म केन्द्रीय कारागार भद्रगोल जेलको चौकीदार हुँ। २०७० सालतिर होला, एक साँझ भुइँचालो गएको थियो। कुन दिन त हो मैले बिर्सेँ। म त्यो बेला पनि जेलमै थिएँ। हाम्रो ब्लकको गल्लीमा टहलिरहँदा आएको थियो। म यसो छेलिएर उभिएँ।
भद्रगोल जेल सबैभन्दा पुरानो जेल हो रे भन्छन्। हुन पनि हिँड्दासमेत हल्लिने ब्लकहरू थिए यहाँ। यस्तो चर्किएको ठाउँमा भूकम्प आयो भने के होला? बेला–बेला हामी तर्सिरहन्थ्यौँ। टिभीमा भूकम्पका बारे जानकारीमूलक समाचार या कार्यक्रम हेरेपछि भूकम्प आयो भने यहाँ के होला भन्ने भइहाल्थ्यो। त्यसपछि त मन भूकम्पै आएजसरी काम्थ्यो।
यस्तो पुरानो र चर्किएको भवनहरूमा हामी बस्नुपर्छ। कहिलेकाहीँ सबै एकठाउँ जम्मा पारेर भूकम्प आयो भने के गर्ने, कसरी बच्ने कसरी हिँड्ने भनेर छलफल गर्ने गथ्र्यौं।
जेलको मेसमा बिहान ९ बजेदेखि खाना खाने समय हुन्छ। वैशाख १२ गते खाना खाएर म आफ्नै रुममा थिएँ। जेलको भित्री गेटसँगैको ब्लकमा मेरो रुम छ। जेलभित्र छिर्ने ढोकाहरु निकै कडा हुन्छन्, कैदीबन्दी नभागुन् भनेर बनाइएका। भर्खरै म खाना खाएर माथि उक्लिएको थिएँ। भुइँचालो आइहाल्यो।
म जुरुक्क उठेँ। भुइँचालो त झन्–झन् बढिरहेको थियो। म भागेँ। भाग्दैगर्दा देखिरहेको थिएँ, बरान्डाका भित्तामा र भर्याङमा साथीहरू जे भेटिएको छ त्यहीँ समातेर बसेका थिए।
सबै ब्लकहरू जाने बाटैमा अगाडिपट्टि मन्दिर छ। त्यसको आडैमा एउटा धारा छ। बस्ने ठाउँ पनि छ। म त्यहाँ आएर उभिन खोजेँ। यतिमा करिब दस–बीस सेकेन्ड लागेको थियो होला। उभिन खोज्दा त जमिनले मेरो खुट्टा हुत्याइदियो। म फेरि भागेँ। जेलका साथीहरू सबै चिच्याउँदै भागिरहेका थिए कोही मन्दिरको अडेस लागे कोही धाराको। कोही त उता गेटपट्टि पनि गएका थिए। सायद, होसै पाएनन्, बाहिर जान पाइन्न भन्ने।
हाम्रो जेलभित्रैको ठूलो चौतारी छ, त्यसलाई पनि नाघेर दक्षिणपट्टि गएपछि हामी खेल्ने सानो चौरजस्तै खाली ठाउँमा पुगेँ। त्यहीँनेर थियो एउटा तीनतले ब्लक। भूकम्प थामिनै लाग्दा यो ड्याम्म ढल्यो। भाग्दै गरेका साथीहरू च्यापिएको, बल्लबल्ल बचेको, मैले आफ्नै आँखाले देखेँ। घरै ढलेपछि धुलो बुङ्ङ उड्यो र कुइरीमण्डल छायो। साथीहरू चिच्याइरहेका थिए। पहिले त के गर्ने, गर्ने मैले केही सोच्नै सकिनँ।
एक छिनपछि पो मलाई होस् आयो, घाइते साथीलाई उठाउनुपर्छ भनेर। आफ्नो वरिपरिकोलाई उठाएपछि म धुलोको कुइरीमण्डलमा मुख छोप्दै बाहिर आएँ। ढोकाबाहिर आउने छुट मलाई मात्रै हुन्छ। आएर मैले जेलमा खटिएका प्रहरीसँग सहयोग मागेँ।
भूकम्प बेला–बेला आइरहेको थियो। धेरैपछि बल्ल मलाई दिदीहरूको याद आयो। उनीहरूलाई जेलकै ल्यान्डलाइनबाट फोन गरेँ। उनीहरू ठिकै रहेछन्। त्यसपछि म फेरि जेलका साथीहरूलाई उद्दार गर्न थालेँ। बाँचेकाहरूको समेत होसहवास् उडेको थियो।
त्यस दिन भुइँचालोमा परेर भद्रगोलमा रहेका १६ जनाले ज्यान गुमाए। सरकारले जेल जोखिममा छ भनी विचार नपुर्याउँदा उनीहरुको अनाहक ज्यान गयो। हामी आज पनि भुइँचालोको डर मान्दै त्यही घरमा बसिरहेका छौं। सरकारले अब बुद्धि पुर्याएर जेललाई सुरक्षित स्थानमा लैजानुपर्छ।