शुशाङ्क कार्की भर्खर १३ वर्षका भए। २०५९ साल असार महिनामा जन्मिएका उनी चरिकोटको एक विद्यालयमा ८ कक्षामा पढ्दैछन्। उनको यो उमेर खेलौनासँगै वित्ने उमेर हो। खेलौनासँगै वित्ने उमेरमा उनले डोजरको निर्माण गरिसकेका छन्। प्रयोग भईसकेका सिरिञ्ज, टिनका पाता, काठ र सलाईनको पाईपको प्रयोग गरेर बनाएको उनको डोजरले माटो खन्ने लगायतका निर्माणसम्बन्धी काम गर्छ।
चरिकोटमा आफूले बनाएको डोजर प्रस्तुत गर्दै उनले भने, “यसमा ६ ओटा सिरिञ्जका बोत्तल, ३ टुक्रा स्लाईनको पाईप अनि केहि काठ र टुक्रा प्रयोग गरिएको छ”, डोजरसँगै उनले ड्रिल मेसिन समेत प्रस्तुत गरे। यसमा सियो, मोटर र काठको टुक्रा प्रयोग गरिएको छ।
ईन्टरनेटमा हाईड्रोलिक प्रविधिबारे कुनै भिडियो हेरेपछि उनलाई डोजर बनाउने योजना फुरेको थियो। २ दिन सामान जुटाउन र २ हप्ता निर्माणका लागि लागेको उनले बताए। “यो डोजर निर्माण सम्बन्धी काममा प्रयोग गर्न सकिन्छ”, उनले भने।
विज्ञानमा अत्यन्तै रुचि राख्ने कार्कीले यसअघि पानीजहाज र हेलिकोप्टर निर्माण गरिसकेको बताए। विज्ञान प्रविधिमा छोराको अत्यन्तै रुचि रहेको कार्कीका बाबु श्रीबाबु कार्कीले बताए। “नयाँ नयाँ कुराहरु सोचिरहन्छ। त्यसकै बारेमा धेरै समय घोत्लिएर बस्छ। पढाईमा हानी गर्ला भनेर धेरैपटक त सामाग्रीहरु नै लुकाईदिएको पनि छु”, कार्की भन्छन्।
विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्ने धोको कार्कीको छ। “कार निर्माण गर्ने लक्ष्य छ”, कार्कीले भने।