त्रैलोक्य मन्दिरको भग्नावशेषमाथि गणपतिलाल श्रेष्ठ। पृष्ठभूमिमा वसन्तपुर क्षेत्र। तस्विरहरूः चन्द्रशेखर कार्की
भुइँचालो गएको दुई–चार दिन मात्र भएको थियो, मैले पहिलोचोटि गणपतिलाल श्रेष्ठलाई देख्दा।
उनी नरदेवी, ताहननीमा खानेपानी बाँड्न आएका थिए।
मूलसडकमा ट्यांकर रोकेर गोलो बेरिएको रबरको पाइप फुकाउँदै भित्रीचोक ताहननी छिरेका उनी स्काउट पोसाकमा झट्ट हेर्दा प्रहरीझैं देखिन्थे। त्यसमाथि बारम्बार सिटी फुकेर सबैलाई पानी थाप्न डाकिरहेका थिए। फरासिलो कति भने, एक ट्यांकर पानी तुरिँदासम्म टोलभरिका युवा, बूढापाका, केटाकेटी सबैसँग गफिन भ्याए।
त्यही बेला मैले थाहा पाएँ, झोछेँदेखि वसन्तपुर हुँदै नरदेवीसम्म सायदै कोही रहेछ, जो गणपतिलाई चिन्दैन।
उनले यहाँ त्यस्तो व्यक्तिको छवि बनाएका रहेछन्, जो मर्दापर्दा उभिन तयार हुन्छन्। जो जात्रा–पर्वमा सारा जोर्जाम मिलाउँछन्। टोल सुधारमा अनवरत खट्छन्। विकृतिविरुद्ध भिड्छन्। र, जो वसन्तपुरलाई आत्मैदेखि माया गर्छन्।
‘भुइँचालोमा उसको आफ्नै घर भत्कियो, तैपनि अर्काको घर स्याहार्न कुदिरहन्छ,’ वसन्तपुरका राकेश महर्जनले गणपतिका बारेमा यसो भने, ‘टोलमा जात्रा परोस् वा विपत्ति, जसलाई जतिखेर जे सहयोग गर्न पनि तम्तयार रहन्छ।’
उनका अनुसार गणपति पहिल्यैदेखि सामाजिक काममा लागिरहन्थे। महिनाको दुई हजार कमाइ हुँदा पनि छ सयको चिम किनेर चोकमा झुन्ड्याउँथे। वसन्तपुरमा कन्सर्ट रोक्न उनी दस ठाउँ चहारे। दरबारक्षेत्रका मन्दिर प्रांगणमा केटा–केटीलाई जथाभाबी बस्न नदिन अभियानै छेडे।
भुइँचालोपछि त झनै व्यस्त भए। पुरिएका मान्छेको उद्धार गर्दै हिँडे। घाइतेलाई अस्पताल पुर्याए। टोल–टोलमा खानेपानी बाँडे। धराप घरहरूबाट सामान झिक्न हात बढाए। वसन्तपुर क्षेत्रको सरसफाइमा रातारात हजारौं युवा परिचालन गरे। अहिले पनि काष्ठमण्डप र अरू मन्दिरलाई पुरानै शैलीमा बनाउनुपर्छ भन्ने अभियानमा लागेका छन्।
यी सबै काम झोछेँका २७ वर्षीय गणपतिले एक्लै गरेका पक्कै होइनन्, तर वैशाख १२ यताको उनको अनवरत खटनलाई कसैले कम आँक्न पनि सक्दैन।
‘वसन्तपुर मेरो जन्मभूमि मात्र होइन, कर्मभूमि पनि हो,’ भुइँचालो आएको लगभग वर्षदिन पुग्नै आँट्दा हालैको एक साँझ वसन्तपुरकै गल्लीमा आफ्नो अनुभव बाँड्दै गणपतिले भने, ‘म एक्लैले गरेको होइन, सयौं सहयोगी हातहरू अघि सरे, बाटो बन्दै गयो।’
***
वैशाख १२ मा वसन्तपुर
वसन्तपुर डबलीमा गणपतिलाल। पृष्ठभूमिमा भत्किएको नौतले दरबार।
त्यस दिन काष्ठमण्डपमा रक्तदान चलिरहेको थियो। गणपति पनि जान चाहन्थे। त्यही बेला क्षेत्रपाटीमा ‘जीवित देवी’ कुमारीसम्बन्धी कार्यक्रममा व्यस्त भए। त्यो सकेर काष्ठमण्डप जाने तर्खर मात्र के गर्दै थिए, एकाएक मौसम फेरियो।
चराहरू चिरचिर, चुरचुर गर्दै कोलाहल मच्चाउन थाले। कुकुरहरू ह्वाउँ, ह्वाउँ गर्दै बेसुरमा भुक्न थाले। सडक छेउछाउका बिजुली तार करेन्टै उछिट्टिएलाझैं तान्द्राङ–तुन्द्रुङ झुल्न थाले। घरहरू डङडङडङ हल्लिन थाले। भुइँ थरथर थरथर काम्न थाले।
गणपति सिटी फुक्दै कार्यक्रम हलबाट बाहिर निस्के। मान्छेको रुवाबासी सुरु भइसकेको थियो। उनी सबैलाई ‘सुरक्षित ठाउँमा जानू’ भनेर कराउन थाले। कतिलाई त हातै समातेर घरको कमाउन्डबाहिर ताने। हेर्दाहेर्दै क्षेत्रपाटी पार्टी प्यालेस छेउका तीन–चार घर गल्र्याम्मगुर्लुम ढले। चारैतिर धुलैधुलो भयो। अगाडि बढ्नै सकेनन्। उनी पार्टी प्यालेसभित्रै छिरे। एकेन्द्र महर्जन भन्ने एक जना साथीको बाइक रहेछ। त्यसैमा नरदेवी हुँदै वसन्तपुर हानिए।
वसन्तपुर धुलोले कुइरीमण्डल थियो। मान्छे हापझाप गर्दै दौडिरहेका थिए। चप्पल अड्किएको एउटा गोडा काष्ठमण्डप भग्नावशेषबाट तुन्द्रुङ्ग बाहिर झुन्डिएको थियो। ज्यान भने इँटा र माटोको थुप्रोमुनि पुरिएकाले सास चल्दैछ कि गइसक्यो थाहा थिएन। लक्ष्मीनारायण मन्दिरमा काठ, इँटा र जस्ताको रासमुनि धुलोमा लुट्पुटिएको एउटा निख्खर गोरो हात देखिन्थ्यो, जसका पाँच औंला अझै चल्मलिँदै थिए। एक निमेषअघि मात्र माजुदेगः मन्दिरमा फलेकको थुप्रोबाट बाहिर तान्दा चल्मलाइरहेको एउटा तन्नेरी ज्यान हेर्दाहेर्दै निष्प्राण भएको थियो। कृष्ण मन्दिरसामु दसौं जना रगतपच्छे घाइते आँखा पिर्लिकपिर्लिक पार्दै हल न चल सहयोगको याचना गरिरहेका थिए।
विध्वंसपछिको शून्यता पनि विचित्रकै हुँदो रहेछ! उहाँ भने चित्कारको हुन्डरी छाएको छ, तर कानसम्म आइपुग्दा सुस्तरी बतास चलेझैं हुन्छ! उहाँ भने मान्छेको अफरातफरी मच्चिएको छ, तर आँखासामुन्ने दृश्य छमहिने बालखाझैं बामे सर्छ! उहाँ भने चारैतिर कोकोहोलो छ, तर कसैले कानमा साउती मारेझैं फुस्फुसाएको आवाज पो सुनिन्छ!
‘तपाईंले कहिल्यै काललाई देख्नुभएको छ?’ वर्ष दिनअघिको कहालीलाग्दो वसन्तपुर सम्झनाले कक्रक्क सुकेका ओठ जिब्रोले लपक्क भिजाउँदै थर्थराउँदो लबजमा गणपतिले सोधे।
म नाजवाफ थिएँ।
‘त्यो कालै त थियो, भुइँचालोको रूपमा आएको,’ लामो सुस्केरा हाल्दै भने, ‘म वसन्तपुर पुग्दा त्यहाँ चारैतिर काल मडारिएको थियो।’
‘मेरो त दिमागै सुन्न भो। वरिपरि सबै कराइरहेका थिए, चिच्याइरहेका थिए, तर म आवाजै प्रस्ट सुनिरहेको थिइनँ। खाली एकोहोरो हात हल्लाइरहेको, ओठ चलाइरहेको मान्छे मात्र देखिरहेको थिएँ, त्यो पनि धमिलो। पानीमा हेरेजस्तो, थर्थर हल्लिरहेको। आवाज पनि कस्तो सुन्दै थिएँ भने, मन्दिरको घन्टी बज्छ नि, हो त्यस्तै, टुङ टुङ टुङ टुङ।’
अत्यासले होला, उनी घरि माथिल्लो लहर दाँतले तल्लो ओठ टोक्थे, घरि तल्लो लहर दाँतले माथिल्लो ओठ। घरि देब्रे हत्केलाले दुवै आँखा बेस्कन मिच्थे। र, त्यही हत्केलालाई दुवै गाला निचोर्दै च्युँडोसम्म ल्याउँथे।
‘मेरो त खुट्टा नै लगलग लगलग कामे। म त उभिनै सक्दिनँ कि जस्तो पो भो, अहिले भर्खरै भुइँमा डङ्रङ्ग पछारिन्छु कि जस्तो डर लाग्यो। किताबमा मृत्यु–सन्नाटा भनेर लेखिएको हुन्छ नि, त्यसैलाई भन्छन् सायद !’
एकछिन चुप्प लागे। खालि दाहिने हातका चोर र बूढी औंंलाले ओठका दुई काप खेलाइरहे। अलि बेरमा गला सफा गरे। र, भने, ‘मैले आफ्नो घर सम्झेँ। मेरो घर पनि ९० सालभन्दा पुरानो हो। त्यो बेलाको भुइँचालोमा धरी केही नभएको। तर, दरबारै ढलेको देखेपछि मलाई आफ्नो घर पनि बचेन भन्ने लाग्यो। घरमा ठूल्दाइका साना केटाकेटी थिए। उनीहरूलाई सम्झेर मन एकदमै अधीर भयो। हान्निएर झोछेँ पुगेँ।’
वसन्तपुरस्थित काष्ठमण्डप, माजुदेगः त्रैलोक्य मन्दिर लगायत सम्पदाको भग्नावशेषबाट झिकिएका सामग्री।
उनी पुग्दा घर आधा लडिसकेको थियो। धन्न परिवारका सबै बाहिर निस्कन भ्याएछन्। बहिनी त बेहोसै भइछन्।
विपतमा मान्छेलाई सबभन्दा बढी चिन्ता आफ्नो र आफ्नाकै हुन्छ। परिवारलाई सकुशल र सुरक्षित देखेपछि बल्ल उसको डगमगाएको चेत फिर्छ। गणपतिलाई त्यस्तै भयो। उनी सरासर ढल्न लागेको घरभित्र छिरे। रेडक्रसको झन्डा र उद्धारमा प्रयोग हुने सामग्री बाहिर ओसारे। आफूजस्तै विपत व्यवस्थापन तालिम लिएका साथीहरू जम्मा गरे। वडा कार्यालयमा राखिएका विपत व्यवस्थापन सर्जाम ताल्चा फोडेर निकाले। र, सबैलाई साथ लिएर वसन्तपुरतिर बढे।
‘हाम्रा तिनटा उद्देश्य थिए– पुरिएका घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने, लासहरू झिक्ने र त्यहाँका पुरातात्विक सामग्री सुरक्षित तह लगाउने,’ उनले भने, ‘हामीलाई जनशक्तिको कमी थियो।’
उनले देखे, वसन्तपुरमा जति घाइते थिए, त्योभन्दा बढी हुल थियो फोटो खिच्नेको। चोट नलागेका तर डरले कालोनीलो भएर अलपत्र भौंतारिरहेका झन् बढी थिए। ती सबैलाई काममा लगाउन सके, विपतको पहाड छिट्टै नाघ्न सकिन्छ भन्ने उनलाई लाग्यो। उनले सिटी बजाउँदै सबैलाई एकत्रित पारे। र, भने, ‘यो विपतको घडीमा हामीले यहाँ रमिता हेर्ने, फोटो खिचेर बस्ने होइन। डराएर चुपचाप हाँत बाँध्ने बेला पनि अब छैन। यो एकअर्कालाई सहयोग गर्ने बेला हो। हामी सबै मिल्यौं भने कम्तीमा आज यहाँबाट एक जनाको भए पनि ज्यान बचाउन सकिएला।’
गणपतिको बोलीमा के सम्मोहन थियो कुन्नि, छिनभरमै दसौं युवा वसन्तपुर क्षेत्रको भग्नावशेष पन्छाउन अघि सरे।
हेर्दाहेर्दै दसौं जोडी हात सयौं जोडीमा बदलिए।
र, सयौं जोडी हात बदलिए, हजारौंमा।
यही स्थिति धरहरा, स्वयम्भु, बौद्ध, पाटन, भक्तपुर लगायत सबै ठाउँको थियो। त्यहाँ युवाहरू जम्मा भएका थिए। बूढाबूढी आएका थिए। पर्यटक थिए। काठमाडौंभित्रका थिए। काठमाडौंबाहिरका थिए। पहाडका थिए। मधेसका थिए।
त्यो यस्तो घडी थियो, जब भुइँचालोका लगातार परकम्पनले पनि स्वस्फुर्त उद्धारमा जुटेका स्वयंसेवी हातहरूलाई कमाउन सकेको थिएन। आँखाको एक झिमिकमै हजारौं दाहिने र देब्रे हात आपसमा खप्टिएर यस्तरी हातेमालो गर्दै थिए, मानौं ती नङ र मासु हुन् जसको नियति नै एकअर्कासँग जोडिनुमा छ।
वसन्तपुर क्षेत्रमा त मिलिक्कै स्वयंसेवीहरूको तीन–चार लहर बनेको थियो। तीमध्ये कोही बाटो खोल्न थाले। कोही भग्नावशेषमा पुरिएका मान्छे झिक्न अघि सरे। कोही घाइतेलाई एम्बुलेन्ससम्म दौडाउन थाले। कोही पिउने पानी ओसार्न खटिए। कोही भग्नावशेषका इँटा, ढुंगा र काठ तह लगाउँदै थिए। कतिलाई भत्किएका घरबाट सामान झिक्न पनि प्रयोग गरियो। यी सबैको भगीरथ प्रयासकै फल हो, भग्नावशेषको पहाड हटाएर काष्ठमण्डप छिर्ने बाटो खोल्न र सरसफाइ गर्न एक साता पनि लागेन।
गणपति भन्दै थिए, माजुदेगः मन्दिरको भग्नावशेषमा एउटा मान्छेको खुट्टा चल्मलाइरहेको थियो। उनलाई बाहिर झिके पनि बचाउन भने सकिएन। टाउकोमा नराम्रो चोट लागेको रहेछ।
उता, २३ नम्बर वडा कार्यालयसँगै पुरानो घर ढलेर दुई जनाको मृत्यु भएको थियो। तलतल माटो र इँटाको गारो लगाइएको त्यो घरमा माथिल्लो तला भने ढलान गरिएको रहेछ। भुइँचालोमा यस्ता घर नै बढी जोखिमपूर्ण हुन्छन्। एक जना ६० वर्ष हाराहारीकी बूढी आमै त्यहाँ भित्रै अड्किएकी थिइन्। उनी कस्तो स्थितिमा थिइन् भने, खुट्टा दराजले थिचेको थियो, त्यही दराजले घरको ढलान खस्नबाट पनि रोकेको थियो। दराज नहटाई ढलान पन्छाउन सकिन्थेन, हटाउँदा ढलान गल्र्याम्मै बूढी आमैमाथि खस्न सक्थ्यो। प्रहरीले माथिबाट ढलान फोडेर, इँटा–छड पन्छाउँदै झन्डै १२ घन्टा लगाएर उद्धार गरे। बाहिर निस्कँदासम्म उनको खुट्टा लाटो भइसकेको थियो। यसबीच स्वयंसेवीहरूले ती आमैलाई सास फेर्न सुविस्ता होस् भनी प्वालबाट अक्सिजन पाइप पठाइदिएका थिए। उनको भोक–तिर्खा विचार गरेर जुस, चाउचाउ र पानी पनि छिराइदिएका थिए।
नरदेवी आयुर्वेद अस्पतालनिर यसैगरी दुई तलामाथि अड्किएका ९ वर्षीय बच्चा उद्धार गरेको पनि गणपति सम्झन्छन्। ती बच्चालाई घरको जस्ताले थिचेको थियो। उद्धारमा ढिलाइ भएको भए जस्ताले नराम्ररी काट्न सक्थ्यो।
त्यस दिन गम्भीर प्रकृतिका १९ जना घाइतेलाई अस्पताल पुर्याएको र १३ जनाको शव आफ्नै हातले भग्नावशेषबाट झिकेको गणपतिलाई सम्झना छ। ‘वसन्तपुर क्षेत्रबाटै सबै टोलीले सय जनाभन्दा बढीको शव झिके होलान्, घाइते त कति कति, गनिसाध्य छैन,’ उनले भने।
घाइतेको उद्धार र उपचारसँगै वसन्तपुर क्षेत्रमा छरिएका पुरातात्विक सामग्रीको जतनमा पनि युवाटोली पहरेदार बनेर खटेको थियो। चौकिदारी क्रममा पहिलो दिन नै पुरानो घन्टी लैजान खोज्ने एक विदेशी पक्राउ परेका थिए। ती विदेशीले घन्टी झोलामा हालेको थाहा पाउनेबित्तिकै गणपतिले झोला हेर्न मागे। उनले आफैं घन्टी दिएर माफी माग्दै कान समाते। यस्तो घटना नदोहोरिउन् भनेर दोस्रो दिनबाटै मन्दिरका अमूल्य सामग्री सैनिक ब्यारेकमा तह लगाउन थालियो। ती सामान छ्यासमिस भएकाले मन्दिरअनुसार छुट्ट्याउने काम जारी छ।
‘सरकारले महिनौं लगाएर गर्नुपर्ने काम देशभरिका युवाको जोडबलले केही सातामै पूरा भयो। कोही नआएका भए हामी स्थानीय मात्र कति दिन खट्न सक्थ्यौं!’ उनले भने।
वसन्तपुरको स्थिति सामान्य हुँदै गएपछि त्यहाँ खटिएका स्वयंसेवक सुन्धारा, स्वयम्भू, बौद्ध, चाँगुनारायण र बाहिरी जिल्लामा समेत परिचालित भएका थिए। नुवाकोटको कल्याणपुरमा छ गाडी राहत सामग्री लैजाँदाको घटना गणपतिका लागि नमीठो सम्झना बनेको छ।
त्रिशूली बजारभन्दा अलि माथि पुग्दा एक हुलले उनीहरूको बाटो रोकेको थियो। ‘राहतका सामान यहीँ छाडेर जानुस्,’ उनीहरूले भने, ‘हामी आफैं बाँड्छौं।’
‘यो माथि दुर्गम गाउँका लागि हो, यसरी छाड्न मिल्दैन,’ गणपतिले जवाफ दिए।
उनीहरू मान्दै मानेनन्। झगडै पर्लाजस्तो स्थिति आयो।
भुइँचालोले लच्किएको हनुमानढोका दरबारमा लगाएको टेको।
प्रायः शान्त रहने गणपति आक्रोशित भए, ‘यो नेपाल सरकारले पठाएको राहत होइन। तपाईंहरूजस्तै नागरिकले पठाएको हो, माथि गाउँका जनतालाई। बरु तपाईंहरूलाई पनि खाँचो छ भने भन्नुस्, हामी खबर पठाइदिउँला।’
यति भन्दा पनि उनीहरू नमानेपछि सबैले साँचोको झुत्तै जिम्मा लगाइदिए, ‘ल उसो भए सबै गाडी लुट्नुस्।’
तनाव बढ्दै गएपछि स्थानीय बूढापाका सम्झाउन आए।
बल्लतल्ल बाटो खुल्यो।
यो घटनापछि गणपति र उनका साथीहरू राहत वितरणमा कहिल्यै लागेनन्। बरु उद्धारमै केन्द्रित रहे।
भुइँचालोपछि उपत्यकाभरि नै स्वयंसेवाको जुन अभूतपूर्व अभियान सुरु भयो, त्यसको सबभन्दा ठूलो विशेषता के भने, ती अभियान सबै व्यक्तिगत तहमा सञ्चालित थिए। घर–घरबाट सहयोगी हातहरू अघि सरेका थिए। यो क्रम दैनिक बढ्दो थियो। केही संघ–संस्था आफ्नो नामको ब्यानर बोकेर नआएका होइनन्। वसन्तपुरको हकमा त्यस्ता कुनै संस्थाको ब्यानर प्रयोग गर्न नदिएको गणपति बताउँछन्।
उनले सम्झे, एउटा गैर–सरकारी संस्था वसन्तपुरमा ब्यानर टाँगेर स्वयंसेवकहरूको नाम टिप्दै थियो। त्यहाँका स्वयंसेवकलाई धादिङ लगायत अन्य प्रभावित जिल्लामा परिचालन गर्ने उक्त संस्थाको मनसाय रहेछ।
गणपतिले भने, ‘तपाईं यसरी आफ्नो संस्थाको नाम नराख्नुस् न प्लिज।’
‘हामीले अनुमति लिएका छौं,’ संस्थाका प्रतिनिधिले सरकारी चिठी देखाए, ‘रोक्ने तपाईं को?’
‘तपाईंहरूले गर्न खोजेको ठिक हो, म आफैं सहयोग गरुँला तर यो ब्यानरचैं हटाउनुस्,’ गणपतिले जवाफ दिए, ‘म को हुँ भनेर सोध्नुभयो, म यहीँको मान्छे हुँ, यो मेरो ठाउँ हो।’
उनीहरूले फेरि पनि सरकारी अनुमतिकै कुरा झिके।
गणपतिले त्यहाँ खटिएका सेना, प्रहरी, नगरपालिका प्रतिनिधि सबैलाई उनीहरूसँग कुरा गराए। सबैले गणपतिकै पक्ष लिए।
‘बरु तपाईंहरू पनि नाम टिप्दै, फोटो खिच्दै बस्नुको साटो काममा हात बढाउनुस्, तपाईंहरूलाई मान्छे जुटाइदिने जिम्मा मेरो भो,’ उनले भने।
एक दर्जनजति सामाजिक संघ–संस्थामा आबद्ध गणपति आफैंले पनि भुइँचालो उद्धार क्रममा कुनै संस्थाको नाम जोडेनन्। उनी कहिले रेडक्रसको झन्डा बोक्थे, कहिले स्काउट पहिरन लगाउँथे, त्यत्ति हो। अहिले पनि आफ्नो नामसँग कुनै संस्थाको परिचय जोड्न उनी तयार छैनन्।
‘तपाईंलाई म कुन संस्थाको के भनुँ?’ मैले सोधेको थिएँ।
उनको जवाफ थियो, ‘म स्वतन्त्र नागरिक हुँ। मलाई समाजसेवा गर्न कुनै संस्थाको परिचयसँग जोडिनुपरेको छैन। त्यसैले, मलाई गणपतिलाल श्रेष्ठ मात्र भन्नुस्।’
***
काष्ठमण्डप भग्नावशेषमा महानगरपालिकाका कर्मचारीसँग।
वसन्तपुरमा ‘होमस्टे’ सपना
मरु गणेशस्थान दर्शन गरेर लड्डु–पेडा चढाउने र बाहिर लश्कर पाल्चामा इता राखेर तेल थप्दै बत्ती बाल्नेहरूको बाक्लो घुइँचो छ। गणेशस्थानकै आँगनमा हरेक साँझ मौसमी हरियोपरियो तरकारी बेच्ने बिक्रेता उपभोक्ता छोप्न उछिनपाछिन गरिरहेकै छन्।
थरिथरिका सुकेका माछा बेच्ने पुरानो पुस्तैनी पसल धानिरहेकी हजुरआमैकहाँ हरेक दिनजसो ग्राहकको मेला लागेकै छ। अलि पर कुमारी घरकै दाहिने मोहडामा लगभग २० वर्षदेखि ताजा केक र पाउरोटी बेच्दै आएकी दिदीलाई दिनैभरि फुर्सतमा देखिन्न।
पातको टपरीभरि पिरो झोलमा डुबेको तात्तातो ममः मुखमा हालेर स्वाँस्वाँ गर्न पाइने वसन्तपुरको स्वादमा एक रौं तलबितल भएको छैन। त्रैलोक्य मन्दिरको डिलमा स्टोभ बालेर ठूलो कित्लीमा भक्भक्ती चिया उमालिरहेका पौरखी दाजु–दिदीहरूकहाँ बाफिलो चियाको सुरुप लिन जोडीहरू झुम्मिएकै छन्। कोइलामाथि मासुको तान्द्रा झुन्ड्याएर सेकुवा पोल्ने पसलछेउ मोटरसाइकलको ताँती लागेकै छ।
विध्वंसपछिको चहलपहल पनि विचित्रकै हुँदो रहेछ! उहाँ भने वसन्तपुर जागा छ सधैंझैं, तर वरिपरिका भग्नावशेष हेर्दा तन्द्रामै देखिन्छ! उहाँ भने वसन्तपुरको आत्मा पुरानो रौनकमै फिरिसक्यो, तर शरीरमा वर्षदिनअघि लागेको चोट चहराइरहेकै छ! उहाँ भने वसन्तपुरमा आश्रितहरूको जीवनचर्याले गति समातिसक्यो, तर वसन्तपुर आफैं आश्रयको पर्खाइमै पो छ!
वर्ष दिनअघिको कहालीलाग्दो वसन्तपुर सम्झँदा गणपतिलाई आज जति अत्यास लाग्छ, त्योभन्दा बढी उदेक लाग्छ पुनर्निर्माणको कछुवा गति देख्दा।
पुनर्निर्माणका नाममा वसन्तपुर सम्पदा निजी ठेकेदारलाई जिम्मा लगाउने सरकारी योजनासँग उनी सहमत छैनन्। निजी ठेकेदारको भर पर्नासाथ नाफा–नोक्सानको कुरा उठ्ने र गुणस्तर तलमाथि हुनसक्ने उनको आशंका छ। बरु स्थानीय उपभोक्ता समिति बनाएर सरकारले नै पुनर्निर्माणको जिम्मेदारी उठाउनुपर्ने उनी बताउँछन्।
यहाँका धेरै स्थानीयको राय यस्तै छ। यसअघि काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी छलफलमा सिमेन्ट, फलाम, स्टिल, फाइबर प्रयोग गर्ने प्रस्ताव ल्याइएको थियो। त्यसमा पुराना सामग्रीको प्रयोगबारे कुनै योजना थिएन। स्थानीयले उक्त प्रस्ताव मानेन्।
छलफल क्रममा एक अधिकारीले भनेका थिए, ‘मान्छे मार्ने खालको सम्पदा बनाउन दिनु हुँदैन?’
गणपतिको जवाफ थियो, ‘उसो भए काठमाडौंको भित्री एरिया सबै डोजर लगाएर भत्काइदिनुस्, भुइँचालोमा केही नभएका मन्दिर पनि सबै भत्काइदिनुस्।’
‘यी मन्दिरले सयौं वर्षदेखि कति भुइँचाला झेले ! यसपालि ढल्नुमा यसको संरचनाको मात्र कमजोरी हो कि यहाँ सवारी चाप बढेर हो कि वा सरकारले मर्मतसम्भारमा ध्यान नदिनुले हो?’ उनले प्रश्न गरे, ‘सबै आधुनिक सामग्री प्रयोग गरेर बिल्कुलै नयाँ संरचना बनाउँदा यो ठाउँ विश्व सम्पदा सूचीमा बस्न योग्य रहला?’
स्थानीयका दुई माग छन्– पहिलो, सरकारले नै जिम्मा लिएर सकेसम्म पुरानै सामग्री प्रयोग गरी मौलिक शैलीमा बनाउनुपर्यो। दोस्रो, निजी ठेक्दा दिने भए त्यसको ढाँचा र कुन सामग्री कस्तो गुणस्तरको प्रयोग गर्ने भनी सरकारले स्थानीय संलग्नतामा निक्र्यौल गर्नुपर्यो।
‘वसन्तपुरसँग हाम्रो आत्मा जोडिएको छ,’ गणपतिले भने, ‘हामी आफ्नो आत्मासँग खेलाञ्ची हुन दिँदैनौं।’
उनको वसन्तपुर पुनर्निर्माण योजना यतिमै सीमित छैन। अचेल उनी नयाँ सपना देख्न थालेका छन्– विश्व सम्पदा सूचीको वसन्तपुर क्षेत्रका घर–घरमा होमस्टे चलाउने, पर्यटकलाई पाहुना बनाएर राख्ने, उनीहरूलाई नेवार जात्रा, झाँकी, चाडपर्व, भेषभूषा र खानेकुराको स्वाद चखाउने।
‘काठमाडौंमा पर्यटनको सुरुआतै वसन्तपुरबाट भएको हो। पहिले होटल नखुल्दा होमस्टेकै चलन थियो रे। पर्यटकहरू स्थानीयका घरमा पाहुना बनेर बस्थे रे। त्यसलाई फेरि ब्युँताउन सकिन्छ।’
‘कल्पना गर्नुस् त, वसन्तपुरका जम्मै घर र मन्दिर भूकम्प प्रतिरोधक छन्। घर–घरमा देश–विदेशबाट आएका पर्यटक पाहुना लागेका छन्। उनीहरू कोही छतमा घाम ताप्दै त कोही झ्यालबाट आधा जीउ बाहिर निकालेर वसन्तपुरको साँस्कृतिक स्वाद लिइरहेका छन्। काष्ठमण्डप चोकमा थरिथरिका नेवारी झाँकी र जात्रा चल्दैछ। लाखे नाच हुँदैछ। जीवित देवी कुमारी झ्यालमा आएर सबैलाई दर्शन दिँदै हुनुहुन्छ। नेवारी खानाको बासनाले वसन्तपुर मगमगाएको छ। युवायुवती वसन्तपुरको रंगमा रंगिएका छन्।’
यसो भन्दा उनका तेजिला आँखा चम्केको प्रस्टै देखिन्थ्यो। घरिघरि ओठमा मन्द मुस्कान लहराउँथ्यो।
‘मौलिक संस्कृति नै हाम्रो सम्पत्ति हो। यसको सदुपयोगले मात्र यहाँको स्वरोजगार सम्भव छ। हामीले पुरानो सभ्यता र संस्कृति जीवित राख्दै वसन्तपुरको पर्यटनलाई आधुनिक ढंगले अघि बढाउनुपर्छ। म हिजोआज यही योजनामा लागेको छु, हेरौं कति सफल भइन्छ।’
वसन्तपुरको यो ‘होमस्टे’ सपना पूरा गर्न उनले यहाँ सवारी आवागमन नियन्त्रण र हनुमानढोका प्रहरी परिसरलाई स्थायी रूपमा अन्यत्र सार्ने प्रस्ताव गरिसकेका छन्। पहिलेको अवस्थामा यी दुवै सहज थिएनन्। भुइँचालोपछि भने वसन्तपुर क्षेत्रमा सवारी नियन्त्रित नै छ। प्रहरी कार्यालय पनि टेकु सरिसक्यो। त्यसलाई उतै वा अन्यत्र कतै लैजान सकिन्छ। त्यसो भइदियो भने प्रहरी परिसर भवन पुनर्निर्माण गरेर ‘भुइँचालो संग्रहालय’ का रूपमा विकास गर्न सकिने गणपति बताउँछन्।
‘मन्दिरका कतिपय टुँडाल, मूर्ति, काठ काम नलाग्ने भएका छन्। ती सबै संकलन गरेर भुइँचालो संग्रहालयमा सुरक्षित राख्न सकिन्छ,’ उनले भने।
सम्पदा पुनर्निर्माणसँगै भुइँचालोपछि टेका लगाएर राखिएका पुराना घरलाई भूकम्प प्रतिरोधक बनाउनुपर्ने खाँचो उत्तिकै छ। काठमाडौंको भित्री बजारमा रहेका पुराना घर पनि यहाँको सम्पदा भएकाले बाहिरी स्वरुप नबिग्रने गरी पुनर्निर्माण गर्नुपर्ने गणपति बताउँछन्। ‘दरबार क्षेत्र नै छेकिने गरी बनाइएका अग्ला घरलाई महानगरपालिकाको नियमअन्तर्गत ल्याउने सही बेला यही हो,’ उनले भने, ‘अरू बेला चाहेर पनि काम हुन सकेको थिएन। अब त भुइँचालोको जोखिम हेरेर महानगरपालिकाले अग्ला घरहरूलाई नियमभित्र ल्याउनैपर्ने भएको छ।’
‘यी सबै कामका लागि स्थानीय स्तरमा जुट्न हामी तयार छौं, तर सरकारले पनि अभिभावकको भूमिका त निर्वाह गर्नुपर्यो नि,’ उनले भने।
चौबीसै घन्टा समाजसेवामा भिडिरहने र जहाँ जे पर्दा पनि दौडिरहने वसन्तपुरका यी अभिन्नलाई मैले सोधेको थिएँ, ‘तपाईंको घर चाहिँ कसरी चल्छ?’
‘मेरो जागिर छ नि,’ उनले हाँस्दै भने, ‘म नेवा न्हुगः बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्छु। मेरो अलिअलि खर्च त त्यहीँबाट चलिहाल्छ।’ झन्डै एक वर्षदेखि वसन्तपुर वरपरका १०–११ जना युवा जम्मा गरेर डिपार्टमेन्ट स्टोर पनि खोलेका छन्, जसलाई उनी व्यापारभन्दा ‘समाजसेवामा लाग्ने बाटो’ भन्नै रुचाउँछन्।
र, सबभन्दा ठूलो कुरा, समाजसेवा गणपतिको रगतमै छ।
उनका बुवा चैतन्यलाल श्रेष्ठलाई आज पनि यहाँका स्थानीय ‘सामाजिक सेवामा प्रतिबद्ध’ व्यक्तिका रूपमा सम्झन्छन्। पेसाले आयुर्वेदिक वैद्य उनले झन्डै १० वर्ष लगाएर नेपालको पदयात्रा गरेका थिए। गोरखामा स्कुल खोलेका थिए। बेवारिसे शव अन्त्येष्टि गराउन वसन्तपुरको जग्गा नै बेचेर दान दिएका थिए। उनको निधन हुँदा गणपति १२ वर्ष मात्र थिए। उनको सामाजिक कर्मले यति गहिरो छाप छाड्यो, आजपर्यन्त बुवाकै बाटो पछ्याइरहेका छन्।
गणपतिलाई सुरुसुरुमा आफ्नो नामै मन पर्थेन रे। पछि थाहा पाए, मंगलबार जन्मेकाले मात्र उनको यो नामकरण भएको होइन रहेछ। कान्छा छोरा ‘गणको पति होस्’ भन्ने बुवाको मनसाय रहेछ।
अचेल उनलाई आफ्नो नाम प्यारो लाग्छ। भन्छन्, ‘म बुवाले राख्नुभएको नाउँ सार्थक बनाउन खोज्दैछु।’
...
गणपतिलाल श्रेष्ठसँग मेरो पछिल्लो भेट चैत २९ गते सोमबार भयो।
उनी आउँदो वैशाख १२ गते वसन्तपुरमा गरिने कार्यक्रमका लागि महानगरपालिकाका दुई कर्मचारीसहित भत्किएका मन्दिर घुम्दै थिए।
त्यस दिन दीप प्रज्वलन, फोटो प्रदर्शनी, कला प्रदर्शनी लगायत त हुन्छन् नै, भुइँचालो गएको एक वर्ष बित्दा पनि पुनर्निर्माण सुरु नगरिएकोमा सरकारलाई घच्घच्याउने कार्यक्रम पनि छ। सकभर त्यसै दिन काष्ठमण्डप लगायत वसन्तपुर क्षेत्र पुनर्निर्माणको थालनी होस् भन्ने गणपति चाहन्छन्।
त्यस दिन वसन्तपुरमा भत्केका देगललाई शान्त आकाशको नीलो रङ दिइनेछ। चारमुखी पाल्चाबाट प्रत्येक देगलमा दियो बालिनेछ। र, वसन्तपुरमा सबैले देख्ने गरी दुइटा घडी राखिनेछ– एउटा ११ बजेर ५६ मिनेटमै रोकिएको हुनेछ, अर्को अहिलेको समयअनुसार टिकटिक कुद्नेछ।