महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन्।
सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुवै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
गाउँको सडकमा हिँडेर जाँदै गरेका दुवै किशोरीलाई सडक पेटीमै ढुकेर बसेका दुवै युवकले स्थानीयवासी रामकृपाल यादवको घरमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए।
बलात्कार गरी फरार दुवै युवकलाई गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस