झुरुप्प बारपाक बस्तीबाट लगभग दुई सय मिटर माथि मनिडाँडा चौतारामा सेतै कपाल फुलेकी बूढीआमै सुस्ताइरहेकी थिइन्।
उनको देब्रेछेउ चौतारीको डिलमा एक डोको दाउराको भारी थियो। पछाडि चार–पाँच जना युवा नयाँ घर बनाउन माटो खन्दै थिए। अलि पर पाखामा आधा दर्जनजति घरका अवशेष असरल्लै थिए। पहिरोले टाटैटाटा पारेको पारीडाँडा भुइँचालोको केन्द्रविन्दु बारपाक गाउँतिर खिन्न फर्किएको थियो।
बूढीआमै पहिरोका डोब हेर्दै एक सुरमा गुन्गुनाइरहेकी थिइन्।
‘आ ... हो ... आज त मैले नौगेडी लाछ
वर्षभरि साँचेर ...’
उनी गाउँदा–गाउँदै टक्क अडिइन्। मतिर हेरेर फिस्स हाँसिन्। भनिन्, ‘स्वर चाहिँ कस्तो नराम्रो हुने!’
‘कस्तो राम्रो छ!’ मैले उक्साएँ, ‘गाउनु न गाउनु।’
उनी लजाइन्। मान्दै मानिनन्। बरु कुराकानी गर्न तयार भइन्।

उनी श्रीमाया घले हुन्। उमेर ‘६०, १२ पुग्यो’ रे। अर्थात्, ७२ वर्ष। भेषभूषा सामान्य भए पनि गहनाले झकिझकाउ थिइन्। गलामा नौगेडी माला झुन्डिएको थियो। कानमा मर्कली लगाएकी थिइन्। नाकमा फुली थियो। यस्तरी गहना पहिरिएकी महिला मैले बारपाकमा देखेकै थिइनँ।
उनले गहनाको तौल पनि बताइन्– नौगेडी २ तोलाको, मर्कली डेढ तोला।
‘पहिले कार्जेक्रममा मात्र लाम्थेँ। आमा समूहमा जाँदा फुटु (फोटो) गर्नुपर्थ्यो, त्यही भ’र लाम्थेँ, अहिले त सधैं नै लाम्छु,’ उनले जवाफ दिइन्, ‘फेरि भुकुम्प आम्छ भन्छन्, घराँ राखेर क्यार्नु ! म त जहाँ जाँदा नि ला’र हिँड्छु बाबु, मरे नि यो ला’रै मरम्ला। बाँच्यो भने छोरा–बुहारीको दुःखमा खर्च, सुखमा गहना।’
बारपाक, वडा नम्बर ५ की श्रीमाया वैशाख १२ को दिन यही भिरमा दाउरा खोज्न आएकी थिइन्। अरू बेला तीन जना साथीहरू सँगै हुन्थे। त्यस दिन उनीहरूको काम परेछ। एक जना नुहाउन र लुगा धुन धारातिर लागिछन्। दोस्रोलाई घरमै केटाकेटी हेरेर बस्नुपरेछ। अर्कोले ‘बिहेमा जानुपर्यो, आउन भ्याउँदिनँ’ भनिछन्।
‘म त एक्लै भए नि आएँ,’ श्रीमायाले भनिन्, ‘दाउरा टिपेर फर्कनै आँटेको थेँ, यस्तो भैगो।’
‘बाबु के भन्नु, यो जमिन त स्याङ स्याङ गरेर हल्लिरह्यो। म त ढलपल ढलपल भैगएँ। भैंमा थुचुक्क बसेर बूढी अम्लाले माटोलाई थिचेँ। जमिन धमधम धमधम गर्दै थियो। मैले अम्लाले बेस्मारी थिचेर ‘भैगो भैगो, अब नरिसाम्नुस्’ भनेँ। अलिकति अडियो। म हिँड्न खोजेँ। फेरि सुरु भैगो। म फेरि थुचुक्क बसेर जमिनलाई ‘थाम थाम’ भनेँ।’
उनी भन्दै थिइन्, ‘उत्तिन्खेर पर डाँडामा भैङ पैरो गै गो। मैले जम्मै आँखैले देख्यो। भिरहरू जम्मै भ्वाक्क भ्वाक्क आ’का थे। गाममा हाम्रा घरहरू डङडङ लडेका थे। चारैतिर बङबङ धुलो उडेको थियो। म त भाग्नै सकेन। काँ भाग्नु ! भैं स्याङ स्याङ भैराछ। ढुंगा पनि ढङढङ हल्लिराछ। माथिबाट माटो पनि फुक्कफुक्क झरिराछ। म त त्यसै रोएर बसिरहेँ।’
श्रीमायाका दुई जना छोरा र १० जना नाति–नातिना छन्। त्यस दिन छोरा र केही नाति गोरखामा फुटबल हेर्न गएका थिए। बुहारीहरू मिलतिर गएका थिए। केही नाति–नातिना घरमै थिए। को–को घरमा थिए, को–को गोरखा गएका थिए उनलाई सम्झना छैन। आँखैअगाडि गाउँका सारा घर ठाउँको ठाउँ थचक्कै बसेको देखेपछि उनलाई घरमा भएका कोही बाँचेको आश भएन। गोरखा गएकाहरू पनि बाटोमा पहिरोले नै पुरिए भन्ठानिन्। बुहारीहरू पनि मिलतिरै थिचिए होलान् भन्ठानिन्।
उनी आँखाभरि आँसु पारेर गाउँको दुर्दशा हेर्दै एक घन्टाजति पाखामै बसिरहिन्। जमिन हल्लिन अलि कम भएपछि विस्तारै ओरालो झरिन्। बाटोमा केही मान्छे देखिन्, जो अरूलाई बोकेर ल्याउँदै थिए।
‘जिम्दै बोकेर ल्याको भनेको त लाश पो रैछ,’ उनले भनिन्, ‘जम्मै घरमा मुन्छेहरू थुनिएका थे, पुरिएका थे। गाम्लेहरू घरका काठढुंगा पन्छाम्दै मुन्छे निकाल्दै थे। एउटा घरबाट त १३ दिनपछि बल्ल एक जनालाई निकाल्यो। चार जना मुन्छे रोटी पोल्दापेल्दै तेलमा जलेछन्। आत्था–आत्था भन्दै कराएछन्। निकाल्न खोज्दाखोज्दै घरै लडेर जम्मै मरेछ।’
‘घरमा नातिहरू भागेछन्, केही भएनछ। बुहारीहरू पनि मिलतिरबाट भागेरै घर आइपुगेछन्। मेरा घरमा कसैलाई केही भएन। सानो छोराको नातिनी गोजे गामतिर ग’को रैछ। बाटोमा ढुंगा लागेर ढाड र हातमा घाउ भएछ। त्यत्ति हो।’

श्रीमायालाई आफ्नो घर अलि फराक ठाउँमा भएकाले लड्दा पनि कसैलाई केही भएन भन्ने लाग्छ। ‘हाम्रो घर पातलो थियो, वरिपरिको घर लडेर ढुंगा खस्दा पनि थिचेन, त्यही भ’र कसैलाई केही भएन,’ उनले भनिन्।
गुरुङ र घले जातिको बाहुल्य रहेको बारपाकमा १ हजार ४ सय ४७ घर थिए। तीमध्ये दुई दर्जन पक्की घरमा आंशिक क्षति भयो। बाँकी सबै धस्सिएर जमिनको सतहमा आइपुगे। ती घर एकै ठाउँ गुजमुज्ज बनेका थिए। ढुंगाले बारेको र ढुंगैले छाएको झुरुप्प बस्ती एकैचोटि झ्याम्म लड्दा ढुंगा र काठले थिचेरै ७० जनाभन्दा बढीको ज्यान गयो। धेरै घाइते भए।
एकअर्कासँग टाँसेर ‘बाक्लो’ घर बनाएकैले यत्रो ठूलो नोक्सान भएको भन्ने बुझेकी श्रीमाया पुनर्निर्माणमा लागेका गाउँलेलाई सल्लाह दिइरहन्छिन्, ‘बाक्लो घर बनाम्दा यताकोले उता हान्ने, उताकोले यता हान्ने रैछ। अब सप्पैले पातलो घर बनाइदिए हुने। म सप्पैलाई पातलो घर बनाऊ भन्छु। ढुंगाको घर नबनाऊँ भन्छु। यहाँका मुन्छे मान्दैनन्। तँ धेरै जग्गा भएको मुन्छे, पातलो घर बनाउन तेरो जग्गा दे भन्छ। फेरि त्यस्तै घर बनाम्छ। फेरि त्यस्तै भुकम्प आए जम्मै लड्छ अनि खान्छ !’
भुइँचालोले थला परेका बारपाकीलाई श्रीमायाको सल्लाह मात्र होइन, सरकारकै कामगराइ पनि चित्त बुझेको छैन।
भुइँचालो पीडित प्रत्येक घरधुरीलाई नयाँ घर बनाउन २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भनी सरकारले भन्दै आएको छ। उनीहरूले वर्ष दिनदेखि यो योजना रेडियोमा सुन्दै आएका छन्। कहिलेकाहीँ राहत र आश्वासन बाँड्न आएका मन्त्री र नेताका मुखबाट पनि सुन्छन्।
बारपाकीहरू सरकारसँग रिसाएका छन्। भुइँचालो पीडितका नाममा एकचोटि २५ हजार र अर्कोचोटि न्यानो कपडा किन्न १० हजारबाहेक सरकारले केही दिएको छैन। नयाँ घर बनाउन दुई लाखको आश देखाएको छ, त्यो पनि ‘कुर्दाकुर्दै जुनी बित्न लागेको’ उनीहरू बताउँछन्।
‘सरकारले केही दे’को छैन हजुर, कुर्दाकुर्दै जुनी बित्छ जस्तो छ,’ श्रीमायाले भनिन्, ‘धेरै गाम्लेले त आफैं घर बनाउन थालिसके। म पहिलेजस्तो ढुंगाको नबना भन्छु मान्दै मान्दैनन्, तेरो जस्तो सम्पत्ति छैन भन्छन्। म बूढी कति मात्र सल्लाह दिँदै हिँडम्।’
बारपाकमा भुइँचालोले भत्किएका अधिकांश घर फेरि बन्न थालेका छन्। ७५ प्रतिशतभन्दा बढीले जस्ताको टहरा छाइसके। ५० वटाभन्दा बढी पक्की घर नै बनिसके। केहीले ढुंगाको गारो उभ्याएका छन्। यी सबैले ऋण काढेर र विदेशबाट छोरा–नातिले पठाइदिएको रेमिटेन्स रकम घरमा लगानी गरेका हुन्। केही भने पालमुनि आश्रय लिँदै सरकारी सहयोगको पर्खाइमा पनि छन्।
मनिडाँडाबाट तल हेर्दा निलो जस्ता छाएको झुरुप्प बस्ती उस्तै देखिन्छ, जस्तो भुइँचालोअघि थियो। यो बस्तीमा श्रीमायाको आफ्नै घर भने छैन, जुन भुइँचालोअघि थियो।
पुरानो घर भत्किएपछि उनले नयाँ बनाएकी छैनन्। भुइँचालोको एकाध महिनापछि जस्ता बारेर, जस्ता नै छाएर टहरा बनाएकी थिइन्। उनको परिवार अहिले पनि त्यसैमा आश्रित छ। ‘कहिले बनाउने त घर’ भनी सोध्दा उनले जवाफ दिइन्, ‘खै के बनाम्, फेरि भुकुम्प आ’र सप्पै लान्छ भन्छन्।’
‘फेरि आउँछ भनेर घरै नबनाइकन बस्ने त?’
‘बनाउला नि छोराहरूले। बनाउँदै होलान्,’ उनी एकछिन रोकिइन्, फेरि भनिन्, ‘अहिले त छोराहरू पनि बूढा भइसके। तेल्ले पढेन। धेरै इलम छैन। काम पनि जानेन। कसरी बनाउला घर! लोग्नेले बनाको घर थियो, त्यो पनि छैन अब त।’
श्रीमायाका श्रीमान् बितेको २० वर्ष भइसक्यो। उनी भारतीय सेनामा थिए। रिटायर्ड भएर आएपछि वस्तुभाउ हेर्थे। खेतीपाती गर्थे। दुहुना भैंसीलाई घाँस काट्थे। नाति–नातिना खेलाउँथे। श्रीमानले छाडेर गएपछि ‘आधा मरेकी’ श्रीमाया यो भुइँचालोपछि आफूलाई ‘पूरै मरेको’ ठान्छिन्।
‘ऊ मरेपछि केही मन लाग्दैन, भैंसी पनि पाल्न छाड्यो, गाई त आमालाई देँ,’ उनले भनिन्, ‘भुकुम्पले त जम्मै मर्यो कि जस्तो लाग्छ हजुर। गाउँभरिका मुन्छे मरे। नानीबाबु मरे। बेस्करी पिर पर्यो। मै बूढीलाई यो भिरमा पर्दा पनि बाँच्नु लेख्या रैछ।’
‘त्यै भ’र अचेल त भएभरको गहना लाएरै हिँड्छु। घरमा राख्दिनँ। बुहारीहरूलाई पनि लाएरै बस् भन्छु। बाँचुञ्जेल लाउने त हो गहना, हैन र!’ उनले भनिन्।
छुट्टिने बेला मैले उनलाई फेरि उही गीत गाउन आग्रह गरेँ। बल्लतल्ल तयार भइन्।

‘आज त मैले नौगेडी लाछ
वर्षभरि साँचेर...
साँचेर हो ...
साँचेर।’
आ ... हो ...
कदमको छायाँ लाउनुभयो नयाँ,
भूकम्पले बाँचेर ...
बाँचेर हो ...
बाँचेर।’
गीत सकिएपछि भनिन्, ‘हामी चारै जना साथीहरू दाउरा खोज्न वन जाँदा यही गीत गाम्थेम्। भुकुम्प आम्दा म एक्लै परेँ। उनीहरू आएनन्। दुई–चार दिन त को काँ छ क्यै था भ’न। पछि था भो, उनीहरू त तीनै जना मरेछन्।’
‘अब म एक्लै आम्छु। फेरि भुकुम्प आए नि डर छैन। के को डर ! म त उतिबेलै जम्मै मरिसकेँ।’
बुढ्यौलीले भन्दा भुइँचालोमा गुमेका साथीको सम्झनाले उनका आँखा बढी ओइलाएझैं देखिए।
पहिरोले टाटैटाटा पारेको पारीडाँडा भुइँचालोको केन्द्रविन्दु बारपाक गाउँतिर उसैगरी खिन्न फर्किएकै थियो।
.gif)