सपनामा बहिनी सग्लो शरीर लिएर आउँथिन् । चुपचाप अलप हुन्थिन्।
भुइँचालोमा पुरिएर ज्यान गुमाएकी बहिनी र भान्जीको सम्झनाले उनलाई विक्षिप्त बनाउँदै थियो। जब उनले पत्रिकामा ‘मृत्यु चिन्तन’ लेखे, त्यसपछि बल्ल उनलाई गह्रौं भारी बिसाएको अनुभूति भयो।
लेख्न जान्ने त लेखेरै हलुका होला, नजान्नेले जलिरहेको मनलाई कसरी शीतल पार्दो हो?
...
गुरुङ सुशान्त भुइँचालोपछि चौथोपटक आफ्नो गाउँ जाँदै थिए, श्रीमती र दुई छोराछोरी लिएर। श्रीमती यसअघि एकपल्ट गइसकेकी थिइन्। छोराछोरी भने पहिलोपल्ट गाउँ पुग्दै थिए।
उनको चार जनाको परिवारसँग म पनि मिसिएँ। चैत अन्तिम साता माछापोखरीबाट बिहानै गुडेको बसले दिउँसो नुवाकोटको मनकामना, शान्तिबजार पुर्यायो। हामी त्यहाँबाट करिब दुई घन्टा उकालो हिँड्यौं।
रसुवा, ठूलोगाउँको चार नम्बर वडामा पर्ने टहरो (अस्थायी बासस्थान) नपुग्दै सुशान्तले बाटोमा आफ्ना छोराछोरीलाई ‘फूपू र सकिला गाडेको ठाउँ उ त्यहीँ हो’ भनेर देखाए। छोराछोरी साना र होचा थिए। अग्लो ठाउँ प्रस्ट देखेनन्। बाटोको कान्लामा चढेर ‘खोई कहाँ’ भनेर सोधे। उनले हातको मिनरल वाटरको बोतलको पानी छर्किएर देखाए।
कान्लामा ठडिएको कुटमिराको बोटमुनि फाट्टफुट्ट मकै टुसाउन थालेका थिए। धुलो माटोमा पानीले कोरेको मोटो धर्सो एउटा बिन्दुमा पुगेर टुंगियो। त्यही बिन्दु, जहाँ उनकी बहिनी कुमारी र सकिलालाई पुरिएको छ। ती आमाछोरीको शरीरमाथि एक÷एक बाली मकै र कोदो फलिसक्यो। पोहोर फलेको मकै अहिले बीऊ बनेर टुसाइ पनि सक्यो।
गाउँ पुग्नु हप्ता दिनअघि नै काठमाडौंमा समीक्षक सुशान्तको ‘भुइँचालो कथा’ सुनिरहँदा मैले सोधेको थिएँ, ‘तपाईंलाई त्यो ठाउँ पुग्दा मनमा कस्तो हुन्छ दाइ?
‘म जतिपटक त्यो ठाउँ पुग्छु, मुन्टो फर्काएर हिँड्न सक्दिनँ,’ उनले भने, ‘जीवनसँग कहिल्यै नछुट्ने मृत्यु एक मात्र सत्य हो।’
...
वैशाख १२ गते भुइँचालो जाँदा सुशान्त भक्तपुरस्थित डेरामा एक पत्रिकाका लागि लेख लेख्दै थिए। एकछिनसम्म त ‘रोकिएला नि’ भनेर भागिहालेनन्। टेबलमुनि टाउको घुसारेर डन्डीमा समाएर बसिरहे। ¥याकबाट झरिरहेका किताब उनका ढाडमा खस्न थालेपछि आफैंलाई सोधे, ‘कस्तो ननसेन्स काम गरिरहेछु म?’ तैपनि उनी भागिहाल्न सकेनन्।
‘पहिले आफ्नो शरीर हेरेँ, कतै नांगो पो छु कि भनेर।’ उनले बेलिविस्तार लगाए, ‘तै बाहिर पुग्दा लाज नहुने खालको कपडा नै लगाएको रै’छु।’
जमिन हल्लिरहेको छोटो समयमा उनको दिमागले अरू के–के सोच्न भ्यायो त?
‘साँच्चै भन्दा मलाई मेरै माया लाग्यो। जमिन हल्लिरहँदा मैले मैलाई मात्र सोचेँ। म त्यतिबेला बाथरुममा नांगै भएको भए? या घरले पुरिएर पछि निकाल्दा म नांगै भेटिएँ भने? शनिबार परेकाले श्रीमती र छोराछोरी मामाघर जान केही बेरअघि मात्र हिँडेका थिए। त्यतिबेला म मात्रै एक्लै मरेँ भने! यस्तो सोच पनि आएको थियो। मान्छे आफूलाई मात्र प्रेम होइन, अरूको मृत्युको कामना पनि गर्दो रै’छ। आफू एक्लै मर्ने भएँ भनेर दुःखी हुनु अरू पनि मसँगै मरुन् भन्ने कामना त हो नि!’ उनले भने।
दिमागमा यस्ता सोच चलिरहँदै उनी बाहिर निस्किए। बल्ल सुरक्षित भएकोमा लामो सास फेरे। उनलाई बल्ल श्रीमती र छोराछोरीको याद आयो। फोन गरे, लागेन। अनुमान लगाए, ‘यतिबेलासम्म त उनीहरू बस चढ्ने ठाउँसम्म पुगेका छैनन्। खुल्ला ठाउँमै होलान्, सुरक्षित नै होलान्।’
उनको डेरानजिकै एउटा घर बन्दै थियो। भुइँचालो जानुअघि एक महिला मजदुरले समयमा पैसा नदिएको निहुँमा ठेकेदारलाई मनपरी गाली गर्दै इँटा ताक्दै थिइन्। तिनै महिला भुइँचालो गएपछि ठेकेदारको हात समातेर ‘मेरा बच्चा के भए होलान्’ भनेर रुँदै गरेको उनले देखे। आफैंलाई प्रश्न गरे, शत्रुता मेट्न विपत्ति नै चाहिँदो रहेछ?
उनी लगातार फोन ‘ट्राई’ गरिरहेका थिए। श्रीमतीलाई गर्दा नलागेपछि गाउँका दाइहरूका नम्बर डायल गरे। कसैको लागिरहेको थिएन। श्रीमतीसँग बल्लबल्ल सम्पर्क भयो। सुरक्षित रहेछन्, ढुक्क भयो।
गाउँमा फोन गर्दा नलागे पनि त्यति चिन्तित भने थिएनन्। उनलाई लागिरहेको थियो, यतै भक्तपुरतिरै ‘इपिसेन्टर’ परेको होला। रसुवातिर त गएन होला। गइहालेको भए पनि हल्का धक्का मात्र पुग्यो होला। भुइँचालोको खबर विदेशसम्म पुगिसकेको थियो। विदेशबाट गाउँका एक दाइले फोन गरे। खबर सोधे। उनले निश्चिन्त भएर गफ दिए, ‘वी आर सेफ दाइ। डोन्ट माइन्ड दाइ।’ विदेशबाटै बहिनी–ज्वाइँले फोन गरे। ‘बहिनी र भान्जीको खबर राम्रो सुनिरहेको छैन त दाइ,’ ज्वाइँले भने।
उनले तुरुन्तै गाउँ फोन गरे। दाइ पर्नेले सुरुमा त केही नभएको बताइरहेका थिए। अन्कनाउँदै कुरा गरेको चाल पाएपछि दाइलाई सत्य बताउन अनुरोध गरे। दाइले लुकाएनन्, साँचो भने, ‘बहिनी र भान्जीले संसार छाडे।’
उनी खङ्रङ्ङ भए। उनलाई डाँको छोडेर रुन मन थियो, जसरी वरीपरी सबै च्याँठ्ठिरहेका थिए। तर, अरूका अगाडि रुन लाज लाग्यो।
उनले १२ गते नै गाउँ जान छोराछोरीलाई काभ्रेस्थली मामाघरमा छाडे। श्रीमतीलाई लिएर बाइक कुदाए। ककनीको बाटो पूरै चिरा परेको थियो। पहिरो चलिरहेकै थियो। उनी जान सकेनन्। काठमाडौं फर्के। भोलिपल्ट बिहानै गल्छीको बाटो हिँडे। त्रिशूलीसम्म त ठिकै थियो, त्यहाँदेखि माथि बिजोग रहेछ। जसोतसो छिचोल्दै गाउँ पुगे।
गाउँमा रुवाबासी जारी थियो। घर सबै ढलेका थिए। उनको गाविस, ठूलोगाउँमा ४८ जनाले ज्यान गुमाएका थिए। बहिनी, भान्जी, फूपूकी छोरी, भतिज बुहारी उनका नजिकका चार आफन्तको घरमा पुरिएर मृत्यु भएको थियो। पुरिएका धेरै शव करेसाबारीमा गाडिएका थिए। उनकी बहिनी र भान्जीलाई पनि ढलेको घरभन्दा मुनिको बारीको पाटामा गाडिइसकेको थियो।
एकै ठाउँमा झुरुप्प बस्न रुचाउने गुरुङ समुदायमा मामा चेला–फूपू चेलीबीच बिहेबारी चल्छ। त्यसैले गाउँका कसै न कसैसँग बिहेवारीको साइनो नजिकबाटै जोडिएको हुन्छ। गुरुङबाहेक दलित समुदायसँग बिहेबारीको साइनो नभए पनि मितेरी साइनो थियो। यस हिसाबले वैशाख १२ को भुइँचालोबाट उनका कुल २४ आफन्त माटोमा मिले। गाउँ मृत्युशोकमा थियो। घाइते उपचार नपाएर छटपटिइरहेका थिए। बाँचेकाको रुवाइ पनि रोकिएका थिएनन्।
०४३ सालमा जन्मिएकी बहिनीसँगका तीतामिठा स्मृति सुशान्तको दिमागमा नाचिरहेका थिए। गीत बज्यो कि नाच्न तम्सिने भान्जीको अनुहार आँखामा झल्झली आइरहेको थियो। उनलाई धक फुकाएर रुन मन थियो, ताकि मनमा हुँडलिइरहेको यादले केही छिनलाई भए पनि थकाई मारोस्!’
उनले सत्य कुरा पोखे, सबैका अगाडि रुन नसक्नु लाज होइन रहेछ। भन्छन्, ‘अहम् रहेछ।’
‘गाउँलेको अगाडि पढेलेखेको भन्ने अहम्। सहरमा पनि एकखाले परिचय बनिसकेको छ। बच्चाको अगाडि अभिभावक हुनुको अहम्। यिनै अहमले आँशु लुकाइरहेको थिएँ,’ उनले मनको गाँठो फुकाए।
१३ गतेको उज्यालो दिनले विदा लियो र रात प¥यो। छोरा जतिसुकै ठूलो भए पनि बाबुआमाका अगाडि बच्चै रहन्छ। राति गाउँका कोही नभएको बेला आमाले आफ्नी छोरीको प्राण भुइँचालोले लगेको बेलिविस्तार लगाउन थालिन्। त्यसपछि उनी आमासँगै डाँको छाडेर रोए, बहिनी र भान्जीलाई सम्झिएर।
कुमारी गुरुङ अर्थात् बहिनी, गाउँमा पढेलेखेकीमध्ये गनिन्थिन्। गाउँकै नागरिक सचेतना केन्द्रकी सचिव थिइन्। वैशाख १२ गते शनिबारको फुर्सद पारेर केन्द्रको बैठक राखिएको थियो। एउटा घरको पिँढीमा तारजालीले बेरेर एउटा कोठा बनाइएको थियो, जहाँ १३ जना सहभागी थिए। एक्कासि भुइँचालो आउँदा भाग्ने ढोका एउटै मात्र थियो। सबै निस्कन भ्याएनन्। आठ जनाले त्यही घरमा पुरिएर ज्यान गुमाए। उनकी बहिनी र भान्जीको शरीर पनि त्यही घरमा ढलेको थियो, कहिल्यै नउठ्ने गरी।
बहिनीको जीवनलाई नजरअन्दाज गर्दा सुशान्तलाई लाग्छ, ‘शरीर होइन, एउटा सिंगो सपना ढल्यो। पारिवारिक संरचनाले बनाएको लय भत्कियो। जीवनको एउटा हिस्सा मेटियो।’
आफ्नै फूपूका छोरासँग बिहे गरेकी बहिनी र फूपूबीच राम्रो सम्बन्ध थिएन। ज्वाइँ विदेश थिए। पारिवारिक खटपट चलिरहँदा सुशान्तले एकदिन बहिनीलाई साह्रै हप्काएका थिए। पछि बहिनीले ज्वाइँसँगको अनुमतिमा भिन्न बस्ने निर्णय लिएकी थिइन्। ‘ज्वाइँ आएपछि केही गर्ने सपना थियो होला उसको,’ सुशान्त भन्छन्, ‘भान्जीको बिमा गराएकी रै’छ। भान्जी एउटा फक्रिँदो सपना थिइन्। तर, सपना क्षणभंगुर रहेछ।’
उनले आफन्तको मृत्युको शोक मनाएर बस्न चाहेनन्। गाउँमा पढेलेखेको परिचय, केही त गर्नैपर्ने थियो। त्यसपछि उनी गाउँलेको शोकमा होइन भोकमा काम गर्न थाले।
विश्वभाषा क्याम्पस पढाउने भएकाले विदेशीहरूसँग राम्रो सम्बन्ध थियो। पत्रपत्रिकामा पुस्तकका समीक्षा लेख्ने हुँदा साहित्यकार/पत्रकारसँग निकट सम्बन्ध थियो। यिनै सम्बन्धका कारण गाउँका लागि राहत जुटाउन सजिलो भयो। लेखक प्रकाश आङ्देम्बेको सहजीकरणमा विदेश पुगेका भुटानी शरणार्थीले सहयोग गरे। पोखरेली कवि तीर्थ श्रेष्ठ, सरस्वती प्रतीक्षा लगायत राहत लिएर उनको गाउँमै पुगे। पत्रकार प्रतीक प्रधानले सय बोरा चामल पठाए। अन्य थुप्रै देशी–विदेशी संघ–संस्थाबाट सहयोग मिल्यो। विदेशी संस्थाले स्कुल लगायत संरचना बनाइदिने बचन दिए। जसमा करिब ७२ लाख लागतमा पक्की स्कुल बनाउने काम भइरहेकै छ।
भुइँचालोपछि उनलाई गाउँलेले हेर्ने नजर फेरिएको रहेछ। धेरैले ‘सुशान्तले पढेको काम लाग्यो’ भन्दा रहेछन्। उनी भने पढाइले होइन, सम्पर्कले काम गरेको मान्छन्।
...
भुइँचालोपछि भोगेका अनुभव समेटेर सुशान्तले आफ्नै किसिमको धारणा बनाएका छन्।
‘गरिबहरू मान्छेका कुरा गर्थे भने धनीहरू घरको कुरा गर्थे,’ उनले भने, ‘होचो घरको मालिकले अग्लो घरको मालिकलाई गाली गथ्र्यो। उसले आफूभन्दा होचो घरलाई अप्ठ्यारो परेको कहिल्यै सोचेन। केही दिन पालमा मिलेर बसेका धनीहरू विस्तारै वर्गीकृत हुन थाले। केही दिन धनी, गरिब, जात, धर्मको वास्ता नगरी पालभित्र सँगै बसेकाहरूको मन बाझिन थाले।’
सहरको स्वार्थीपन पनि उनले नजिकबाट भोगे। पसलेले विपतको मौका छोपेर दैनिक उपभोग्य सामानको मनपरि मूल्य लिए। सहर मात्र होइन, उनले आफ्नै गाउँमा पनि यसको प्रभाव देखे।
गाउँमा दुइटा पसल थियो। एउटाको घर भत्किएको थियो। ती पसलेले आफ्ना सामान बालबालिकालाई निःशुल्क बाँड्थे। पक्की घर भएका अर्को पसलेले भने आफूकहाँ भएका सामान लुकाएका थिए।
‘जसले भुइँचालोको असर प्रत्यक्ष भोगे, उसलाई भुइँचालोले ठूलो घाउ दिए पनि मृत्युबोध भने गरायो। जस्तो, गाउँका मान्छे आफ्ना आफन्त मरेको भोलिपल्टैदेखि कुखुरा काटेर खान थालेका थिए। भन्थे, मर्नुछ भने खाएरै मर्ने। खुट्टा तन्काएरै मर्ने,’ सुशान्तले आफ्नो अनुभव सुनाए।
उनलाई लाग्थ्यो, आफन्तको मृत्युमा मान्छे कसरी निरपेक्ष रहन सक्छ? पछि उनलाई थाहा भयो, निरपेक्ष रहेका होइनन्, आफैंलाई प्रेम गरेका रहेछन्।
पत्रपत्रिकामा वैचारिक कलम चलाउने सुशान्तलाई भुइँचालो एउटा अनौठो भोगाइ पनि थियो। बहुसाँस्कृतिक मुलुकका सबै समुदायका आ–आफ्नै संस्कार हुन्छन्। गुरुङ समुदायमा मरेकालाई जलाउने संस्कार हुन्छ। भुइँचालोले घरमा पुरिएर मरेकाहरू भने जलेनन्, बारीमा गाडिए। आफन्तले मृतकको काजकिरिया पनि रित पुर्याएर गरेनन्। उनको ठहर छ, ‘धर्म भनेको सुविस्ताको बेला, फुर्सदको बेला गरिने मनोरञ्जन रै’छ। रुने फुर्सद पनि नहुँदा सबैले धर्मसंस्कार बिर्संदा रहेछन्।’
उनको भनाइमा फुर्सद भएपछि मान्छेको दिमाग धर्मसँस्कारले गाँज्न थाल्छ। भुइँचालो गएको एक सातापछिको उनको भोगाइले यस्तै भन्छ। उनी राहत टोली लिएर आफ्नो गाउँ जाँदै गर्दा गाउँभन्दा तल बाटोमा एक अधबैंसे तामाङ बर्बराउँदै उकालो लागिरहेका थिए। उनले ‘के भयो’ भनेर सोधे। ती अधबैंसेले जवाफ दिए, ‘मरेकाहरूलाई बारीको पाटामा गाडिएको थियो। नजलाएकाले आत्माले दुःख दिन थाले। अब पुरिएको लास निकालेर जलाउन जान लागेको।’
उनको बुझाइमा भुइँचालो एउटा परीक्षा पनि थियो, संवेदना र विचारको। ‘जसले परीक्षालाई परीक्षाकै रूपमा लिए, ऊ पछिसम्म खुसी रहन सक्छ र जसले दुरुपयोग गरे ऊ दुःखी हुन्छ,’ उनले भने।
भुइँचालो गएको एक वर्षमा समाजसँग निकटतापछि अहिले उनको बुझाइले भन्छ, मान्छे परीक्षामा ‘फेल’ हुँदैछन्। राहत वितरण, विद्यालय निर्माणजस्ता क्रियाकलापमा समाजसँग जोडिँदा समाज परजीवि मानसिकता र भागबन्डाकै राजनीतितर्फ फर्किएको उनले देखे। समाजलाई राजनीतिले जुन तरिकाले आफ्नो प्रभावमा पारेको छ, त्यो उनलाई फिटिक्कै चित्त बुझेको छैन। वर्षौंदेखि राज्य गाउँप्रति अनुदार रहेको उनको दुखेसो छ।
‘भुइँचालोलाई लिएर राज्य र राजनीतिले जसरी उपयोग गर्नुपथ्र्यो त्यसरी भइरहेको छैन,’ उनले भने, ‘विनाश भनेको नयाँ संरचनाको बाटो पनि हो। राज्यले गाउँका जनतालाई जनता त भन्छ तर ‘निरपेक्ष जनता’ भन्दैन। पहाडी भू–भागमा भुइँचालोको खतरा छ भन्ने त पहिल्यैदेखि थाहा रहेछ नि राज्यलाई। तर, भूकम्पप्रतिरोधी घरसम्बन्धी नियम सहरमा मात्र किन त? गाउँका जनतालाई जनता मानेका भए यस्तो हुन्थेन होला। भुइँचालोपछि सुरक्षित हुने नियम पनि सहरका लागि मात्र केन्द्रित छजस्तो लाग्छ। राज्यले भुइँचालो गाउँका लागि पनि अवसर हो भन्ने नमानेसम्म गाउँ पछि नै परिरहन्छ।’
भुइँचालोपछि समाज अध्ययनबाट अर्को ठूलो समस्या निम्तने खतरा पनि देखेका छन् उनले। भन्छन्, ‘पहिले बाआमा र छोराछोरीका छुट्टाछुट्टै कोठा हुन्थे। अहिले सबै एकै ठाउँमा छन्। किशोर उमेरमा प्रवेश गर्दै गरेका बालबालिकाका लागि यो ठूलो समस्या बन्न सक्छ। यसमा छलफल जरुरी छ।’
...
‘जुन चिज पनि गुमाइसकेपछि प्रिय लाग्दो रहेछ,’ बहिनी गुमाएपछि उनको मनले यसै भन्छ।
त्यही भएर उनलाई सपनाले सबैभन्दा बढी सतायो। सपनामा सग्लोे शरीर लिएर बहिनी आउँथिन् र चुपचाप अलप हुन्थिन्। ब्युँझिएपछि उनी भक्कानिन्थे।
हरदिनजसो यस्तै सपनाले उनलाई विक्षिप्त बनाउँदै थियो। विपनामा पनि बहिनी र भान्जीका याद छँदै थिए। उनी सानैदेखि बहिनीमाथि बर्सिएको आफ्नो क्रूरता सम्झन्थे। त्यो सम्झँदा मनमा पश्चातापको हुन्डरी आउँथ्यो।
यत्तिकैमा एकदिन अन्नपुर्ण पोष्टका दीपक सापकोटाले बहिनीको मृत्यु र स्मृतिसँग जोडिएर ‘मृत्यु चिन्तन’ लेख्न लगाए। उनमा आँट थिएन। सापकोटाले पटकपटक अनुरोध गरेपछि उनी लेख्न बसे। सुरुमै भक्कानिए। लेखिरहँदा पनि रुँदै, रोक्किँदै लेख्थे। लेखिसकेपछि पत्रिका कार्यलयमा लेख पु¥याउन जाँदा पत्रकार सापकोटा उनकै अगाडि भक्कानिए।
पत्रिकामा लेख छापियो।
उनको आलेख पढेर धेरैले ‘रोएँ’ भन्ने प्रतिक्रिया दिए।
बहिनीको सपना र यादले गह्रौं बनेको मन लेखेपछि हलुंगो भएको छ। लेखिसकेपछि बहिनी सपनामा त्यति धेरै आएकी रहिनछन्। सुशान्त भन्छन्, ‘जति नारीवादी कुरा गरे पनि हामीमा पुरुषवादी सोच जकडिएको छ। बहिनीको मृत्युपछि मनमा यो कुरा क्लिक भयो।’
‘लेख्न जान्ने त लेखेरै हलुको होला, लेख्न नजान्नेको जलिरहेको मन कसरी शीतल होला दाइ?’ मैले उनलाई सोधेँ।
‘मेरा बाआमाजस्तै रक्सी खान्छन् अनि रातभरि रुन्छन्।’