अझै निभेको थिएन। मेरो हिँडाइ पनि रोकिएको थिएन। तुरुन्ते बाटो लागेँ।
***
अलिक पर बन्दै गरेको घरबाट सर्याकसुरुक आवाज आइरहेको थियो। घर बाहिर थिइन्, २१ वर्षीया सीता कुशवार। माटो लागेको लुगा सम्याउँदै भनिन्, ‘बा, इँटाको गारो लाउँदै छ हामरो नयाँ घरमा।’
इँटाको बासना उनको शरीरबाट आइरहेको थियो। किताब नसमातेको उनको हातले इँटा समात्न कहिल्यै बिर्सेनन्। हरेक साल इँटा पार्ने मजदुरी गर्न इँटाभट्टामा आउँछिन्। गएका वर्षहरूमा खानलाउनै खर्च भयो उनको कमाइ, तर यो साल पाउने कमाइ भत्केको घर बनाउनलाई हो।