श्रीमती तीन महिनाकी गर्भवती थिइन्। छुट्टीमा अाएका उनले एक साता पनि श्रीमतीसँग बिताउन पाएनन्।
वैशाख १२ गते भुइँचालो आएको दुई घन्टा नबित्दै अफिसबाट फोन आयो– ‘तिमी कहाँ छौ? तुरुन्त हेडक्वार्टर आइहाल।’
कुरिनटारस्थित सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका प्रशिक्षक हुन्, लक्ष्मण बस्नेत। गत वैशाखमा विदा लिएर श्रीमती भेट्न भक्तपुर आएका थिए। त्यस दिन दिउँसो खाना खाएर आराम मात्र के गर्दै थिए, धर्ती काम्न थाल्यो। उनी हापझाप गर्दै श्रीमतीलाई समातेर सडकमा निस्के। बाहिर मान्छेको कोलाहल थियो।
भुइँचालोले ल्याएको तनाव थामिन नपाउँदै हेडक्वार्टरबाट आएको सन्देशले त्योभन्दा ठूलो तनाव दियो लक्ष्मणलाई। नजाउँ पनि नहुने, ड्युटीको सवाल छ! जाउँ भने भुइँचालोले घर मात्र होइन, मुटु नै डगडग हल्लाएको बेला गर्भवती श्रीमतीलाई कहाँ कसको भर छाडेर हिँड्ने!
‘हेडक्वार्टरमा केही काम परेछ, म पुगेर आइहाल्छु, तिमी यहीँ सडकमै बस्दै गर है,’ उनी श्रीमतीलाई सान्त्वना दिएर हल्चोकतिर हानिए।
लोग्ने भरे फर्केर आउलान् भन्ने आशामै थिइन् उनकी श्रीमती। तर, उनी आएनन्। उनको टेलिफोन मात्र आयो। त्यसको भोलिपल्ट पनि उनले घर पुग्न भ्याएनन्। भने, ‘म भुइँचालोमा परेकाहरूको उद्धारमा खटिएको छु, अलि दिन लाग्छ होला, तिमी आफ्नो ख्याल राख्नू।’
गर्भवती श्रीमतीलाई सडकमै छाडेर ड्युटीमा खटिएका लक्ष्मणलाई आज फर्केर हेर्दा आफूले गरेको कामप्रति गर्व छ। भुइँचालाले भत्किएका घरभित्र मुस्किलले सास फेरिरहेकाको जीवन बचाउने जिम्मेदारीभन्दा ठूलो त्योबेला अरू केही नभएको उनी बताउँछन्।
‘उद्धारका काम सकेर श्रीमती भेट्न घर पुग्दा त उनले टेलिभिजन, अखबारबाट मेरो पलपलको कुरा थाहा पाइसकेकी रहिछन्,’ एक वर्षअघि भुइँचालो उद्धारमा खटिँदाको अनुभव सुनाउँदै लक्ष्मणले भने, ‘रौतहटमा रहेका आमाबाबुले पनि फोनमा भन्दा टेलिभिजन र पत्रपत्रिकाबाटै मेरो हालखबर थाहा पाउनुभयो।’
बस्नेत नेतृत्वको सशस्त्र प्रहरी बलको उद्धार टोलीले भुइँचालोले भत्काएका संरचनामा पुरिएका धेरैको उद्धार गरेको थियो। त्यसमध्ये ७२ घन्टापछि अर्घाखाँचीका ऋषि खनाल र १ सय २० घन्टापछि नुवाकोटका पेम्बा लामाको ज्यान बचाउन सक्नु त चमत्कार नै थियो।
.jpg)
उनको टोलीले वैशाख १३ गते कलंकीमा जोन केसीको उद्धार गरेका थियो। त्यसको पर्सिपल्ट १५ गते सयपत्री गेस्ट हाउसका मालिक छत्र बस्नेतलले चार जना पाहुना होटलमा पुरिएको सूचना दिए। उनी नेतृत्वको टोलीले तुरुन्तै मित्रनगरको भत्किएको घरमा उद्धार थाल्यो।
‘मैले घरको म्याप मागेको थिएँ। डिभाइस र तालिमप्रात कुकुरले भित्र मान्छे जीवित रहेको संकेत गरे,’ बस्नेतले सम्झिए, ‘तर जाने कसरी भन्ने समस्या भयो।’
उनी झ्यालबाट छिरे। बेस्सरी कराए– ‘कोही छ भने आवाज दिनुस्। नजिकै केही छ भने ढकढक हान्नुस्।’
भित्रबाट कसैले ढकढक हान्यो। त्यसपछि पक्का भयो, भित्र कोही उद्धारको पर्खाइमा छ।
उद्धार टोलीमा विदेशी पनि थिए। बस्नेतले भित्रसम्म पुग्ने बाटो बनाउन इन्भस्टर बोल्ड कटरले फलाम काट्न लागेका थिए। विदेशी उद्धारकर्ताले ‘त्यसले नकाट बरु यसले काट’ भन्दै अर्को औजार दिए। ती विदेशीलाई करेन्ट लाग्ला भन्ने डर रहेछ। बस्नेतले तीन दिनसम्म त्यो एरियामा लाइन नभएको बताए। त्यसपछि बोल्ड कटरले नै फलाम काट्न थालियो।
राति १० बजे त्यहाँ पुरिएका व्यक्तिको सफल उद्धार भयो। उनी थिए, ऋषि खनाल। भुइँचालोमा पुरिएको ७२ घन्टापछि ऋषिले उज्यालो देख्न पाए।
सातौं दिनमा अर्को चमत्कार भयो। एक सय २० घन्टा पुरिएका पेम्बा लामाको उद्धार भयो।
पेम्बा पुरिएको होटल सात तलाको थियो, त्यसमा अरू घरको भग्नावशेष पनि मिसिएको थियो। होटलका मालिकले त्यहाँ पनि मानिस पुरिएको बताएपछि एक्स्काभेटरले भग्नावशेष हटाउँदै कोही छ कि भनेर रोकिँदै काम भइरहेको थियो। अन्तिम तलाको भग्नावशेष हटाउने बेला ‘कोही छ’ भनेर कराउँदा पेम्बाले जवाफ फर्काए– ‘दाइ मलाई बचाउनुस्।’
सानो प्वाल बनाएर बस्नेत पेम्बा भएतिर गए। अरूले उनलाई सघाए। घिस्रिदै जाँदा उनले पेम्बाको टाउको देखे।
सोधे, ‘नाम के हो तिम्रो?’
‘पेम्बा।’
‘घर कहाँ हो?’
‘नुवाकोट।’
‘चोट लागेको छ?’
‘धेरै छैन, अलिकति हातमा लागेको छ।’
‘अब नआत्तिउ। हामी तिमीलाई बचाउन आइसकेका छौं,’ लक्ष्मणले भने।
उनी बाटो बनाउँदै पेम्बासम्म पुगे।
पेम्बालाई ताने। छेउमा रहेको मोटरसाइकलमा पेम्बा अड्किए। उनले पेम्बालाई फेरि पछाडि धकेले र बाटो बनाए। केही बेरमा पेम्बालाई बोकेर बाहिर आए। ‘त्यो पाँच घन्टा मलाई पाँच जुगजति लामो लाग्यो,’ उनले भने, ‘पेम्बालाई त्यत्रो दिन कस्तो भयो होला?’
.jpg)
बाहिर सशस्त्र प्रहरीका उच्च अधिकृत, देश–विदेशका मिडिया र सर्वसाधारणको भीड थियो। उनी थाकेका थिए। हात बाउँडिएका थिए। शरीर गलेको थियो। थकित उनलाई उच्च अधिकृतले स्याबासी दिए। कसैले भन्यो– ‘हि इज अ रियल हिरो।’
त्यसपछि उनलाई उचालेर सर्वसाधारण ‘सशस्त्र प्रहरी– जिन्दाबाद’ को नारा लगाउन थाले। त्यतिबेला खिचेको फोटो उनले अहिले पनि ल्यापटपको स्क्रिनमा राखेका छन्।
जताततै उनी र उनको टिम हिरो भएको चर्चा थियो तर रौतहटमा रहेका बाबाआमालाई भने उनले फोन गर्न पाएका थिएनन्।
पेम्बाको उद्धारपछि टिभीमा उनलाई देखेकी आमाले आफैं फोन गरिन्, ‘तँलाई हामीले टिभीमा देख्यौं, बाबु। राम्रो काम गरिछस्, तर आफ्नो पनि होस गर्नु।’
सधैं कडा स्वभाव देखाउने इन्डियन लाहुरेबाट अवकाश पाएका बुवाले भने, ‘तैंले धेरै राम्रो गरिस् केटा।’ काममा खोट देखाइरहने बाबुको मुखबाट समेत तारिफ सुन्दा लक्ष्मणलाई लाग्यो, साँच्चै राम्रो काम गरिएछ।
निरन्तर गइरहने परकम्पबीच उनलाई जोखिम मोलेर मान्छे बचाउने जाँगर कसरी आउँथ्यो?
‘डेडिकेसन सबैभन्दा ठूलो कुरा हो, मैले गर्नुपर्छ भन्ने भावना आयो,’ उनले भने, ‘हामीले नगरे कसले गर्छ भन्ने कुरा हामीलाई तालिममा पनि सिकाएको हुन्छ।’
जब उद्धारको काम सकेर उनी डेरामा फर्किए, श्रीमतीलाई भेटे, त्यतिबेला लाग्यो रे, केही भइदिएको भए परिवारले के गथ्र्यो होला! ‘कोठामा फर्केपछि एकान्तमा बस्दा केही भइदिएको भए भन्ने डर लाग्थ्यो!’ उनले भने।
भुइँचालोमा च्यापिएर निस्सासिएकालाई बचाउन पाएकोमा उनलाई सन्तोष छ। त्यसभन्दा बढी कम स्रोतसाधन र जनशक्तिमा नेपाली सुरक्षा निकायले चामत्कारिक उद्धार गरेको भनेर नागरिकले दिएको स्याबासीले मन ढक्क फुल्छ। उनलाई लाग्छ– ‘रेस्क्युमा रिस्क पनि मिसिएको हुन्छ। त्यो रिक्स उद्धारमा खटिएका सबैले लिन्छन्, कसैले बढी, कसैले थोरै। मात्राको फरक हो।
उद्धार सफल हुनुमा उनी संगठन र टोलीका सदस्यको सामूहिक सफलता ठान्छन्। ‘ती उद्धारमा अन्य साथीको पनि उत्तिकै योगदान छ। मैले मात्र गरेको होइन्,’ उनले भने, ‘मैले मात्र गरेको भनेँ भने उनीहरूलाई अन्याय हुन्छ।’
लक्ष्मणले हटाएका भग्नावेशमा नयाँ संरचना बन्न थालेका छन्। उनले उद्धार गरेका मान्छेले नयाँ जीवन सुरु गरेका छन्। ‘हामी सबै भूकम्पको पीडा बिर्सेर सामान्य जीवनको लय समात्न प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘भूकम्पको जोखिम त अझै पनि छ। हामी त्यो जोखिम सामना गर्न सधैं तयारी अवस्थामा रहनुपर्छ।’
सुरक्षा निकायले पनि विपतपछिको उद्धारका लागि स्रोतसाधन तयारी हालतमा राख्नुपर्नेमा उनको जोड छ।