भुइँचालो आउँदा तपाईं र तपाईंको परिवार के गर्दै थियो?
वैशाख १२ गते गोरखाको बारपाक गाविस केन्द्रबिन्दु भएर भूकम्प आयो। त्यो दिन मेरो ठूलोबुबाको छोराको बिहे थियो। म पोखरा जन्ती गएको थिएँ। जन्ती दुलहीको घरनजिकै पुग्नेबेला भूकम्प आयो। दिउँसो मज्जाले भूकम्पको महसुस गर्न पाउँदा सुरूमा कौतुहलता बढ्यो। केहीक्षण भूकम्पपछि जन्तीकै रौनकमा हामी भुल्यौं।
मेरो गाउँ (गोरखाको देउराली) गाविसबाट फोन आउन थालेपछि रौनक टिक्न पाएन। जन्ती गएका मेरो गाउँलेहरूको घर भत्किएको पशु र चौपाया पुरिएको फोन आउन थाल्यो। मानिस घाइते भएको भुइँचालोले धेरै क्षति पुर्याएको खबर एकपछि अर्को गर्दै आउन थालेपछि तनाव बढ्यो। मोबाइलको नेटवर्कले त्यति काम गरिरहेको थिएन। जन्ती चाँडै गरेर घर फर्किन चाहन्थे। विवाह सम्पन्न गर्नुपर्ने थियो। काठमाडौँको धरहरा ढलेको खबर बिहे घरमा फैलियो। दुलही घर नजिकैका घर पनि पनि भत्केका थिए।
जन्तीले बिहेको कार्यक्रम छोट्याएर चाँडो घर फर्किने चाँजोपाँचो मिलाए। नेटर्वकले राम्रो काम नगर्दा खबर अपुष्ट आउने गरेको थियो। काठमाडौं सीतापाइला मामाघरमा सम्पर्क भयो। त्यहाँको घर जगैदेखि ढलेको खबर पाएँ। हजुरआमा घरभित्रै पुरिनुभएको, माइजु घाइते हुनुभएको थाहा भएपछि म स्तब्ध भएँ। दुलाहाको घर पनि भूकम्पले भत्काउन बाँकी राखेनछ। दुलही कहाँ भित्र्याउने भन्ने चिन्ता बढ्न थाल्यो। मेरो घर पनि भूकम्पले क्षति पुर्याएको थाहा पाएँ। परिवारको सदस्य सबै (आमाबाहेक, बुबा, भाइ, बहिनी) बिहेमा जन्ती थियौं। गोरखाका सञ्चारकर्मी हरिराम उप्रेतीसँग सम्पर्क भयो। गोरखा दरबार भत्किएको र भूकम्पले सदरमुकाममा धेरै क्षति पुर्याएको सुनाए। सदरमुकाममा नै मानिसहरूको मृत्यु भएको पनि उनले जानकारी दिए।
बिहे भोज खाने मन पनि मर्यो। म आबद्ध कान्तिपुर पब्लिकेशनको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो पोखराका संयोजक भीम घिमिरे दाइसँग मोबाइल एसएमएसमा सम्पर्क भयो। उहाँलाई मैले साँझसम्म गोरखा पुग्ने बताएँ। उहाँले मलाई गोरखा नजान र पोखरा कार्यालयमा आउन भन्दै हुनुहुन्थ्यो। भाइको बिहे कार्यक्रम टुङ्गो नलगाएसम्म म उम्किन पाउने थिइनँ। ३ बजे दुलही अन्माएर घर फर्कियौं। सडकमा गाडी खासै चलेका थिएनन्। पराकम्पन आउन रोकिएको थिएन।
सडकमा ढुङ्गा झरेका थिए। दायाँबायाँका घर भत्केका, चर्केका थिए। ५ बजे घरमा आइपुगियो। बिहे कार्यक्रम छाडेर म सदरमुकाम हिँडे। सदरमुकाम पुग्दा झमक्क साँझ परेको थियो। घरभित्र मान्छे थिएनन्। सडक र खुल्ला चउर मानिसले भरिभराउ थियो। अफिसका लागि मैले रिपोर्टिङ गर्न बाँकी नै थियो। सदरमुकाम आएर रिपोर्टिङमा व्यस्त भएँ। बिहान खाना खान नपाएको बेलुका पनि खान पाइएन। काम सकेर चिउरा दालमोठ खाएर खुल्ला चौरमा त्रिपालमा साथीहरूसँग सुतें।
भुइँचालोले तपाईंको घरपरिवारमा के–कति क्षति पुर्यायो?
भूकम्पले मेरो जन्मघर पूर्णरुपमा क्षति भएको छ। बस्दै आएको पक्की घर भने चर्किएर मर्मत गर्नुपर्ने भएको थियो। काठमाडौँमा पुरिनु भएको हजुर आमालाई चार दिनपछि मृत भेटिएको थियो।
भुइँचालोपछिका दिन तपाईंको परिवारले कसरी बितायो?
घर चर्किएको थियो। पराकम्पन आउन रोकिएको थिएन। घरमा आमा–बुबा, भाइ–बहिनी आँगनमा त्रिपाल टाँगेर बस्नुभएको थियो। म घरभन्दा १८ किलोमिटर पर सदरमुकाममा थिएँ। आमाले घर आउन बाहिर नहिँड्न भन्नुहुन्थ्यो। मैले पत्रकारिताको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व थियो। करिब महिना दिनसम्म मेरो परिवार घरबाहिर नै बस्यो। म सदरमुकामको रंगशालालगायत विभिन्न ठाउँमा रिपोर्टिङ जाँदा खुल्ला चौरमा त्रिपालमा बास बस्ने गर्थें।
हजुरआमाको निधनमा आमा शोकाकुल हुनुहुन्थ्यो। हजुरआमालाई श्रद्धाञ्जली र मामालगायत शोकमा परेका आफन्तजनलाई समवेदना दिन जान पनि सकिनँ। आमाले न्यास्रो लागेको भनेपछि एक दिन घरमा बास बस्ने गरी परिवारलाई भेट्न गएँ। घरमा इमेल इन्टरनेटको सुविधा नहुँदा सदरमुकाममा नै बस्नुपर्ने बाध्यता थियो।
तपाईं भुइँचालोको कति दिनपछि बारपाक पुग्नुभयो?
म भुइँचालो गएको चौथो दिन बिहान बारपाक पुगेँ। बारपाक जोड्ने १२ किलोमिटर छेवेटार, भालुस्वाँरा, बारपाक सडक हुदैँ म बारपाक पुगेको थिएँ। आधा बाटो मोटरसाइकल र करिब आधा बाटो पैदल हिँडेर बारपाक पुगियो। पैदल हिँडेको बाटो दर्जनौँ ठाउँमा पहिरोले अवरुद्ध थियो। बारपाक हिँडेको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत पहिरोका कारण जान नसकेर बालुवा भन्ने ठाउँमा रोकिएको थियो।
त्यस्तो पराकम्पन र त्रासका बीच बारपाक जाने सोच कसरी आयो? कसरी बारपाक जानुभयो? परिवारलाई के भन्नुभयो? उनीहरूले सजिलै जान दिए कि दिएनन्?
सदरमुकाममा नै बसेर रिपोर्टिङ गरिरहेको थिएँ। सदरमुकामबाहेक अन्यत्र इमेल इन्टरनेटको सुविधा थिएन। भूकम्पका कारण सदरमुकाममा समेत विद्युत र इन्टरनेटको समस्या थियो। केन्द्रबिन्दु बारपाक भएको मैले १३ गते बिहानमात्र थाहा पाएको थिएँ। त्यहाँ जानुपर्ने भन्ने लागेको थियो । तर के गर्ने के नगर्ने निर्णय गर्न मुश्किल भइरहेको थियो। सयौँ मानिसको मृत्यु भएको थियो। हजारौँ घर भत्किएका थिए। सयौँ घाइते थिए। उद्धार समयमा पाएका थिएनन्, त्रिपाल पनि नपाएर खुल्ला चौरमा सुत्नुपर्ने अवस्था थियो।
.jpg)
जिल्लाका सबै ठाउँका सूचना सदरमुकाम केन्द्रित भएका थिए। बाटोघाटो बिग्रेकाले दिउँसो गाउँतिर गएर सदरमुकाम फर्किन सक्ने अवस्था थिएन। कान्तिपुर दैनिकबाट जिल्ला ब्युरो प्रमुख गंगा बिसी दाइले फोन गरेर बारपाक जान सकिने नसकिनेबारे सोध्नुभयो। मेरो जानकारी अनुसार मैले बाटो अवरुद्ध भएका कारण नसकिने बताएँ। एक्लै निस्केर हिड्ने आँट पनि आएको थिएन। त्यहाँ हिँडेको सेना प्रहरीसमेत बाटोमा नै रोकिएका थिए । तालिमप्राप्त सेना प्रहरी जान नसकेको ठाउँमा कसरी जान सकिएला भनेर आँट नै आएन। बारपाक घर भएका कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेसमेत बाटोबाट फर्केर आउनु भएको थियो। सेना, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सोध्दा पनि जान नसकिने नै बताए। उद्धार र राहत बोकेर हेलिकप्टर उड्न थालेका थिए। त्यस्तो अवस्थामा हेलिकप्टर चढ्न कसैलाई अनुरोध गर्न मन लागेन। म हेलिकप्टरमा नजाँदा मेरो सट्टा पीडितहरूको लागि ५०÷६० केजी राहत सामग्री पठाउन सकिने, म फर्किंदा मेरोसट्टा एक जना घाइतेलाई अस्पताल ल्याउन सकिने अवस्था थियो। गंगा दाइसँग फेरि केहीबेरपछि सम्पर्क भयो।
उहाँले बारपाक जाँदा राम्रो हुने सुझाव दिनुभयो। उहाँको सुझाव ठिकै लाग्यो। जान नसके पनि कहाँसम्म पुग्न सकिन्छ, त्यहाँसम्म कोसिस गर्ने विचार आयो। स्थानीय सञ्चारकर्मी साथीहरूलाई जाउँ भनेर अनुरोध गरें। अगुवा पत्रकार किशोरजङ्ग थापाले जोखिमपूर्ण हुने भन्दै जान नहुने बताउनुभयो। स्थानीय च्वाइस एफएमका स्टेशन म्यानेजर किरण लोहनीसँग सल्लाह मिल्यो। उहाँ र म मोटरसाइकलमा जहाँसम्म पुगिन्छ जाने निर्णय गर्यौं। झोलामा चिउरा, चाउचाउ, दालमोठ, पानी, औषधि, लाइट बोकेर सदरमुकामबाट दिउँसो ३ बजेतिर हिँड्यौं।
घरमा शोक थियो। आमाले बारपाक जाने कुरा थाहा पाउनुभयो भने अनुमति दिने कुरै थिएन। भाइलाई फोन गरेर म बारपाक जान्छु भनें। म बारपाक गएको कुरा घरमा ‘अहिले नभन्नू फोन लाग्दैन होला गाउँतिर गएको छ दाइ’ भन्न भनेर सिकाएँ। कलेज पढ्दै गरेको भाइले त्यही अनुसार घरमा भनेछ। मातृशोकमा रहनुभएको आमालाई म जोखिमपूर्ण ठाउँमा जाने कुराले झनै चिन्ता बढ्ने विश्लेषण गरेर गोप्य राखें। बारपाक हिँडेको कुरा मेरो नजिकका एक–दुई जना साथीलाई भनें। गंगा र भीम दाइलाई एसएमएस गरे। दुबै जनाले सुरक्षित जान सल्लाह दिनुभयो।
बारपाक जाँदा बाटोको अवस्था कस्तो थियो?
करिब आधा बाटो मुच्चोकसम्म मोटरसाइकलमा गइयो। जंगलको बीचमा आएको ठूलो पहिरोले यात्रा अवरुद्ध भयो। वर्षात्ले कच्ची बाटो पनि हिलाम्मे थियो। दरौँदी जलविद्युत आयोजनाको डोजरले पहिरो हटाउने काम गरिरहेको रहेछ। करिब दुई घन्टापछि डोजरले पहिरो खुलायो। त्यहाँबाट केही मिनेट अघि बढेपछि फेरि पहिरो भेटियो। तत्काल त्यो पहिरो हटाउन सक्ने स्थिति थिएन। साँझ परिसकेको थियो। मनसुली सामुदायिक वनक्षेत्रको भवनमा मोटरसाइकल राखेर अघि बढ्याैं। फर्किंदा मोटरसाइकलको तेल चोरी हुनसक्ने आँकलन गरेर एक लिटर तेल झोलामा पनि बोकेका थियाैं। राति ९ बजेतिर बारपाकको फेदी बालुवाबजार पुगियो। बाटोभरि ढुङ्गा झरेका थिए। सडक चिरा परेको थियो।
पुल भत्किएका थिए। बारपाक हिँडेको सेना र सशस्त्र प्रहरीको टोलीसँग भेट भयो। सशस्त्रको नेतृत्व गरेका प्रहरी निरीक्षक शिशिर पन्त मेरो गाउँले दाइ थिए। उनले त्यहीँ मेसमा बाँकी रहेको भात खाने प्रबन्ध मिलाइदिए। भात खाएर त्यहीँ चउरमा सुतियो। बिहान उठेर बारपाक यात्रा सुरू भयो। यात्रामा एमाओवादीका जिल्ला अध्यक्ष लेखबहादुर थापा थपिए। उनी अघिल्लो दिनदेखि नै बाटोभरि पहिरो आएका कारण रोकिएर बसेका थिए। पराकम्पनसँगै पहिरो चलिरहेका कारण बारपाक पुग्ने–नपुग्ने निश्चित थिएन। पहिरो गएको ठाउँमा जंगलैजंगल हँुदै बारपाकस्थित राङरुङको भीर कटेर मान्द्रे पुगियो। बाटोमा मान्छे छिर्नेजस्ता भ्याङ परेका थिए।
कच्ची सडक चिराचिरा थियो। चारै दिशामा पहिरोमात्रै देखिन्थ्यो। पहिरोसँगै रुख ढलेर बाटो छेकेका थिए। त्यही रुखको जराको सहारा लिएर अघि बढियो। पराकम्पनले तर्साउन छाडेको थिएन। पराकम्पनसँगै पहाडबाट ढुङ्गा झर्ने गर्थे। पहिरो छिचोलेर बारपाकको सर्वाधिक क्षतिग्रस्त मान्द्रे पुगियो। मान्द्रे गाउ“ चकमन्न थियो। मृतकहरूलाई भत्केको घरकै आँगनमा खाल्डो खनेर पुरिएको थियो। आँगनमै चिहान खनिएको गाउँमा सन्नाटा छाएको थियो।
तपाईं पहिलोपटक बारपाक पुग्दा त्यहाँको अवस्था कस्तो थियो? त्यहाँ भेटेका पात्र र उनीहरूको पीडालाई कसरी सम्झनुहुन्छ?
१५ गते बिहान करिब १० बजे म बारपाक पुगेको थिएँ। त्यतिबेला बारपाकमा भारतीय सेनाको हेलिकप्टर आएर बस्ने तरखर गर्दै थियो। भारतीय पत्रकारहरू सुटिङ स्टाइलमा हेलिकप्टरमै गएर हेलिकप्टरकै दृश्य कैद गर्दै थिए। स्थानीयहरू घरभित्रको सामान निकालेर त्रिपालतिर लैजाँदै थिए। घर भत्किएर कुच्चिएका थाल, गाग्री, भाँडाकुँडा मर्मत गर्दै थिए। पुरिएकाको खोजी कार्य जारी थियो। अघिल्लो दिनैमा सदरमुकामबाट प्रहरी, नेपाली सेनासहित सरकारी टोली हेलिकप्टरबाट त्यहाँ पुगेको थियो। भेटिएका शवको मुचुल्का गरेर अन्त्येष्टि गरिँदै थियो। भारतीय सेना र नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा घाइतेहरूको उपचार हुँदै थियो। गम्भीर घाइतेहरूलाई पोखरा लैजान हेलिकप्टर त्यहाँ पुगेको थियो।
म सिधै हेलिकप्टर भए ठाउँतिर गएँ। हेलिकप्टर घाइते लिएर उड्यो। त्यहाँ अघिल्लो दिन पुगेका प्रहरी निरीक्षक दीपक श्रेष्ठ, जिविसका कर्मचारी कुलराज चालिसे, नेपाली सेनाका क्याप्टेन नारायण आचार्यसँग भेट भयो। उनीहरूले हिँडेर आएको कुरामा विश्वासै गरेनन्। भत्केर छियाछिया भएको बाटोबाट बारपाक आउन सम्भव नभएको बताइरहेका थिए। हेलिकप्टरसँगै हामी त्यहाँ पुगेकाले हेलिकप्टरबाट झरेको सोचेछन्। बाटोमा खिचेको फोटो देखाएपछि मात्रै उनीहरूले हिँडेर आएको विश्वास गरे। सेनाका क्याम्पमा खाना खाने बेला भएको रहेछ। श्रेष्ठले त्यहीँ खाना खान आग्रह गरे। खाना खाएर समाचार संकलनमा निस्कियौं। स्थानीय जीतबहादुर घलेले भूकम्प जाँदाको केही सेकेण्डको भिडियो मोबाइलमा रेकर्ड गरेका रहेछन्। त्यही देखाए। आफ्नो अनुभव सुनाए। मानिसहरू त्रसित थिए। पराकम्प जाँदा भागदौड गर्थे। चिच्याहटले वातावरण कोलाहल हुन्थ्यो। आफन्त गुमाएकाहरू कपाल खौरीरहेका थिए। गाउँ डुलियो। स्थानीयले भुइँलालो जाँदाको अनुभव सुनाए।
पर्यटकीय तथा ऐतिहासिक बारपाक विरक्त भएको थियो। १४ सय घर गुजुमुज्ज रहेको भिसीगजे घलेको गाउँ ध्वस्त भएको थियो। घर, विद्यालय, स्वास्थ्य चौकी, जलविद्युत आयोजना, प्रहरी चौकी, घले संग्राहलय, नमूना होमस्टे सबै ढलेका थिए। केही शव फेला परेको थिएन। सेना प्रहरीसँगै शवको खोजी कार्यमा गाउँ निस्कियौं। केहीबेरमै वर्षा भयो। बास बस्ने ठाउँमा आएर टेलिफोनबाट क्षेत्रीय ब्युरोमा भीम दाइलाई समाचार टिपाएँ। भोलिपल्ट विरुप बारपाक भनेर भूकम्पपछि बारपाकको पहिलो समाचार प्रकाशित भएको थियो। घाइतेले बेलामा उपचार पाएका थिएनन्। खानेकुरा घरभित्रै पुरिएको थियो। मानिसहरू भोकभोकै थिए।
शोकमा परेकाहरूले पनि शोक मनाउन नपाउँदा उद्धारमा खटिनु परेको थियो। दिउँसो समयमा भुइँचालो गएको कारण मानवीय क्षति थोरै भएको स्थानीयले बताए। दुई मिनेटसम्म भूकम्पले हल्लाएको र कालो धुँवाजस्तो धुलोले बस्ती र वरपरका पहाड पुरै ढाकेको स्थानीयले बताए। पराकम्पनका कारण स्थानीयबासी अघिल्ला रातमा पनि सुत्न पाएका थिएनन्। खाली जग्गामा त्रिपाल र टहरा टाँगेर बस्ने तरखर गर्दैथिए।
मान्छेको पहिलो जिम्मेवारी उसको परिवार हुन्छ। यस्तो विपद घडीमा आफ्नो परिवारलाई रुवाबासी र त्रासबीच छाडेर समाचारको पछाडि दौड्दा तपाईंलाई ग्लानी भयो कि भएन? यसमा परिवारको धारणा कस्तो रह्यो?
तत्कालीन अवस्थामा परिवारप्रति आफ्नो दायित्व पूरा गर्न नसक्दा ग्लानी हुनु स्वाभाविक हो। विपदको घडीमा पनि परिवारसँगै हुन सकिएन। आफ्नै परिवारलाई सान्त्वना दिनसमेत बञ्चित भइयो। तर मेरो परिवारलाई जस्तै पीडा अन्य सयौँ परिवारलाई परेको थियो। एउटा जिम्मेवारीमा रहेपछि घर परिवारभन्दा समाज ठूलो हुन्छजस्तो लाग्यो। परिवारको चाहना त विपदको बेला कहाँ गयो? के भयो भनेर चिन्ता बढेको थियो। सम्भव भएसम्म भूकम्पको पराकम्पलगत्तै घरमा टेलिफोन सम्पर्क गर्ने गरेँ।
पराकम्पन आउँदा घरमा केही भयो कि भन्ने सोच आउँथ्यो। आमा–बुबाको अपेक्षा घरमा सँगै भए हुन्थ्यो भन्ने हुन्थ्यो। मेरो बुबा शिक्षक भएका कारण पनि अलि कुरा बुझ्नु हुन्थ्यो। त्यसले पनि सहज वातावरण बन्यो। चुनौतीको सामना गर्नु हामी पत्रकारहरूलाई अवसर पनि हो भन्ने भावनाले जित्यो। प्रभावित क्षेत्रमा पुगेर त्यसको अवस्था, पीडितहरूको गुनासोलाई सञ्चारमाध्यममा समेट्न पाउँदा आनन्द मिल्थ्यो। जिम्मेवारी पूरा गरेको महसुस हुन्थ्यो। ग्लानीलाई त्यही आनन्द र जिम्मेवारीले जितेको थियो।
भुइँचालोपछिका केही दिनसम्मै सार्वजनिक सवारी आवागमन सहज थिएन। यस्तोबेला कसरी रिपोर्टिङमा जानुभयो?
अन्य सञ्चारकर्मी साथीहरूसँग मोटरसाइकलमा रिपोर्टिङमा हिँडियो। सडक अवरुद्ध भएको र सडक नपुगेको ठाउँमा हिँडेर रिपोर्टिङ गरियो।
चारैतिर समाचारै समाचार भएको अवस्थामा के लेख्ने भनेर प्राथमिकता कसरी दिनुभयो?
उद्दार र राहतलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरियो। मानिसको निधन भएको, घाइते भएको, घर, विद्यालय, स्वास्थ्य चौकी, ऐतिहासिक सम्पदा ढलेको बेला के पहिले के पछि लेख्ने भनेर अलमल भयो। अफिसमा सम्पर्क गरेर कसरी काम गर्ने, के विषय लेख्ने भनेर सल्लाह माग्ने काम हुन्थ्यो। पहिलो प्राथमिकता उद्दार पर्यो, त्यसपछि राहत र क्षति। दुर्गम भेगका भुइँचालो अतिप्रभावित क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गरेर त्यहाँको वास्तविक अवस्था जानकारी गराउने प्रयास गरियो। ठूलो विपदको अनुभव र तालिमसमेत नभएका कारण अलमल भने भएको थियो।
स्थानीयबासी शोकमा डुबेका बेला उनीहरूका घाउ कोट्याएर सूचना लिन गाह्रो भयो कि भएन? कसरी गर्नुभयो? विपद व्यवस्थापनमा खटिएका सेना, प्रहरी तथा सरकारी निकायबाट सूचना लिन गाह्रो भयो कि भएन?
पीडामा रहेका स्थानीयबासी कतिपय बेलामा हामीसँग बोल्न चाहन्थेनन्। पत्रकारलाई भनेर के हुन्छ र भन्ने धारणा आउँथ्यो। चार–पाँच दिनपछि घटनास्थलमा पुग्दा यति ढिला आउने भनेर गुनासो गर्थे। कतिपय स्थानमा भने स्थानीयबासीले नै आफ्नो पीरमर्का र समस्या राख्थे। पत्रकार आएपछि खुसी हुन्थे। आफ्नो ठाउँको वास्तविकतालाई उजागर गर्न अनुरोध गर्थें। सञ्चार असुविधाका कारण सेना, प्रहरी र सरकारी निकायबाट सूचना लिन मुश्किल भयो। उनीहरूको पनि कार्यव्यस्तता थियो। त्यसैले पनि समस्या भयो। अरुबेला भने सूचना संकलन सहजै बन्यो।
परिवारलाई हेर्दा काम छुट्ने वा काममा जाँदा परिवारको व्यवस्थापनमा समस्या आउने भयो कि भएन? परिवार तर्फबाट आउने गुनासा र अफिसबाट आउने दबाब कस्तो रह्यो? यसलाई कसरी व्यवस्थापन गर्नुभयो?
परिवार र कामलाई विपतको घडीमा सँगसँगै अघि बढाउन मुश्किल भयो। त्यतिबेला अफिसलाई पनि परिवारलाई पनि बढी समय दिनुपर्ने बाध्यता थियो। पत्रकारहरूलाई चुनौती नै अवसर मानिन्छ। कतिपय अवस्थामा घरको जिम्मेवारीबाट पन्छेजस्तो पनि देखियो। परिवारको व्यवस्थापनमा अवश्य पनि समस्या देखियो। परिवारलाई सबै अवस्था जानकारी गराएर मनाउने कोसिस भयो। पत्रकारिता अफिसका लागिमात्रै भन्दा पनि आफ्नो लागि पनि गर्ने पेशा हो। हामीले गरेको कामको अफिससँगै हामीले पनि व्यक्तिगत रुपमा जस पाइन्छ। त्यस्तो अवस्थामा अफिसको जिम्मेवारीबाट पछि हट्ने कुरा नै भएन। अफिसको समन्वयमा नै काम गरियो। अफिस तर्फबाट भन्दा पनि बढी मैले नै अफिससँग समन्वय र सरसल्लाह गरेर काम गरेँ। अफिसको दबाबभन्दा परिवारको दबाबलाई व्यवस्थापन गर्न बढी मुश्किल भयो।
धेरैले पढ्ने ठूलो घटनाको समाचार लेख्नु पत्रकारको निम्ति उपलब्धि हो, तर त्यो घटनाको पीडित आफैं भएको अवस्थामा समाचार लेख्दाको अनुभूति कस्तो हुँदो रहेछ?
ठूलो घटनाका पीडित र आफ्नो समस्या मिल्दोजुल्दो थियो। त्यतिबेला हरेक ठाउँमा पुग्दा आफ्नै परिवारमा पुगेजस्तो लाग्थ्यो। आफ्नै घर भत्किएको, आफन्त गुमाएको भान हुन्थ्यो। मैले सकेसम्म हरेक गाविस पुगेर समाचार लेख्ने योजना बनाएको थिएँ। आफ्नै गाविस र घर भत्किएका आफन्तलाई भेट्न महिना दिनपछि मात्रै पुगेको थिएँ। आफ्नोजस्तै अरु पीडितको अवस्था देख्दा कतिपय अवस्थामा भाबुक भइन्थ्यो। आफ्नै बारेमा समाचार लेखेजस्तो लाग्थ्यो।
यति ठूलो राष्ट्रिय विपद पर्दा तपाईंले व्यक्तिगत रूपमा आफ्नो संस्थाबाट सहयोग पाउनुभयो कि भएन?
म भूकम्पको केन्द्रबिन्दु बारपाक पुगेर रिर्पोटिङ गरें। कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले इपिसेन्टरमा पुग्ने पहिलो पत्रकार भनेर मेरो नाम आफ्नो लेखमा उल्लेख गर्नुभयो। त्यसले पनि मलाई सन्तुष्टि मिलेको थियो। मैले त्यतिबेलाको पीडा कम भएको महसुस गरेको थिएँ। भूकम्प प्रभावित क्षेत्रमा बसेर उत्कृष्ट रिपोर्टिङ गरेको भन्दै म आवद्ध संस्थाले मलाई यस वर्षको उत्कृष्ट अवार्डले पुरस्कृत गर्याे। यसपछि मेरो परिवारले समेत त्यतिबेला गरेको कामको मूल्याङ्कन भएको बुझ्ने मौका पायो।
अहिले तपाईंको परिवार कहाँ र कसरी बस्दैछ?
अहिले मेरो परिवार चर्किएकै घर मर्मत गरेर बस्दै आएको छ।
तपाईंको जिल्ला वा क्षेत्रका अन्य भूकम्प पीडितहरूको अवस्था कस्तो छ?
भूकम्प पीडितहरूको अवस्था अझै पनि नाजुक छ। अधिकांश भूकम्पपीडित अस्थायी टहरामुनि नै छन्। कतिपय अझै त्रिपालमा छन् भने केही घर बनेका छन्। केही भत्केकै घर मर्मत गरेर तत्कालका लागि बसेका छन्। हिउ“दको चिसो र हिमपातदेखि वर्षात्को हावाहुरी र झरी अस्थायी टहरोमा नै बिताउनुपर्ने अवस्था छ। राज्यले पुनःनिर्माणको प्रष्ट खाका नल्याउँदा अन्यौलता छ।
सरकारको पुनर्निर्माण वा राहत कार्यक्रम कस्तो रह्यो? जनताले सहज रूपमा राहत पाए कि पाएनन्?
सरकारको पुनर्निर्माणको काम प्रभावित क्षेत्रसम्म पुग्न सकेको छैन। पुनर्निर्माण तयारी भइरहेको छ अहिलेसम्म। राहत वितरण भयो। प्रायः पीडितले राहत पाए। तर राहतमा पहु“चवाला र टाठाबाठाको बढी हालीमुहाली रह्यो। दुर्गम भेगका मानिसले भने सहज रुपमा राहत पाउन सकेनन्। राहत लिनका लागि उनीहरूले राहत बराबरकै खर्च गरेर सुगम क्षेत्रसम्म आउनुपर्यो।