देवकुमारी घले। तस्विरहरू सुदीप श्रेष्ठ
बौद्ध हिमालको काखमा लमतन्न सुतेको बारपाक गाउँ चौध किलोमिटर तल मान्द्रेबाटै झुलुक्क देखिन्छ। माथि मनिडाँडाबाट त वारिदेखि पारिसम्मै आँखामा अटाउँछ। झट्ट हेर्दा, औंसी र पूर्णे बीचको आधी चन्द्रमा आकाशमा झुन्डिरहे जस्तो।
गाउँको सिरानमै बसपार्क छ। हरेक साँझ घाम अस्ताउने बेला काठमाडौंबाट एउटा बस आइपुग्छ। घाम उदाउने बेला त्यही बस काठमाडौं जान्छ। बस आउन थालेको केही महिना मात्र भयो। दाता र संस्थाहरूका गाडी वर्ष दिनदेखि उदाए–अस्ताए धाएका धायै छन्। गोरखा राजमार्गको ‘बाह्रकिलो’ भन्ने ठाउँबाट ४८ किलोमिटर उत्तर कच्चीबाटोमा टायरको डोब बनाउँदै बारपाक उक्लने ती गाडीले पहिले गाउँमा आशा जगाउँथ्यो। भत्केका घरका अवशेषमाथि उभिएर बारपाकीहरू अनुहार उज्यालो पार्थे। अचेल गाडीले धुलो मात्र उडाउँछन्। बारपाकीका आँखा बिझाउँछन्। गाडी आउनु र जानु त घाम उदाए–अस्ताएजस्तै भइसकेको छ। नयाँ अनुहारले ध्यान तान्छ, तर आँखामा प्रश्न जगाउँदैन। आशाले चम्कनुपर्ने आँखा खिन्न ओइलाउँछन्।
भुइँचालोको वर्ष दिनपछि बारपाक आधा तंग्रिसक्यो, आधा तंग्रिन खोज्दैछ। जो तंग्रिसके ती आफ्नै दममा उठेका हुन्। जो तंग्रिन खोज्दैछन्, ती पनि आफ्नै ल्याकतअनुसार बल लगाउँदैछन्। सरकारी तथा गैरसरकारी टोलीको भ्रमणले बारपाकमा गाडीको लस्कर त लाग्यो, बारपाकीले भने केही पाएनन्। उनीहरूले पाएको २५ हजार रुपैयाँ मात्र हो। नयाँ घर बनाउन सरकारले दुई लाख दिने भनेको सुन्दै आएका छन्। धेरैले त्यसको आश मारिसके। दुई लाख हात परे पनि भुइँचालो प्रतिरोधक घर बन्दैन। ढुवानी भाडा महँगो छ। सिमेन्ट, छड छोइसाध्य छैन।
त्यसैले त, बृजबहादुर घले भन्छन्, ‘सरकार त दिन्छ दिन्छ भन्छ, कुरा मात्र गर्छ। दिए पनि सरकारको पैसाले त सुंगुरको खोर मात्र बन्छ। यहाँ त धेरैले आफैं घर बनाउन थालिसके।’
उनको कुरा सुन्दा यस्तो लाग्छ, बारपाकको भूगोल र बारपाकीको स्थिति उस्तै–उस्तै छ, औंसी र पूर्णेबीचको आधी चन्द्रमा जस्तो।
...
बृजबहादुर घले
बृजबहादुर बारपाक–४, सोर्ताका हुन्।
बारपाकको उत्तरी सिरानमा नयाँ पक्की घर बन्दै गरेको देखेर म छिरेको थिएँ। ४० वर्षीय बृजबहादुर गारोमा सिमेन्टको प्लास्टर लगाउँदै थिए।
‘नयाँ घर बनाउन थाल्नुभएछ नि,’ मैले कुराकानी सुरु गरेँ।
‘मेरो हैन, भाइको,’ उनले बालुवा र सिमेन्टको घोल भित्तामा छ्याप्दै जवाफ दिए, ‘भाइले मलेसियाबाट पैसा पठाइदिएकाले उसको घर बनाउन सजिलो भो। दुई भाइ मिलेरै गरुँ भन्या छु, ऊ फर्कन्छ, त्यसपछि सल्लाह गरम्ला।’
बृजबहादुरको परिवारमा चौध जना छन्। भाइ मन्दुस घलेबाहेक बाँकी यतै छन्। दाजुभाइको परिवार अलगअलगै बस्थ्यो। बाआमा मन्दुससँग बस्थे। भुइँचालोमा दाजुभाइकै घर लडे। त्यसयता आठ जना केटाकेटीसहित तेह्रै जना एकै पालमुनि आश्रित छन्।
बृजलाई विदेश जाने रहर छैन। उनी घर बनाउने मिस्त्री काम गर्छन्। धेरैका अस्थायी टहरा बनाए। कतिका पक्की घर पनि बनाए। उनको आफ्नै घर भने कहिले बन्छ, ठेगान छैन। भुइँचालोले थचक्कै बसेको उनको घर पल्लो जग्गामा भग्नावशेषै छ। भाइ मन्दुसको घर लगभग एक महिनामा तयार हुन्छ। त्यसपछि बल्ल उनको आफ्नो बनाउने कुरा आउँछ। त्यतिञ्जेल बृज र मन्दुसको परिवार सँगै नै बस्नेछन्।
आफ्नो घर बनाउने बेलासम्म सरकारबाट दुई लाख पाइएला कि भन्ने उनलाई आश छ। भन्छन्, ‘हाम्रो विश्वास हो कि अन्धविश्वास, था छैन। रेडियोमा फुकिरा’को हुन्छ, नेताहरूले भाषन पनि गरिर’का हुन्छन्, आश त जागिहाल्छ।’
वर्षदिनदेखि सरकारी सहयोगका नाममा २५ हजारबाहेक सिन्को नपाएकाले उनी कहिलेकाहीँ निराश पनि हुन्छन्। ‘कुर्दाकुर्दै जिन्दगी जाला कि, के ठेगान! एक साल भो सरकारले हेरेको छैन। भाइको घर बनिहाल्यो, आफ्नो पो कैले बन्ने हो!’
‘भाइले सहयोग गर्ला नि त!’ मैले सोधेँ।
‘आएसि के गर्छ गर्छ ? उसको मनको कुरा अहिल्यै कसरी भनुँ !’ उनी यति भनेर एकोहोरो काममा लागिरहे।
म बृज र मन्दुसको परिवार बस्ने पालभित्र छिरेँ। केटाकेटी भुइँमा असरल्ल भात खाँदै थिए। बूढीआमै अँगेनानिरै बसेकी थिइन्। बूढाबा भात खाइवरी हात चुठेर कुर्सीमा सुस्ताइरहेका थिए। पालको ठिक पछाडि गोठ थियो। गोठमा लगभग एक महिनाअघि ब्याएको लैनो भैंसी थियो। दिनकै कम्तीमा चार माना दूध दिँदो रहेछ। मन्दुसकी पत्नी देवकुमारी दूध दुहुँदै थिइन्। उतिबेलै मोबाइलको घन्टी बज्यो। उनले भैंसीको थुन छाडेर पटुकाभित्र बेरेको मोबाइल फोन झिकिन्। राता गाला अझ राता पार्दै गोठपछाडि कुनामा लुसुक्क पसिन्।
देवकुमारी घले
‘बूढाको फुन आ’को,’ अलि बेरमा गोठतिर फर्कंदै भनिन्, ‘मलेसियाबाट।’
‘दिनकै फोन आउँछ?’ मैले सोधेँ।
‘भैंचालोपछि त आम्छ,’ हाँस्दै भनिन्, ‘जहान, केटाकेटीको बिचल्ली छ, के गर्दैछन् सोध्नुपरेन त!’
‘कैले फर्कने रे?’
‘चाँडै आम्छ होला। मैले बूढा चाँडै आऊ भनेको छु। यत्रो भैंचालो गैसको, फेरि आम्छ भन्छ, मरे नि केटाकेटी, बूढाबूढी सँगै मरम्ला। ऊ भने भर्खर घर बन्दैछ बूढी, अलि पछि आम्छु भन्छ। मैले त भो भो, तिमी जति बसे नि ऋण नगरी घर बन्दैन, क्यार्न मरिमेट्छौ बूढा, पर्दैन बस्न भन्या छु।’
‘मान्नुभो त?’
‘बूढीले भनेसि नमानी सुख, यही वैशाखको लास्टसम्म आम्छ होला,’ यसो भन्दा देवकुमारीका आँखा चम्केका थिए। अनुहारमा मनिडाँडा माथिको जंगलमा झैं लालीगुराँस फक्रेको थियो। यसको एउटा कारण त श्रीमान तीन वर्षपछि मलेसियाबाट फर्कने खुसीले होला। अर्को कारण, आफू बसिरहेको जीर्ण पालभन्दा दुई कान्लामुनि बन्दै गरेको पक्की घर हो, जहाँ बृजबहादुर केही सहयोगीका साथ गारोमा प्लास्टर लगाउँदै नै थिए।
दुई छोरामध्ये एक जनाको स्थायी घर पूरा हुन लागेकोमा बाबु कुलबहादुर मख्खै छन्। त्योभन्दा बढ्ता खुसी छुट्टभिन्न भइसकेका दाजुभाइ एउटै छानामुनि आएकामा छ। अब कम्तीमा बृजबहादुरको घर नबनुञ्जेल उनको खुसी कायम रहला!
‘तेह्र जना एउटै पालमुनि एक वर्ष बसियो। अलि–अलि पैसा छोराले पठायो। तीन–चार लाख ऋण गरियो। जसरी नि घर त बनाउनैपरो,’ उनी भन्दै थिए, ‘अघिल्लो बर्खा जेनतेन टार्यो। यो घर बनेसि सुविस्ता होला।’
वैदेशिक रोजगारबाट आएको पैसा र गाउँमै ऋणपान गरेर पालको बसाइबाट पक्की घरतिर पाइला सार्दै गरेको कुलबहादुर परिवार १ हजार ४ सय ४७ घरधुरी भएको सिंगो बारपाकको विम्ब हो। उनका एक छोरा विदेशबाट पैसा पठाएर नयाँ घर उभ्याउँदैछन्, बारपाकमै मजदुरी गर्ने अर्का छोरा भने रनभुल्लमै छन्। यही हाल बारपाकको छ।
२०७२ वैशाख १२ को दिन बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भुइँचालो गयो। गुरुङ र घले जातिको बाहुल्य रहेको यहाँका २४ वटा पक्की घरबाहेक सबै धस्सिएर जमिनको सतहमा आइपुगे। पक्की घरमा पनि क्षति त भयो नै। ढुंगाले बारेको र ढुंगैले छाएको झुरुप्प बस्ती एकैचोटि झ्याम्म लड्दा ७० जनाभन्दा बढीको ज्यान गयो। धेरै घाइते भए। त्यसयता बर्खा, असिनापानी र हिमपात झेलेका धेरै बारपाकी बौरिन थालिसके। ७५ प्रतिशतभन्दा बढीले जस्ताको टहरा छाइसके। ५० वटाभन्दा बढी पक्की घर नै बनिसके। केहीले ढुंगाको गारो उभ्याएका छन्। सबैले ऋण काढेर र विदेशबाट छोरा–नातिले पठाइदिएको रेमिटेन्स रकम नै घरमा लगानी गरेका हुन्। केही भने पालमुनि आश्रय लिँदै सरकारी सहयोगको पर्खाइमा पनि छन्।
मैले जति पनि बारपाकी भेटेँ, सबै सरकारसँग रिसाएका थिए। सरकारले भुइँचालो पीडितलाई बेवास्ता गरेको गुनासो गर्थे। भुइँचालोलगत्तैका बाचा केही पूरा नभएको उनीहरू सुनाउँथे। यति हुँदाहुँदै सरकार आउला र हेर्ला भनी हात बाँधेर कोही बसेका छैनन्। पालमुनि आश्रय लिइरहेका केही परिवार यस कारण मात्र कुरिरहेका छन्, किनकि उनीहरूको न टेक्ने जमिन छ न त समाउने हाँगो। संस्कारी र सहृदयी बारपाकीलाई सरकारसँग यत्ति मात्र सन्देश पु¥याउनुछ, ‘सरकार तिमीले ढाँट्यौ, हामीले त घर बनाइसक्यौं।’
‘हेलिकप्टरमा गुटुटुटु आयो, गाडीमा धुलो उडाउँदै आयो, आउन त आयो, उनीहरू आउँदैमा हामीलाई के फाइदा,’ कुलबहादुरले भने, ‘आधा नेताहरू नै बारपाक आइसक्यो होला। सरकार त जम्मै आइसक्यो। सुशील पनि आयो। केपी पनि आयो। संस्थाहरू पनि आका आयै छन्। के भो त खै? सरकार हेरेको हेर्यै छ। ढाँटेको ढाँट्यै छ, हाम्रो घर त हामीले नै बनाइसक्यौं।’
उनी भन्दै थिए, ‘सप्पैले दुई लाख पैसा पाउँछ भनेका थे। केपीले नै त हो नि, माथि फुटबल गिरान (ग्राउन्ड) मा आएर ‘तपैंहरू नडराउनुस्, सरकारले तपैंहरू सप्पैलाई दुई लाख दिन्छ’ भनेको। खै कहाँ दियो? सरकारले कि सक्दिनँ भने खुलस्त सक्दिनँ भन्नु, नभए हामीलाई कति झुलाउनु! हामी माग्ने हो र! सरकारले दिन्छु भनेकोले पो आश गरेको। नभए त हामी आशै गर्थेनम् नि। घर बनाउन सरकारको आश गरेर बसेम् र? अब सप्पैले घर बनाइसके, कहिले दिने? आघौं बर्खामा पहिरोले सप्पै मरेपछि दिने?’
कुलबहादुरको आक्रोश शब्दैपिच्छे बढ्दै थियो। छिमेकी रामजी घले र विनोद घलेले झनै चर्को रिस पोखे। रामजीले सुक्दै गरेको पानीको मुहानको कुरा उठाए। उनका अनुसार भुइँचालोअघि यहाँ एक दर्जनजति मुहान थिए। अहिले सुकेर पाँच वटा मात्र छन्। ‘पानीको साह्रै दुःख छ। तीन करोडको खानेपानी योजना ल्याउँछु भनेका थे। घरैपिच्छे एउटा धारा दिन्छु भनेका थे। अहिले चैं यो पाइँदैन, त्यो पाइँदैन भन्छन्। यस्तो पनि ढाँट्ने!’ उनी चर्किए।
विनोद सरकारबाट प्रस्तावित भुइँचालो प्रतिरोधी नक्सा नै गलत भएको बताउँदै थिए। सरकारले १७ थरीका नक्सा प्रस्ताव गरेको छ। त्यसबमोजिम घर बनाउनेलाई मात्र दुई लाख दिन्छु भनेको बारपाकीले बुझेका छन्। उनीहरूका विचारमा, नक्साअनुसार घर बनाउन दुई लाखले पुग्दै पुग्दैन। ‘चार–पाँच लाख लाग्छ, सरकारले दुई लाखै दिए पनि बाँकी के रूखमा उम्रन्छ?’ विनोदको प्रश्न थियो।
गाउँलेहरू बेखुसी हुनुको अर्को कारण पनि छ। आफैं घर बनाइसकेकाले दुई लाख पाउँदैनन् भन्ने उनीहरूले सुनेका छन्। ‘दुःख गरेको पैसा हो। ऋण काढेर ल्याका हौं हाम्ले, सरकारले दिन्छु भनेपछि दिनैपर्छ,’ बृजबहादुरले भने।
मिस्त्री काम गर्ने बृजका अनुसार बारपाकमा तीनखाले घर बन्दै छन्। विदेशको आयस्रोत भएका अलि ‘हुनेखाने’ले बलियो गरी पिलर ठड्याएका छन्। अर्काथरीले ढुंगाको गारो उठाएर ‘बन्धन’ हालेका छन्। तेस्रोमा जस्ता छाएका र जस्ता नै बारेका घर पर्छन्, जसले यसपालि बर्खा त थेग्ला, तर भुइँचालो थेग्न सक्दैन। जसमा उसैपरे सधैं बस्न पनि मिल्ला, तर प्रकृतिले साथ दिनैपर्छ। पुनर्निर्माण भएका वा भइरहेकामध्ये अधिकतम जस्तापाताका त्यस्तै टहरा छन्।
टिलराज घलेले त भुइँचालो गएको दुई दिनमै नयाँ टहरो बनाएका हुन्। भग्नावशेषबाट संगालेका दाउरा, ढुंगा र जस्तापाता नै उनले प्रयोग गरे। अब पक्की घर बनाउन सके होटल चलाउने उनको इच्छा छ। उनले बारपाकमा यसको राम्रो सम्भावना देखेका छन्। काठमाडौं बसेर कमर्स पढेका उनले एकवर्षे कुकिङ तालिम लिएका छन्। बेकरीको पनि ज्ञान छ। यसमा थप तालिम लिएर पोख्त हुन चाहन्छन्।
‘बरु मिल्छ भने म सरकारको पैसाले होटल खोल्न चाहन्छु, घर त कमाएर बनाउँदै गरम्ला नि,’ उनले भने, ‘खै सरकारले यसो गर्न दिन्छ कि दिँदैन होला!’
बुद्धिबहादुर विश्वकर्माले पनि झन्डै सात महिना टहरोको आश्रयपछि नयाँ घर बनाइसके। लालपुर्जा बन्धकी राखेर सहकारीबाट छ लाख ऋण झिकेका छन्। ‘घर त बन्यो, अब किस्ता पो कसरी तिर्ने, मुटु पोलिरहन्छ,’ १८ प्रतिशत व्याजमा ऋण लिएका बुद्धिले भने, ‘सरकारले पैसा दिने भनेको, ऋण दिने भनेको डाँडा काटेको कुरै रैछ।’
‘०७२ साल त त्यसै गै’गो, ०७३ लाग्या छ, नयाँ सालमा त केही नयाँ होला नि!’
***
बिष्णुकुमारी गुरूङ
जितबहादुर घलेलाई बारपाकमा धेरैले मान्छन्। उनी स्थानीय नागरिक अगुवा र कांग्रेसी नेता हुन्।
मैले मोबाइलमा फोन गरेपछि उनले बसपार्क डाके। बारपाकमा दिनभरि कांग्रेसको संगठन कार्यक्रम गरेर फर्केका उनी भोलिपल्ट त्यही काममा लाप्राक जानुपर्ने बताउँदै थिए। बसपार्कमै उनको हार्डवेयर पसल रहेछ। त्यसकै अगाडि ओबिना होटलमा केही साथीसँग चिया पिउँदै थिए। हामी कुरा गर्दै ‘बारपाक इन’ होटल लाग्यौं, जहाँ म बसेको थिएँ।
झमक्क रात परिसकेको थियो। बत्ती आएको थिएन। स्थानीय वीरबहादुर घलेले बनाइदिएको लघु जलविद्युत आयोजना भुइँचालोले बन्द भएपछि बिजुली आपूर्ति अवरुद्ध छ। वीरबहादुरले नै जेनरेटरको व्यवस्था गरिदिएका छन्। साँझ डेढ घन्टाजति बिजुली आउँछ। बिजुली आउनेबित्तिकै बारपाक इनकी साहुनी सीता भाउजू (गुरुङ) ‘ल मोबाइल चार्ज गर्नुस् है’ भन्दै आउँछिन्।
लघु जलविद्युत बन्द भएदेखि यहाँ नेपाल टेलिकमले सेवा दिन सकेको छैन। आफ्नै जेनरेटर राखेको एनसेलको नेटवर्क गाउँभरि टिप्छ। जबकि, एक वर्षसम्म टेलिकम टावर सोलारकै भर छ। गाउँमा उसको नेटवर्क टिप्दैन। माथि डाँडामा उक्लेर टावर नजिक पुगेपछि मात्र नेटवर्क देखाउँछ।
‘भुइँचालोअघि त यहाँ लोडसेडिङ भन्ने नै हुन्नथ्यो। जलविद्युत बन्द भएपछि मात्र हो। अब १५–२० दिनमा त्यो पनि खुल्ला। त्यसपछि त बत्ती आइरहन्छ,’ मैले मोबाइल बत्ती बालेर नोटबुकमा टिप्दै गर्दा जितबहादुरले भने, ‘टेलिकमको टावरले पनि काम गर्ला।’
मोबाइलकै प्रकाशमा कोठाभित्र हामी आधा घन्टाजति गफियौं। सरकारले एकीकृत बस्ती विकास योजना ल्याउने निर्णय गरे पनि प्रारम्भिक चरणसम्म सुरु नभएकोमा उनी खिन्न मान्दै थिए। त्यो योजना मात्र सुरु भइदिए कुन ठाउँमा बाटो बन्छ थाहा हुने र नयाँ घर बनाउन सजिलो हुने उनको भनाइ छ।
‘५० जनाजतिले पक्की घर बनाए, धेरैले जस्ताको अस्थायी टहरा बनाएका छन्। एकीकृत योजना पारित भएको भए सबैले पक्की बनाउँथे होलान्,’ उनले भने, ‘बाटो कहाँ कहाँ बन्छ थाहै छैन, सबै रनभुल्ल छन्।’
हार्डवेयर व्यवसायीसमेत रहेका जितबहादुरका अनुसार सरकारी दुई लाखले बारपाकमा भुइँचालो प्रतिरोधक घर बनाउन मुश्किल छ। यहाँ एक ट्रिप बालुवाकै १० हजार पर्छ। राजमार्ग आसपास बस्तीमा भने चार हजारमै पाइन्छ। सिमेन्ट पनि ५० किलोको बोरालाई १ हजार ५० रुपैयाँ पर्छ। तल सुगम ठाउँमा ७ सय ३० मै पाइन्छ। ‘बारपाकलाई नि दुई लाख, बेसीको छेपेटारलाई नि दुई लाख! निर्माण सामग्रीको भाउ चैं आकास–पाताल छ,’ उनले भने, ‘घर बनाउन पैसा दिँदा सरकारले बजार भाउ बुझ्नुपर्दैन?’
उनी भन्दै थिए, यहाँको मुख्य समस्या झन्डै तीन सय विस्थापित परिवारको हो। पोखरी, इसिनान, मान्द्रे, थलीडाँडा, कोचे, स्यामिर, कोतगाउँ र केही दलित बस्तीका घरपरिवार विस्थापित छन्। तिनका लागि सुरक्षित बसोबासको ठाउँ सरकारले निधो गर्दिनुपर्नेछ। जग्गा किन्न पैसा पनि दिनुपर्नेछ। बारपाकबाट पाँच घन्टा पैदल दुरीको लाप्राक गाउँ सिंगै गुप्सीपाखा सरेको छ। अझै पनि उनीहरू टहराकै बास छन्। गएको बर्खा र हिमपात त जेनतेन टारे। यस वर्ष त्यही नियति भोग्नुपर्ला भन्ने पिरलोले उनीहरूको मन अहिल्यैदेखि भरंग छ।
‘लाप्राकका विस्थापितलाई गुप्सीपाखामा स्थायी बसोबासको व्यवस्था मिलाइदिने कुरा पनि गफै भो,’ जितबहादुरले भने, ‘ठाउँ छ, मान्छेहरू छन्। भएको जग्गा स्थायी रूपमा उपलब्ध गराएर स्थायी बसोबास मिलाइदिने त्यत्ति काम सरकारले गर्न सक्या छैन। सरकार गफ मात्र गर्छ, गाउँलेको दुःख गाउँलेसँगै छ।’
बारपाक पुग्नुअघि झन्डै १८ किलोमिटर ठाडो उकालोको फेदीमा बालुवा भन्ने सानो झुरुप्प बजार छ। सिम्जुङ गाविस–९ मा पर्ने त्यही बजारको पुछारमा २०–२५ वटा जस्ताका टहरा र प्लास्टिकका झुपडी लस्करै उभिएका छन्। जस्ता छाएका र जस्ता नै बारेका टहराका बीचमा दुई जना बूढीआमै झोक्राएर बसिरहेकी थिइन् । उनीहरू माथि दरौंदी नदी पारीको सौरपानी–८, झोलुंगेबाट विस्थापित भएर आएका रहेछन्। दरौंदी त सजिलै तरेछन्, दुःख तर्न सकेका छैनन्।
बूढीआमैहरूसँग कुराकानी गर्न मन थियो, भाषा तगारो बन्यो। उनीहरू मैले बोलेको नबुझ्ने, म उनीहरूले बोलेको नबुझ्ने। धन्न, एक जना बूढीआमैकी ३५ वर्षीया छोरी विष्णुकुमारी गुरुङले आफू जन्मेहुर्केको घरखेत छाडेर विस्थापित हुनुको पीडा सुनाइन्।
‘आफ्नो ठाम जान पाइया छैन, अर्काको ठाममा पनि बस्न पाइन्न,’ उनले भनिन्, ‘संस्थाहरू हामीलाई यहीँ अलि व्यवस्थित टहरो बनाएर बस भन्छ, अर्काको जग्गामा त्यसै टहरो कसरी बनाउने?’ विस्थापितहरूलाई सरकारले जग्गा दिएर अस्थायी बास व्यवस्था गरिदिने उनले सुनेकी छन्। वर्षदिन बित्दा पनि सहाराको एक त्यान्द्रोसम्म फेला नपारेकोमा भने खिन्न छिन्।
विस्थापितलाई सबभन्दा ठूलो समस्या शौचालय र खानेपानीको हुँदो रहेछ भन्ने विष्णुकुमारीको अनुभव छ। बजारमा अर्काको शौचालय जाँदा सधैं कचकच सहनुपर्थ्यो। तल दरौंदी खोलातिर जान जोखिम हुन सक्थ्यो। कस्सो, एउटा संस्थाले महिला सुरक्षाका लागि तीनवटा शौचालय बनाउन भनी ५० हजार रुपैयाँ दियो। खानेपानी समस्या त अझै छ। यहाँका विस्थापितलाई भुइँचालोको केन्द्रविन्दु बारपाकको सेप पनि लागेको छ। राहत दिनेहरू हुर्हुर्ती उतै लाग्छन्, उनीहरूको हातमा बल्लतल्ल एक बोरा चामल पर्छ।
‘सरकारले पैसा दिने भनेको सुनेका छौं, हाम्रो पहिलो खाँचो घडेरी हो,’ विष्णुकुमारीले भनिन्, ‘दुई लाखले घडेरी किनेर घर बनाउन पुग्दैन। घडेरी नै नपाई पैसा थाप्ने कि नथाप्ने बढो कन्फ्युजमा छौं।’
भुइँचालो पीडित र विस्थापितको यो समस्यामा यहाँका राजनीतिक दल किन बोल्दैनन् त?
मैले यो प्रश्न जितबहादुरलाई सोधेको थिएँ। उनको जवाफ थियो, ‘हामी त बोलेका बोल्यै छौं। सरकारले नै भुइँचालो पीडितहरूमाथि राजनीति गर्यो। उनीहरूको समस्यालाई प्राथमिकतामा राखेन। पुनर्निर्माणमा यहाँका सबै दलको एउटै अवधारणा छ। सरकारले त्यसैअनुसार तुरुन्तै एकीकृत बस्ती विकास योजना अघि बढाउनुपर्छ, विस्थापितहरूलाई सुरक्षित ठाउँमा जग्गा र घर बनाउने पैसा दिनुपर्छ भनेर हामीले भन्दै आएका छन्। दबाब पनि दिइरहेका छौं।’
‘सरकार अझै हात बाँधेर बस्यो भने दुई लाखको आश गर्दै कोही कुरेर बस्नेवाला छैन। भुइँचालोमा लडेको गाउँ आफैं उठ्छ, आफैं बन्छ,’ उनले भने।
कुराकानी गर्दागर्दै कोठाको सिएफएल चिम झलमल्ल बल्यो। सीता भाउजू ‘ल मोबाइल चार्ज गर्नुस् है’ भन्दै कोठामै आइन्।
***
रसकुमारी गुरुङ
रसकुमारी गुरुङ सानी छोरी काँधमा पटुकीले बाँधेर घरको आँगन बढारिरहेकी थिइन्। घर सामान्य थियो, तर पक्की थियो।
‘कहिलेदेखि बस्न थाल्नुभो?’ मैले सोधेँ।
उनले कुचो बढार्न छाडेर पुलुक्क मतिर हेरिन्। भनिन्, ‘यो मेरो घर हैन, माइती हो।’
‘मेरो घर त मास्तिर छ,’ उनले अलि माथिको डाँडोतिर हातले इसारा गरिन्, ‘अब त भत्किसक्यो, केही नि छैन।’
‘कहिले बनाउने त?’
‘खै, दाइ (उनका श्रीमान्) भर्खरै विदेश जानुभको छ, बनाउनुहोला नि!’ उनले जवाफ दिइन्।
रसकुमारीको दुई वर्ष भयो बिहे भएको। भुइँचालो आउनु दुई दिनअघि मात्र उनका श्रीमान वैदेशिक रोजगारका लागि रुस गएका थिए। त्यतिबेला उनको काखमा चार महिनाकी छोरी थिइन्। सासूआमा ठूलो छोरासँग बस्ने हुँदा भुइँचालो बेला रसकुमारी एक्लै परिन्।
उनी छोरीलाई कोठाभित्र झोलुंगामा सुताएर लुगा धुँदै थिइन्। धर्ती हल्लिन थालेपछि घरको माथिल्लो तला जम्मै भत्कियो। झरेका ढुंगाले तल्लो तला पनि छोपियो। उनी कहालिँदै भित्र पस्न खोजिन्। सकिनन्। मुर्छै परिन्। अलिबेरमा भुइँ थामिएपछि वरपरका गाउँले र दाइहरू आए। धमाधम ढुंगा र काठ फाले। र, छोरीलाई सकुशल बाहिर निकाले।
बाहिरी निस्कँदा छोरी बेस्सरी रोइरहेकी थिइन्। उनको जीउभरि माटो नै माटो थियो। रसकुमारीले छोरीको जीउ सफा गरिन्। अनुहारमा लागेको धुलो फू गर्दै फालिन्। हातले पुछिन्। म्वाइँ खाइन्। छातीमा टाँसिरहिन्। त्यसको सात–आठ दिनसम्म जहाँ जाँदा पनि उनी छोरीलाई दुई हातले छातीमै बोकिरहन्थिन्।
‘मैले त कत्ति दिन झोलुंगामै राखिनँ,’ उनले भनिन्, ‘बोकेरै हिँडिरहेँ।’
रसकुमारीले सारा गाउँ शोकमा डुबेका बेला श्रीमान धनीराज गुरुङसँग बोल्नधरि पाइनन्। पन्ध्र दिनपछि बल्ल कुराकानी भयो। उनले त खोजखबर नपाउँदा मायै मारिसकेका रहेछन्। ‘उहाँ फोनमै रुनुभयो,’ रसकुमारीले कान रातो पार्दै भनिन्, ‘म पनि कत्ति रोएँ।’
उनी भन्दै थिइन्, ‘मैले त्याँ पनि भैंचालो आ’छ भनेर सोधेँ। आ’छैन रे। बल्ल ढुक्क भएँ। म र छोरी त भाग्यले बाँचेम्, माथ्लो तलामा भए त तपाईंसँग भेट पनि हुन पाउँथेन भन्दै रोइरहेँ। याँ त फेरि भैंचालो आम्छ भन्छन्, म र छोरी एक्लै छु, झट्टै आइहाल्नू भनेँ। कसरी आउनू, छ–छ लाख ऋण छ, बल्ल त यहाँ आएँ, काम पनि बल्ल पाइया छ भन्नुभो। बरु मिल्यो भने यो दसैंमा छुट्टी लिएर आम्छु भन्नुभा छ। ठिकै हो, घरिघरि काँ जान पाइन्छ र!’
रसकुमारी र उनका श्रीमान धनीराजको सल्लाह छ, सरकारले पैसा दिएन भने एक–दुई वर्ष टहरोमै दुखजिलो गरेर बस्ने। रुसबाट फर्केर बल्ल घर बनाउने। धनीराज रुसको एउटा होटलमा काम गर्छन् रे। कमाइ राम्रै छ रे। रसकुमारीले आफ्नो घरको तल्लो तला पनि भत्काइसकिन्। त्यहाँ केही विस्थापित परिवार पाल टाँगेर बसेका छन्। उनी १६ महिने छोरीसँग माइतीमै छिन्।
उनलाई घर भत्किएकोमा सुर्ता छैन। काखमा हाँसिरहेकी छोरी देखेपछि सारा पीडा भुलेर त्यसै मख्ख पर्छिन्। उनकी छोरीको नाम स्विना गुरुङ हो। टेलिफोनमा दिनहुँजसो बाबा र छोरीको कुराकानी हुन्छ। स्विना तोतेबोलीमा ‘बाबा ... बाबा ...’ भन्छिन्। धनीराजको स्वर बोल्दाबोल्दै सुनिन छाड्छ।
देवकुमारीको परिवारजस्तै रसकुमारी पनि १ हजार ४ सय ४७ घरधुरी भएको सिंगो बारपाककै विम्ब हुन्। उनको घर लडेको छ, तर आँखा चिन्ताले मुर्झाएका छैनन्। बरु छोरी स्विनाको आँखामा सुनौलो भविष्य देख्छिन्, घामको किरणले टिलिक्क टल्किएको बौद्ध हिमालझैं।
त्यसैले त, रसकुमारी भन्छिन्, ‘छोरीलाई देखेर मेरो आधा मन हाँस्छ, आधा मन लडेको घर सम्झेर रुन्छ।’
रसकुमारीको कुरा सुन्दा यस्तो लाग्छ, बारपाकको भूगोल र उनको व्यथा उस्तै–उस्तै छ, औंसी र पूर्णेबीचको आधी चन्द्रमा जस्तो।
भिडियो